नक्कली रक्सी बनाएर बेचेको आरोपमा प्रहरीले बुधबार नौ जनालाई सार्वजनिक गरेको छ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ बाट पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा मुख्य व्यक्तिहरू रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई हाल मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुली कमलामाई नगरपालिका-९ घर भई मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङ छन्। उनीहरू तीनै जना साथीहरू हुन्।
नक्कली रक्सी बनाएर बेच्नेमा मुख्य भूमिका यी तीन जनाको हो। यी तीन जना पटक-पटक पक्राउ पर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए।
यी बाहेक सिन्धुपाल्चोक चौतरा नगरपालिका-३ घर भई मूलपानी बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका-६ का ३५ वर्षीय सुमन नगरकोटी, कमलामाई नगरपालिका-७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका-३ घर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिका-२ घर भई मूलपानी बस्ने २० वर्षीय मनिष खत्री र चौतारा नगरपालिका-१ घर भई मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की पक्राउ परेका हुन्।
यी ६ जना व्यक्ति पहिलोपटक पक्राउ परेका हुन्। उनीहरूले पनि नक्कली रक्सी बनाउन सहयोग गरिरहेको अनुसन्धानमा खुलेकाले पक्राउ गरिएको एसपी केसीले जानकारी दिए।
उनका अनुसार नक्कली रक्सी बनाएर बेचिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेको टोलीले पक्राउ गरेको हो।
‘उनीहरूलाई पक्राउ गर्न ‘लिमा ३’ अपरेसन चलाएका थियौं,’ उनले भने, ‘यो तेस्रो पटक भएकाले लिमा ३ राखिएको हो।’
यो अपरेसन २०७८ देखि चलाइएको हो।
एसपी केसीका अनुसार २०७८ माघ १६ गते पहिलोपटक यो अपरेसन चलाइएको थियो। त्यतिबेला मनोजमात्रै पक्राउ परेका थिए। उनी ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
दोस्रो अपरेसन कार्यालयले २०७९ माघ १४ गते चलाएको थियो। त्यतिबेला मनोजसँगै गौरव र विनोद पनि जोडिएका थिए। तर उनीहरू तीनै जना फरार रहे।
तेस्रो पटकको अपरेसनमा भने तीनै जना पक्राउ परेका हुन्। यसमध्ये मुख्य व्यक्ति भने विनोद हुन्।
'विनोद तेस्रो अपरेसनमा फेला परेका हुन्,' एसपी केसीले भने, 'नक्कली रक्सी बनाएर बेच्ने मुख्य योजनाकार उही देखिन्छ।'
उनीहरूले तीन वर्षदेखि स्वदेशी तथा विदेशी ब्राण्डको लेबल लगाएर नक्कली रक्सी बेच्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार नक्कली रक्सी बनाउन उनीहरूले घर नै भाडामा लिने गर्थे।
यस पटक विनोदले कागेश्वरी मनोहरा नगरपालिका-५ मा भरत थापाको घर भाडामा लिएका थिए। गोल्डेन ओक, भोड्का, फाइटर, खुकुरी रम, लगायत विभिन्न ब्राण्डका बोतलमा नक्कली रक्सी बरामद भएका छन्।
यस्ता रक्सीमा राख्न अन्त शुल्क स्टिकरहरू भारतबाट खरिद गरी ल्याउने गरेको पनि खुलेको छ। २ हजार ८६० वटा नक्कली स्टिकर पनि प्रहरीले बरामद गरेको छ। केही सक्कली स्टिकर पनि प्रहरीले बरामद गरेको छ। जुन ठूला होटल तथा रेष्टुरेन्टहरूबाट बोतलसहित ल्याउने गरेको पाइएको छ।
खुकुरी रम लगायतका रक्सी बनाउन लोकल रक्सी र चिनी डढाएर मिसाउने गरेको अनुसन्धानबाट खुलेको एसपी केसीले बताए।
चिसो मौसममा धेरै बिक्री हुने भएकाले उनीहरूले खुकुरी रम धेरै उत्पादन गरेको देखिन्छ। गिरोहले सिजनमा ८ देखि १० लाख रुपैयाँसम्म कमाउने गरेको एसपी केसीले सेतोपाटीलाई जानकारी दिए। गिरोहले बनाएको रक्सी विशेषगरी पार्टी प्यालेस, विवाह समारोह र बजारमा पठाउने प्रहरीको अनुसन्धानमा खुलेको छ।
तीन वर्षदेखि बजारमा बेच्दै आए पनि कहाँ-कहाँ बेचे र उनीहरूको मार्केट कति भन्नेबारे अहिले खुलिसकेको छैन। त्यसको अनुसन्धान भइरहेको एसपी केसीको भनाइ छ।
रक्सीको स्वाद थाहा भएको व्यक्तिले नाम चलेकै होटेलमा गएर खाँदा फरक स्वाद पाएपछि तीन वर्षअघि पहिलोपटक गुनासो आएको थियो। सोही गुनासोलाई पछ्याउँदै जाँदा बजारमा नक्कली रक्सी फेला परेको उनी बताउँछन्।
तीन वर्षसम्म यो प्रक्रिया चलिरहेको छ। यसपटक मुख्य योजनाकार नै पक्राउ परेकाले उनीहरूमाथि फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०७ अनुसार खाद्य पदार्थ मिसावट गर्न नहुने कसुरमा अनुसन्धान गर्ने तयारी छ। यस कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।