पिनास एक किसिमको संक्रमण हो। अनुहारको हड्डीमा सानो खाली भाग हुन्छ, त्यसको 'कनेक्सन' नाकको हड्डीमा हुन्छ, उक्त हड्डीमा संक्रमण भएपछि पिनास हुन्छ।
विशेषगरी नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोगलाइ पिनास भनिन्छ।
यो दुई किसिमको हुन्छ- एक्युट (गम्भीर प्रकृतिको) पिनास र क्रोनिक (दीर्घकालीन) पिनास।
तीन हप्तादेखि ६ हप्तासम्म हुने पिनासलाई एक्युट भनिन्छ भने तीन महिनासम्म हुने पिनासलाई क्रोनिक भनिन्छ।
एलर्जी र संक्रमणको समायोजनले पिनास हुन्छ। नाकको हड्डी बांगो भएमा (एनाटोमिक एबनर्मालिटिज) भए पनि पिनास हुन सक्छ। तर हड्डी बांगो हुँदैमा पिनास नै हुन्छ भन्ने होइन। जहाँबाट सिँगान बग्छ, त्यहाँबाट बग्न सकेन भने पिनास हुने हो। यस्तो अवस्थामा अपरेसन गर्नुपर्ने हुन सक्छ। धरैजसो पिनास धूलो र चिसोको संक्रमणले हुन्छ।
पिनासको सुरूआत रूघाबाट हुन्छ। एक्युट पिनासमा सुरूमा रूघा लाग्छ, त्यसको १० दिनपछि नाक बन्द हुने, पहेँलो सिँगान बग्ने, ज्वरो आउने हुन्छ। पहेँलो सिँगान देखा परेपछि रूघा पाक्यो भनिन्छ तर त्यो पिनासको लक्षण हुन सक्छ। पिनासले आलस्यता बढाउँछ र बिरामी भएजस्तो महसुस हुन्छ।
क्रोनिकमा तीन महिनासम्म लगातार रूघा लाग्ने, सिँगान पाक्ने, बास्ना थाहा नहुने हुन्छ। यस्तो पिनासमा ज्वरो आउन पनि सक्छ। यससँगै निरन्तर टाउको दुखेर काम गर्न गाह्रो हुन्छ।
पिनासमा ध्यान दिएन भने दैनिक जीवनमै असर पर्छ। सधैं टाउको दुखिरहँदा, रूघा लागिरहँदा दैनिक जीवनमा नकारात्मक असर त पर्ने नै भयो। यससँगै नाकमा मासु पलाउने समस्या समेत देखापर्छ।
सिँगान जसरी बग्नुपर्ने त्यसरी बग्न पाएन भने, त्यो जम्मा हुन्छ र घाउ भएर नाकमा पिप जम्मा हुन्छ। बेस्सरी ज्वरो आउने, संक्रमण बढेर दिमागमा, आँखासम्म फैलिन सक्छ। यस्ता जटिलता देखा परेर मेनेन्जाइटिससम्म हुन सक्छ।
एलर्जी धूलो र चिसोले बढी हुने हुँदा यसबाट जोगिनुपर्छ। एसी भएको कोठामा धेरै समयसम्म बस्नु हुँदैन। असिलो ठाउँबाट बच्न सके पिनासबाट सुरक्षित हुन सकिन्छ। पिनासको सामान्य लक्षण देखिए परीक्षण गरिहाल्नुपर्छ।
रूघापछि पहेँलो सिँगान देखिएमा (एक्युट पिनास) एन्टिबायोटिक खानुपर्छ।
दिनको दुई पटकसम्म बाफ लिनुपर्छ। नाक सफा गर्नुपर्छ। अनि चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्छ।
क्रोनिक पिनासका लागि नाक सफा गरे धेरै राम्रो हुन्छ। अपरेसन नै गरिहाल्नुपर्छ भन्ने हुँदैन। तर तीनदेखि ६ हप्तासम्म एन्टिबायोटिक चलाउँदा पनि निको भएन भने सिटी स्क्यान गर्नुपर्छ। सिटी स्क्यान गर्दा रोग धेरै देखियो, सिँगान बग्ने ठाउँ बन्द भएको छ भने अपरेसन गर्नुपर्छ।
अपरेसनको मुख्य उद्देश्य पुरै निको पार्ने होइन। औषधि सम्बन्धित ठाउँसम्म पुगोस् भन्ने हो। त्यसकारण अपरेसन गरेपछि पनि औषधिको प्रयोग गर्नुपर्छ।
पिनास निकै हुँदैन भनेर तनावमा भने बस्नु पर्दैन। यो एउटा संक्रमण हो। सामान्य पिनास निको हुन्छ। क्रोनिक पिनास भने ठीक हुँदै फेरि हुन सक्छ। यसलाई पनि नियन्त्रण गर्न सकिन्छ। आत्तिहाल्नु पर्दैन तर समयमै सचेत भने हुनुपर्छ।