काठमाडौं उपत्यकाको सवारी चाप सामान्य छ।
बिहीबार नेकपा (एमाले) निकट युवा संघले तीनकुने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन लागेकाले सवारीसाधन जाम हुनसक्ने आकलन गरिएको थियो। मुख्य सडकहरूमा प्रदर्शन गर्दा काठमाडौंमा अत्यधिक जाम हुने गरेको छ।
तर बिहानसम्म ट्राफिक सामान्य नै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए।
‘अहिलेसम्म सामान्य छ। कहीँकतै प्रदर्शन सुरू भइनसकेको कारणले पनि होला। ठाउँठाउँमा भेलाजम्मा हुँदैछन्,’ उनले भने।
प्रदर्शन गर्नेहरू भेला हुन थालेपछि भने रूटहरूमा केही ट्राफिक जाम हुनसक्ने उनले बताए।
‘प्रदर्शन गर्न ११ बजेतिर भेला भएर निस्किने भएकाले रूटहरूमा अलि जाम होला। अहिले त सामान्य नै छ,’ उनले भने, ‘बल्खु र तीनकुनेमा हो प्रदर्शन। हामीले सकेसम्म अवरोध नहुनेगरी ट्राफिक व्यवस्थापन गर्न खोज्छौं। कति भीड हुन्छ त्यसमा भर पर्छ।’
प्रदर्शनकै लागि उपत्यका बाहिरबाट धेरै मानिसहरू आएको जानकारी नभएको उनले बताए। यद्यपि, जिल्लाबाहिरबाट आउने सवारी साधनहरूको चेकजाँचमा भने कडाइ गरिएको एसएसपी भट्टराईले जानकारी दिए।
दुई पक्षबीच प्रदर्शन हुँदा दंगा हुनसक्ने भएकाले धेरैजसो विद्यालय र कार्यालयहरू समेत बन्द छन्। जसकारण पनि सडकमा सवारीको चाप कम छ।
ट्राफिक प्रहरी कार्यालयले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक काम परेमा मात्रै सवारीसाधन लिएर निस्किन अनुरोध समेत गरेको थियो। आवश्यक परे ट्राफिकले कुनै पनि स्थानबाट डाइभर्ट गर्नसक्ने समेत बताएको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा काठमाडौं उपत्यका संयुक्त कमान्ड सेन्टर स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। तीनकुने र बल्खुमा हुने कार्यक्रममा ड्रोनबाट पनि निगरानी गर्ने प्रहरीको तयारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली फिल्डमा खटिएका छन्। यस्तै नेपाली सेनालाई ब्याकअपमा राखिएको छ।
प्रहरीका अनुसार तीनकुनेमा बिहीबार बिहानदेखि युवा संघका केही कार्यकर्ता भेला भइसकेका छन्। प्रसाईंको कार्यक्रमका लागि भने साढे १० बजेदेखि विभिन्न ठाउँबाट र्याली गरी मानिसहरू बल्खु पुग्ने तयारी थियो।
पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ। झडप हुन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न रोक्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको थियो।
माइतीघर, बानेश्वर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, मन्त्री निवासलगायत क्षेत्रमा पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।
तस्बिरहरूः