त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन सार्वजनिक गरिएको छ।
शुक्रबार विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
शुक्रबार विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रमुख भन्सार अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताए।
प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना समितिमा छन्।
उक्त समितिलाई पाँच दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए।
उनका अनुसार त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदैछ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको थियो।
विमानस्थल भन्सार कार्यालयले गएराति ११: ४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो। उनले ज्याकेट बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए।
उक्त सूचना प्राप्त भएपछि भन्सार कर्मचारीहरूले विमानस्थलबाटै पछ्याएर पक्राउ गरेको पाण्डेले बताए।
उनीबाट ७ वटा बिस्कुट आकारको १४ किलो सुन बरामद भएको हो। उक्त सुनको वास्तविक परिमाण आउन बाँकी छ। उनले उक्त सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो।
तस्बिरहरू: