महिनाको एक हजार अमेरिकी डलर कमाउने प्रलोभनमा म्यानमार पुगेका धादिङका श्याम (नाम परिवर्तन) १० महिना नपुग्दै फर्किएका छन्। डेढ लाख रुपैयाँ लगानी गरेर थाइल्याण्ड भन्दै म्यानमार पुर्याएपछि असोज ४ गते उनी फर्कन विवश भए।
आफ्नै लगानीमा म्यानमार पुगेका उनलाई उक्त कम्पनीबाट बाहिर निस्किन ४ लाख रुपैयाँ बुझाउनुपरेको सरकारी वकिल कार्यालय समक्ष बयान दिएका छन्।
'६ हजार अमेरिकी डलरमा किनेको भन्दै ८ लाख रुपैयाँ मागेका थिए,' उनले बयानमा भनेका छन्- 'शारीरिक समस्या भएको भन्दै ४ लाख रुपैयाँ बुझाएपछि मात्र कम्पनीले बाहिर निस्किन दियो।'
आफूलाई त्यहाँ पुर्याएबापत एजेन्टले पैसा लिएको भन्ने कुरा पछि मात्र थाहा पाएको श्यामले बयान दिएका छन्।
जागिरको प्रलोभनमा परेर थाइल्यान्ड भन्दै म्यानमारमा आफू कसरी बेचिन पुगे भन्ने कुरा बयानमा प्रष्ट खुलाएका छन्।
श्याम धादिङको धार्केमा खाजा घर सञ्चालन गर्दै आइरहेका थिए। उनलाई पत्नीले पनि सघाउँथिन्। दम्पती नै मिलेर खाजा होटल राम्रैसँग चलाएका थिए। कमाइ मनग्गे हुने भएकाले गुजारा चलाउन कठिन थिएन।
अकस्मात २०७६ को अन्तिममा कोभिड-१९ को प्रभाव विश्वभर फैलियो। त्यसको असर श्यामलाई पनि पर्यो।
कोभिडले गाँज्दै लगेपछि देशभर बन्दाबन्दी (लकडाउन) भयो। धार्केमा होटल नै सञ्चालन गर्न नसक्ने भएपछि उनी विस्थापित भए। अर्कै ठाउँमा सर्ने योजना बने।
उनकी दिदी धादिङको अर्जेलटारमा व्यवसाय गर्थिन्। दिदीकै सल्लाहअनुसार श्याम त्यहीँ पुगे। दिदीको नजिकै होटल चलाउन थाले।
त्यहाँ पनि श्यामको गुजारा नचलेको होइन। खान-लगाउन ठिक्क भएको थियो। बचत हुन सकेन।
एक दिन उनको भेट श्रीकृष्ण घलेसँग भयो। घले थाइल्यान्ड जाने तयारीमा थिए।
कोभिडले व्यवसाय थला बस्ने अवस्थामा पुगिसकेकाले श्यामको मोह भंग भइसकेको थियो। विकल्पको खोजीमा थिए उनी। त्यहीबीचमा घले भेटिएका थिए।
थाइल्यान्ड जान धेरै रुपैयाँ नलाग्ने तर मासिक एक हजार डलर कमाइ हुने भएकाले आफू जान लागेको घलेले सुनाए।
श्याम लोभिए। घलेलाई विश्वास गरिहाल्नुको अर्को कारण पनि थियो।
श्यामले बयान दिएअनुसार घलेसँग कुरा भएको केही महिनामै आफू थाइल्याण्ड पुगेको भन्दै उनले फेसबुकमा म्यासेज गरेका थिए।
'थाइल्याण्डमा टेबलमा बसेर मासिक एक हजार अमेरिकी डलर कमाइरहेको छु भन्दै घलेले सुनाइरहेका थिए,' श्यामले बयानमा भनेका छन्, 'होटल राम्रोसँग नचलेकाले आफू पनि जाने सोच बनाएँ।'
श्यामलाई कम्प्युटर चलाउन आउँदैनथ्यो। आफूले अप्ठ्यारो मानीमानी कम्प्युटर चलाउन नआउने बताएको श्यामले भनेका छन्। त्यतिबेला घलेले आधारभूत ज्ञान भए पुग्ने भन्दै आउन आग्रह गरेको श्यामले बताएका छन्।
एक लाख ५० हजार रुपैयाँ लगानी गरे दुई/चार हप्ताभित्र भिसा आउने गरी प्रक्रिया अगाडि बढ्ने भन्दै प्रलोभनमा पारेको श्यामले बयान दिएका छन्।
थाइल्यान्ड आउने प्रक्रिया पनि घले आफैंले गरिदिने जानकारी गराए। त्यसका लागि श्यामले कोभिड-१९ को कार्ड र राहदानीको फोटो खिचेर पठाए पुग्ने बताएका थिए।
'आफ्नो कागजात फोटो खिचेर पठाएको थिएँ,' उनले भने, 'पैसा भिसा आएपछि बुझाउने सहमति भएको थियो।'
उनले फोटो पठाएको एक हप्तापछि सबै कागजात तयार भएको भन्दै घलेले उनकी दिदी गमला तामाङलाई पैसा बुझाई कागजात लिनू भने।
२०७९ मंसिर २१ गते गमला तामाङलाई एक लाख ५० हजार नगद बुझाएर हवाई टिकट लिँदा पो श्याम छक्क परे।
टिकट म्यानमारको थियो।
आश्चर्यमा परेका श्यामले आफू थाइल्याण्ड जाने भन्दै घलेलाई जानकारी गराएको बताउँछन्।
घलेले श्यामलाई काम गर्ने ठाउँ थाइल्याण्ड र म्यानमारको सीमा नजिकै रहेको बताए। म्यानमारको टिकटले केही फरक नपर्ने भन्दै विश्वास दिलाए। आकर्षक कमाइमा लोभिएका श्यामले घलेको कुरालाई पत्याए।
त्यही अनुसार श्यामले मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कलकत्ताको लागि उडे। उनलाई म्यानमार जान लागेको नभन्नु भनिएको थियो। श्यामले पनि त्यही माने।
कलकत्ता पुगेपछि थाइल्यान्डको कागजातहरू देखाएर उडे। थाइल्यान्ड पुगेपछि पुन म्यानमारको याङगोन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको जानकारी दिए।
म्यानमारको विमानस्थलमा घलेले भनेजस्तै श्यामलाई लिन एक चिनियाँ नागरिक आइपुगेका थिए।
श्याम मात्र होइन उनको साथमा अरू पनि थिए।
उनलाई लिन आएका चिनियाँ नागरिकले कारमा चढाई १३ घन्टा यात्रा गराएपछि मात्र म्यानमारको म्याओडी भन्ने ठाउँमा पुर्याइएको थियो।
त्यहाँ पुग्दा श्यामलाई चिनियाँ भाषामा लेखेको ठूलो भवनभित्र पुर्याइएको थियो। भवनभित्र छिर्नासाथ राहदानी लिई चिनियाँ भाषामा लेखेको कागजमा कम्पनीको नीति-नियम भनी सहिछाप गर्न लगाइएको श्यामले बताएका छन्।
'कागजमा हस्तक्षर गरिसकेपछि त्यो दिन आराम गर्न छोडिदिए,' उनले भने।
त्यसको भोलिपल्ट उनीसहित ५ जनालाई भेला पारी १ थान कम्प्युटर र १ थान मोबाइल दिई नक्कली नामबाट फेसबुक, ह्वाटसएप, ट्विटर र इन्स्टाग्राम खोल्न लगाइएको थियो।
उक्त नक्कली नामबाट अमेरिकाका महिला तथा पुरुषसँग कुराकानी गर्नुपर्ने र बिटक्वाइनमा लगानी गर्न लगाउनुपर्ने श्यामको काम रहेछ। उनीहरूलाई लगानी गर्न लगाएबापत श्यामले कमिसन र तलब पाउने रहेछन्।
केही साता नबित्दै श्यामले आफूलाई अवैध काम गर्न लगाइएको भन्ने थाहा पाइहाले। स्वदेश फर्किन चाहन्थे। त्यसैले उनले त्यहाँको बोस भनिने चिनियाँ नागरिकलाई आफू फर्किन चाहेको कुरा बताए। तर त्यहाँ उनीहरूले कुटपिट गर्दै आफूले नेपाली एजेन्टमार्फत् ६ हजार अमेरिकी डलर खर्च गरेको जानकारी दिए।
'मलाई त एजेन्टहरूले बेचेका पो रहेछन्,' उनले भने।
उनले आफूलाई त्यहाँ पुर्याउने घलेलाई पनि सम्पर्क गर्न खोजे। तर उनी श्यामको सम्पर्कमा आएनन्। श्यामलाई त्यहाँ काम गर्ने सक्दिनँ भन्ने लागिसकेको थियो।
श्यामलाई दिनहुँ सामाजिक सञ्जालमार्फत् म्यासेज गर्दा के बोल्ने, नबोल्ने, म्यासेजमा कसरी रिप्लाइ गर्ने, अमेरिकाका महिला तथा पुरुषहरूलाई कसरी ट्र्यापमा पार्ने भन्ने तालिमसमेत दिइएको थियो।
अवैध भन्ने थाहा पाएपछि त्यहीँ काम गरिरहन श्यामको मनले मानेन।
'उनीहरूले भनेको जस्तो काम नगर्दा कुटपिट गर्ने गर्थे, करेन्टसमेत लगाए,' उनले भने।
दैनिक ५ जना अमेरिकन नागरिकको नम्बर माग्ने काम दिइएको थियो। त्यही काम पनि पूरा गर्न नसक्दा कुटपिट गर्ने, करेन्ट लगाउने, राम्रोसँग खाना नदिने गरेको उनले बताए।
श्याम दैनिक १८ घन्टाभन्दा बढी काममा जोतिनुपर्थ्यो।
श्यामले यातना सहन नसकेपछि घलेले चिनाएका रिजन भनिने राम तामाङ र नेपालमा रहेकी प्रेमा तामाङ समेतलाई फर्काउन आग्रह गरे। तर उनीहरूले श्यामको कुरालाई वास्ता गरेनन्।
एजेन्ट सम्पर्कविहीन र चिनेजानेका व्यक्तिले समेत फर्काउन वास्ता नगरेपछि कम्पनीलाई नै आफूले स्वदेश फर्काइदिन आग्रह गरे।
तर उनले बीचमा काम छोडेर जाने भए आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए।
उनीहरूको कुटपिट र यातना सहेर बस्नै नसक्ने अवस्थामा पुगेपछि उनीहरूले भनेझैं श्याम पैसा तिर्न तयार भए। यता श्रीमती र परिवारलाई पनि आफूमाथि सधैं कुटपिट हुने र त्यहाँ पुर्याएवापत एजेन्टले पैसा लिएको बताए।
यता परिवारले पनि छोराले विदेशमै बन्धक बन्नुपर्ने डरले ४ लाख रुपैयाँ श्यामलाई भनिएकै खातामा हाल्न लगाए।
श्यामले चिनियाँ नागरिकले भनेअनुसार श्रवण सराफ भन्ने व्यक्तिको एनआइसी एसियाको खातामा नेपालमै पैसा हाल्न लगाए। पैसा हालिदिएको रसिद पनि देखाए।
'चार लाख रुपैयाँमात्र जम्मा गरिदिएकाले छोड्न मानेका थिएनन्। शारीरिक समस्या देखाएर बल्लबल्ल फुत्किएँ,' उनले भने।
तर उनको समस्या त्यहाँबाट निस्किएपछि पनि अन्त्य भएन।
उनी बिजनेस भिसामा त्यहाँ पुगेका थिए। त्यहाँबाट निस्किएर एयरपोर्टमा जाँदा भिसा सकिएकाले श्याम घर फर्किन पाएनन्।
त्यसपश्चात् उनी त्यहीँ ४५ दिनसम्म आफ्नै खर्चमा होटलमा बसे। त्यहाँ बस्दा उनको डेढ लाख रुपैयाँ सकियो। तत्पश्चात उनी आफैंले त्यहाँको नेपाली दूतावासमा सम्पर्क गरेर १० महिनापछि २०८० भदौ ४ गते डिपोर्ट भई फर्किएका हुन्।
नेपाल फर्किएपछि आफूलाई थाइल्यान्ड लैजाने भन्दै बिजनेस भिसामा म्यानमार पुर्याई बन्धक बनाएको र शारीरिक तथा मानसिक यातना दिएको परिवारलाई सुनाए।
परिवारको सल्लाहअनुसार जागिरको प्रलोभन देखाई आफूलाई बेचेको भन्दै श्यामले मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा उजुरी दिए।
उनले धादिङ धुनबेसी नगरपालिका- ५ का २६ वर्षीय श्रीकृष्ण घले, थाक्रे गाउँपालिका -१० का ३० वर्षीय रिजन राम भन्ने वाङ्बो तामाङ, नुवाकोट बेलकोटगढी नगरपालिका-४ की प्रेमा तामाङ र धुनबेसी नगरपालिका-५ की विरूद्ध उनले उजुरी दिए।
उनीहरू चारै जनाविरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १७ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई पर्न गएको शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक क्षतिवापत मानसिव माफिकको क्षतिपूर्ति तथा भारतको कलकत्ता, थाइल्यान्ड हुँदै म्यानमार पठाउने क्रममा लिएको १ लाख ५० हजार र म्यानमारमा होटलमा बस्दा खर्च भएको १ लाख ५० हजार नेपाल फर्किनको लागि म्यानमारस्थित चिनियाँ कम्पनीमा बुझाएको ४ लाख गरी ७ लाख रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ।
उनले उजुरी दिएको २८ दिनपछि तीन जना पक्राउ परेका छन्। धुनबेसी नगरपालिका-५ की गमला तामाङ फरार छिन्।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार नियन्त्रणमा रहेका तीनै जनालाई सरकारी वकिल कार्यालमा बुझाइसकिएको छ।
घलेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अरू पनि संलग्न देखिएकाले पक्राउ गरिएको हो।
पछिल्लो समय शिक्षित व्यक्तिसमेत बेचबखिनमा पर्ने क्रम बढ्दो छ। कुनै पनि व्यक्तिलाई झुक्याइ, ललाइफकाइ गलत काममा लगाउनु बेचबिखन हो।
सन् २०२३ जुन ७ मा इन्टरपोलद्वारा जारी गरिएको सूचनामा दक्षिणपूर्वी देशहरू विशेषत: कम्बोडिया, लाओस र म्यानमार आदिमा अनलाइन स्क्याम र साइबर अपराध हुने गरेको उल्लेख गरेको थियो। त्यस्ता कार्यको लागि मानव बेचबिखन तथा ओसारपसार भइरहेको भन्दै सचेत गराइएको थियो।