१० महिना २२ दिन लामो जेल सजाय काटेर आज (सोमबार) कैदमुक्त हुँदै थिए विराटनगर १० का चण्डेश्वर सहनी।
तर, जेलमुक्त बन्ने दिन नै उनको मृत्यु भएको छ।
सोमबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएपछि अन्य कैदीबन्दी र परिवारजनले मोरङ कारागार प्रशासनले लापरबाही गरेको भन्दै असन्तोष प्रकट गरेका छन्।
बिहान पौने ७ मा उनको अस्पतालमा मृत्यु भएपछि परिवारजनले अस्पतालमा नाराबाजी गरेका थिए। परिवारजनले जेल प्रशासनले बिरामीबारे जानकारी नदिएको भन्दै आक्रोश पोखेका छन्।
लेनदेन मुद्दामा दोषी ठहर भएपछि सहनी जेलमा थिए। मोरङ जिल्ला अदालतले उनलाई १० महिना २२ दिन थुनामा राख्न आदेश दिए बमोजिम थुनामा रहेका उनको कैद सजाय आजै सकिँदै थियो।
जेलमा सबै प्रक्रिया पूरा गरेर दिउँसो सम्ममा उनी कैदमुक्त बन्दै थिए। तर, आजै उनको मृत्यु भएपछि परिवारजनले उनलाई जेल बाहिर स्वागत गर्न पाएन।
‘पेटको र श्वासप्रश्वासको समस्या देखिएपछि हामीले उनलाई पुस ७ गते बेलुका साढे सात बजे कोशी अस्पताल पुर्याएका थियौं,’ मोरङ कारागारका एक कर्मचारीले भने, ‘परिवारलाई जानकारी पनि गराएका हौं। तर, अहिले राम्रो अस्पताल लान्थ्यौं हामी, किन कोशीमा राखेको भनेर उहाँहरूले असन्तोष देखाइरहनु भएको छ। हामीले कुनै लापरबाही गरेका हैनौं।’
सहनी २०७९ माघ १७ गतेदेखि थुनामा थिए। मोरङ जिल्ला अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालतले फैसला गरेपछि फरार उनलाई २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेको थियो।
मोरङ कारागारका निमित्त प्रमुख कृष्णहरि न्यौपानेले उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको जानकारी दिए।
मृतक सहनीका परिवारले भने उनीमाथी निर्घात कुटपिट भएको आरोप लगाएको छ। उनका ज्वाइँ सन्तोषकुमार मिश्राका अनुसार सहनीको शरीर फुलेको छ।
‘हामी शुक्रबार मात्रै उहाँलाई जेलमा भेटन गएका थियौं, त्यसबेलासम्म उहाँलाई केही भएको थिएन,’ उनले भने, ‘आज बिहान ७:१० मा एक्कासी फोन गरेर तपाईंको मान्छे मर्यो, लैजानु भन्यो। आज मरेको मान्छेको शरीर त्यसरी फुल्छ?’
मिश्राले घटनाको छानबिन हुनुपर्ने माग गरे। कुटपिटका कारण चन्डेश्वरको ज्यान गएको भन्दै उनले छानबिन गरि दोषीमाथि कारबाही हुनुपर्ने माग गरे। चन्डेश्वर सहनीका दुई छोरा, श्रीमती र छोरीज्वाइँ छन्। छोराहरू क्रमश:२० र १८ वर्षका छन्।
मृतक सहनीको शव अहिले अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार फरेन्सिक चिकित्सक अभावमा पोस्टमार्टम हुन सकेको छैन।
‘परिवारजनले चित्त बुझाउनु भएको छैन, त्यसैले फरेन्सिक जाँच गराउने तयारी छ,’ मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले भने, ‘अहिले चिकित्सक उपलब्ध नभए धरान पठाउने बारे तयारी हुँदैछ। हामी छलफलमै छौं।’
विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरीका अनुसार ४८ वर्षीय मृतक सहनी डेरा लिएर बस्ने गर्थे।
‘यहाँको नारायण प्राविमा रेखदेख पनि गर्ने भनेर उनलाई कोठा दिइएको थियो,’ गिरिले भने, ‘श्रीमती र परिवारसहित उनी बस्दै आएका थिए। तर, लेनदेनमा ठगी गरेको भनेपछि उनी थुनामा थिए।’
अहिले भने उनलाई र परिवारलाई विद्यालय रेखदेखको जिम्मेवारी नदिइएको गिरीले जानकारी दिए। गिरीका अनुसार सहनीका दुई छोरा र एक छोरी पनि छन्। छोरीको बिहे भैसकेको छ।
पछिल्लो समयमा मोरङ कारागारमा विभिन्न कारणले तनाव भइरहेको छ।
अघिल्लो साता मात्रै मोरङकै लेटाङ नगरपालिका–४ का ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले छानविनको माग राखेका थिए।
प्रशासनले छानबिन समिति बनाएपछि मात्रै परिवारजनले उनको शव बुझेका थिए। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले अहिले भुजेलको मृत्युबारे छानबिन गरिरहेको छ।
कारागारमा हाल ९४८ पुरुष महिला ८९ र नावलक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन्।