३५ वर्षकी नीलालाई बाँकी जीवन नाफा हो झैं लाग्छ। त्यही पनि विगतमा भेटेका सयथरी मान्छेका छायाँले उनलाई हरबखत तर्साइरहन्छन्।
अब आफ्नो लागि बाँच्नुपर्छ भन्ने लागेर मन मसक्क बाँधेर दिन कटाउँछिन् तर रात कहिले कट्ला भनेर उज्यालोको पर्खाइमा हुन्छिन्। उनलाई अँध्यारोदेखि निक्कै डर लाग्छ। त्यही डरसँग तीन वर्षयता लडिरहेकी छन् नीला।
यो लडाईंबाट कहिलेकाँही विश्राम लिने मनले एउटा सपना देखिरहन्छ- आफ्ना छोराछोरीसँगै बस्ने।
आफ्ना सन्तान पनि आफूवरिपरि झुम्मिउन्, माया गरून्, अँगालो हालुन् भन्ने उनको चाहना छ। तर लामोसमयको अन्तरालमा भेटिएका उनका सन्तानले नीलाले चाहेको जस्तो व्यवहार गरेका छैनन्।
उनीहरूले 'आमा' भनेर बोलाएको सुन्न चाहन्छिन् तर पाएकी छैनन्।
केही महिनाअघि उनले जेठो छोरालाई भेटेकी थिइन्। ८ वर्षपछि भएको भेट उनले सोचेजस्तो आत्मीय हुन सकेन। ९ वर्षको हुँदा छोडेर जानुपरेको थियो अहिले उनी १७ वर्षका भएछन्।
उनले नीलालाई नचिनेको जस्तो गरे। छोराले नचिनेझैं गर्दा नीलाको फेरि दुख्यो। त्यही पनि एकदिन छोराछोरी आफ्नो काखमा आउनेछन् भन्ने आशले उनी सम्हालिएकी छन्।
‘अबको जीवन उनीहरूसँगै बाँच्न चाहन्छु। उनीहरूलाई पहिले झैँ माया गर्न, ख्याल गर्न चाहन्छु,’ उनले सेतोपाटीसँग भनिन्।
अब आफ्ना छोराहरूलाई उनी सिकाउन चाहन्छिन्- महिलाको इज्जत गर्नु, आफ्नै भर गर्नु र आत्मनिर्भर बन्नु।
उनी आफू शिक्षित र आत्मनिर्भर भएको भए बेचिनुपर्ने थिएन, जिन्दगीका ८ वर्ष 'नर्क' जस्तो ठाउँमा बिताउनुपर्ने थिएन भन्ने कुरा उनको मनमा खिलझैँ गडेको छ। आफूले भोगेका कष्टकरको छायाँले पनि छोराछोरीलाई नभेटोस् भन्ने उनी चाहन्छिन्।
यत्ति कुरा त हो उनलाई बिथोलिएको मन सम्हाल्न बल दिने।
नुवाकोटकी जन्मिएकी ३५ वर्षीया नीला (नाम परिवर्तन) दुई वर्षदेखि शक्ति समूहको संरक्षणमा छिन्। ०७८ असारमा उनलाई भारतको वेश्यालयबाट उद्धार गरेर ल्याइएको थियो।
भौतिक रूपमा नारकीय जीवनबाट मुक्त भएपनि मानसिक रूपमा उनी अझै विक्षिप्त छिन्।
भारतको कोठीमा ७ वर्ष ८ महिनासम्म भोगेको प्रताडना बेलाबेला ताजा भएर आइदिन्छ। त्यसले उनलाई बेलाबेला झस्काइरहन्छ, जति कोल्टे फेरे पनि राति राम्ररी निदाउन दिँदैन।
एक वर्षअघि उनी अझै विक्षिप्त थिइन्। दिनरात उनलाई एउटै लाग्थ्यो। बन्द कोठामा आफूलाई थुनेर बस्थिन्। मानिसको आवतजातव गर्दा पनि झस्किन्थिन्।
शक्ति समूहका पदाधिकारीहरूले लगातार मनोपरामर्शबाट बिस्तारै उनी सम्हालिँदै त्यहाँका अन्य महिलाहरूसँग घुलमिल हुन थालेकी थिइन्।
उनलाई काममा व्यस्त राख्नसके सम्हालिन्छिन् भन्ने उद्देश्यले संस्थाले आफ्नो सेल्टरमा भान्साको जिम्मेवारी दिएको छ।
देशभित्र र बाहिर बेचिएका महिलाहरूलाई सेल्टर होममा राख्ने गरिएको छ। उनलाई संरक्षण गरिरहेकै संस्थाको सेल्टर होममा दुई वर्षदेखि भान्सा सम्हालिरहेकी छन्।
त्यसबापत उनले मासिक २० हजार रूपैयाँ पारिश्रमिक पाउने संस्थाकी एक पदाधिकारीले जानकारी दिइन्। उनी उक्त रकम आफ्नो लागि र गाउँका बा-आमा, सन्तानका लागि खर्च गर्छिन्।
'अलि-अलि सिकाइतिर पनि खर्चिएकी छन्,' शक्ति समूहकी एक पदाधिकारीले भनिन्, -'सिलाइ-बुनाइको काम सिकेकी छिन्। त्यही काम गर्ने उनको योजना छ।'
नीलाका अनुसार उनको विवाह १९ वर्षअघि गाउँकै चन्द्रबहादुर तामाङसँग भएको थियो। त्यतिबेला उनी १४ वर्षकी मात्र थिइन्। २५ वर्ष पुग्दासम्म उनी चार छोरा र एक छोरीको आमा बनिसकेकी थिइन्।
उनका श्रीमान भारत आउजाउ गरिरहन्थे। आफू के काम गर्छु भनेर चन्द्रबहादुरले श्रीमतीलाई कहिल्यै सुनाएनन् पनि। परिवार ठूलो हुँदै जाँदा जिम्मेवारी पनि थपियो। चन्द्रबहादुर र नीलाले काठमाडौं गएर श्रीमान-श्रीमती नै काम गरेर बस्ने सल्लाह गर्न थाले।
२०७१ मंसिरमा चन्द्रबहादुर र नीला दुप्चेश्वरमा मेला हेर्न गएका थिए। त्यहाँ चन्द्रबहादुरले पासाङ नाम गरेका एक पुरूषसँग नीलाको चिनजान गराए। पासाङ उनका साथी रहेछन्। कुराकानीमा पासाङले आफूलाई घरायसी काम गर्ने मान्छे तत्काल चाहिएको सुनाए। काठमाडौंमा महिलाको लागि राम्रो काम पाइएको र तत्कालै जानुपर्ने बताए।
नीला श्रीमानलाई छाडेर ती पुरूषसँग काठमाडौं जान तयार थिइनन्। तर चन्द्रबहादुरकै जोडबल र करकापमा उनी पासाङसँग काठमाडौं आइन्, काम पाउने र पैसा कमाउने सुमधुर सपना देखेर। चन्द्रबहादुरले आफू घरमा सबै मिलाएर एक दुई दिनमा आउँछु भनेका थिए।
काठमाडौंमा आएर पासाङकै कोठामा उनी तीन दिन बसिन्। तर कामको कुनै टुंगो भएन। उता घरमा चन्द्रबहादुरले श्रीमती काठमाडौं गएको भनेका रहेनछन्। गाउँमा नीला अर्कै केटासँग भागेर काठमाडौं गयो भन्ने हल्ला चलेछ।
‘श्रीमानकै जोडबलमा आएकी थिएँ। घर फर्केर उसैले मेरो बारेमा नराम्रो हल्ला चलाएछ,’ नीलाले भनिन्।
नीलालाई काठमाडौंबाट घर फर्किन मन नभएको होइन। तर पहिलोपटक काठमाडौं आएकाले घर जाने गाडी चढ्न बसपार्कसम्म जाने बाटोसम्म चिनेकी थिइनन्। आफूलाई घर पुर्याइदिन पासाङसँग लाख बिन्ति गरिन् तर सुनुवाइ भएन।
एक महिनापछि पासाङ नुवाकोट फर्किन तयार भए। तर उनले नीलालाई आफ्नै घर लगे। चन्द्रबहादुर र पासाङको घर चार/पाँच घन्टाको दूरीमा रहेछ। तर अर्कैसँग भागेको भन्दै चन्द्रबहादुरले नीलालाई स्वीकारेनन्।
त्यसपछि पासाङले नीलालाई आफ्नै श्रीमतीका रूपमा घर भित्र्याए। त्यतिबेलाको चलनअनुसार उनले चन्द्रबहादुरलाई डेढ लाख रूपैयाँ जारी समेत तिरेका थिए।
नीलालाई घर भित्र्याएपछि पासाङ केही दिनमै काठमाडौं फर्किए। गाउँमा रहेकी नीला आफ्ना सन्तानलाई सम्झिन्थिन् तर भेट्न पाएकी भने थिइनन्।
दोस्रो विवाह गरेको ६ महिनापछि काम पाइएको भन्दै पासाङले नीलालाई काठमाडौं बोलाए।
उनका श्रीमान पासाङले दुवैजना काम गरेर सँगै बस्ने सपना देखाएपछि नीला फुरूंग हुँदै काठमाडौं आउने बस चढिन्।
बसपार्कमा श्रीमान् कुरेर बसेका रहेछन्। बसबाट झरेपछि पासाङले श्रीमतीलाई खाजा खुवाउन नजिकैको होटलमा लगे। त्यहाँ म:म खाएपछि उनलाई पासाङले जुस पिलाएका थिए।
‘जुस पिएपछि रिंगाटा लागेको जस्तो भएको थियो। भर्खर यात्रा गरेकाले रिंगाटा लागेको भन्ठानें,’ नीलाले सेतोपाटीसँग भनिन्।
त्यसपछि के भयो नीलालाई याद छैन।
एक्कासी भोलिपल्ट मात्रै उनको होस खुल्यो। आँखा उघारेर हेर्दा नीलाले आफूलाई रफ्तारमा गुडिरहेको बसमा पाइन्।
‘भर्खर श्रीमान् सँग बसेर मस्म खाइरहेकी मान्छे कसरी बसमा पुगेँ भनेर आत्तिएँ। बसका सिटहरूमा आँखा डुलाएँ। तर कहीँ पनि श्रीमानलाई देखिनँ,’ उनले भनिन्।
सँगैको सिटमा एकजना अधवैंशे पुरूष थिए। श्रीमान् नदेखेपछि नीलाले तिनै पुरूषलाई सोधिन् यो कुन ठाउँ हो? जवाफमा ती पुरूषले भने- हामी दिल्ली आइपुग्यौं। तिमिले काम गर्ने ठाउँ पुग्न लाग्यौं।
ती पुरूषको कुराले नीला झस्किइन्। ती व्यक्तिले आफू पासाङको साथी भएको, नीला र उनका श्रीमानलाई काम मिलिसकेको बताए। सीमानामा समस्या हुने कारणले पासाङ अर्कै गाडीमा आउँदै गरेको सुनाए।
यति भनेपछि उनले ती पुरूषलाई थप प्रश्न गरिनन्।
नीलालाई अहिलेसम्म ती पुरूष को थिए भन्ने थाहा छैन तर तस्बिर देखिन भने चिन्छिन्।
दुई/तीन घन्टापछि आगरा पुगेको बताउँदै ती पुरूषले नीलालाई बसबाट ओराले। बसबाट ओर्लिएर १०/१५ मिनेट पैदल हिँडाएपछि ती पुरूषले नीलालाई एक महिलाको डेरामा पुर्याए।
मञ्जु नाम गरेकी ती महिलालाई उसले आफन्त भनेका थिए। नीलालाई त्यहीँ बस्न भन्दै ती पुरूष डेराबाट निस्किए। मञ्जुले आफ्नो घर सिन्धुपाल्चोक रहेको बताएर एकदुई दिनमा पासाङ पनि आइपुग्ने ढाडस दिँदै नआत्तिन भनिन्।
तर तीन दिन बितिसक्दा पनि पासाङ श्रीमतीलाई भेट्न पुगेनन्।
चौथो दिन मञ्जुले नीलालाई काम पाएको कुरा सुनाइन्। उनले एकजोर नयाँ कुर्था-सलवार दिएर नीलालाई तयार हुन भनिन्। काम पाएको खबरले उनी खुशी भइन् र क्षणभरमै तयार भइन्।
डेराबाट निस्किएपछि बसमा २ घन्टाको यात्रापछि उनीहरू एउटा बाक्लो बजारमा उत्रिए।
‘त्यो सुरूङमुनिको शहरजस्तो देखिन्थ्यो। दिउँसो पनि बत्ति बालिएको थियो,’ नीलाले भनिन्। वरिपरि अधिकांश महिला थिए। त्यहाँ उनलाई एक भारतीय महिलासँग नीलाको भेट गराइयो। मञ्जुले भनेपछि थाहा पाइन् उसले काम गर्ने ठाउँ त्यही रहेछ।
नीलालाई खान र बस्ने सुविधा दिने भनिएको थियो। ‘दिदीले भनेको मान्नु’ भन्दै मञ्जु नीलालाई छाडेर बाहिरिइन्। नीलाले टाउको हल्लाइन्।
ती महिलाले नीलालाई थप चाररपाँच जना महिलासँग चिनजान गराइन्। उनीहरूले नीलालाई एउटा कोठामा लगे र त्यही आराम गर्न भने।
काम गर्ने भनेर गएको नीला २ दिनसम्म कोठाभित्रै राखिइन्। खाना कोठाभित्रै आउँथ्यो। शौचालय पनि कोठाकै एक कुनामा भएकाले नीलालाई बाहिर निस्कन परेन। कसैले उसलाई बाहिर बोलाएनन् पनि।
मञ्जुले दिदी भनेर चिनाएकी महिला तेस्रो दिन नीलाको कोठामा आइन्। नयाँ कामदारलाई उपहार दिने चलन रहेको सुनाउँदै उनले नीलालाई एक सेट रातो सारी दिइन् र लगाउन भनिन्।
नीला सारी लगाउन जान्दिनथिन्। त्यहाँ रहेका अन्य महिलाहरूले नीलालाई सारी लगाइदिए। साँझ परेपछि ती दिदीले नीलालाई छुट्टै कोठामा जान भनिन्। उनले भनेअनुसार नीला अर्को कोठामा गइन्।
उनी कोठामा पुगेको दुईर चार मिनेटम मोटो शरीर भएका अग्लो कालो वर्णको एक पुरूष उनी भएकै कोठामा छिरे र ढोकाको चुक्कुल बन्द हिन्दीमा केही भने। भाषा नबुझेपछि नीला चुप बसिन्।
एक्कासी ती पुरूष नीलामाथि झम्टिएर उनको संवेदनशील अंगहरूमा छुन थाले। उनी अत्ताल्लिँदै चिच्याइन् र हातखुट्टा चलाएर ती पुरूषको हर्कतको प्रतिकार गर्न खोजिन्। लगातार चिच्याइरहँदा ती पुरूष कोठाबाट निस्किए।
पुरूष निस्किनबित्तिकै केही समयअघि सारी उपहार दिएकी महिलाले नीलालाई बेस्सरी झपारिन् र कोठामा थुनेर राखिदिइन्। त्यसदिन मात्रै थप दुई तीनजना पुरूषले उनीसँग यौन सम्बन्ध राख्ने प्रयास गरेका थिए। नीलाले लगातार प्रतिकार गरिरहिन्।
‘मैले आफू श्रीमानबाटै बेचिएको कुरा त्यतिबेला मात्रै थाहा पाएँ र खुब रोएँ,’ नीलाले भनिन्, ‘ जति चिच्याए पनि आवाज बन्द कोठाभित्रै गुन्जिन्थ्यो। सुन्ने कोही थिएन।’
उनलाई ९ दिनसम्म खाना नदिई अँध्यारो कोठामा थुनेर राखियो।
‘यहाँ तेरो आमाबा छैनन् बाँच्न चाहन्छेस् भने हामीले भनेको गर् भन्थे,’ उनले भनिन्, ‘बेलाबेला आएर शारीरिक यातना दिने,कहिले त ज्यान मार्ने धम्कीसमेत दिन्थे।’
उनको शरीर र आत्मविश्वास डगमगाउँदै गयो। ज्यानै जाने भएपछि त अडानले पनि कतिञ्जेल साथ दिन्थ्यो र! उनले मर्नुभन्दा ती दिदीले भनेको काम गर्नु उचित ठानिन्।
१० दिनपछि नीला ‘काम’ गर्न बाध्य भइन्।
त्यसदिन कालो कोट लगाएको बढेमानको पुरूष उनको कोठामा आएका थिए। सिनाे लुछेजस्तो उनलाई क्षतविक्षत बनाएर गयो।
निलालाई त्यही दिनदेखि हो आफ्नो ज्यान आफ्नो जस्तो लाग्न छोडेको। त्यस दिनदेखि नीला प्रत्येक दिन यो जबरजस्ती ‘काम’ गरिरहनुपर्यो। त्यही पनि साहुनीले ‘ग्राहकलाई सन्तुष्ट दिन नसके मारिदिने’ धम्की बेलाबेला दिइरहन्थिन्। आएका ग्राहकले भने उनलाई ताडनामाथि ताडना दिन्थे।
८ महिनापछि अचानक मञ्जु त्यस घरमा देखिइन्। उनी नीलालाई भेट्न आएकी रहिछन्। मञ्जुले नीलालाई उनको परिवार भेट्न आएको सुनाइन् र त्यहाँबाट लिएर गइन्।
नीलालाई त्यहाँबाट उम्किनु थियो, चुपचाप मञ्जुको पछि लागिन्।
मञ्जुले उनलाई अर्को गल्लीको एउटा घरभित्र प्रवेश गराइन् र आफू त्यहाँबाट बेपत्ता भइन्। त्यहाँका गार्डहरूले नीलालाई पहिलेजस्तै कोठामा लगे र थुनेर राखे। त्यहाँ पहिलेको ठाउँमा भन्दा अझै धेरै संख्यामा पुरूषहरू आउँथे।
त्यो ठाउँमा उनले सात वर्ष बिताइन्। ०७८ को जेठ महिनामा उनको कोठामा ग्राहक बनेर एकजना विदेशी आए। नीलाको दूरावस्था देखेर उनले नीलाप्रति सहानुभूति देखाएको जस्तो गरे। उनले के-के भनेका थिए बुझेकी थिइनन्। तर हात जोडेर आफूलाई त्यस ठाउँबाट निकाल्न भनिन्।
नीलालाई धैर्य गर्न भन्दै ती पुरूष कोठाबाट बाहिरिए।
‘चार पाँच दिनसम्म अरूकोही आउँदा पनि त्यही व्यक्ति आएको हो-की भन्ने लागिरहन्थ्यो,’ नीलाले भनिन्।
त्यसको एक सातापछि त्यहाँ प्रहरी र दूतावासका अधिकारीहरूले छापा मार्यो। नीलासहित १४ जना महिलालाई प्रहरीले उद्धार गर्यो। भर्खर ल्याइएकाहरूलाई भने लुकाइएको थियो।
‘उद्धार गरेर हामीलाई एउटा घरमा राखिएको थियो। त्यहाँ हामीलाई आफ्नो बारेमा भन्न लगाइयो। हामीले आ-आफ्नो कहानी सुनायौं,’ नीलाले भनिन्।
उनलाई उद्धार गरेर कानुनी प्रक्रिया गर्दैगर्दा संस्थाको पदाधिकारी पनि त्यहाँ पुगेका थिए। संस्थाले नै जिम्मा लिएर ०७८ असार १ गते नीलालाई नेपाल ल्याइएको थियो। त्यो दिन झन्डै ८ वर्षको नारकीय जीवनबाट उनले मुक्ति पाएकी थिइन्। फोक्सो भरिने गरी लामो सास तानेकी थिइन्। जिजीविषा पलाएर आएको थियो।
संस्थाकै संरक्षणमा एक वर्षसम्म उनलाई मनोपरामर्श र विभिन्न तालिम दिइयो।
भारतबाट फर्किएको एक महिनापछि २०७८ भदौ १ गते नीलाले मानव वेचबिखन अनुसन्धान ब्युरोमा चन्द्रबहादुर र पासाङविरूद्ध जाहेरी दिएकी थिइन्।
असोज १४ गते व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ। उनीहरूको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधीन छ।
उनका सन्तानलाई संस्थाले नै पढाउन सहयोग गरिरहेको छ। उनी गाउँ जान नसकेपनि उनलाई भेट्न छोरा-छोरी कहिलेकाँही काम परेर काठमाडौं आए भेट्छन्। तर उनैलाई नै भेट्न भनेर उनका सन्तान आएका भने नीलालाई याद छैन।