स्वास्थ्य चौकीमा औषधि किनेपछि फिर्ता गरेको पैसा हातमा लिन वृद्धाले मानिनन्। भनिन्- नानी तिमी त दलित पो रहेछौ, पैसा भुइँमै राखिदेऊ!
यो कुरा सुनेर २३ वर्षीया अनमी तुलसाकुमारी विश्वकर्मा खङ्ग्रङ्ग भइन्।
मुगुको सोरू गाउँपालिका वडा नम्बर ९ खनैयाँस्थित स्वास्थ्यचौकीमा घटेको यो घटना एघार महिना अघिको हो।
अनमी विश्वकर्मा यो स्वास्थ्यचौकीमा जागिर खान थालेको दोस्रो दिन थियो।
औषधि लिन पुगेकी वृद्धाले अनमीको अनुहार हेर्दै जातबारे सोधेकी थिइन्। तुलसाकुमारीले जवाफ दिइन्- विश्वकर्मा हो। औषधि लिँदालिँदै अनमीको थर थाहा पाएपछि ती वृद्धाले फिर्ता पैसा भुइँमै राख्न लगाएको तुलसाकुमारीले सेतोपाटीसँग बताइन्।
‘जागिर खान आएको दोस्रो दिनमै मैले जातीय विभेद महसुस गरेकी थिएँ,’ त्यसबेलाको घटना सम्झँदै उनले भनिन्, ‘दलितको हातबाट पैसा लिँदैनन् भन्ने कुरा मैले त्यसै दिन थाहा पाएकी हुँ।’
वृद्धाले भनेअनुसार नै तुलसाकुमारीले फिर्ता पैसा भुइँमा राखिदिइन्। ‘मैले त्यसबेला ती वृद्धालाई केही पनि भन्न सकिनँ। हाजिर भएको दुई दिन मात्र भएको थियो, यहाँको रहनसहन के कस्तो छ भन्ने भेउ पाइसकेको थिइनँ,’ उनले भनिन्।
२०७९ माघ ९ गते कर्णाली प्रदेश लोक सेवामार्फत् नाम निकालेकी उनको मुगुको सोरू गाउँपालिका वडा नम्बर-९ को स्वास्थ्य चौकीमा नियुक्ति भएको थियो। माघ १८ मा मुगु पुगेकी उनले भोलिपल्टदेखि स्वास्थ्यचौकीमा काम थालेकी थिइन्। लोक सेवाबाट नाम निकाल्नुअघि डेढ वर्ष कडा मेहनत गरेको उनले बताइन्।
उनी स्वास्थ्यचौकी पुगेदेखि नै गाउँलेहरूले रूचाएका थिएनन्। पहिलो दिन नै 'प्रहरीलाई बोलाउने केटी' भनेर केहीले गाली गरेको उनले सम्झिइन्। उनी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ की हुन्।
पहिलो दिन- बिहान १० नबज्दै उनी स्वास्थ्यचौकी पुगेकी थिइन्। नौ जना कार्यरत रहे पनि एकदुई जना मात्रै स्वास्थ्यकर्मी आइपुगेका थिए। त्यसैबेला एक जना आएर समस्या बताए, औषधि मागे। उनले एउटा औषधि दिइन्, अर्को फेला पारिनन्। अरू स्वास्थ्यकर्मी आएपछि बाँकी औषधि दिन्छु भन्दै ती व्यक्तिलाई एकछिनमा आउन भनिन्। तर उनले औषधि दिन नसक्ने भन्दै कराउन थाले। एकछिनमा उनका अगाडि भिड जम्मा भइहाल्यो!
‘मागेका बेला औषधि दिन नसक्ने स्वास्थ्यकर्मी हटाउँछौं भनेर कराउन पो थाले, पालिकालाई खबर गरेपछि प्रहरी पठाइदिनुभयो। प्रहरी आएपछि कसले बोलाएको हँ? भन्दै मलाई गाली र कुटपिट गर्न खोजेका थिए,’ स्वास्थ्यचौकीमा पुगेको पहिलो दिनको घटनाबारे उनले सुनाइन्।
स्वास्थ्यचौकी आएको दिनमै पुलिस बोलाएको भनेर उनीमाथि गाउँलेले फरक व्यवहार गर्न थालेका थिए। ‘मानिसहरू मलाई देखेपछि तुलसाले भोलि पनि प्रहरी बोलाउँछे....भन्ने जस्ता कुरा गर्थे,’ उनले भनिन्।
जागिर खान आएको दुई दिनमा भएका यी दुई घटनाले उनलाई यस्तो ठाउँमा बसेर कसरी सेवा दिने भन्ने लाग्न थाल्यो। उनले बस्नका लागि कोठा खोजे पनि पाएकी थिइनन्, सँगै काम गर्ने स्वास्थ्यकर्मीको घरमा बसेकी थिइन्।
उनले आफूमाथि जातीय विभेद र छुवाछुतसम्बन्धी घटना भएको, बस्नका लागि कोठा नपाएको र स्थानीय बासिन्दाले सहयोगी भूमिका नखेलेको विषयमा गाउँपालिकामा जानकारी गराइन्।
स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाहीले आफ्नो घरमा कोठा खाली रहेको बताए। मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरी उनले कोठा लिइन्। यो घरमा चार जना सरकारी जागिरे भाडामा बस्थे। गाउँमा भाडामा बस्न मिल्ने राम्रो घर यही थियो। यहाँ गैरदलित एक पुरूष पनि भाडामा बस्थे।
उनले बसोबासका लागि कोठा त पाइन् तर दिनहुँजसो मोबाइलमा धम्की आउन थाल्यो। केहीले त फोनमा अपशब्दसमेत बोल्थे। जति धम्की दिए पनि स्वास्थ्यचौकी छाडेर अन्यत्र जान्न भन्ने उनको अडान थियो।
सोही पालिकाको अर्को गाउँमा ओखलढुंगाबाट जागिर खान पुगेकी कर्मचारीलाई पनि पाँच/छ महिनामै गाउँ छाड्न बाध्य पारिएको घटना उनले सुनेकी थिइन्। स्थानीय युवाहरूले जिस्क्याउने र दु:ख दिने गरेपछि ती कर्मचारी छ महिनामै त्यहाँबाट अन्यत्रै गएकी थिइन्।
तुलसाकुमारी करिब तीन महिना यहाँ बसिन्। एक साता बिदा मिलाएर उनी वैशाखमा घर फर्किएकी थिइन्।
‘म घर आएका बेला दलितलाई किन घरमा राखेको भन्दै गाउँलेले गाली गरेकोले छिटो आएर कोठा सर्न घरबेटी आमा झ्यापु शाहीले भन्नुभयो,’ उनले भनिन्। दलित बस्ने घर भन्दै गाउँलेले कुरा काटेको र आफूलाई गाह्रो भएकोले अन्यत्र कोठा खोज्न घरबेटी शाहीले आग्रह गरेको उनको भनाइ छ।
‘अब गएपछि कहाँ बस्ने भन्ने पीर पो लाग्न थाल्यो मलाई, त्यो पूरै शाही ठकुरीको बस्ती हो,’ उनले भनिन्। स्वास्थ्यचौकीका इन्चार्जलाई फोन गरेर उनले घरमा कोठा गरी बस्न नदिने हो भने स्वास्थ्यचौकीले क्वार्टरको व्यवस्थापन गरिदिनुपर्ने बताइन्।
‘क्वार्टरमा झ्याल, ढोका, शौचालय र बत्ती थिएन। व्यवस्था मिलाइदिन इन्चार्जलाई भनेको थिएँ,’ उनले भनिन्, ‘बिदा सकिएपछि आउनुस्, क्वार्टर व्यवस्थापनमा सहयोग गरूँला भनेर उहाँले भन्नुभएको थियो।’
इन्चार्जले यति 'बचन' दिएपछि क्वार्टर व्यवस्थापन हुन्छ भनेर उनी मुगु फर्किइन्। तर क्वार्टर मर्मत भएको रहेनछ। उनी त्यसदिन बस्न कोठामै गइन्। तर उनलाई त्यो घरबाट सर्न दबाब आइरहेको थियो।
बस्न नै गाह्रो हुने भएपछि तुलसाकुमारीले काज सरूवाका लागि गाउँपालिका कार्यालय धाइन्। ‘तीन/चार महिनासम्म गाउँपालिकाले केही खबर गरेन,’ उनले भनिन्, ‘बरू गाउँका ठूला पदमा बसेका व्यक्तिले रातको १२/१ बजे फोन गरेर भेट्न आउँछु भनेका थिए।’
उनलाई महिनावारी हुँदा सात दिनसम्म गोठमा सुत्नुपर्ने, कोठामा बस्न नपाउने भन्ने सर्तसमेत राख्न थालेका थिए।
गाउँपालिकाले काज सरूवामा चासो नदिएपछि उनी प्रदेश मन्त्रालय पुगिन्। तीन/चार महिना धाउँदा पनि कसैले गुनासो सुनुवाइ नगरेको उनले बताइन्। 'मन्त्रालयमै पुगेर जातीय विभेद, लैंगिक हिसा र यौन हिंसा भइरहेको छभन्दा पनि काज सरूवा गर्न मानेनन्,' उनले भनिन्।
कहिले गाउँपालिका त कहिले प्रदेश मन्त्रालयमा काज सरूवाका लागि पुग्ने गरेकी उनलाई अब स्वास्थ्यचौकी इन्चार्जले नै घरको कोठा खाली गरिदिन भन्न थाले। काज मिलाएर स्वास्थ्यचौकी इन्चार्ज भएका उनलाई गाउँपालिकाले काज फिर्ता गरिदिएको थियो।
'आफू इन्चार्ज हुँदासम्म उनकी आमाले निस्किन दबाब दिए पनि सुरजले केही भनेका थिएनन्। तर काज फिर्ता हुनसाथ निस्किन दबाब दिए,' उनले भनिन्, 'आजको आजै कोठा छोड्नुस् भन्दै असजिलो पार्न थाले।’
उनले झ्याल-ढोका र शौचालयको व्यवस्था नभए पनि स्वास्थ्यचौकीकै क्वार्टमा बस्ने कुरा राखेकी थिइन्। तर यो मान्न इन्चार्ज तयार भएनन्। ‘तपाईं क्वार्टमा बसे पनि म फेरि इन्चार्ज भएर आएमा त्यहाँबाट हटाउँछु भन्नुभयो,' तुलसाले भनिन्।
उनले आफूले पाएका दु:ख र हैरानीबारे दिनहुँजसो परिवारका सदस्यहरूलाई जानकारी गराउँथिन्। सामाजिक सञ्जालमार्फत् उनले भोगिरहेको समस्या बाहिरिएको थियो।
'सेवा गर्न भनेर आएको व्यक्तिलाई त यस्तो व्यवहार गरिन्छ भने गाउँका अन्य दलितलाई कस्तो होला। त्यसैले आफू चुप लागेर बस्नु हुँदैन भनेर कानुनी लडाइँ लड्न तयार भएकी हुँ,' उनले भनिन्।
यो वडामा तीन वटा गाउँ छन्- सिद्धि, खनैया र काले। खनैयाँमा दलित समुदायको बसोबास छैन। अन्यत्र छ। ‘खानेपानीका धारासम्म पनि छुन नदिने रहेछन्। दलितलाई मान्छेको व्यवहार गरेको पाइनँ यहाँ मैले,’ उनले भनिन्।
उनले विगत ११ महिनादेखि विभेद भोगिरहेकी छन्, अब सहने पक्षमा उनी छैनन्। उनले कानुनी लडाइँ लड्ने बताएकी छन्।
उनले आइतबार जिल्ला प्रहरी कार्यालय मुगुमा उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाका अनुसार तुलसाकुमारीले जातीय विभेदको जाहेरी दिएकी हुन्।
उनले सोरू गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध जाहेरी दिएकी छन्।
उनले जातीय भेदभाव तथा छुजाछुत कसुरमा जाहेरी दिएकी छन्। सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाही आइतबार बिहानै पक्राउ परिसकेका छन्।
जिल्ला अदालत मुगुमा मुद्दासमेत दर्ता भइसकेको डिएसपी थापाले जानकारी दिए।