कालीकोटको शुभकालिका–४ स्थित नैनलदेव आधारभूत विद्यालयको वातावरण सकारात्मकरूपमा बदलिएको छ। विद्यार्थीको सिकाइ स्तर र उपस्थिति दुबै बढेको छ। अभिभावकको सक्रियता पनि बढेको छ। विद्यालय व्यवस्थापन समितिले पनि निरन्तर गुणस्तरको अनुगमन र मूल्यांकन गर्ने गरेको छ।
‘पहिला स्कुलमा बोलाउँदा पनि अभिभावकहरू आउनुहुन्थेन। आजकाल आफैँ आएर छोराछोरीको पढाइबारे सोधखोज गर्नुहुन्छ,’ प्रधानाध्यापक दानकला शाही भन्छिन्, ‘विद्यार्थीको सिकाइ स्तर बढेको छ। अभिभावको सक्रियता पनि बढेको छ। मलाई खुसी लागेको छ।’
शिक्षकहरूको पनि सक्रियता वृद्धि भएको छ। आफ्नो विषयमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षकहरू लगनशील भएका छन्।
जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित पशुपति आधारभूत विद्यालयको वातावरण पनि पछिल्लो चार वर्षमा धेरै बदलिएको छ। कक्षा कोठा सफा छन्। विद्यार्थीको उपस्थिति बढेको छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरू बाक्लै गरी आउने गरेका छन्। उनीहरूको चासो विद्यार्थीको सिकाइमा हुने गरेको छ।
प्रधानाध्यापक अमरबहादुर रावतका अनुसार फेरिएको वातावरणले शैक्षिक गुणस्तरमा सुधार भएको छ।
‘कुनै बेला विद्यालयको गुणस्तर शून्य भयो। अर्कोमा मर्ज गर्ने (गाभ्ने) कुरा पनि भएको थियो। हामी सुधारको प्रयासमा थियौं,’ रावतले भने, ‘अहिले हाम्रा विद्यार्थीहरू अंग्रेजीमै दोहोरो कुरा गर्न सक्छन्। अनुगमनमा आउनेले धन्यवाद दिने गरेका छन्।’
‘गुणस्तरीय सिकाइ कार्यढाँचा (क्यूएलएफ)’ लागु भएपछि यी दुई सामुदायिक विद्यालयको समग्र शैक्षिक वातावरण फेरिएको हो। क्यूएलएफ अहिले कालीकोट र जाजरकोटका १२ वटा विद्यालयमा लागु भएको छ। आधारभूत तह (कक्षा १–८) सम्मका विद्यार्थीको सिकाइ सुधार गर्ने उद्देश्यले तयार गरिएको (क्यूएलएफ) परीक्षण निमित्त तत्कालका लागि थोरै विद्यालयमा लागु गरिएको हो।
यो कार्यढाँचा विद्यालय तहको गुणस्तरीय सिकाइका लागि शिक्षाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेन र मध्यपश्चिम विश्वविद्यालयले आपसी सहकार्यमा तयार पारेका हुन्।
क्यूएलएफ मापनका सूचकहरूमा समुदायको सहभागिता र अभिभावकत्व पनि रहेको छ।
क्यूएलएफ लागु भएपछि विद्यार्थीको सिकाइका विषयमा अभिभाव र शिक्षकबीच संवाद बढेको छ। त्यसअघि संवाद करिब शूल्य रहेको थियो। नैनलदेव आधारभूत विद्यालयका प्रधानाध्यापक शाहीका अनुसार हाल शिक्षक र अभिभावकबीच विद्यार्थीको सिकाइ अवस्थाबारे महिनामा एकपटक सामूहिक छलफल हुने गरेको छ।
‘अहिले विद्यार्थीको निरन्तर मूल्यांकनका लागि पुस्तिका बनाइएको छ। त्यसमा कुनै पाठ पढिसक्दा विद्यार्थीको सिकाइ वृद्धिको टिपोट गरिएको हुन्छ,’ उनी भन्छिन्, ‘अभिभावक महिनामा एकपटक विद्यलायमै आएर छोराछोरीको मूल्यांकन पुस्तिकमा हस्ताक्षर गर्नुपर्छ। सिकाइ कमजोर रहेको थाहा पाएपछि घरमा अभिभावकको निगरानी बढेको पाइएको छ।’
उनले विद्यालयमा अभिभावक र सबै सरोकारवालाहरू सक्रिय भएर लाग्दा विद्यार्थीको सिकाइ र विद्यालयको गुणस्तर वृद्धि हुँदोरहेछ भन्ने सिकाइ आफूलाई पनि भएको बताइन्।
परीक्षणका लागि क्यूएलएफ लागु गरिएका कालीकोट र जाजरकोटका विद्यालयहरूमा कार्यढाँचा निर्माण टोलीले चरणबद्धरूपमा अनुगमन पनि गरेको छ। मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. चन्द्रप्रसाद रिजालका अनुसार ती विद्यालयमा विद्यार्थीहरूको नतिजा अपेक्षाअनुसार नै सुधार भएको पाइएको छ।
‘हामी क्यूएलएफ विधिमा चलेका विद्यालयहरूमा चरण चरणमा पुग्यौँ। केही दिनअघि अन्तिम नतिजा लिन गयौँ,’ रिजालले भने, ‘विद्यालयहरूमा निकै परिवर्तन आएको पायौँ। विद्यालयको गुणस्तर बढाउन समुदायसँग छलफल गर्ने, पूर्वाधार निर्माणमा समुदायले हातेमालो गर्ने, अभिभावकले शैक्षिक सामग्री दिने जस्ता गतिविधि गरेको पाइयो।’
अझै केही विद्यालयले क्यूएलएफ प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको पनि उनले बताए। ‘धेरैमा राम्रो भएको छ, केही विद्यालयमा प्रभावकारी देखिएन,’ उनले भने, ‘हामीले आवश्यक सुझाब दिएका छौँ। केही समयमा राम्रो परिणाम देखिने अपेक्षा छ।’
के हो क्यूएलएफ?
‘गुणस्तरीय सिकाइ कार्यढाँचा’ अर्थात् ‘फ्रेमवर्क फर क्वालिटी लर्निङ (क्यूएलएफ)’ प्रारम्भिक तहका बालबालिकाको सिकाइ गुणस्तर अभिवृद्धि ढाँचा हो। लामो समय शिक्षा क्षेत्रमा काम गरेका विश्वविद्यालयका प्राध्यापक र शिक्षाविद् लगायतको सहभागितामा क्यूएलएफ अवधारणा अघि सारिएको हो।
बालबालिकामा गणित र भाषाको सिर्जनशीलता विकास गर्नु तथा उनीहरूको समग्र हित, संरक्षण र उत्थानमा सहयोग पुर्याउनु क्यूएलएफको उद्देश्य हो।
यसमा नौवटा शर्त र ९० वटा सूचक छन्। । क्यूएलएफ लागु गरिएका विद्यालयहरूले यसका शर्त पालना र सूचक अनुसारको उपलब्धि हासिल गर्नुपर्छ।
पाठ्यक्रम विकास र कार्यान्वयन; शिक्षक व्यवस्थापन र तालिम; कक्षाकोठाको व्यवस्थापन; नियमित मूल्यांकन र पुरस्कार; विद्यालयको पूर्वाधार विकास र भौतिक वातावरण; सरसफाइ तथा पोषण; विद्यालयको नेतृत्व, सुशासन र व्यवस्थापन; शैक्षिक तथा सूचना प्रणालीको व्यवस्थापन; बालबालिकाको भौतिक, मानसिक तथा सामाजिक संरक्षण, अभिभावकत्व तथा समुदायको सहभागिता क्यूएलएफका शर्तहरू हुन्।
यी शर्तहरू पनि प्राथमिक र सक्षम चरण गरी दुई चरणमा विभाजित छन्। प्राथमिक चरणमा चार वटा र सक्षम चरणमा पाँच वटा शर्तहरू छन्।
यी शर्तहरू पालना भएमा बालबालिकाको सिकाइ सुधार हुने रिजालको भनाइ छ।
कसरी आयो अवधारणा?
रिजालका अनुसार नेपालमा गुणस्तरीय सिकाइका अनेक ढाँचाहरू छन्। कर्णालीको परिवेश सुहाउँदो क्यूएलएफ लागु गरिएको हो।
‘हामीले कर्णालीको सिकाइ गुणस्तरका लागि नयाँ ढाँचा विकास गर्न सल्लाह गर्यौँ। सुरुमा शिक्षक, विद्यार्थी अभिभावकबीच सिधा सम्पर्क हुने गरी सिकाइ ढाँचा बनाउन छलफल गर्यौँ,’ उनले भने, ‘अन्य सिकाइ गुणस्तर ढाँचा र सेभ द चिल्ड्रेनले अरू देशमा गरेका अभ्यासहरूको अध्ययन गरेर कर्णालीका सुहाउँदो ढाँचा बनाएका हौँ।’
दुई वर्षमा क्यूएलएफ तयार भएको हो। क्यूएलएफ लागु गर्न १२ वटै विद्यालयहरूको अवस्थाको अध्ययन पनि गरिएको थियो।
रिजालका अनुसार कर्णालीका लागि बनेको यो सिकाइ ढाँचाले आधारभूत तहमा गुणस्तरीय सिकाइका आधारहरू निर्धारण गरेको छ। सरकारले यो ढाँचा देशभरका विद्यालयमा लागु गर्ने हो भने चाँडै सकारात्मक परिणामा देखापर्ने उनको विश्वास छ।