रूक्शना कपालीको नाम पछिल्लो समय विभिन्न मुद्दाहरूमा धेरैपटक आए – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दा, विश्वविद्यालयको मुद्दा, पाटनस्थित सत्तल (पाटी) को मुद्दा, आदि।
यो मंगलबार उनको नाम बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा 'हाउजिङ क्याम्पेनर' अर्थात् आवास अभियन्ताका रूपमा आयो।
त्यस बिहान मोबाइलमा आएका बधाइका थुप्रै नोटिफिकेसनसँगै उनी उठेकी थिइन्। त्यसले उनलाई खुसी बनाउनुको साथसाथै एन्जाइटी बढाइदियो। अनि मोबाइल बन्द गरेर उनी चुपचाप बसिन्।
'त्यस दिन धेरै मानिसको ध्यान पाइरहेकी थिएँ। त्यससँग म त्यति अभ्यस्त थिइनँ। त्यसले गर्दा मलाई डर लागेजस्तो भएको थियो। त्यही भएकाले मोबाइल बन्द नै गरेर बसेकी थिएँ,' उनले भनिन्।
हामीसँग साँझतिर सम्पर्कमा आएकी रूक्शना बिहीबार मात्र यस विषयमा कुराकानी गर्न तयार भइन्। सेतोपाटीमा आएपछि बिबिसीको यात्राबारे बताउँदै उनले भनिन्, 'बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा परेको छु भन्ने खबर मलाई इमेलमार्फत पहिला नै दिइएको थियो। तर कहिले सार्वजनिक गरिन्छ भनेर भनिएको थिएन। यो कुरा गोप्य राख्नु भन्नुभएकाले मैले एक जना साथीबाहेक कसैलाई पनि भनेकी थिइनँ।'
त्यसरी खबर बाहिर आएपछि परिवार, आफन्तजन र साथीभाइबाट पाएको प्रतिक्रियाले आफूलाई खुसी बनाएको उनी बताउँछिन्।
को हुन् त यस वर्ष बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी रूक्शना कपाली?
सुरूआत बिबिसीले दिएको शीर्षक आवास अभियन्ताबाटै गरौं।
यो शीर्षक रूक्शनासँग जोडिएको एक वर्ष मात्र हुन लाग्यो। पाटनको पट्कोस्थित आफ्नै परिवारको सत्तल (सतःछेँ) लाई ललितपुर महानगरपालिका वडा नम्बर १६ ले खाली गर्न पत्र लेखेपछि उनी यस अभियानमा लागेकी हुन्।
यो ठाउँ उनी र उनको परिवारका लागि सत्तल मात्र थिएन, 'छेँ' अर्थात् घर पनि थियो। त्यसलाई २०३८ सालमा पाटी कायम गर्ने निर्णय भएर २०५० सालमा नेपाल सरकारको नाममा दर्ता गरिएको छ। फिल्डबुकको कैफियतमा रामनाथ कपालीको बसोबास भनेर उल्लेख छ जो रूक्शनाका जिजुबुवा हुन्। त्यो नाम काटेर सरकारले पाटी कायम गरिएको सूचना राखेको छ। उनको चार पुस्ताले जीवन बिताइसकेको सत्तल पाटी कायम भएको भन्दै वडाले पुनर्निर्माण गर्ने र खाली गराउन लागेको कुरा रूक्शनालाई चित्त बुझेको छैन।
त्यही निर्णयपछि उनी आफ्नो जातिको इतिहाससँग पनि नजिक भइन्। विभिन्न किताब र अनुसन्धान पत्रहरू पढिन्।
त्यसको आधारमा उनी भन्छिन्, 'यो समुदायको इतिहास खोतल्दै जाँदा दक्षिण एसिया, भारत र बांगलादेशमा कन्फटा जोगी भन्ने एउटा समुदाय रहेछ। उनीहरूलाई नाथ वा योगी पनि भनिन्छ। उनीहरू विभिन्न ठाउँमा नाचगान गर्दै गृहस्थ जीवनमा नबस्ने समुदाय रहेछन्। त्यही समुदाय नेपालमा प्रवेश गरेर नेवाः समुदायको हिस्सा भइसकेपछि जुगि भन्ने समुदाय बन्यो। हामी जुगि समुदायमा पछौं जसमा तीन जात छन्– कपाली, दर्शनधारी र कुसुले।'
रूक्शनाका अनुसार जुगिहरू ऐतिहासिक कालखण्डदेखि मन्दिर नजिकैका सत्तलमा बस्दै आएका हुन्। त्यसरी सत्तलमा बस्दै आएका मान्छेहरू पाटन, भक्तपुर र काठमाडौंमा प्रशस्त छन्। उनीहरूलाई लालपुर्जा भए-नभएको आधारमा मात्र नभई उनीहरूको इतिहास हेरेर सरकारले व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ।
'ऐनले हामी सबै समान छौं भन्छ तर समाज त समान छैन नि। समाजमा हामी सबैको परिस्थिति समान छैन। जात, लिंग अनि क्षेत्रको आधारमा फरक हौऔंला। विभिन्न आधारमा फरक परिस्थिति भएकालाई मध्यनजर गर्न सकिन्छ भनेर संविधानमा नै लेखिएको प्रावधानलाई सरकारले अहिलेसम्म अवलम्बन गर्न सकेको छैन,' उनले भनिन्, 'यो विषयलाई पुर्जा भए वा नभएको आधारमा संकुचित तरिकाले मात्र हेरेर पुग्दैन।'
आफ्नो सत्तलको मुद्दालाई लिएर रूक्शना उच्च अदालत पाटन पुगेकी थिइन्। उच्च अदालतले पुर्जा नभएको आधारमा मुद्दा खारेज गरेपछि मुद्दा दोहोर्याइ पाऊँ भनेर उनले सर्वोच्च अदालतमा मुद्दा हालेकी छन्। उनी आफ्नो मुद्दा त लडिरहेकी छन् नै, जुगि समुदायका अन्य मानिसहरूले के–कस्ता मुद्दा दायर गरेका छन् र त्यसमा के–कस्ता फैसला भएका छन् भनेर अध्ययन पनि गरिरहेकी छन्।
यो एक वर्षकै दौरान उनले आफ्नो परिवारको जस्तै समस्या भएका अन्य व्यक्तिहरू पनि भेटिन्। यस्ता समस्या धेरै जनामा देखेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पेज नै खोलेकी छन् – थायबायया ल्वापु।
नेपाल भाषाको यस शब्दमा भएको 'थाय' ले ठाउँ, 'बायया' ले बास र 'ल्वापु' ले लडाइँ भन्ने अर्थ दिन्छ।
यही पेजमार्फत वा रूक्शनालाई प्रत्यक्ष सम्पर्क गरेर मान्छेले आफ्नो घर–बासको समस्या बताउन सक्नेछन्।
'अहिले नै करिब १५० जना हाम्रो सम्पर्कमा आइसक्नुभयो। हामी संगठित भएर सबैको मुद्दा दायर गर्ने तयारीमा छौं,' रूक्शनाले भनिन्, 'धेरै मानिस आफूले बस्दै आएको ठाउँ गुम्न सक्ने डरले पनि हाम्रो सम्पर्कमा आउनुभएको छैन। आफूसँग पुर्जा नभएकाले बास पनि जाने हो कि भन्ने शंका उहाँहरूमा छ। पुर्जा दिने राज्यले नै हो नि। हाम्रो समुदायका मान्छेले पुर्जा पाउन नसक्नु राज्यकै नीतिको कमजोरी हो। राज्यकै गल्तीका कारण हामीले दुःख भोग्नुपरेको छ।'
रूक्शना जन्मे–हुर्केको पनि पाटनको पट्कोस्थित यही सत्तलमा नै हो। त्यही उनले आफूलाई पारलैंगिक महिला भनेर चिनिन्। करिब दस वर्ष भइसक्यो उनी यो पहिचानका साथ खुलेर आएकी।
'अरूका लागि म फरक थिएँ। तर मेरा लागि म कहिल्यै फरक थिइनँ। आफूले त आफूलाई पहिलादेखि नै चिनिरहेका हुन्छौं,' २४ वर्षीया रूक्शनाले भनिन्, 'मैले आफूलाई म जे हो भनिरहेको थिएँ र समाजले मलाई तँ जे होस् भनिरहेको थियो, त्योबीच सधैं द्वन्द्व थियो। केटा भएर यस्तो गर्नु हुँदैन, केटीजस्तो भयो भन्ने धेरै थिए। मैले आफूलाई यो हो भन्ने र समाजले तँ यो होस् भन्ने द्वन्द्व सधैं चल्यो।'
त्यही द्वन्द्वबीच एक दिन साप्ताहिक पत्रिकामा रूक्शनाले सन्तोष पन्तकी छोरीको समाचार पढिन् जहाँ उनले पहिलोपटक 'ट्रान्सजेन्डर' भन्ने शब्द देखिन्। पन्तकी छोरी ट्रान्सजेन्डर भएको त उनले पत्रिकामा पढिसकेकी थिइन्। त्यसबारे विस्तृतमा जान्ने उनलाई कौतुहल जाग्यो।
'त्यस बेला मंगलबजारको भाइदेगः मन्दिरपछाडि साइबर थियो। त्यहाँ कुनाको कम्प्युटरमा आफ्नो पालो कुरेर बस्थेँ अनि आफैंले ट्रान्सजेन्डरबारे रिसर्च गरेँ। आठ, नौ कक्षा पढ्दासम्म मैले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे विस्तृतमा थाहा पाइसकेकी थिएँ।'
कक्षा ८ पढ्दैताक रूक्शनाले फाइनान्समा राखेको १५ सय रूपैयाँ झिकिन् र आफ्ना लागि महिलाले लगाउने पहेँलो रङको टिसर्ट, नीलो सुरूवाल र सल किनेर ल्याइन्। डराइडराइ किनेर ल्याएको लुगा घरमा लुकाएर राखिन्। घरमा कोही नहुँदा त्यो लुगा लगाउँथिन् र आफ्नो मोबाइलको क्यामराबाट फोटो खिचेर दंग पर्दै आफूलाई हेर्थिन्।
एक दिन हजुरबुवाको जन्मोत्सव थियो। उनी अकस्मात त्यो लुगा लगाएर बाहिर निस्किइन्।
'मेरो हुलिया सबैले देख्नुभएपछि मैले केही भन्नै परेन। त्यस बेला अरूले मलाई कसरी लिए भन्ने कुरा भन्न सजिलो छैन। म त्यति बेला जम्मा १३, १४ वर्षकी त थिएँ। अरूले नराम्रो भनेको चुपचाप सुनिरहेँ,' उनले भनिन्, 'अहिले त मलाई आएर कसैले नराम्रो भन्यो भने त्यसले नराम्रो भनेर मेरो एउटा कपाल नि झर्दैन भन्ने अवस्थामा छु। तर त्यो उमेरमा मेरो मनस्थिति धेरै फरक थियो। अरूले के सोच्छ भन्ने कुराले फरक पार्थ्यो।'
त्यही पनि रूक्शनालाई आफू को हुँ भनेर खुलेर बाहिर आउन धेरै समय लागेन। त्यो विषयमा आफ्नो परिवारलाई मनाउन उनले त्यति धेरै प्रयास भने गरिनन्। बिस्तारै परिवारले बुझ्दै गएको उनी बताउँछिन्।
'मेरी आमा पहिलो मान्छे हो जसले म जे हुँ त्यही रूपमा स्वीकार गर्नुभयो। बुवालाई भने दुई–तीन वर्ष लागेको थियो,' उनले भनिन्, 'यसरी खुलेर आएको दस वर्षको अन्तरालमा उहाँहरूले मलाई स्वीकार गर्नु मात्र भएन, मेरा लागि उभिनुपर्दा उभिनु पनि भयो। मलाई मेरो परिवारको साथ र समर्थन भएकाले अहिले म जसले जे भने पनि मतलब छैन भन्ने स्थितिमा पुगेकी हुँ।'
मान्छेहरूले रूक्शनालाई के–कतिसम्म भनेका थिए भन्ने कुरा उनलाई पछि आमाले सुनाइन्। त्यसबीच आमाले एउटा रमाइलो कुरा पनि भनिन्, 'तिमीले टिर्सट, सुरूवाल र सल किनेर ल्याएको मैले देखेकी थिएँ। आमाको मुख हेर्ने दिनमा मलाई किनेर ल्याइदिएको होलाऊ भन्ने ठानेकी थिएँ।'
रूक्शनाले हाँस्दै भनिन्, 'त्यो थाहा पाउँदा मलाई नरमाइलो लागेको थियो।'
रूक्शनालाई आफ्नो जीवन दुई भागमा विभाजित भएजस्तो लाग्छ। एसएलसीपछि र अघि। जे कुरा पनि एसएलसीपछि भन्ने शब्द सुन्दै आएकाले उनलाई दस कक्षा सकेपछि स्वतन्त्र भइन्छ भन्ने लागेको थियो। त्यही भएकाले एसएलसीको परीक्षा सकिएपछि उनी खुलेर पारलैंगिक महिलाका रूपमा बाहिर आउन चाहन्थिन्। पारलैंगिक महिलाका रूपमा खुलेर आउँदा आफ्नो नाम के राख्ने भन्ने उनले कक्षा नौ पढ्दा नै सोच्न थालिसकेकी थिइन्।
उनका केही साथीहरूमा के नाम राख्ने भन्नेमा कुराकानी चल्थ्यो। त्यस बेला विद्यालयमा आउने 'द हिमालयन टाइम्स' पत्रिकामा साथीहरूसँग मिलेर उनी नाम खोज्थिन्।
यसक्रममा उनले मेघ्ना, मतिना, सालिनी जस्ता नाम सोचेकी थिइन्। विभिन्न कारणले उनले राखिनन्। एक दिन पत्रिका पल्टाउँदै जाँदा उनलाई अन्तिममा दुइटा नाम चित्त बुझ्यो– पङ्खुरी र रूक्शना।
'मैले एक जना दिदीलाई सोध्दा पङ्खुरी अलिक बेसी सुनिन्छ भनेपछि रूक्शना नाम छानेँ। त्यसलगत्तै फेसबुकमा नाम परिवर्तन गरेँ,' उनले भनिन्, 'कतिपयले यो अलि अरबी र मुसलमानी नाम हो पनि भन्छन्। तर मलाई यसको अर्थ थाहा छैन।'
नाम परिवर्तन गरेपछि रूक्शनाले थप मुद्दाहरू खेप्नुपर्यो।
सानैदेखि उनलाई भाषाप्रति लगाब थियो। स्कुलमा निबन्ध लेख्दा 'मेरो जीवनको लक्ष्य' शीर्षकको निबन्ध खुब मेहनत गरेर लेख्थिन्। त्यसबेला भविष्यमा यो बन्छु भनेर राम्ररी कल्पना गर्न सक्थिन्। भाषाविज्ञ बन्छु र भाषाकै क्षेत्रमा काम गर्छु भन्ने लक्ष्य थियो। त्यसैले २०७४ सालमा स्नातक भर्ना हुन गइन्।
एसएलसीपछि मात्र पारलैंगिक महिला भनेर खुलेकी उनको स्कुलमा नाम र लिंग फरक थियो। नागरिकता बनाउन जाँदा नै समस्या आएको थियो। महिला भएर गएकाले 'अन्य' भनेर नागरिकता दिइयो। वडाले 'यो र त्यो व्यक्ति' एउटै हो भन्ने सिफारिस दिएपछि उनले सजिलै १२ कक्षा पढेकी थिइन्। तर स्नातकमा उनलाई त्रिभुवन विश्वविद्यालयले झमेलामा फसायो। त्यस्तो झमेला हाल पोखरा विश्वविद्यालयमा कानुन विषय पढिरहँदा पनि उनले झेलिरहेकी छन्।
आफ्नो नाम र पहिचानको चक्करमा उनले शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेशका विभिन्न कार्यालयमा पत्र पठाएकी छन्। त्यसैगरी संसद, प्रतिनिधि सभा, राष्ट्रिय सभासम्म पत्र पठाएकी छन्। मानव अधिकार, समावेशी आयोग लगायत विभिन्न आयोगमा पनि निवेदन दिएकी छन्।
यो विषयमा कतैबाट निकास नपाएपछि उनले सर्वोच्च अदालतमा रिट हालिन्। सर्वोच्चले शैक्षिक लगायत प्रमाणपत्रमा उनले माग गरेअनुसारकै पहिचान उल्लेख गर्न परमादेश दिँदै फैसाल गर्यो। फैसलाको पूर्णपाठ आइसकेको छैन। त्यसको व्याख्या कस्तो आउँछ भनेर थाहा पाउन उनी आतुर छिन्।
अझै पनि रूक्शनालाई एउटा प्रश्नले भने सताउँछ, 'वडा कार्यालयले नै सिफारिस गरेर दिएपछि विश्वविद्यालयले नमान्नुको कारण के हो?'
विश्वविद्यालयका मुद्दाहरूकै दौरान स्नातकको पढाइपछि रूक्शनालाई एमनेस्टी इन्टरनेसनले फेलोसिपमा ६ महिनाका लागि बेलायतको युनिभर्सिटी अफ योर्कमा पढ्न पठाएको थियो। त्यहाँ उनले न वडाको सिफारिसलाई अंग्रेजीमा अनुवाद गरेर बुझाउनुपर्यो, न विस्तृत पहिचान खुलाउने कागजात बुझाउनुपर्यो। उनीहरूले उनको भिसा, जहाज खर्चदेखि खाने, बस्ने र पकेट खर्च पनि दिए।
'बिडम्बना कस्तो भने बेलायतले नेपालको मान्छेलाई पैसा दिएरै पढ्न बोलाएको छ। यहाँ भने म पैसा तिरेरै पढ्छु भन्दा पनि सरकारी झमेलामा राम्ररी पढ्न पाइरहेकी छैन। यसले हाम्रो देशको अवस्था र यहाँका मानिसको मानसिकता कस्तो छ भनेर छर्लंग पार्छ,' उनले भनिन्।
बेलायतमा पढ्दा 'होम सिक' भएर रूक्शना तीन महिनाका लागि नेपाल आएकी थिइन्। तीन महिनामा उनले मानव अधिकार, कानुन लगायत विषय पढिन्। त्यही बेला उनलाई कानुन विषयमा आकर्षण बढेको हो।
'त्यसअघि कानुन पढ्छु भनेर सोचेकै थिइनँ। बिस्तारै त्यहाँ बस्दा यो क्षेत्रमा प्रवेश त गर्नुपर्ने रहेछ भन्ने भयो। आफ्नो अभियान प्रभावकारी बनाउने हो कानुनमा छिर्नैपर्छ भन्ने लाग्यो। अनि नेपाल फर्किएर कानुन पढेँ,' उनले भनिन्।
कानुनकै विद्यालयमा रूक्शना अहिले आफ्नो पहिचानको लडाइँ लडिरहेकी छन्।
पहिलेको तुलनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण धेरै परिवर्तन भएको उनले पाएकी छन्। तर समाजमा उनीहरूप्रति विभेद छैन भन्ने स्थिति भइसकेको छैन।
त्यसैले अधिवक्ता भएर कानुन र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दा कसरी अगाडि लान सकिन्छ भनेर उनलाई काम गर्न मन छ।
त्योसँगै उनी 'क्वीर युथ ग्रुप' संस्थामा आबद्ध छिन्। सन् २०१८ देखि काम थालेको यो संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मान्छेहरूको कानुनी समस्या हेरिरहेको छ।
'हाम्रा धेरै मुद्दा सर्वोच्चमा विचाराधीन छन्। हामीले उच्च अदालत पाटन, विराटनगर, पोखरा, तुलसीपुर लगायत देशका विभिन्न अदालतमा रिट निवेदन दायर गरेका छौं। त्यसमा बुटवलबाट एउटा र पाटनबाट १० वटा मुद्दामा फैसला पनि भइसकेको छ,' उनले भनिन्।
रूक्शनालाई सानो बेला लेखेको 'मेरो जीवनको लक्ष्य' शीर्षकको निबन्धका धेरै लक्ष्य आफूले पूरा गरेजस्तो लाग्छ। त्योसँगै उनका नयाँ लक्ष्य बन्दै गएका छन् जसलाई उनी पूरा गर्ने क्रममा छिन्।
एउटा नयाँ लक्ष्य भनेको कुनै एक विषयमा विद्यावारिधि गरेर आफ्नो नाममा 'डाक्टर' थप्नु हो।
त्यो त भविष्यको कुरा हो।
अहिलेलाई भने बिबिसीको सूचीमा परेर उनले विश्वलाई नेपाल र आफूलाई पनि चिनाएकी छन्।
यो सूचीमा पर्नुले आफ्नो मुद्दा लड्न झनै ऊर्जा दिएको बताउँदै उनले भनिन्, 'सञ्चार माध्यममा जबदेखि मेरो कुरा आउन थालेको थियो, त्यसले मबारे मेरो परिवार र आफ्न्तमाझ सकारात्मक प्रभाव पार्दै आएको छ। मान्छेहरूले म र मजस्ता मान्छेलाई हेर्ने जुन दृष्टिकोण थियो, त्यसलाई भत्काउँदै लगेको छ। बिबिसीको सूचीले त्यस्ता नकारात्मक भत्काउन सघाउँछ जस्तो लाग्छ।'
भिडिओ: