त्रिपुराकोट माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने संगम थापाले दुई वर्षयता पढेका विज्ञान विषयका धेरैजसो कुरा बिर्सिएकी छैनन्।
उनको स्कुलमा हप्ताभरि जुनजुन नियम र सिद्धान्त पढाइ हुन्छ, विद्यार्थीहरूले शुक्रबार तिनको प्रत्यक्ष अभ्यास गर्ने मौका पाउँछन्। संगम अरू दिन पनि खाली समयमा त्यस्तो अभ्यास गर्छिन्।
हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विज्ञान र अन्य केही विषयमा व्यावहारिक अभ्यास हुन्छ। त्यस्तो अभ्यासमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको माध्यमबाट बनाइएका शैक्षिक सामग्रीको प्रयोग हुन्छ।
‘कक्षामा पढाइ भएको पाठसँग सम्बन्धित सामग्री हामी (विद्यार्थी) पनि बनाउँछौं। यसमा सरहरू (शिक्षक) ले सहयोग गर्नुहुन्छ,’ संगम भन्छिन्, ‘विज्ञानमा पनि व्यावहारिक प्रयोगका सामान आफैंले बनाउँदा पाठ नबिर्सिने रहेछ।’
कक्षा ९ मै पढ्ने लक्की पुनमगर अभ्यासगत सिकाइ हुने ठाउँहरूमा पुग्छन्। आफूले बनाएका सामग्रीबारे अरू साथीहरूलाई जानकारी गराउँछन्। उनी विद्यार्थीहरूको टोली नेता भएर अन्यत्रका केही कार्यक्रमहरूमा सहभागी पनि भएका छन्।
लक्की कक्षामा पढेको पाठसँग मिल्ने सामग्री बनाएर सिक्ने र साथीहरूलाई सिकाउने प्रतिभाशाली विद्यार्थी हुन्। खास गरी उनी विज्ञान विषयका व्यावहारिक सामग्री बनाउँछन्।
‘मैले आठ कक्षामा पढ्दा तरल पदार्थको प्रयोगबाट उत्पन्न हुने बलको सिद्धान्त प्रयोग गरेर डोजर बनाएको थिएँ,’ आफूले बनाएको डोजरको नमूना देखाउँदै उनले भने, ‘सरले पढाएको सिद्धान्त अनुसार उहाँकै सहयोगमा डोजर बनाएको हुँ। यसबाट तरल पदार्थको चापमा प्रभाव पार्ने तत्वहरूको बारेमा बुझ्न सजिलो हुन्छ।’
उनले सामान प्याकेजिङको कार्टुन र काठका टुक्राबाट डोजर बनाएका हुन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२, मदुस्थित उक्त विद्यालयले विद्यार्थीहरूलाई व्यावहारिक प्रयोगबाट सिकाइ प्रभावकारी बनाउन ‘मेकर स्पेस (निर्माण कक्ष) स्थापना गरेको छ। इन्नोभेसन सेन्टरका रूपमा विद्यालयकै एउटा कोठामा स्थापना गरिएको मेकर स्पेसमा बसेर विद्यार्थीहरूले कक्षामा पढाइ भएअनुसार विभिन्न सामान बनाउने गर्छन्।
गैरसरकारी संस्था ‘स्याक नेपाल’ मार्फत् ‘प्लान इन्टरनेसनल’ ले डोल्पामा लागु गरेको एक परियोजनामार्फत् विद्यार्थीको सिकाइ अभिवृद्धिका लागि विद्यालयमा मेकर स्पेस स्थापना गरिएको हो।
सिकाइ अभिवृद्धिसँगै व्यावहारिक ज्ञान दिने उद्देश्यका साथ स्थापना गरिएको मेकर स्पेसमा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापको समयमा शिक्षाको व्यावहारिक अभ्यास गर्छन्।
अतिरिक्त क्रियाकलपको समय र खाली समयमा पाठअनुसार सामग्री बनाएर सिक्ने गरेको कक्षा ९ की छात्रा कोपिला पुन मगरले बताइन्। घरमा हुँदा गृहकार्यमै समय बित्ने भएकाले अतिरिक्त क्रियाकलापको समयमा स्कुलको व्यावहारिक अभ्यास गर्ने गरेको उनको भनाइ छ।
कक्षा ७ मा पढ्ने सुस्मिता बुढा मगर पनि व्यावहारिक पढाइबाट खुसी छिन्।
भन्छिन्, ‘घरमा देखेका र स्कुलमा पढ्दा सरहरूले देखाएका कतिपय सामान हामी स्कुलमै बनाउँछौं।’
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बोहराका अनुसार स्थानीय प्रविधिबाट शैक्षिक सामग्री बनाएर परीक्षण गर्दा विद्यार्थीको ज्ञान बढाउन मद्दत पुगेको छ। स्थानीय प्रविधिअन्तर्गत गाउँघरमा प्रयोग भएर विस्थापित भएका र प्रयोगमा रहेका सामग्री बनाउन सिकाउने गरिएको छ।
गाउँघरमा हुने ढिकी, जाँतो, पानीघट्ट, चुलो, हलो–जुवा, हँसिया, माटोका भाँडा पनि बनाउन सिकाउने गरेको प्रधानाध्यापक बोहराले बताए।
‘स्थानीय प्रविधिबाट सामान बनाउन सिकाउने काम कक्षा ६ देखि ८ सम्मको पेशा, व्यवसाय र प्रविधि विषयसँग सम्बन्धित छ,’ उनी भन्छन्, ‘यस्तो अभ्यासमा सहभागी भएका विद्यार्थीलाई पाठमा पढेको कुरा सम्झिन सजिलो हुन्छ।’
मेकर स्पेसमा विज्ञान विषयतर्फ हाइड्रोलिक प्रविधिका सामग्री, बल प्रयोगको सिद्धान्त लगायतका सामग्री बनाउन सिकाइन्छ।
‘विज्ञान विषय जटिल हुन्छ। कक्षामा पढाएको कुरा सम्झन सजिलो बनाउने गरी स्थानीय सामग्रीबाट व्यावहारिक वस्तु बनाउन सिकाइन्छ,’ बोहरा भन्छन्, ‘यस्तो अभ्यासबाट जटिल विषय पनि सजिलो तरिकाले पढाउन र बुझाउन मद्दत पुगेको छ।’
यसरी व्यावहारिक प्रयोगसँग जोडेर सिकाउँदा विद्यार्थीहरूलाई भविष्यमा स्वरोजगार बन्ने वातावरण समेत सिर्जना हुने अपेक्षा रहेको उनले बताए।
‘कक्षामा विद्यार्थीहरूले सिद्धान्तमात्र सिक्छन्। व्यावहारिक ज्ञान हुँदैन। उनीहरूलाई रोजगारीको समस्या हुन्छ,’ प्रधानाध्यापक बोहरा भन्छन्, ‘विद्यालयमै व्यावहारिक ज्ञान दिन सकियो भने भविष्यमा धेरै विद्यार्थीहरू स्वरोगार बन्छन्। रोजगारी पनि पाउँछन्।’
उनका अनुसार यस्तो व्यावहारिक सिकाइमा विद्यालयका कक्षा ६ देखि १० सम्मका करिब दुई सय जना विद्यार्थी सहभागी हुने गरेका छन्।
यस्तो अभ्यास सुरू भएपछि विद्यार्थीहरूले सिकेको सीपबाट विद्यालयलाई पनि फाइदा भएको छ। विद्यार्थीहरूले विद्यालयको लागि ‘बायो स्यान्ड’ प्रविधिको फिल्टर बनाएका छन्। मूलको पानी भण्डारण हुने ट्यांकीमै फिल्टर गरेर धारामा नियमित शुद्ध पानी आपूर्तिको व्यवस्था विद्यार्थीहरूले नै गरेका छन्।
सबै विद्यार्थी र शिक्षकहरू यही फिल्टरको पानी पिउँछन्। उक्त फिल्टर ट्यांकी कक्षा ९ र १० का विद्यार्थीहरू मिलेर बनाएका हुन्। प्रधानाध्यापक बोहराका अनुसार त्रिपुराकोट माध्यमिक विद्यालयमा हाल ३७३ जना विद्यार्थी छन्।