‘यसपालि त पक्कै भाषा परीक्षा दिन पाइन्छ!’
केही दिनअघि मात्रै आमा नन्दा रावतलाई फोन गरेर छोरा सुजनले यसो भनेका थिए।
छोराले कोरियन भाषा परीक्षाको बाधा–अड्चन फुक्नै आँटेको बताएपछि नन्दा पनि फुरूङ्ग परेकी थिइन्। ‘छिटो परीक्षा दिएर घर आएस्’ भनेकी थिइन्।
अफसोस्!
छोरा पुगेनन्।
त्योभन्दा अघि उनको मृत्युको खबर पुग्यो। त्यो पनि प्रहरीको लाठी लागेर!
इपिएस भाषा परीक्षा दिन नपाएको आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरको बालकुमारी क्षेत्रमा आगजनी गर्यो। आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्यो। स्थिति काबुमा नआएपछि गोली नै चलाउनुपरेको प्रहरीले बताएको छ।
मृतक सुजनको छातीमा निलो डाम छ। किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार उनी अचेत अवस्थामा अस्पताल पुर्याइएका थिए। ४०-४५ मिनेट सिपिआर गर्दा पनि उनी बौरिएनन्। अन्ततः चिकित्सकले मृत घोषणा गरे।
बालकुमारीमा प्रहरीको लाठीबाट ढलेसँगै उनको कोरिया जाने सपनाको पनि अन्त्येष्टि भयो।
‘कोरिया जाने उसको ठूलो सपना थियो। घरको जेठो छोरा भएकाले दायित्व पनि हुने नै भयो, दैलेख महाबु गाउँपालिका–६ की वडासदस्य पवित्राकुमारी गिरीले सेतोपाटीसँग भनिन्।
पवित्राका अनुसार नन्दाको परिवारमाथि शृंखलाबद्ध विपत्ति आइलागेको छ। गाउँमै सुखदु:ख गरी खाने परिवार हो उनको।
२०७९ साल मंसिर २ गते उनको थाप्लामा विपत्ति खनियो।
श्रीमान भक्तबहादुर रावत ब्रेन ट्युमरका कारण बिते।
‘दाइ (भक्तबहादुर) हट्टाकट्टा नै हुनुहुन्थ्यो। अचानक उहाँलाई ब्रेन ट्युरले गाँज्यो। दुई पटक अपरेसन गरियो। पक्षघातसमेत भयो। उहाँको पाँच दाजुभाइ हुनुहुन्थ्यो। सबैले भरथेग पनि गरे। तर, केही सीप लागेन,’ पवित्राले भनिन्।
काठमाडौंमा ३० लाख बढी रूपैयाँ सिध्याउँदा पनि रोग बिसेक नभएपछि भक्तबहादुरलाई गाउँमै लगिएको थियो।
रोगसँग हार मान्दै उनी बिते।
श्रीमान बितेपछि दुई छोरा र एउटी छोरीको पालनपोषण गर्ने जिम्मा नन्दाको काँधमा आएको थियो। दैलेख बजारबाट बाह्र कक्षा उत्तीर्ण गरेका सुजनले कोरिया जान्छु भन्न थालेपछि नन्दाले नाइँनास्ती गर्न नसकेको पवित्राले बताइन्।
कोरिया जान भनेर एक वर्षदेखि नै तयारी गरेको भए पनि भाषा परीक्षा दिन पाएका थिएनन्। यसपटक पक्कै दिन पाइन्छ भनेर उनी शुक्रबार इपिएस कार्यालयमा गएको पवित्राले बताइन्।
‘त्यस्तो हुलहुज्जत गरिहिँड्ने केटो त होइन। कसरी हुलमुलमा पर्यो। हामी पनि आश्चर्यमा छौं,’ पवित्राले सेतोपाटीसँग भनिन्, ‘ऊ बिहानै त्यहाँ गएको रहेछ। त्यस्तो घटना भएको उनका साथीहरूले सुनाए।’
प्रहरीको लाठी लागेको खबर दिउँसै सुजनका साथीले घरमा गरेका थिए। दैलेखको महाबुबाट सयको संख्यामा युवा काठमाडौं आएका छन्। सबै भाषा सिकेर इपिएस परीक्षा दिने तयारीमा छन्।
उस्तै सपना देखेको साथी ढल्दा उनीहरू पनि सम्हालिन सकेका छैनन्। पति वियोगको पीडामाथि पुत्र वियोगको शोक थपिँदा आमा अचेत बन्न पुगेको पवित्राले बताइन्।
‘सरकारले बुझाउन सकेन कि, लाठीमुंग्री गरेर सिकाउन खोजेको हो कि, अनाहकमा मेरो भदो मर्यो,’ कार्यपालिका सदस्य रहेकी पवित्राले बिलौना गरिन्, ‘मैले कसरी सम्झाउनु!’
मृतक सुजनका एक जना दिदी र भाइ छन्।
‘बाबुलाई रोग नलाग्दासम्म उनको पारिवारिक अवस्था सुदृढ थियो। बाबु व्यापार–व्यवसाय पनि गर्नुहुन्थ्यो। उहाँ दैलेखको उद्योग वाणिज्य संघको उपाध्यक्षसमेत हुनुहन्थ्यो। परिवारमा एकपछि अर्को घटना घट्यो!,’ वडाध्यक्ष रेशमबहादुर थापामगरले भने।