दुई महिना अघिको कुरा हो !
३८ वर्षीया सविता उप्रेती काठमाडौंबाट गृह जिल्ला दोलखा जाँदै थिइन्। बाटामा उनलाई भारतीय मानव अधिकार परिषद्को नामको नम्बरबाट तीन/ चार पटक फोन आएको रहेछ।
भारतीय नम्बर भएकाले खासै वास्ता गरिनन्। साँझपख डाटा प्याक लिएर सामाजिक सञ्जाल खोलिन्।
यता ह्वाट्सएपमा पनि त्यही नम्बरबाट म्यासेज आएको देखिन्। म्यासेज पढ्दै गर्दा उताबाट फोन आयो। उठाइन्।
फोनमा कसैले एक्कै स्वरमा भने- 'तपाईंलाई बधाइ छ! अन्तर्राष्ट्रिय साहसिक महिला २०२३ मा छनोट हुनुभएको छ।
सविता केही बोल्न नपाउँदै आफू भारतीय मानव अधिकार परिषदबाट डा. एन्थोनी राजु बोलेको बताए।
उनलाई पटक्कै विश्वास लागेन।
उनले आफूलाई झुक्याइएको होला भन्ने सोचेर एकछिन चुपचाप बसिन्। उनी अलमलिएको देखेर तपाईंको नाम सामाजिक अभियन्ता अपरा थापाले सिफारिस गरिदिनुभएको भन्दै कुराकानी टुंग्याए।
तत्पश्चात् उनी केहीबेर मौन भइन्।
ह्वाट्सएपमा बेला-बेला तपाईंले पुरस्कार पाउनुभएको छ। 'तपाईंले उपहार जित्नुभएको छ' भन्ने फोन आउँथ्यो। त्यसैले सुरूमा उनले आफूलाई झुक्याइएको भन्ने सोचिन्।
एन्थोनीले अपराको नाम लिएका थिए। त्यसैले उनले अपरालाई सोधेर विश्वस्त हुन खोजिन्।
तत्कालै उनले अपरालाई फोन लगाइन् पनि।
अपरा पनि समाजसेवाकै क्षेत्रमा सक्रिय छिन्। उनीहरूबीच आत्मीय सम्बन्ध छ।
अपरा सविताको विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रमा अनुगमनका लागि आएकी थिइन्। उनीहरूको दुई/तीन पटक भेट भएको छ। सामाजिक सञ्जालमा कुराकानी भइरहन्थ्यो।
'तपाईंको नाम लिँदै एन्थोनी राजुले फोन गर्नुभएको थियो, तपाईंले मेरो नाम अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि सिफारिस गर्नुभएको थियो?,' उनले अपरालाई सोधिन्।
'फोन गर्नेले एन्थोनी राजु नै बताउनु भएको भए तपाईं छनोट हुनुभएको साँचो हो,' अपराले उनलाई विश्वस्त हुन भनिन्।
तर पनि उनको मनले पत्याइरहेको थिएन। यत्रो सम्मानबाट विभूषित होउँला भनेर उनले ठानेकै थिइनन्।
फोन आएको दुई सातापछि फेरि एन्थोनीले फोन गरेर छनोट प्रक्रियापछिका लागि आवश्यक कागजात पठाउन भने।
त्यसपछि बल्ल उनलाई थाहा भयो एन्थोनी परिषद्का पदाधिकारी रहेछन्।
'अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारमा छनोट भएको भन्दा सुरूमा झुक्याइएको हो कि भन्ने लाग्यो,' उनले पुलकित हुँदै सुनाइन्, 'पछि फेरि फोन र इमेल आएपछि विश्वस्त भएँ।'
उनलाई इमेलमार्फत् छनोट भएको बधाईसँगै व्यक्तिगत र संस्थाको विवरण, सम्मान स्वीकार गरेको भिडिओ, धन्यवादको भिडिओसहितको अन्य कागजात पठाउन भनिएको थियो।
त्यसपश्चात् उनले आफू अन्तर्राष्ट्रिय साहसिक महिला २०२३ मा छनोट भएको स्वीकार गरिन्। उनीसँग अपराले व्यक्तिगत विवरण मागेकी थिइन्। व्यक्तिगत विवरण सहजै जता पनि दिइने भएकाले आफूलाई सिफारिस गरिदिएको भन्नेबारे जानकारी नभएको उनले बताइन्।
इमेलमा उनीहरूले मागेको कागजात र भिडिओ पठाएपछि शुक्रबार अर्थात् मंसिर ८ गते नाम परीक्षण र सही नाम पठाउन पुन: पत्र आएको थियो। तत्पश्चात् मात्र छनोट प्रक्रिया पूरा भएको भन्दै बधाई आएको उनले सेतोपाटीसँग भनिन्।
पुरस्कार प्रदान गर्ने मिति डिसेम्बर १० तारिख हो।
उनलाई दुई दिनअघि नै नयाँ दिल्ली बोलाइएको छ। पुरस्कार अर्पण समारोहमा दुई जना लैजान पाइन्छ। उनले बुवाआमालाई त्यो क्षणको प्रत्यक्षदर्शी बनाउन चाहेकी छन्।
उनको छनोटको अन्तिम प्रक्रिया शुक्रबार मात्र सकिएको हो। त्योसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ।
उनी भारतीय मानवअधिकार परिषद्ले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसिक महिला २०२३ मा छनोट भएकी हुन्। न्याय, मानव अधिकार, लैंगिक समानता र महिला, सशक्तीकरण तथा बालबालिका सेवा र वकालत गर्ने साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरूलाई यो पुरस्कार अर्पण गरिन्छ।
सन् २०१५ देखि यो पुरस्कार दिन थालिएको हो।
यस परिषदमा १ सय ४० राष्ट्र सदस्य छन्। त्यसमध्यमा उत्कृष्ट काम गरेका महिलाहरूलाई यो सम्मानका लागि छनोट गरिन्छ।
सविताका लागि यो पहिलो अन्तर्राष्ट्रिय पुरस्कार हो।
तर राष्ट्रियस्तरमा भने दुई पटक सम्मान पाइसकेकी छन्।
२०७४ मा जनसेवा श्री (समाज सेवा) बाट सम्मानित भएको थिइन् भने २०७२ मा युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभाका लागि उनी छानिएकी थिइन्।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान सजिलै पाएकी भने होइनन्। त्यसका लागि उनले त्याग, समर्पण र निष्ठाको लामो बाटो हिँडेकी छन्।
सरल भाषामा भन्नुपर्दा उनको १३ वर्षको अथक मेहनतको उपलब्धी हो यो सम्मान।
सविता दोलखाको वैतेश्वर गाउँपालिका जन्मिएकी हुन्। उनी भरत उप्रेती र भवानीको दोस्रो सन्तान हुन्। उनकी आमाले चार सन्तानलाई जन्म दिएकी छन्।
उनको बाल्यकाल सामान्य रह्यो। घर नजिकै विद्यालय र आमाले छोरीलाई पनि पठाउनुपर्छ भन्ने ज्ञानले पढ्ने अवसर पाइन्। उनले २०५६ सालमा वैतेश्वर माध्यामिक विद्यालयबाट एसएलसी दिएकी थिइन्।
२०५७ सालमा पहिलो श्रेणीबाट एसएलसी पास गरिन्। त्यतिबेला सरकारी स्कूलबाट पहिलो श्रेणीमा पास हुनु ठूलो उपलब्धी मानिन्थ्यो। त्यसैले उनले पढ्ने रहरलाई उनका बा-आमाले थन्क्याउन चाहेनन्।
थप पढ्नका लागि काठमाडौं वा सदरमुकाम पुग्नुपर्थ्यो। त्यहाँ छोरीलाई एक्लै राख्न उनकी आमा चाहँदैनथिन्। त्यसैले मामाघरमा काम सघाउने बहानामा काठमाडौं पठाउन उनका बा-आमा राजी भए।
काठमाडौं आएलगत्तै उनकी आमाले गाउँकै समूहबाट १० हजार रुपैयाँ ऋण काढेर पढ्ने खर्च पठाइदिइन्।
त्यही पैसाले उनी र उनका भाइले कक्षा ११ मा पशुपति बहुमुखी क्याम्पस, मित्रपार्कमा भर्ना भएका थिए। उनले व्यवस्थापन विषय लिएर पढेकी हुन्।
उनलाई पढ्न प्रत्येक महिना घरबाट आमाले पैसा पठाउन सम्भव थिइन्।
त्यसैले पढ्ने खर्च जुटाउन केही काम खोजिरहेको थिइन्।
त्यतिबेला साथीहरूको माध्यमबाट जोरपाटी बेँसीगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पढाउने अवसर मिल्यो। त्यतिबेला उनको तलब २ हजार १ सय रूपैयाँ थियो।
त्यतिले उनको, भाइको र कोठा खर्च जेनतेन पुग्थ्यो। जागिर खान थालेपछि स्कूल नजिकै कोठा लिएर बस्न थालेकी थिइन्।
त्यसपश्चात् थप भाइबहिनीलाई पनि यतै बोलाइन्।
अध्ययन र शिक्षण पेशालाई समान वेगमा अघि बढाइन्।
शिक्षण पेशासँगै पत्रकारिता गर्ने रहर थियो। तत्कालीन राजनीतिक, सामाजिक विषय समेटेर विचार, दृष्टिकोण लेख्थिन्। विभिन्न सञ्चार माध्यममा पठाउँथिन्। कतिले छापिदिन्थे. कतिले वास्ता गर्दैनथिए।
तर पनि लेख्न छोडिनन्।
पशुपति कलेजमै केही पत्रकार उनका सहपाठी थिए। उनीहरूको सहयोगमा अनलाइनमा काम गर्ने मौका मिल्यो। अनलाइन हुँदै टिभीमासमेत काम गरिन्। तर सेवासुविधा पाइनन्। त्यसैले निरन्तरता दिन नसकेको उनी बताउँछिन्।
'पत्रकारिताको रहरसँगै विभिन्न व्यक्तिसँग चिनजान भयो। चार वर्षसम्म स्वयमसेवकै रूपमा काम गरेँ,' उनले त्यतिबेलाको अवस्था बताइन्।
शिक्षण पेसाबाट आफूलाई खर्च पुर्याउँथिन्। पत्रकारिता रहरका लागि गर्थिन्।
सात वर्ष शिक्षण पेसा गरिन्। सात वर्ष पुग्दै गर्दा उनलाई राष्ट्रिय अपांग पुनर्स्थापना केन्द्रमा कर्मचारी आवश्यक रहेको साथीहरूको माध्यमबाट जानकारी पाइन्।
त्यतिबेलासम्म स्नाकोत्तर पढ्दै थिइन्। अधिकृत पदमा करारमा जागिर खाइन्। अपांग पुनर्स्थापना केन्द्रमा काम गर्न उनीसँग कुनै अनुभव थिएन्। तथापि आफू छनोट हुनुलाई संयोग मान्छिन्।
'त्यो जागिर जिन्दगीको टर्निङ पोइन्ट बन्यो,' उनले भनिन्, 'अपांगता भएका व्यक्तिहरूको पीडा नजिकबाट बुझ्ने अवसर मिल्यो।'
केन्द्रमा अपांगता भएका व्यक्ति आएका बेला उनीहरूको कुरा सुन्थिन्। उनीहरूको कुरा सुनेर भावुक हुन्थिन्। उनीहरूको पीडाले चसक्क मुटु घोच्थ्यो।
७/८ महिनासम्म उनले कार्यालयमा बसेर अपांगता भएका व्यक्तिहरूको पीडालाई हृदयले छामिन्।
एक वर्षको हुँदैगर्दा उनी एकदिन भक्तपुर हनुमन्ते खोला छेउमा सुकुम्वासी बस्ती अनुगमनका लागि पुगेकी थिइन्। त्यहाँ उनले एक ८ वर्षीय बालकलाई डोरीले बाँधेर राखेको देखिन्।
कोठाअगाडिको फोहोरको थुप्रो नजिकै बालक दिसापिसाबमा लतपतिएको अवस्थामा देखिन्। त्यो विदारक दृश्य देख्दा उनले मन थाम्न सकिनन्।
यस्ता बालबालिका लागि केही न केही गर्नुपर्ने सोच त आयो तर कसरी गर्ने? उनको मथिङ्गलमा कुनै उपाय सुझिरहेको थिएन।
बाँधेर राखेको बालकलाई पनि अरूजस्तै सफा लुगा लगाउन, सफा ठाउँमा बस्न, अरूसँग घुलमिल हुन मन लाग्छ होला भन्ने लागिरहेको थियो। त्यसले ती बालकको हेरचाहका लागि कुनै संस्थामा राखिदिन सविता चाहन्थिन्। उनले उपत्यकामा धेरै ठाउँमा त्यस्ता बालबालिकाहरूलाई राख्ने वा हेरचाह गर्ने ठाउँ खोजिन्।
अहँ पाइनन्।
उक्त बालकलाई के भएको हो भनेर सोधपुछ गर्दा बालकलाई अटिजम भएको थाहा पाइन्।
शरीर स्वस्थ र सग्लो भए पनि मस्तिष्कको विकास पूर्ण नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो। यसको उपचार भनेको थेरापी र मस्तिष्कलाई व्यस्त राख्नु मानिन्छ।
अपांगता क्षेत्रमा काम गर्ने भएकाले उनलाई अटिजमको बारेमा अलि-अलि बुझेकी थिइन्। विस्तृत थाहा थिएन्। उनलाई ती बालकलाई जसरी पनि अन्य बालबालिकासँग घुलमिल गराउने रहर थियो। त्यसले त्यसबारे अध्ययन गरिन्।
उक्त बालकको अवस्थाबारे बुझ्न उनी बेला-बेला सुकुम्वासी बस्ती पुग्थिन्। तर अभिभावकहरूलाई कहिले भेट्दिनथिइन्।
उनले अपांगताको क्षेत्रमा काम गरेको दुई वर्ष पुग्ने लागेको थियो।
एकदिन शनिबार भाइबहिनीलाई साथमा लिएर ती बालक भेट्न पुगिन्। त्यो दिन उनले बालकको अभिभावकलाई भेटिन। त्यसदिन उनले बालकलाई डोरीबाट मुक्त गराइदिन भनिन्। अभिभावकले डोरी फुकाइदिए बालक भाग्ने र अरूलाई कुटपिट गर्ने भनेर फुकाउन मानेनन्।
उनको आग्रहपछि ती बालकलाई खुट्टामा बाँधेर राखेको डोरी फुकाइदिएका थिए।
डोरी खोल्नासाथ बालक अगाडिको फोहोरको थ्रुपोमा पुगे। त्यहाँको एउटा पुस्कतको पाना उठाए। त्यही पाना वल्टाइपल्टाइ हेरे। त्यो देखेर सवितालाई ती बालकले पढ्ने चाहना व्यक्त गरेको हो कि भन्ने लाग्यो।
निकैबेर बालकले खेलेको र वरपर हिँड्नपाएको खुसीलाई नियालिन्। डोरी खोलिएकाले बालकको अनुहारमा खुसी भरिएको थियो। त्यो देख्दा उनको हृदय पनि गद्गगद् भएको थियो।
त्यहाँबाट फर्किंदा आफू अटिजम भएका बालबालिका लागि काम गर्ने योजना बनाएर मात्र फर्किइन्। त्यो दिनदेखि अटिजम भएका बालबालिको अनुहार खुसी ल्याउने नै उनको एक मात्र लक्ष्य बन्यो।
त्यही सोचेर त्यहाँ गएको भोलिपल्ट अर्थात् २०६६ साल साउन दोस्रो साता जागिर छोडिन्।
अटिजमबारे बुझ्न र अभिभावकसँगै समाजलाई बुझाउने योजना बुनिन्। त्यसका लागि अनलाइनका समाचार, लेख पढिन्। त्यतिले मात्र सिकाइको दायरा फराकिलो नहुनेभएपछि पढ्न र तालिम लिन भारत जाने निधो गरिन्।
त्यसका लागि भारतका गैर सरकारी संस्थामा आवेदन दिइन्। ६/७ महिना भारतमा अध्ययनसँगै तालिम लिएर फर्किइन्।
तालिम लिएर फर्किएपछि अटिजम भएका बालबालिका शिक्षा र सीप विकासका संस्था खोल्ने सोच थियो। लगानी थिएनन्।
भारतबाट फर्किएपछि गाउँ गइन्।
आफूसँग भएको केही पैसा तालिममै सकिइसकेको थियो।
संस्था खोल्ने हुटहुटी थियो, कसरी खोल्ने कहाँ खोल्ने भन्नेबारे कुनै मेसो पाएकी थिइनन्।
घर जाँदा विवाहको चर्चा भइरहेको थियो। बुवाआमाले विवाहका लागि प्रस्ताव गर्नुभयो। तर आफूले संस्था खोल्न चाहेको सुनाउँदा परिवारबाट गाली खानुपरेको उनले सुनाइन्।
'आफ्नो जीन्दगी बनाउने बेला अरूको पीडा स्याहानुपर्ने भन्दै खुब गाली खाएँ,' उनी त्यतिबेलाको क्षण सम्झिन्छन्।
त्यो गालीले उनलाई छोएन्।
अभिभावकसँग उनले अहिले नै विवाह गर्ने सोच नरहेको बताइन्। बरू विवाहका लागि साँचेर राखेको र जुटाउनुपर्ने पैसा आफूलाई दिन आग्रह गरिन्। अहिले त्यो पैसाले संस्था खोल्ने र पछि परिवारलाई दु:ख नदिने भनेर सम्झाइन्।
बुवाले मानेका थिएनन्।
आमा छोरीको इच्छा पूरा गर्ने ठाउँमा उभिइन्।
आमाले नै बुवालाई सम्झाउन थालेपछि उनको सपना पूरा हुने दिशातिर अघि बढ्यो।
विवाहका लागि बुवाआमाले पाँच लाख रूपैयाँ जम्मा गरेका रहेछन्। त्यही पैंसा लगानी गरेर २०६७ साउन ११ गते जन्मदिनको अवसरमा काँडाघारीस्थित एउटा घर भाडाँमा लिएर 'विशेष स्कूल तथा पुनसंस्थापन केन्द्र' खोलिन्।
केन्द्रको मुख्य उद्देश्य अटिजम भएका बालबालिकालाई उनीहरूको मानसिकता अनुसार खेल्न, पढ्न र आफ्नो काम आफैं गर्न सिकाउने हो।
अटिजम भएका व्यक्तिहरू आफैं लुगा लगाउन, शैचालय जान, दिसा, पिसाब गरेपछि हात धुनदेखि सामान्य काम गर्ने पनि सक्दैनन्। उनीहरू बुझ्दैनन् भनेर अभिभावकले सिकाउँदैनन् पनि।
यसैले अटिजम भएका बालबालिकालाई साधारण काम गर्न सिकाउने, पढ्न सिकाउने, सीप सिकाउने र समाजमा पुनस्थापित गराउने उद्देश्य उनको हो।
त्यही योजनाले उनले सुरूमा सुकुम्वासी टोलमा भेटिएका ८ वर्षीय बालक र मन्दिरमा भेटिएकी एक बालिका राखेर संस्था सुरू गरिन्।
उनीहरूको हेरचाहका लागि ५ जना कर्मचारी खटाइन्।
अटिजम भएका बालबालिका हेर्न धीरता चाहिन्छ। त्यसका लागि उनीहरूलाई तालिम दिनुपर्ने थियो। सुरूमा पाँच कर्मचारीलाई आफूले नै सिकाउँदै काममा लगाएको उनी बताउँछिन्।
उनीहरू दुवै बालबालिकालाई उनले दिनभर आफ्नो कार्यालयमा राख्थिन्। र साँझ अभिभावककोमा पुर्याइदिन्थिन्।
उनी ती बालबालिकासँगै खेल्दै उनीहरूले के गर्न चाहन्छन भनेर बुझ्थिन्। र त्यही अनुसार सिकाइको वातावरण तयार पार्थिन्।
त्यस्तो गर्दा ती बालबालिका उनले भनेको मान्ने, चित्र कोर्ने, शौचालय जान सक्ने भएका थिए।
उनीहरूको व्यवहारमा विस्तारै सुधार आउन थालेपछि उनले अटिजम भएका अन्य बालबालिका पनि खोज्न थालिन्। तर अभिभावक दिमागी हालत ठीक नभएका बच्चा लगेर के गर्छेस् भनेर घोच्थे।
कतिपयले आफ्ना बालबालिका लगेर पैसा कमाउन थालेको भन्दै कुकुर फुकाएर छाडिदिन्थे। उनको शरीरमा कुकुरले टोकेका खत अझै छन्।
'कुकुरले टोकेका दाग अझै गइसकेको छैन,' उनले भनिन्।
पाँचजना बालबालिका जम्मा गर्न उनलाई एक वर्ष लाग्यो।
विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र नाम भएकाले लागूऔषध तथा जाँडरक्सी छुट्याउने अफिस हो भन्दै आउँने अनुभव सुनाइन्।
पहिलो वर्ष ५ जना दोस्रो वर्ष १३ जना हुँदै चार पाँच वर्षमा बालबालिकाको संख्या बढ्यो। अटिजम भएका बालबालिका पनि सामान्य व्यक्तिजस्तो आफ्नो स-साना काम आफैं गर्न सक्ने भएपछि उनको संस्थामा बालबालिको संख्या उकालो लाग्यो।
त्यसपश्चात उनी गाउँ-गाउँ जानु परेन। अभिभावक नै अटिजम भएका बालबालिका लिएर आउन थाले।
उनले ३ देखि ७ वर्षका बालबालिकालाई १३ वर्षको हुँदासम्म राख्ने गरेकी छन्। त्यहाँ उनीहरू बिहान ९ बजे लिन जान्छिन र साँझ चार बजे घर पुर्याउँछिन्।
उक्त बालबालिकालाई दिनभर विभिन्न सीप सिकाउने, लेखपढ गर्न सिकाउने, उनीहरूले चाहेको काम गर्न दिने, थेरापी गराउने, उनीहरूलाई आफ्नो काम आफैं गर्न सिकाउने गर्छिन्।
बालबालिकाको अटिजमको अवस्था अनुसार बालबालिकामा सुधार आउने उनी बताउँछिन्।
पहिला अटिजमलाई अपांगता भएका व्यक्तिकै रूपमा लिन्थ्यो। अहिले सरकारले अपांगताभित्रका १० प्रकार तोकिदिएको छ।
त्यो मध्ये अटिजम पनि एक हो।
अटिजमलाई पनि दुई प्रकारमा बाँडिएको छ। धेरै अटिजम भएकालाई रातो र कम भएकालाई निलो कार्ड दिइन्छ। त्यही अनुसार पछिल्लो केही वर्षयता सरकारले रातो कार्ड भएकालाई ४ हजार र निलो कार्ड पाएकालाई २१ सय २८ रूपैयाँ भत्ता दिने गरेको छ।
उनी अटिजमको मात्र धेरै भएका बालबालिकालाई सुधार गर्न लामो समय लाग्ने र कम मात्रमा भएका बालबालिका ६ महिनादेखि २/३ वर्ष लाग्ने उनी बताउँछिन्।
'अटिजमको मात्रा अनुसार बालबालिकामा सुधार आउँछ। तर पूर्ण रूपले निको हुँने र यसको उपचार भने छैन,' उनले सेतोपाटीसँग भनिन्।
यसरी सस्था सञ्चालन गरेको १३ वर्षयता ४ सय बालबालिकालाई सेवा दिइसकेकी छन्। अहिले उनकोमा ३ सय बालबालिका छन्।
उनले भक्तपुरको ताथलीसहित तीन स्थानमा शाखा खोलेकी छन्।
भक्तपुरको ताथलीमा उनले डेढ करोडको भवन बनाएकी छन्। भने कागेश्वरी मनोहरा नगरपालिका -८ गोठाटारमा एउटा घर भाँडामा लिएकी छन्।
त्यस्तै नरेफाँटमा कोठा भाडामा लिएर १५ जना बालबालिकालाई राखेकी छन्।
उनले ती बालबविशेष शिक्षा र थेरापी सेवाहरू प्रदान गर्दै आएकी छन्।
यसरी नै अटिजम भएका बालबालिका लागि निरन्तर १३ वर्षदेखि सक्रिय रूपमा लागि परेकी छन्। उनी आफूले जन्म नदिए पनि ती बालबालिकाको लागि बाटो देखाउने आमा बनेकी छन्।
उनले मुसुक्क हाँस्दै भनिन्, 'विवाह नगरे पनि म यही पेसामा खुसी छु।'