झापा मेचीनगर–२ बाहुनडाँगीका भूमिराज रिजाललाई यतिबेला पैसाको ठूलो खाँचो छ। किनभने हात्तीले गम्भीर घाइते बनाएका ४२ वर्षे छोरा गोपाल १९ दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।
बिरामी छोराको उपचारका लागि उनले ऋण काढेर तीन लाख जुटाएका छन्। छिमेकीहरूले सहयोग संकलन गरेर चानचुन तीन लाख जम्मा पारिदिएका छन्। यति पैसाले गोपालको उपचारको आधा अंश पनि नधान्ने अवस्था छ।
खर्चको बढ्दो आकारले आत्तिएका ७० वर्षे भूमिराज चारैतिर हारगुहार गरिरहेका छन्।
हात्तीको आक्रमणमा परेर घाइते भएकाको उपचारका लागि सरकारले अधिकतम दुई लाख रुपैयाँसम्म सहयोग गर्ने सुनेका भूमिराजले त्यसका लागि पनि उपाय लगाउन खोजे। तर, सरकारले दिने पैसा उनको हातमा आइपुग्न महिनौं लाग्ने भएपछि उनी यतिबेला उपायहीन बनेका छन्।
चिकित्सकहरूका अनुसार गोपालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। उपचारमा खटिएका चिकित्सकहरूले हरेक दिनजसो दिने यो सुखद् खबरले गोपालका बुबाआमालाई केहीबेर त खुसी नै तुल्याउँछ। तर, त्यो खुसीलाई अस्पतालको खर्च सम्झाउने बिलले एकैछिनमा सेलाउने बनाइदिन्छ।
‘आज १९ दिन भयो बिएण्डसीको भेन्टिलेटरमा राखेको,' गोपालका बुबा भूमिराज रिजालले भने, ‘अहिलेसम्म अस्पताल र फार्मेसीको गरेर १४ लाख जति खर्च आएको छ।’
अस्पतालमा भइरहेको खर्चले ७० वर्ष नाघेका रिजाल र उनकी पत्नी कृष्णकुमारीको ओठ तालु सबै सुकाइदिएको छ।
एकातिर ४२ वर्षे छोराको स्वास्थ्यलाभको कामना गरिरहेका रिजाल दम्पतीलाई दिनदिनै बढिरहेको अस्पतालको खर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलेको छ। अर्कातिर सरकारले दिने सहयोग रकम हातमा कहिले आइपुग्ने टुंगो छैन।
‘अहिले पैसाको फिटफिटी परेका बेला सरकारले दिने पैसा हात परे राम्रो हुन्थ्यो तर बुझ्दा अरू दुई तीन महिना लाग्ने रहेछ,' भूमिराजले भने, ‘त्यत्रो पैसा कसरी जुटाउने रनभुल्ल भइयो।’
झापा मेचीनगर २ को भृकुटी बजारभन्दा थोरै मास्तिर काशीनाथ चोकका बासिन्दा रिजाल परिवारको भएभरको सम्पत्ति भन्नु जम्मा दुई कट्ठा जमिन र त्यही जमिनका ठडिएको एउटा कच्ची घर हो। घाइते छोराको उपचारका लागि भएको घरजग्गा बेच्दा पनि खर्च नपुग्ने अवस्था भइसकेको छ। यो सम्झेरै रिजाल दम्पतीका नौनाडी गलेका छन्।
‘एक त गाउँको जमिन मूल्य धेरै हुँदैन, बिक्री भइहाल्यो भने पनि कहाँ गएर बस्नु फेरि?' भूमिराजले भने, ‘अहिले बिरामी छोराको उपचार खर्च कसरी पुर्याउने होला!’
गएको कात्तिक १९ गते बिहान साढे ६ बजेतिर गोपाल घाँस काट्न घर नजिकैको थापा चोक पुगेका थिए। त्यहीँ एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो। भाग्न खोज्दाखोज्दै उनलाई हात्तीले लघार्यो। लछारपछार पार्दै जीउमा कुल्चियो।
हात्तीको पन्जाबाट मुक्त हुँदा उनी बेहोस भइसकेका थिए। रगतपच्छे बनेका उनलाई गाउँलेहरूले हतार–हतार अस्पतालतिर दौडाए। त्यसक्रममा उनलाई उपचारका लागि कहाँ लैजाने भन्ने कुरा गाउँले बीच भयो। सबैले सुविधा भएकै अस्पतालमा लानुपर्छ भने।
‘हतारमा सल्लाह हुँदा बिएण्डसी लैजाऊँ भन्ने भयो, लगेर उपचार थालियो,' छिमेकी गोपी रिजालले भने, ‘त्यहाँका चिकित्सकको उपचारले बिरामीको अवस्थामा निरन्तर सुधार आइरहेको छ। तर, अझै कति दिन भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ थाहा छैन। औषधि अझै कति लाग्ने हो। त्यसैले खर्च कसरी धान्ने भन्ने समस्या भएको छ।’
गोपीका अनुसार अहिलेसम्म गोपालका परिवारले सरसापट र ऋण गरेर तीन लाख रुपैयाँ जति अस्पतालमा बुझाइसकेको छ। गोपीकै नेतृत्वमा बनेको गोपाल रिजाल उपचार अभियानबाट बिहीबार बिहानसम्ममा २ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ।
‘दाताहरू गुहारेर, छरछिमेक सबै लागेर यति रकम जुटाइएको छ,' गोपीले भने, ‘तर, यतिले मात्रै खर्च धान्ने अवस्था छैन। बिहीबार बिहानसम्ममा अस्पतालको खर्च १४ लाख हाराहारी भइसकेको छ। अरू कति लाग्ने हो टुंगो छैन। परिवार र छिमेकीबाट उठेको रकम जम्मा ६ लाख हाराहारी मात्रै छ।’
गोपाल बचाउ अभियानको नेतृत्व गरिरहेका गोपी बिएण्डसीका मालिक दुर्गा प्रसाईंतिर पनि आशावादी नजर लगाइरहेका छन्।
‘उहाँले गरिबको हितका लागि भन्दै आन्दोलन गरिरहनु भएको छ,' गोपीले थपे, ‘एक जना गरिब युवाको ज्यान बचाउन उहाँले सहयोग गर्नुहुन्छ भन्ने आशा छ।’
हात्तीको आक्रमणमा परेर फोक्सोमा गम्भीर चोट बोकेका गोपालको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराख्ने वचन भने दिएको छ। अहिलेसम्म पैसाका लागि ताकेता पनि नगरेको रिजाल परिवारको भनाइ छ।
‘हाम्रो क्षेत्रका सांसद विश्वप्रकाश शर्माले अस्पताललाई पैसाको चिन्ता नलिनु, उपचार राम्रोसँग गर्नु भनेर भन्नुभएको रहेछ,' छिमेकी गोपीले भने, ‘अहिलेसम्म पैसाकै कारण उपचार प्रभावित भएको छैन। तर, तिर्न त पर्छ नै, केही नभएको परिवारको तिर्ने उपाय छैन। सरकारले दिने पैसा चाहिएका बेला नआउँदो रहेछ।’
झापा बाहुनडाँगीको यो रिजाल परिवार यतिबेला जसरी पैसा अभावले छटपटाइरहेको छ, वन्यजन्तुको हिंस्रक आक्रमणमा परेर गम्भीर घाइते भएका, ज्यान गुमाएका व्यक्तिका परिवार वर्षौंदेखि उही नियति भोगिरहेका छन्।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले प्रकृया पुगेपछि रिजाल परिवारलाई राहत दिइने बताए।
'उहाँहरूले राहत पाउनुहुन्छ। प्रकृया पुर्याउनुपर्छ,' उनले भने।
वन्यजन्तुले गर्ने क्षतिमा सरकारले दिने राहत प्रक्रिया लामो हुन्छ।
डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवका अनुसार सबैभन्दा पहिले वडा र प्रहरीले मुचुल्का तयार पार्छन्। घाइतेको हकमा चिकित्सकको प्रेसक्रिप्सन, सम्बन्धित स्थानीय तहको सिफारिस, पीडित परिवारको निवेदनसहित वनको सब डिभिजन कार्यालयले स्थलगत जाँचुबझ गर्छ।
सब डिभिजनको अधिकृतले रायसहितको सिफारिस डिभिजन वनका पठाउँछ। डिभिजन कार्यालयले त्यसपछि बोर्ड कमिटी गठन गर्छ। उक्त कमिटीले निर्णय गरेर बल्ल वन मन्त्रालयमा राहत तथा उपचार खर्चका लागि सिफारिस गर्छ।
त्यो सिफारिससहितको फाइल मन्त्रालयमा पुगेपछि मन्त्रालयले निकुञ्ज विभागमा पठाउँछ। निकुञ्ज विभागले मन्त्रालयलाई राहत तथा उपचार खर्च निकासा गर्छ। मन्त्रालयमा रकम आएपछि उसैले डिभिजनको खातामा रकम जम्मा गरिदिन्छ।
जिल्ला डिभिजनले पीडित परिवारलाई त्यसपछि मात्रै उपलब्ध गराउने हो।
‘पीडितलाई रकम आउँछ तर यो प्रक्रियाले ढिलो हुन्छ’, यादवले भने।
वन ऐन र राष्ट्रिय निकुञ्ज ऐन अनुसार कार्यविधि र राहत निर्देशिका बनाएर सरकारले वन्यजन्तु पीडितलाई राहत तथा क्षतिपूर्ति दिने गरेको छ। मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था गरेको २०८० साउन १ देखि संशोधन भएर लागु भएको निर्देशिका अनुसार सख्त घाइतेहरूले २ लाख रुपैयाँसम्म पाउने गरेका छन्।
तर, लामो प्रक्रियाको झन्झटका कारण घाइतेहरूले समयमै उपचार खर्च पाउँदैनन्। जसका कारण सरकारले दिने राहत परेको बेलामा पीडितलाई काम लाग्दैन। यस्तै प्रक्रियागत झमेलाको मारमा झापा बाहुनडाँगीको रिजाल परिवार परेको छ अहिले।
‘रिजालजी घाइते भएपछि अस्पतालमा कुरा गरेर उपचार भइरहेको छ,' कांग्रेस महामन्त्रीसमेत रहेका झापा १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले भने, ‘तर, सरकारले दिने उपचार खर्च परेको बेलामा पीडितले नपाउने अवस्था विद्यमान छ। ठूलो खर्च भइरहेका बेला सरकारले दिने रकम समयमै पाउने हो भने राम्रो भरथेग हुन्थ्यो। तर, हाम्रो नियमावलीको प्रक्रियागत झन्झटले त्यसो हुन दिएको छैन। नियमावली संशोधन गरेरै भए पनि पीडितले तत्कालै राहत पाउने अवस्था बनाउनुपर्छ।’
झापा जिल्ला हात्ती आतंकले भयग्रस्त बन्दै आएको जिल्ला हो। हात्तीको आक्रमणबाट २०६८ यता झापामा ६२ जनाको ज्यान गइसकेको छ। घाइतेको संख्या पनि ठूलो छ। बालीनाली र सम्पत्तिमा भएको क्षति त झापामा बेहिसाब जस्तै छ। यस्तोमा सरकारले उपलब्ध गराउने राहतले पीडितलाई झनै धेरै पीडित बनाउने गरेको छ।
‘वन कार्यालय धाउँदा–धाउँदै राहतमा पाइने पैसाभन्दा धेरै खर्च हुने अवस्था भोगेका छौं हामीले’, बाहुनडाँगीका हात्ती पीडित हेमराज बरालले भने, ‘मेरो पनि परिवारकै सदस्य घाइते भएका थिए। झण्डै १५ महिनामा ५० हजार उपचार खर्च पाइयो। त्यसका लागि म कम्तीमा १० चोटी सदरमुकाम चन्द्रगढी धाएको थिएँ।’
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार सरकारले हात्ती, बाघ, गैंडा, चितुवा, हिउँचितुवा बँदेल, ध्वाँसे चितुवासहितका १५ थरी वन्यजन्तुलाई हानिकारक सूचीमा राखेको छ। ती वन्यजन्तुले जंगलबाहिर पुगेर पुर्याउने मानवीय क्षति, सम्पत्ति, बालीनाली, पशुधनको क्षतिमा राहत रकम उपलब्ध गराउने सरकारी प्रावधान छ।
यद्यपि सम्पत्ति, बालीनाली र पशुधनको नोक्सानीमा दिइने राहत रकम नाम मात्रैको छ। राईका अनुसार अधिकतम २० हजारसम्म राहत रकम पीडितले पाउने गरेका छन्।
अघिल्लो आर्थिक वर्षमा झापामा मात्रै हात्तीको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन्। एक जना भारतीय र एक जना भुटानी शरणार्थीले ज्यान गुमाएका थिए। विदेशी नागरिकले राहत पाउँदैनन्। तर, वर्षदिनभन्दा बढी समय बितिसक्दा पनि मृतकका परिवारका सदस्यले राहत रकम पाएका छैनन्।
डिभिजन वन प्रमुख राईका अनुसार झापामा मुख्यतः दुई सिजनमा हात्ती आतंक उत्कर्षमा पुग्ने गर्छ।
‘नोभेम्बर र मे महिनामा यहाँ हात्तीको आतंक बढी हुन्छ’, उनले भने, ‘हात्तीले झापामा दुवै सिजनमा खानेकुरा पाउन थाल्यो। धान जोन र मकै जोन घोषणा भएपछि वर्षमा धेरैपटक बाली उत्पादन हुन थाल्यो। हात्ती पल्किन थाल्यो।’
उनका अनुसार प्रायः आफ्नै रुटमा मात्रै हिँड्ने हात्ती झापामा भने अफ रुटमा पनि अभ्यस्त भइसकेको छ।
‘झापामा अहिले पनि कम्तीमा ४० वटा हात्ती विभिन्न जंगलमा स्थायी रूपमा बस्ने हाम्रो अनुमान छ,' राईले भने, ‘तिनै हात्तीले बालीनालीदेखि मानवीय क्षतिसम्म निम्त्याइरहेका छन्।’
तीन दिन अघि मात्रै दमकको बेलडाँगीमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा परेरै ज्यान गएको छ।