अपांगता भएका व्यक्तिहरूले पाटन दरबार स्क्वायरको अवलोकन गरेका छन्।
३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबार उनीहरूले र्यालीसहित पुगेर पाटन दरबार स्वक्वायर अवलोकन गरेका हुन्।
यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने नारासहित दिवस मनाइएको छ।
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्र प्रवेश गर्न अपांगतामैत्री भर्याङहरू बनाएको छ।
महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले काठको र्याम्प हालेर अस्थायी रूपमा अपांगता भएका व्यक्तिहरूलाई पाटन दरबार प्रवेश गराइएको जानकारी दिइन्।
‘आज विशेष दिन पारेर हामीले अस्थायी र्याम्प निर्माण गरेर दरबार अवलोकन गर्ने व्यवस्था मिलाएका छौं। हामीले गत सालमै यसबारे काम गर्ने सोचेका थियौं। तर केही प्राविधिक कुरा नमिल्दा गर्न सकेनौं,’ उनले भनिन्, ‘यसपालि हामी सबै जना मिलेर काम गर्यौं।’
विश्व सम्पदामा सूचिकृत भएकाले यहाँ सधैं राख्न नमिल्ने भएकाले पनि अस्थायी रूपमा काठको र्याम्प निर्माण गरिएको उनको भनाइ थियो।
स्वालम्बन जीवन पद्धतीमा कार्यरत कृष्ण गौतमले पाटन दरबार स्क्वायर प्रवेश गर्न पाउँदा खुसी लागेको बताए। उनी यसअघि दरबार परिसर घुम्न पाएका थिएनन्। तर अपांगमैत्री बनाइदिएसँगै उनले पाटन दरबार प्रवेश गर्ने मौका पाएका हुन्।
‘हामीले सबै भौतिक संरचनाहरू अपांगतामैत्री हुनुपर्छ भनेर वकालत गर्दै आएका थियौं। जनचेतना फैलाउने कामहरू गरिरहेका थियौं,’ उनले भने, ‘त्यसको परिणाम स्वरूप ललितपुर महानगरले अपांगतामैत्री बनाउनको लागि पहल गरेको छ। यो सुरूवात हो। यसरी नै अगाडि बढ्दै गयौं भने अपांगता भएका व्यक्तिहरू पनि रमाउन आउन पाउनेछौं, म पहिलो पटक यहाँ आएको हुँ। खुसी लागेको छ।’
तस्बिरहरू: