बालकुमारी घटनामा ज्यान गुमाएकाहरूको न्याय माग्दै ललितपुरको ग्वार्कोमा विरोध र्याली निकालिएको छ।
दुई जना युवकको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै मृतकका आफन्तलगायतले र्याली निकालेका हुन्।
ग्वार्कोबाट ब्यानरसहित निकालिएको र्याली पाटन अस्पताल पुग्ने र त्यहाँबाट पुनः ग्वार्को पुगी श्रद्धाञ्जली सभामा परिणत हुने पीडितले बताएका छन्।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर चर्किएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।
घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। मृतकका परिवारले सरकारले पीडित पक्षसँग समन्वय नगरी छानबिन समिति गठन गरेको आरोप लगाउँदै आएका छन्।
सरकारले गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ।
मृतकका परिवारलाई १०/१० लाख दिने निर्णय गरिसकेको छ। घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग पनि बनाएको छ।