२२ वर्षीया सानी (नाम परिवर्तन) किताबको झोला बोकेर कलेज जाने उमेरमा आफूमाथि भएको बलात्कार र घरेलु हिंसाको कागजात बोकेर प्रहरी र अदालत धाइरहेकी छन्।
सिमकोट गाउँपालिका-६ का अर्जुन रावतले आफूलाई नाबालिग हुँदै बलात्कार गरेको, त्यसपछि प्रलोभनमा पारेर जबरजस्ती विहे गरेको र हिंसा गरेको भन्दै पाँच वर्षदेखि न्याय माग्दै हिँडिरहेकी छन्।
हुम्लादेखि काठमाडौंसम्म न्यायका लागि खोलिएका ढोकाहरू ढक्ढक्याउन उनले कतै बाँकी राखेकी छैनन्। बलात्कार गर्ने व्यक्ति खुलेआम हिँडिरहँदा उनलाई भतभती पोल्छ।
'त्यो निष्फिक्री डुलेको देखेँ/सम्झेँ भने रातभरि निद्रा पर्दैन। सुरूआती दिनमा त मर्छु जस्तो पनि लाग्यो। अब भने मर्ने गल्ती गर्दिनँ,' सानीले भनिन्- 'म मर्नु उसले उन्मुक्ति पाउनु हो, त्यसैले बाँचेरै लड्छु।'
हिंसा गर्ने व्यक्तिलाई ढिला–चाँडो सरकारले कानुनी कठघरामा उभ्याउँछ भन्ने उनको अटुट विश्ववास छ। त्यही विश्वास उनको अहिले बाँच्ने सहारा बनेको छ।
पाँच वर्षसम्म प्रहरी, संघ–संस्था र अदालत धाएपछि उनले थाहा पाएकी छन्–आफूमाथि भएका हिंसाको आवाज आफैंले बलियोसँग उठाउनुपर्छ।
उनले यो पनि बुझेकी छन्–पीडित आफूमाथि भएको हिंसाको भुक्तभोगी त हुँदै हो, अपराधको सबुत र साक्षी पनि हो।
काठमाडौंमा न्यायका लागि लड्नु त छँदै छ आफूलाई उभिने पनि ठाउँ बनाउनु छ। त्यसैले उनी जागीर पनि खोजीरहेकी छन्।
‘कमजोर भएर नबोली बसे त न्याय पाइन्न रैछ। आफूलाई बलियो पारे आवाज पनि बलियो होला भन्ने लाग्छ। त्यही भएर पढ्न मन लाग्छ। आर्थिक जोहो गर्न काम खोजीरहेकी छु,’ उनले भनिन्।
हुम्लामा उनी जन्मे हुर्केको ठाउँमा आधा महिलाले पनि पढ्ने अवसर पाउँदैनन्। आमाको छोरी पढाउने रहरका कारण सानीले घरको संघार काटेर विद्यालय पुग्न पाइन्। पाठ्यपुस्तकसँग उनको परिचय भयो।
उनी जन्मिदा गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने चर्चा चल्दै थियो। गाउँमा भर्खर निम्न माध्यामिक तहका विद्यालय खुल्न थालेका थिए।
छोराले नपढे पनि छोरीले पढोस् भन्ने उनको आमाको चाहना थियो, त्यसैले घरबाट आधा घन्टा टाढा भएपनि सानीलाई विद्यालय पठाइन्।
वडा नम्बर-६ मै रहेको कैलाशपुरी माध्यामिक विद्यालयबाट ०७२ मा कक्षा ८ पास गरिन्। त्यतिबेला कैलाशपुरीमा कक्षा ८ सम्ममात्र पढाइ हुन्थ्यो।
त्यसभन्दा माथि पढ्न दुई/तीन घन्टा हिँड्नुपर्थ्यो। पुस्तक, कापी र कलम समयमा किन्दिन नसक्दा सानी रूँदै घर आएका धेरै विदारक क्षणहरू उनकी आमाको मनमा ताजै थियो। त्यतिविघ्न दुःख गरेर पढेकी छोरीले अझै माथिसम्म पढोस् भन्ने आमाको चाहना थियो।
सानीलाई आमाको निर्णय त्यतिबेला गलत लागेन। किनकि, उनकी आमा एक्लैले ६ सन्तान हुर्काइरहेकी थिइन्। सानीका बुवाको उनी सानै हुँदा निधन भइसकेको थियो।
उनीभन्दा माथिका एक दाजु र एक दिदी अपांगता भएका थिए। उनीहरू सबैको लालनपालन, भविष्य देखाउने अभिभारा एक्ली आमाको काँधमा थियो।
दुई छाक टार्न धौधौ आर्थिक अवस्थाकाबीच परिवारको त्यत्रो बोझ कसरी उठाउनू!
आमाको दु:ख देख्दा उनको मन कटक्क खान्थ्यो।
उनका दिदीहरूले कक्षा-८ सम्म पनि पढेनन्। तर सानीले पढ्ने रहर मार्न सकेकी थिइनन्। थप पढ्न सदरमुकाम पुग्नुपर्थ्यो। सदरमुकाम आइपुग्न दुईदिन हिड्नुपर्थ्यो।
आफ्नो आयस्ताले परिवारलाई वर्षभरि खान नपुग्ने भएपछि दाइ-दिदी ज्याला–मजदुरी गर्थे।
उनका दाजु कामका लागि भारत–चीन जान्थे। दिदी गाउँमै मेलापात जान्थिन्। सानी घरको छैठौं सन्तान थिइन्। थप अध्ययन गर्न नपाउने भएपछि उनले पनि आमालाई घरको काम सघाउन थालिन्।
आमालाई घरको काममा सघाएर पढ्ने रहर मार्दै थिइन्। तर जेठको अन्तिमतिर गाउँको भिनाजु पर्नेले सानीलाई पढ्ने रहर भए सदरमुकाममा बस्ने व्यवस्था गरिदिने जानकारी गराए।
गाउँका भिनाजु पर्ने सदरमुकाममा ठेक्कापट्टाको काम गर्थे। उनले गाउँमा पढ्न चाहेका बालिकालाई सदरमुकाममा अरूको घरमा काम गर्दै पढ्ने व्यवस्था मिलाइदिन्थे।
घरेलु कामदार बन्ने र पढाइलाइ निरन्तरता दिने, भिनाजु नाता पर्नेले देखाएको बाटो थियो।
सदरमुकाममा काम गर्दै पढ्न पाउने अवसरलाई उनले खेर जान दिइनन्।
उनकी आमाले पनि पढ्न पठाउने भइन्। उनको गाउँबाट बिहानै हिँडे भोलिपल्ट मात्र सदरमुकाम पुगिन्छ।
सानीलाई आमाले आधा बाटोसम्म पुर्याउन आएकी थिइन्। आधी बाटोबाट सानीले अब भिनाजु र गाउँका अरू मान्छेलाई पछ्याउनुपर्ने भयो।
भिनाजुले सदरमुकाम सिमकोट गाउँपालिका-६ स्थित निमा लामाको घरमा राखिदिए। उनीहरूको खाना-खाजा खुवाउने होटेल थियो। बिहान-बेलुका होटेलको काम सघाउँथिन्। दिउँसो पढ्न जान्थिन्।
सानी सिमकोटको मानस्वेवर नमुना माध्यामिक विद्यालय कक्षा ९ मा भर्ना भइन्। गाउँको र सदरमुकामको विद्यालयको पढाइको स्तर फरक भयो। भाषा नबुझ्दा ९ कक्षा दोहोर्याएर पढिन्।
०७५ मा कक्षा १० पढ्ने भइन्।
'१० मा पढ्न पाउँदा गाउँभरि हल्ला भएको थियो। गाउँमा उच्च तह पढ्नेलाई अझै राम्रो मान्छन्,' उनले भनिन्।
घरधनी निमा जिल्ला महिला विकासमा काम गर्थिन्। उनका श्रीमान् शिक्षक थिए। उनीहरूको छोराछोरी काठमाडौं बसेर पढ्थे। सानीलाई पनि उनीहरूले आफ्नै छोरीजस्तो व्यवहार गर्थे।
उनी पढाइलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने सपना बुन्दैथिइन्। हिउँद याममा त्यहाँ निकै चिसो हुने भएकाले उनका घरधनी काठमाडौंमा बस्न आएका थिए। उनको स्कुल बिदा थियो।
उनी सदरमुकाम आउने सेवाग्राहीलाई खाना-खाजा खुवाउन त्यहाँ एक्लै बसेकी थिइन्। एक्लै बस्ने भएपछि उनलाई घरधनीले सानो फोन उपलब्ध गराइदिएका थिए।
सानी होटेल र नजिकिँदै गरेको एसइई परिक्षाको तयारी गर्दै थिइन्। माघको अन्तिमतिर एकदिन उनको फोनमा एक नयाँ नम्बरबाट फोन आयो। घरधनीले नयाँ नम्बरबाट फोन आउँदा नउठाउनु भनेका थिए। त्यसैले तीन/चार पटकसम्म त्यो फोन उठाइनन्।
तर पाँचौं पटक उनले फोन उठाइन्। त्यसमा एक पुरूषले उनको बारेमा सोधीखोजी गरे । तर उनले आफ्नो बारेमा केही बताइनन्।
'नचिनेको मान्छेसँग नबोल्ने भन्दै फोनमा कुरा गरिनँ,' उनले भनिन्, 'सोही दिन राति झ्यालबाट छिरेर एक युवक आफू सुत्न लागेको कोठामा आइपुगे।'
ती युवकले आफ्नो फोन नउठाएको भन्दै उनी सुतिरहेको ठाउँमा आएर जबरजस्ती करणी गरेको उनको भनाइ छ।
त्यतिबेला आफू बेहोस जस्तै भएको उनी बताउँछिन्। 'दुई चारपटक चिच्याएको जस्तो लाग्छ, तर कसैले सुनेनछन्। वरिपरि खासै मान्छेहरू बस्दैनथे,' उनले भनिन्।
त्यो दृश्य अहिले पनि उनको दिमागमा आउँदा झस्किन्छन्।
'मेरो शरीर आफ्नोजस्तो नभइ कुनै मृत जनावरलाई गिद्धले लुछेको जस्तो लागिरहेको थियो, त्यतिबेला,' उनले भनिन्। आफूमाथि भएको हर्कत, त्यसले खज्मज्याएको जिन्दगीको व्यथा सुनाउँदा उनी अहिले पनि आफ्नो आँसु रोक्न सक्दिनन्।
सेतोपाटीसँगको कुराकानीका क्रममा पनि उनी धेरैपटक रोइन्। उनकै गाउँका युवक अर्जुन रावत रहेछन्। उनी काठमाडौंबाट १२ को परीक्षा दिएर गाउँ आएका रहेछन्।
त्यतिबेलाको सामाजिक परिवेश र चेतनाले उनले आफूमाथि बलात्कार भएको भन्नेसमेत सोच्न सकेन। दोस्रो दिन मात्रै उनले आफू बलात्कृत भएको र प्रहरीमा उजुरी गर्ने योजना बनाइन्। त्यसबारे थाहा पाएर ती युवकले उनलाई डर, धम्की समेत दिएका थिए।
पछि युवकले उनलाई विवाहको प्रस्ताव गरेका थिए। विवाह गर्ने भएपछि केटौले दिमागले प्रहरीकहाँ जानेतिर नसोचेको उनले बताइन्। मध्यरातमा आफूमाथि भएको अपराधबारे सबैलाई सुनाउँन चाहन्थिन्। तर नजिकिँदै गरेको परीक्षाले उनलाई रोक्यो।
घरधनीले बस्न नदिने डरले उनले आफूमाथि भएको घटना कसैलाई भनिनन्। तर हरेक साँझ एक्लै हुनासाथ घटनाको भएको सम्झेर रून्थिन्। घरकाले छोरी पढ्न सदरमुकाममा बसेकी छ भन्ने सोचिरहेका थिए। त्यही विश्वासलाई जोगाइराख्न पढाइतिर ध्यान दिन्थिन्।
ती युवक लागुऔषध सेवनकर्ता समेत रहेछन्। सानी प्रहरीकहाँ जान्छिन् भन्ने डरले अर्जुनले उनलाई बेलाबेला भेट्ने र कुराकनी गर्ने गरिरहेका थिए।
उनले दुई महिना आफूलाई सम्हालेर चैतमा एसइई दिइन्।
त्यो बीचमा अर्जुनले उनलाई फोन गरेर विहे गरौँला भन्दै फकाइरहन्थे तर डरले उनले अधिकांश फोनहरू उठाउँदिनथिन्। एसइई सकिएपछि सानीले प्रहरीकोमा जाने निधो गरिन्।
उनी एक्लै प्रहरीकोमा पुगेर आफूमाथि भएको घटना सुनाइन्। प्रहरीले त्यतिबेल ती युवकले जघन्य अपराध गरेको र उसलाई १० देखि २० वर्षसम्म कैद हुने विश्वास दिलाएका थिए। दोस्रो पटक जाँदा उनको कुरा प्रहरीले सुन्दै सुनेनन्।
प्रहरीले नसुनेपछि जिल्ला प्रशासन कार्यालयमा गएर त्यहाँका अधिकारीहरूलाई आफूमाथि भएको अन्यायको फेहरिस्त सुनाए। त्यतिबेला (२०७६ सालमा) जिल्ला प्रशासन कार्यालयको प्रमुख विनीता भट्टराई थिइन्।
प्रमुख जिल्ला अधिकारीसम्म पुगेपछि प्रहरीले अर्जुनको परिवारलाई बोलाएर अर्जुनको विषयमा सोधपुछ गरेको थियो।
जिल्लाभरी हल्ला भएपछि प्रहरीले अर्जुन रावतको परिवारलाई बोलाएर १८ वर्षभन्दा कम उमेर भएकाले जबरजस्ती करणीमा १२ वर्ष जेल सजाय हुने बताएको थियो। त्यसपश्चात् अर्जुनका परिवारले सानीलाई बुहारी स्वीकार्ने भन्दै छलफल टुङगिएको सानीको भनाइ छ।
'त्यसपश्चात मेरो जिल्लादेखि गाउँसम्म विवाह भएको हल्ला भयो,' उनले सेतोपाटीसँग भनिन्, ' आमाले पनि विवाह भन्नेकुरा जहिले पनि गर्नुपर्छ भनेर स्वीकार गरेर अगाडि बढ् भन्नुभयो।'
त्यहीअनुसार २०७६ को असारतिर सानीको विवाह भयो।
अहिले पढाइदिने र २० वर्ष पुगेपछि विवाह दर्ता गर्ने सहमतिमा उनी अर्जुनको साथमा काठमाडौं आइन्,२०७६ मा। उनका परिवार कपनमा बस्थे। तर रावतले उनलाई भक्तपुरको राधे-राधे नजिकै कोठा भाडामा लिएर राखे।
सँगै बस्न थालेपछि अर्जुन लागुऔषध सेवनकर्ता रहेको कुरा सानीलाई थाहा भयो। त्यतिबेला लागुऔषध सेवन गर्न नपाएका बेला सानीलाई कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने गर्थे।
त्यस्तो भएपछि उनी तीन महिना पनि सँगै बस्न सकिनन्।
उनी कोठाबाट रावतले थाहा नपाउने गरी भक्तपुर राधे-राधेदेखि हिँड्दै बसुन्धारास्थि साथीको कोठामा आइन् र १५ दिनसम्म त्यहीँ लुकेर बसिन्।
उनी त्यहाँ लुकेर बसेको पत्तो पाएपछि अर्जुन लिन आए। अबदेखि कुटपिट नगर्ने र परिवारसँगै राखिदिने भन्दै उनले सानीलाई कपन लगे।
उनीसँग भएको फोन पनि अर्जुनले खोसेका थिए। सानीले घरपरिवारमा कसैलाई सम्पर्क गर्न पाइनन्। उता गाउँमा १५/२० दिनसम्म छोरी सम्पर्कविहीन भएपछि आमाले निमा लामालाई सानी हराएको गुनासो पोखिन्।
निमाले पनि सानीलाई सम्पर्क गर्न खोजिन्। तर उनको फोन लागेन। फोन सम्पर्क पनि हुन नसकेपछि उनको ज्यान असुरक्षित भएको होकी भन्ने डरले निमाले त्यतिबेला महानगरीय प्रहरी वृत बौद्धमा सानी हराएको निवेदन दिइन्।
उनले निवेदन दिएको केही दिनमा कपन प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर बौद्ध वृत्तलाई बुझाइदियो। उनीहरू आफ्नो खुसीले परिवारबाट सम्पर्कविहीन भएर बसेको भनेपछि बौद्ध प्रहरीले धेरै केरकार गरेन। सहजै छाडिदियो।
सानी त्यतिबेला आफूमाथि भएका यातना र हिंसाबारे बोल्न चाहन्थिन्। तर अर्जुनका परिवारले छिट्टै विवाह दर्ता गरिदिने र पढाइमा पनि निरन्तरता दिन सहयोग गर्ने आश्वासन देखाए।
त्यतिबेला बोल्न नसकेकोमा अहिले पछुतो लाग्ने उनी बताउँछिन्।
सानी हराएको भनेर बौद्धमा निवेदन दिएकी निमाले त्यतिबेला आफूमाथि भएको हिंसा र बलात्कारको बारेमा बोल्न आग्रह गरेकी थिइन्। तर उनीहरू मिलेर बस्ने भनेपछि आफू पछि हटेको निमाले बताइन्।
'अर्जुनका परिवारले छोरालाई बचाउन कानुनी रूपमा स्वीकार गरेजस्तो गरेका थिए, त्यतिबेला सानीले उनको चाल बुझिनन्,' निमाले भनिन्।
उनीहरू मिलेर बस्ने भनेपछि बौद्ध प्रहरीले अर्जुन र सानीलाई परिवारको जिम्मा लगाएर छाडिदिएको थियो। सानी एक–डेढ महिना रावतको परिवारको साथमा कपनमै बसिन्।
त्यसपछि यता रोजगारी नभएको र गाउँमा घर खाली भएको भन्दै अर्जुनले सानीलाई गाउँमै बस्न भने। उनी भने काठमाडौंमा बस्थे।
२० वर्षपछि विवाह दर्ता हुने आशामा परेकी सानी डेढ वर्ष अर्जुनकै घरमा बसिन्।
अर्जुनका परिवार सानीसँग खासै घुलमिल हुँदैनथ्यो। परिवारको सदस्य पनि स्वीकार गर्दैनथ्यो।
डेढ वर्षपछि अर्जुन गाउँ आए। अर्जुन काठमाडौं फर्कंदा उनी पनि सँगै आइन्।
त्यसको केही समयपछि अर्जुनले दुवैजना गाउँमै गएर बस्ने, त्यहीँ पढ्ने भनेपछि सानी फेरि गाउँ फर्किन राजी भइन्। तर उनीहरूसँग पैसा थिएन।
सानीले गाउँमा आमालाई फोन गरेर आफू गाउँ आउन चाहेको तर पैसा नभएको व्यथा पोखिन्। उनको आमाले गाउँमा ऋण गरेर पाँच हजार रूपैयाँ अर्जुनको खातामा हालिदिइन्।
त्यही पैसाले गाडीभाडा तिरेर दुवैजना सदरमुकामसम्म पुगे। अर्जुनको साथमा सानी आमालाई भेट्न जाने निधो गरिन्। अर्जुनले पनि सहमती जनाए।
सदरमुकामबाट हिँड्दै सानीको गाउँ जाने क्रममा आधाबाटो अर्थात् बाजुरा र हुम्लाको सीमाना पयुँखोला भन्ने ठाउँमा बास बस्नुपर्थ्यो
उनीहरू त्यहीँ बास बसे।
बिहान उठ्दा उनले रावतलाई साथमा देखिनन्। त्यहाँ गाउँभरी सानीलाई श्रीमानले छोडेर भाग्यो भन्ने हल्ला चल्यो।
यता रावतको परिवारले पनि छोरा सानीसँगै गएको र केही भए आफैंले जिम्मा लिनुपर्ने धम्की दिन थाल्यो।
'त्यो तनावले मर्छु जस्तो लागेको थियो। मैले आँखा चिम्लिएँ,' उनले भनिन्, 'होस् आउँदा जिल्ला अस्पताल हुम्लामा थिएँ।'
अर्जुन सानीको सम्पर्कमै आएनन्।
प्रहरीले सोधपुछ गरेपछि अर्जुनको परिवार र सानीको गाउँपालिकाका केही पदाधिकारीहरूले केटा सँगै बस्न नमानेको भए क्षतिपूर्ति लिएर टुङ्याउने सल्लाह दिए।
५ लाख रूपैयाँ दिएर सानीलाई आफ्नो-आफ्नो बाटो लाग्न सल्लाह दिए। त्यसबेला पुरूषले अर्कै केटीसँग विवाह गर्ने भनेपछि क्षतिपूर्ति दिएर अलग हुने कुरा भएको अदानचुली गाउँपालिका वडा-६ का वडाध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए।
उनीमाथि बलात्कार भएको र मौखिक रूपमा विवाह भएको उनीहरूले स्वीकार गरेका थिए। सानीले आत्महत्याको प्रयास गरेपछि जटिल भएको भन्दै तत्कालीन सिमकोट गाउँपालिकाका पदाधिकारी र अदानचुली गाउँपालिकाका पदाधिकारी बसेर सल्लाह भएको वडाध्यक्ष बुढाले बताए।
'गाउँमा त्यतिबेला केही समस्या परेकाले म फर्किएँ, अन्तिमसम्म बस्न पाइनँ,' उनले भने, 'उक्त घटनामा के–के भयो भन्ने जानकारी छैन।'
सानीले भनेअनुसार दुई वर्षअघि पदाधिकारीहरूले पाँच लाख रूपैयाँ क्षतिपूर्ति लिने र अलग हुने भनेका थिए।
मौखिक रूपमा गरिएको उक्त सम्झौतामा सानीको पनि सहमति थियो।
'मानसिक यातना र कुटपिट सहेर बस्न सक्दिन भन्ने लागिसकेको थियो, त्यसैले छुट्टिने निर्णय गरेँ,' उनले भनिन्, 'आफ्नो पढाइ र करिअरलाई अगाडि बढाउँछु भनेर त्यतिबेला उसलाई त्यसै छोडिदिन्छु भनेर हिम्मत हारेँ।'
उनी आफ्नो न्यायको लडाइँमा थिइन्। त्यहीबेला आमाको निधन भयो। सामान्य बिरामी भएकी उनकी आमालाई जिल्ला अस्पतालमा उपचारको क्रममा ल्याउँदाल्याउँदै बाटैमा निधन भयो।
समयमा उपचार पाएको भए आमा बाँच्थिन् भनेर उनलाई अहिले पनि लागिरहन्छ।
आमाको मृत्युपश्चात् कमाउनसक्ने दाई-दिदी भारत पसे। अपांगता भएका दाईदिदीको जिम्मेवारी सानीको काँधमा आयो।
उनले आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि पाइनन्। पढ्ने रहन मेटिनै लागेको थियो। पढ्ने इच्छा प्रबल भएको कुरा उनले निमालाई सुनाइन्।
घरधनी निमाले उद्यमशील विकास भन्ने सिडिएफको १८ महिनाको कोष गर्ने अवसर सुनाइन्।
त्यसमा सानी छनोट पनि भइन र पढ्न सुर्खेत गइन्।
पहिला पढेर आफू आत्मनिर्भर भएपछि कानुनी लडाइ लड्ने उनले अठोट गरिन्।
उनले त्यहाँ पढाइसँगै आफ्नो आत्मविश्वासलाई अझै जगाइन्। १८ महिनाको पढाइसक्दा पनि अर्जुनको परिवारले सहमति गरेअनुसारको कुनै पनि रकम दिएका थिएनन्।
आफूमाथि अन्याय गर्ने व्यक्तिलाई त्यत्तिकै छोडिदएकोमा उनलाई हीनताबोध हुँदै गयो। पढाइ सकेर पुन काठमाडौं आइन् र २०७९ पुस १० गते राष्ट्रिय महिला आयोगमा आफूमाथि भएको घटनाको इतिवृत्तान्त सुनाइन्।
सानीको कुरा सुनिसकेपछि आयोगका पदाधिकारीहरूले रावतका परिवारलाई छलफलका लागि बोलाए। तर उनीहरू कुनै निकर्षमा पुग्न सकेनन्।
यता सानीले आफू कानुनी रूपमा लड्ने अठोट गरिसकेकी थिइन्।
उनले कानुनी रूपमा लड्ने भनेपछि आयोगले काठमाडौंमा मुद्दा लड्न सहजीकरण गरिदिएको आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन्।
'दुवैपक्षलाई बोलाएर छलफल गर्दा निष्कर्षमा नपुगेपछि मुद्दा दर्ता गराउन सल्लाह दिएका थियौं,' उनले भनिन्, 'कानुनी रूपमा सहयोग पुर्याउन एक जना अधिवक्तासमेत तोकिदिएका छौं।'
आयोगबाट सानीको मुद्दामा सहयोग पुर्याउन तोकिएकी अधिवक्ता चण्डेश्वरी तन्डुकारसँग पनि हामीले सम्पर्क गर्न खोजेका थियौं। उनी नेपालमा नभएकाले हाम्रो कुरा हुन सकेन।
सानीले देखाएको कागजात अनुसार उनलाई साथी संस्थामा बस्न पठाइएको छ। काठमाडौंमा रोजगारी नभएको र आफन्तसमेत कोही नभएकाले पीडकले फेरि प्रलोभनमा पार्नसक्ने देखेर आयोगले आफूलाई त्यहाँ पठाएको सानीले बताइन्।
सानीका अनुसार'साथी' संस्थाले उनको कानुनी लडाइँका लागि बसाइँसराइको कागजात बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सहजीकरण गरिदिएको हो।
उनलाई संरक्षणमा राखेको साथी संस्थाकी कार्यक्रम संयोजक सपना महर्जनले पनि बताइन्।
'उनीमाथि अन्याय भएको हो। तर कानुनी प्रमाण नहुँदा पीडकलाई कारबाही हुन सकेको छैन,' उनले भनिन्, 'जिल्लामा मुद्दा दर्ता भएपछि तीन महिना संस्थाकै संरक्षणमा राख्यौं।'
विगत दुई वर्षदेखि अगल बस्दै आएका अर्जुन, उनका परिवारले सानीलाई ललितपुर जिल्ला अदालत समक्ष मौखिक रूपमा श्रीमती स्वीकार गरेका छन्। त्यसैले सम्बन्ध विच्छेदसहित अंश र मानाचामल भरिपाऊँ भनेर मुद्दा दर्ता गराएकी छन्।
उनले गत साउन १० गते जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेकी हुन्।
उक्त मुद्दामा पेसी सरेको सर्यै छ। आफ्नुमाथि भएको अपराध सुनाउँदा अदालत र अधिवक्ताहरूले कानुनी प्रमाण नभएको र पाँच वर्षअघिको मुद्दा भएकाले न्याय पाउन गाह्रो छ भन्ने गरेका छन्।
आफूलाई त्यतिबेला बलात्कारबारे ज्ञान नभएको र अहिले आफूमाथि भएको अन्यायबारे बोल्नुपर्छ, लड्नुपर्छ भन्ने चेतना आइसकेकाले अर्जुन रावतले कानुनी कारबाही भोग्नैपर्छ भन्ने मान्यतामा अविचलित छिन् उनी।
अहिले उनी मुद्दा लड्न अठोट लिएर काठमाडौं जागिर खोज्दै हिँडिरहेकी छन्।
'यहाँ मुद्दा लड्न बाँच्नुपर्यो। त्यसैले काम खोजिरहेकी छु,' अन्तिममा उनले भनिन्, 'काम पाए काम गर्दै मुद्दा लड्थेँ।'