ललितपुर महानगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय लक्ष्मण खड्कालाई घर छेउको पाटन दरबार आइतबार पहिलो पटक घुम्ने अवसर मिल्यो।
उनी २ वर्षको हुँदा पोलियोले कम्मरमुनिको भाग नचल्ने भयो। त्यही कारण उनी २५ वर्षको उमेरसम्म घरको आँगनबाट बाहिर निस्कन पाएका थिएनन्। दुई दशकअघि उनले ह्विलचियर पाए। जसोतसो घरबाहिर जान मिल्ने भयो।
तर पाटन दरबारभित्र छिर्न सकिँदैनथ्यो, त्यहाँ ह्विलचियर गुडाउन मिल्ने संरचना थिएन। सिँढी बाटोमा उनको ह्विलचियर चढ्दैनथ्यो!
यतिका समयपछि बल्ल आफू आइतबार पाटन दरबार छिर्न र घुम्न पाएको खड्काले बताए। 'बुढेसकालमा भए पनि घर नजिकैको दरबार घुम्न पाएँ। पुर्खाको मेहनत र कला हेर्न पाउँदा अर्कै दुनियाँमा आएजस्तो भयो,' उनले सेतोपाटीसँग भने, ‘बाहिरबाट देखेभन्दा फरक रहेछ। यहाँका कलात्मक चित्र घण्टौंसम्म हेरिरहन मन लाग्ने!’
उनले यसअघि सहयोगीका साथमा एक-दुई पटक पाटन दरबार बाहिरैबाट हेरेका थिए। ‘दरबारभित्र कस्तो होला भन्ने कौतूहल हुन्थ्यो, आज छिर्न पाएँ, निकै खुसी छु,’ उनले भने।
३२ औं अन्तराष्ट्रिय अपांगता दिवसका अवसरमा ललितपुर जिल्ला र ललितपुर महानगरको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाटन दरबार क्षेत्र घुम्ने व्यवस्था मिलाइएको थियो।
उनीहरूलाई घुमाउन केही अस्थायी र्याम (भर्याङ) बनाइएको थियो। उक्त भर्याङको सहायताले ह्विलचियरबाट उनीहरूले पाटन दरबार हेर्न पाए।
यही मौकामा पाटन दरबार घुम्न आइतबार बिहानै ललितपुर महानगरपालिका आइपुगेका थिए, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा बस्ने ४२ वर्षीय कृष्णराज चौधरी। उनी चारप्राङ्गे सवारीसाधन चलाउँछन्।
ह्विलचियर प्रयोगकर्तालाई दरबार घुमाउने भनेदेखि नै उनलाई निन्द्रा परेको थिएन। कस्तो होला भन्ने लागिरहेको थियो। 'आज दरबार घुम्न पाएकोमा मन फुरूङ्ग भएको छ,' उनले सेतोपाटीसँग भने।
उनी विगत २१ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्। केही पहिलेसम्म उनी आकलझुकल पशुपतिनाथ जाने गर्थे। ‘मलाई पशुपतिमा अभद्र व्यवहार गरियो, दुई वर्षयता गएको छैन,’ उनले भने।
ह्विलचियर गुडाउँदै भिडमा किन आएको भन्दै पशुपतिका कर्मचारीले उनलाई हप्काएका रहेछन्। उनको मन दुखेको छ। 'शारीरिक अपांगता भएका व्यक्ति घरभित्रै कैद हुन् भन्ने सोच्छन् कि क्या हो?,’ उनले भने।
उनलाई पाटन दरबार क्षेत्र घुम्न मन लागेको थियो। ह्विलचियर जाँदैन भनेपछि उनी त्यहाँ जान पाएका थिएनन्। ‘ह्विलचियर जाँदैन भनेपछि रहरहरूलाई मारेर बसेँ,’ उनले भने, ‘मनले चाहे दैवले पुर्याउँछन् भन्ने सुनेको थिएँ, आज ह्विलचियर गुडाउँदै पाटन दरबार घुमेँ। यहाँका कला हेर्दा मेरा आँखा अघाएनन्। सबै मूर्ति र कला नियाल्न र छुन मन थियो तर भिडले गर्दा सकिएन। तैपनि एक-दुई मूर्ति र चित्र छुन पाएँ।’
दरबार क्षेत्र घुमेपछि उनले 'ढिलाचाँडो रहर पूरा हुने रहेछ' भन्ने लागेको बताए। ' एक घन्टा दरबार घुम्दा विश्व घुमेजस्तो लाग्यो,' उनले भने, ‘आत्मविश्वास पनि बढेको छ।’
विश्वसम्पदा सूचीमा परेको दरबारभित्र ह्विलचियर गुडाएरै भ्रमण गरेको यो उनको पहिलो अनुभव हो। ४२ वर्षयता पहिलो पटक आफूले खुसी महसुस गरेको उनले बताए।
५४ वर्षीया भोजराज श्रेष्ठ पनि सरकारले चाहेमा अपांगता भएका व्यक्तिका अधुरा इच्छा पूरा गरिदिनसक्ने बताउँछन्। ‘एकदिन पाटन दरबार घुम्न पाउँदा ह्विलचियर प्रयोगकर्ताहरूमा खुसीको सीमा नै छैन,’ उनले भने, ‘ह्विलचियर गुडाउँदै पाटन दरबार हेर्दा चार सय वर्ष पुराना पुर्खालाई भेटेजस्तो लाग्यो।’
काठ कुँदेर बनाएका चित्र, एक सय वटा फरक-फरक शिवका मूर्तिसँगै मन लोभ्याउने दृश्यले पीडा भुलेको उनले बताए। 'शारीरिक अपांगता भएका व्यक्तिलाई यस्ता स-साना खुसीले पनि जीवन जीउन सहज बनाउँछ। गेटबाट भित्र छिर्नसाथ पुर्खालाई भेटेजस्तो भयो। यहाँका कलाको म वर्णन पनि गर्न सक्दिनँ।'
उनीहरूसहित एक सय ५० जना ह्विलचियर प्रयोगकर्ताले आइतबार पाटन दरबार घुमेका थिए।
अपांगता भएका व्यक्तिहरूका लागि ललितपुर महानगरले उनीहरूकै इच्छाअनुसार दरबार घुमाउने योजना बनाएको थियो। उनीहरूलाई दरबार भित्रका केशवनारायण चोक, मुलचोक, सुन्दरी चोक, पाटन संग्रहालय, गोल्डेन गेट घुमाइएको हो।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार उनीहरूले पाटन दरबार पहिलेदेखि नै घुम्ने इच्छा राखेका थिए। '१७ ठाउँमा अस्थायी र्याम (भर्याङ) राखेर ह्विलचियर प्रयोगकर्तालाई घुमाएका हौं,' उनले भने, ‘उहाँहरू खुसी भएको देख्दा हामीलाई सन्तोष मिलेको छ। महानगर र स्वावलम्बन जीवन पद्धती केन्द्रले गत वैशाखदेखि उहाँहरूलाई दरबार घुमाउने तयारी थालेको थियो।’
ह्विलचियर प्रयोगकर्तालाई महानगरभित्र कहाँ-कहाँ जान अप्ठारो छ भनेर वडा कार्यालय, विद्यालय, पार्क, अवलोकन गराइएको थियो। गत वैशाख २५ गतेदेखि जेठ १३ गतेसम्म महानगरकै एक इन्जिनियर साथमा पठाएर दैनिक १५ देखि २० जनालाई अवलोकन गर्न लगाइएको थियो।
महानगरले ह्विलचियरमैत्री अस्थायी संरचना तयार पार्न करिब पाँच लाख रुपैयाँ खर्च गरेको थियो। ‘स्थायी संरचना बनाउन पुरातत्व विभागदेखि युनोस्कोसँग पनि छलफल गर्नुपर्छ। त्यसका लागि लामो समय लाग्ने भएकाले अस्थायी भर्याङ बनाइएको हो,’ उनले भने, ‘आज दरबार घुम्नुभएका अधिकांशले माथिल्लो तला जान नपाएको गुनासो गर्नुभएको छ। त्यसका लागि हामी थप पहल गर्नेछौं।’
महानगरले अपांगता भएकाहरूले दरबार क्षेत्र घुम्न चाहे भर्याङ राख्न सकिने बताएको छ। ‘सधैं भर्याङ त्यहाँ राख्दा साधारण मानिसहरूलाई हिँड्न असजिलो हुन सक्छ,’ उनले भने, ‘आवश्यक पर्दा राख्छौं।’
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी