रूसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी दियो। उनीहरू रूसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको पत्रमा उल्लेख छ।
दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का र इलाम नगरपालिका–९ का गंगाराज मोक्तान छन्।
उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख गरिएको छ।
‘प्रस्तुत विषयमा तपसिल नेपाली नागरिकको रूसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ दूतावासले कन्सुलरलाई पठाएको पत्रमा उल्लेख छ,‘मृतकहरूको शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने छ। शवको यथाशीघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत निर्देशनअनुसार अनुरोध छ।’
उक्त पत्रमा उनीहरूको जारी रूस-युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाहिँ खुलाइएको छैन।
रूसी फौजमा रहेका तीन नेपाली मारिएपछि उनीहरूको बसोबास रहेको स्थानीय तहका जनप्रतिनिधिमार्फत् उनीहरूको परिवारसँग कुराकानी गरेका छौं।
रूसको भाडाको सेना भएर युक्रेन युद्धमा सामेल भएका दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोका पूर्वप्रहरी हुन्। उनले ६–७ वर्ष प्रहरी सेवामा बिताएका थिए।
प्रहरीको कमाइले मात्रै गुजारा चलाउन कठिन भएपछि उनले सानोतिनो व्यवसाय पनि सुरू गरेको वडाध्यक्ष कुसुम लामाले बताए।
‘गाउँको जग्गाजमिन, आयस्त पनि खासै नहुने, व्यवसायले पनि जीवन चलाउन गाह्रो भएपछि विदेश गएका हुन्,’ वडाध्यक्ष लामाले सेतोपाटीसँग भने।
वडाध्यक्ष लामाका अनुसार राजकुमारसँगै उनका भान्जा नाता पर्ने पनि रूस पुगेका थिए। एजेन्टमार्फत् रूसको भाडाको सैनिक (वाग्नर) समूहमा भर्ती हुन पुगेका उनका भान्जा भने कागजात नमिलेपछि फर्काइएका थिए।
‘मृत्यु भएको खबर थाहा पाएकै दिन भान्जालाई पनि भेटेको थिएँ। मचाहिँ नाम नमिलेर होटलबाट फर्काइएको थिएँ, बाँच्न छलिएछु क्यारे, मामाको यस्तो खबर सुन्नुपर्यो भन्दै थिए,’ वडाध्यक्ष लामाले भने।
३४ वर्षीय राजकुमारको एक छोरा र छोरी छन्। उनी तीन सन्तानमध्ये कान्छा हुन्। उनीभन्दा माथि दुई जना दाजु रहेको वडाध्यक्ष लामाले बताए।
हामीले मृतक राजकुमारका दाजु सुमनसँग पनि कुराकानी गरेका थियौं।
उनले यही विषयमा अहिले प्रतिक्रिया दिन चाहेनन्।
‘हामी निकै पीडामा छौं। शव ल्याउन सकिने हो/होइन भन्ने चिन्ता छ,’ दाजु सुमनले यति मात्रै भने।
वडाध्यक्ष लामाका अनुसार राजकुमार रूस गएको दुई महिना पनि भएको छैन।
‘गत असोजमा मात्रै उनी रूसतिर गएका हुन्। रूसमा सैनिक भर्ना लिँदैछ भनेर कसरी थाहा पाए? एजेन्टले भनिदियो होला, हेर्नुस् त, यस्तो आपत आइलाग्यो,’ वडाध्यक्षले भने।
दाजु सुमनले पनि राजकुमार ‘भिजिट भिसा’मा रूस गएको जानकारी दिए।
वडाले बनाउनुपर्ने सिफारिसलगायत कागजात बनाएर प्रक्रिया अघि बढाएको अध्यक्ष लामाले बताए।
‘परिवारलाई शव ल्याउनाको चिन्ता छ, वडाले बनाउनुपर्ने कागजात बनाएर पठाएका छौं। थप सहयोग आवश्यक पर्छ भने पनि त्यसका लागि तयार छौं। नहुनु घटना भइसक्यो, शव ल्याउन पाए हुन्थ्यो भन्ने छ,’ वडाध्यक्ष लामाले भने।
स्याङ्जा, पुतलीबजार नगरपालिका–५, पौवेगौडेका प्रितम कार्की पनि नेपाली सेनाबाट निवृत्त भएका हुन्। सैनिक सेवाबाट अवकास लिएलगत्तै उनी अफगानिस्तान गएको कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले जानकारी दिए।
मृतक कार्कीले गत साउन ४ गते मात्रै नयाँ पासपोर्ट बनाएका थिए।
‘रूस जानकै लागि हो अथवा, कुन उद्देश्यले हो अगस्ट ६, २०२३ मा नयाँ पासपोर्ट बनाउनुभएको रहेछ,’ रेग्मीले थपे।
कार्की पनि दसैंअघि मात्रै रूस पुगेको खुलेको छ। परिवारमा बाबुआमा, दुई छोरा र श्रीमती रहेको वडाध्यक्ष रेग्मीले जानकारी दिए।
‘उहाँ दुई महिनाअघि, दसैंमा रूस जानु भएको खुलेको छ। त्यसभन्दा अगाडि उहाँ अफगानिस्तान पुगेर फर्कनुभएको रहेछ,’ उनले भने।
छोराको निधनको खबर आएपछि परिवारमा सन्नाटा छाएको वडाध्यक्ष रेग्मीले सुनाए।
‘सुरूमा मलाई कन्सुलरबाट फोन आएको थियो। पछि मलाई मेल पठाउन भनियो। कात्तिक २९ गते नै मृत्यु भएको रहेछ। कन्सुलरबाट मेल आएपछि मैले परिवारलाई खबर गरिदिएँ,’ उनले भने।
हामीले पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई पनि सोध्यौं। मेयर रेग्मी र मृतक कार्की एउटै वडाका रहेछन्।
‘कन्सुलरले जानकारी गराएअनुसार शव ल्याउन सकिने अवस्था रहेनछ! घातक हतियार प्रहारबाट मृत्यु भएकाले शवको पहिचान गर्न पनि गाह्रो हुने बताइएको छ,’ उनले भने, ‘त्यसैले हामीले सरसल्लाह गरेर शव उतै सतगतको प्रक्रिया अघि बढाउने र यता काजकिरिया सुरू गर्ने निष्कर्षमा पुग्यौं। परिवारका सदस्यहरू हिजैबाट किरिया बसिसक्नुभएको छ।’
मृतक कार्कीका ११ र ७ वर्षका छोरा छन्। जेठो छोरा र बुवा किरिया बसेको र वडा र नगरपालिकाले सिफारिस लगायतका कागजात तयार पारेर प्रक्रिया अघि बढाइएको मेयर रेग्मीले जानकारी दिए।
इलाम नगरपालिका–९ का ३२ वर्षीय गंगाराज मोक्तान ४ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि २०७६ साल मंसिर ७ गते त्यहाँ पुगेका उनले पनि एक महिनाअघि आफू रूस जान लागेको परिवारलाई बताएका थिए।
पत्नी याङ्गिला शेर्पाका अनुसार मृतक गंगाराज एक महिनाअघि (अक्टोबर १ तारिखका दिन) रूस हिँडेका थिए। उनी त्यसको भोलिपल्ट रूस पुगे।
‘उहाँ पुगेपछि पनि खासै सम्पर्क हुँदैनथ्यो। अन्तिमपटक नोभेम्बर १२ तारिख अर्थात् कात्तिक २६ गते कुराकानी भएको थियो। कात्तिक २६ गते कुराकानी हुँदा आफू एकसाता लडाइँ चलिरहेको रूस–युक्रेनको सिमानामा बसेर आएको बताउनुभएको थियो,’ पत्नीले शेर्पाले भनिन्।
लडाइँ भइरहेको ठाउँमा बसेर आएकाले एक–दुई दिन आराम गर्ने र फेरि सीमावर्ती इलाकामा जाने मोक्तानले बताएका थिए। यो पटकचाहिँ युद्धग्रस्त क्षेत्रभन्दा वरै रहने पनि उनले जानकारी गराएका थिए।
त्यसो त, मोक्तान कात्तिक २८ गते पनि फेसबुकमा अनलाइन देखिएका थिए। तर, त्यसदिन कुराकानी हुन नसकेको श्रीमतीले बताइन्।
परिवारका अनुसार मोक्तान पूर्वसैनिक हुन्। उनी २०६७ देखि २०७२ सम्म नेपाली सेनामा थिए। त्यहाँबाट अवकास लिएर केही समय खाली बसेका मोक्तान घर–व्यवहार चलाउनका लागि युएई पुगेका थिए।
वडाध्यक्ष गोपाल चौहानका अनुसार मोक्तानको मृत्यु भएको खबर दुई दिनअघिमात्रै कन्सुलर विभागमार्फत् आएको थियो।
‘अस्तिका दिन तारन्तार फोन आएको रहेछ। पछि कल फर्काउँदा कन्सुलर विभागबाट फोन आएको र गंगाराज मोक्तानको खबर थाहा पाएँ। प्रहरीमार्फत् कन्फर्म भएर परिवारलाई जानकारी गराएका हौं,’ चौहानले बताए।
चौहानका अनुसार मोक्तानले आफू युद्धग्रस्त क्षेत्रमा भएको र तलमाथि भए परिवारको नम्बर टिपाएको जानकारी परिवारलाई गराएका रहेछन्।
‘यहाँ सम्पर्क गर्ने अरू माध्यम हुँदैन। केही भइहाले घरको नम्बर टिपाएको छु। यतैबाट फोन आउँछ,’ परिवारको सदस्यलाई उद्धृत गर्दै वडाध्यक्ष चौहानले भने।
उनले शव झिकाउने र आवश्यक प्रक्रियाका लागि वडाले कागजात तयार पारेर पठाएको पनि जानकारी दिए।