२०५६ वैशाखको याम। गर्मीले मधेसको माटो धपक्कै बलेको थियो। देहातका मानिस गर्मी छल्न शीतल सियाँलको खोजीमा थिए।
आँखाले भ्याएजत्ति सम्म देखिने फाँट र डगरहरूमा सियाँल ताप्ने ठाउँ कहाँ हुनु!
खेतबारीमा मकै हलक्क बढेका थिए। गर्मीले धापिएकाहरू तिनै मकैका बोटमुनि सियाँल तापेर धुपबाट जोगिने भगीरथ कोसिस गर्थे।
गर्मीले जसरी तराईको माटो बलेको थियो, त्योभन्दा कम थिएन, चुनावी धुप। सिंगै देश आमचुनावको तातोले झन् बढी रापिलो बनेको थियो।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन मिति तय गरेको थियो। पहिलो चरणमा ३६ जिल्लाका ९३ निर्वाचन क्षेत्रमा चुनाव हुँदै थिए। दोस्रो चरणमा ३९ जिल्लाका ११२ निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम तय गरिएको थियो।
त्यसो गर्नुको मुख्य कारण थियो, तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा चलिरहेको सशस्त्र द्वन्द्व।
हतियारको बलमा राज्यसत्ता कब्जा गर्न हिँडेका माओवादीविरूद्ध किलो शेरा-टु (२०५५ जेठ दोस्रो सातादेखि प्रहरीले सुरू गरेको कारबाही) अप्रेसन चलाइएको थियो।
देश दोहोरो बन्दुकको चेपुवा र चपेटामा थियो। सरकार र माओवादीले तेर्स्याएको बन्दुकको नालबाट कति बेला उछिट्टिने र प्राणपखेरू उड्ने हो भन्ने त्राहित्राहिमा थिए नागरिक। कतिका इहलिला समाप्त भई नै सकेका थिए।
अम्बिका पोखरेल कार्कीका पति ओम प्रहरीमा थिए। देशमा द्वन्द्वको भुंग्रो बढ्दै गएपछि र नागरिक र प्रहरीहरू त्यसको लप्कामा खाक बन्दै गएपछि ज्यान जोगाउन उनले घरपायक काज रोजेका थिए। अनेक रूप र बान्कीका हाकिमलाई रिझाएर कहिले जनकपुर, कहिले सर्लाहीमा काज खटिइरहन्थे।
सर्लाही दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको सूचीमा थियो। तथापि, उम्मेदवार र मतदाताको सुरक्षामा चनाखो भइरहनुपर्थ्यो। देहात मात्र होइन, मुख्य चोक, बजार र सहरमै दिनहुँजस्तो भइरहने मारकाट, झैझगडा, चोरीडकैती र लुटपाट घटना प्रहरीका निम्ति टाउको दुखाइको विषय थियो। त्यसको रोकथामका लागि पनि प्रहरी चौबीसै घन्टा नाक, कान, आँखा खुलै राखेर बस्नुपर्ने बाध्यता थियो।
शान्ति, सुरक्षा र माओवादीको हतियारबन्द आन्दोलन दबाउने एक्लो दायित्व पनि प्रहरीकै काँधमा थियो।
सशस्त्र द्वन्द्वबीच पहिलो चरणको निर्वाचनको अघिल्लो दिन र सीमावर्ती क्षेत्रमा हुनसक्ने घुसपैठलाई लिएर प्रहरी विशेष सतर्क हुने नै भयो। उसले गस्तीको संख्या बढाएको थियो। साँझ-बिहानका अतिरिक्त दिउँसो पनि प्याट्रोलिङ बाक्लो बनाएको थियो।
तत्कालीन राजघाट गाउँ विकास समिति (अहिले बागमती नगरपालिका-६) थियो, ओम कार्कीको घर। निर्वाचन लक्षित सुरक्षाका लागि उनी घरपायकै काजमा थिए। घर नजिकै गस्ती गर्न पाएकाले उनी निर्धक्क ड्युटीमा खटिएका थिए। ‘क्यै चिन्ता नगर्नू! छोरीको राम्रो ख्याल गर्नू’ भन्दै पत्नी अम्बिकालाई सम्झाइबुझाइ गरिरहन्थे। निर्भय रहन भनिरहन्थे।
उनका साथीसंगाती कोही सेनामा थिए। कोही प्रहरी सेवामै थिए। कोही माओवादीतिर आकर्षित भएर गोली-बारूद बोकेर हिँडेका थिए।
उस्तै अभावको रूखको ओत लागेका र जिन्दगीको उस्तै जीर्ण गोरेटो पैतालाले नापेर आएकाहरू जीवनको एउटै मोडमा आएपछि फरकफरक बाटो हिँडेका थिए। साथी-संगाती माओवादीमा भए पनि तिनले आफैंलाई बाटाको तगारो ठान्लान् र राज्यसत्तालाई ताकेको बन्दुकको मोहोरा आफ्नै छातीतिर सोझ्याउलान् भनेर उनले खासै सोचेनन् पनि।
‘सँगै गाईग्वाला गएका, गोठालो लागेकाहरू कोही सेना, प्रहरी र माओवादी पनि थिए। एउटै चौरमा खेलेर, एउटै थालमा खाएका साथी-संगाती फरकफरक ठाउँमा थिए। दुस्मनी मोल्लान् भनेर कसरी सोच्नू!’ अम्बिकाको अकिञ्चन दिमागले अहिले पनि त्यही सोच्छ।
२०५६ वैशाख १९ गते।
दिन ढल्कने तरखरमा थियो। चर्न गएका गाईभैंसी गोठ फर्कंदै थिए। देहातका कच्ची बाटोमा तिनका खुरले उडाएको धुलोले घुर्मैलो समयलाई गोधूलिको संकेत गरेको थियो।
अचानक घर नजिकैको मकैबारीमा गोलीका पर्रा सुनिए। अप्रत्यासित रूपमा कानमा बज्रन आएको गोलीको आवाजले अम्बिकाको मुटु खंग्रङ्ग भयो।
तर घटनाको निधो नपाइसकेकाले मनको चिसो धेरै बेर रहेन। उनी आफ्नै धन्दामा फर्किइन्।
भोलिपल्ट बिहान —
अम्बिकलाई चितवन माइती आउनु थियो। पर्सिपल्ट भाइको ब्रतवन्ध भएकाले आमाले बिहान भाले नबास्दै आउन भनेकी थिइन्।
माइती जाने चटारोमा रहेकी अम्बिक नुहाइधुवाइ गर्न भुइँतलामा ओर्लंदै थिइन्। घरअगाडिको मूलबाटामा प्रहरीको भ्यान आएर एक्कासि टक्क रोकियो। अम्बिकाको मुटुको चाल रोकिएलाझैं भयो। हिजो साँझ गोलीको फोहोरा चलेको छ, आज बिहानै प्रहरीको गाडी आउँछ! हे भगवान्, अप्रिय कुरा सुन्न नपरोस् है! उनले मनमनै ईश्वर पुकारिन्। सम्झिएजत्ति भगवानको नाम लिइन्।
उनले गाडीको सबैतिर आँखा पुर्याएर श्रीमानलाई खोजिन्। अहँ देखिनन्। शरीरमा भयका काँडा उम्रन थाले। खुट्टा लगलग काम्न थाले।
‘साँझपख गोलीको आवाज कान छेडेर गएको छ। बिहानै प्रहरीको भ्यान आँखा अगाडि आउँछ। गाडीभित्र, बाहिर सबैतिर आँखा तन्काइतन्काइ हेर्छु श्रीमान् कतै देख्दिनँ, भर्खर किशोर वय पार गरेको उमेरले के सोच्छ होला? म अहिले कल्पना पनि गर्न सक्दिनँ,’ अम्बिकाले ती दिन सम्झँदै भनिन्।
दिमागमा हिजो साँझ चलेको गोलीको आवाज फनफनी नाच्न थालेपछि एक्कासि रिँगटा चलेझैं भयो। मथिंगलमा कालो पर्दा लाग्यो। मूर्च्छा पर्दै उनी डङ्ग्रङ्ग भुइँमा ढलिन्।
होस् खुल्न तीन दिन लाग्यो। होस खुल्दा उनको श्रीमानको निधन भएको चौथो दिन लागिसकेको थियो।
त्यस क्षणको उनको शंका सही थियो। त्यस दिन साँझ मकैबारीमा सुनेका गोलीको आवाजसँगै उनको श्रीमान् सधैंका लागि अस्ताएका थिए।
घर नजिकै, तर अर्को बाटोबाट उनको श्रीमानसहितको गस्ती टोली अगाडि बढ्दै थियो। अचानक मकैबारीमा लुकेर बसेका माओवादी छापामारहरूको समूहले प्रहरीको गस्ती टोलीमाथि गोली बर्सायो।
संयोगले अरू प्रहरी छलिए। उनका श्रीमान् ओममाथि थ्री नट थ्री राइफलका चार गोली लागे। घटनास्थलमै उनको निधन भयो।
त्यही खबर सुनाउन प्रहरीका अधिकारीहरू उनको घर आएका थिए। परन्तु ती कुरा कानमा पर्नुअगावै अम्बिका मूर्छित भइन्।
‘शव पोष्टमर्टम गरीवरी प्रहरी चौकीमा राखिएको थियो। मलाई बेहोसी अवस्थामै प्रहरी चौकी लगिएको रहेछ! त्यहीँ शव बुझ्ने काम भएछ। परिवारले घरमा ल्याएर दाहसंस्कार गरेको तीन दिनपछि मात्रै होस खुल्यो,’ अम्बिकाले घटनाको बेलीविस्तार लगाइन्।
किशोर वयको झुल्के घाममै अम्बिकाले ओमसँग प्रेम गरेकी थिइन्। चितवनको माडी माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दापढ्दै उनीसँग मनमा माया टुसायो। साथीसंगीको लहलहैमा कति बेला झांगियो उनले पत्तै पाइनन्।
ओमको माडीनजिकै पोष्टिङ भएकाले विद्यालय आउजाउ गर्दाकै बखत प्रेम अंकुराएको थियो।
विपरीत लिंगीप्रति आकर्षण भाव टुसाउन थालेको कैशोर्य कालको पहिलो खुट्किलो थियो त्यो। प्रेमको रूप, बान्की र अर्थ त कसरी खुट्टयाउनु!
उनको त्यो सम्बन्ध विवाहमा परिणत भयो। २०५१ सालमा उनले एसएलसी परीक्षा दिइन्। त्यही साल उनको विवाह भयो।
विवाहपछि उनी सर्लाहीको राजघाट नै गएर जीवन डोर्याउन थालेकी थिइन्।
१९ वर्ष नछिचोल्दै छोरी अर्पणा जन्मिइहालिन्। उनलाई बाटो देखाउने र कर्तव्य पथमा अब्बल तुल्याउने जिम्मेवारी ओम र अम्बिकाको काँधमा थपिएको थियो।
जीवन गुजाराको माध्यम खोज्दै ओम प्रहरी सेवामा पुगेका थिए। पारिवारिक कर्तव्यको रथ धकेल्ने एक मात्र सहारा थियो त्यो।
अमुक दल र तिनको विचार र चिन्तनधारासँग विमति राख्ने होइनन् उनी। न उनी विद्रोहीको परिभाषाभित्रका वर्गशत्रु नै थिए। परिवारको गर्जो टार्न नुनको सोझो गर्दा विद्रोहीले राज्यतिर ताकेको बन्दुक उनको छातीमा लाग्यो। अर्पणा टुहोरो भइन्। अम्बिका विधवा भइन्। ओमका मातापिता पुत्र वियोगको पीडाले मर्माहत् बन्नुपर्यो।
विद्रोहीको बन्दुकले ओमको जीवनको दौडधुप टुंग्याउँदा अम्बिका भर्खर २० वर्ष टेकेकी हुँदिहुन्। यौवनको प्रथम पाइलामै जीवनले निछ्याम अन्धकार बेहोर्यो।
नियतिले विधवाको सप्को टाउकामा हालिदिइसक्यो, तर उनीसँग त्यति बेला आफ्नै नामको ओत लाग्ने झुपडी थिएन। अंशको नाममा पैताला राख्ने जमिन पनि थिएन।
जीवनको बोझ एक्लै कसरी उठाउने? तोते बोलीसम्म बोल्न नसक्ने छोरीलाई जिन्दगीको बाटोमा कसरी ताते गराउने? पीडाको दुर्लङ्घनीय गर्तमा पुगिन् अम्बिका!
एकल महिलाका रूपमा समाजका गल्छेंडा हिँड्न सहज थिएन। देहातका डगर छिचोल्न सजिलो थिएन। चोक, चौरस्ता, पँधेराहरूमा सुन्नुपर्ने लाञ्छना र दुर्वचनले आँखा ओभानो रहन दिँदैनथे।
कुप्रीआमा पुस्ताले सती प्रथाको कहर काट्यो। उनले सोचेकी थिइन्— हजुरआमा पुस्तासम्म आइपुग्दा त्यसको अवशेष पनि मेटियो। महिला र पुरूष समान वेगमा समाजका गोरेटा छिचोल्न सक्छन्। तर होइन रहेछ। उनको अनुभवमा महिलाका निम्ति समाजमा अनेक साँध-सीमाना खडा रहेछन्। लक्ष्मणरेखा कोरिएका रहेछन्।
अझ एकल महिलाका निम्ति त घरको संघार काटेर बाहिर निस्कनसमेत दुसाध्य रहेछ।
‘उहिल्यै समाजमा सतिप्रथा विद्यमान थियो। कुप्रीआमाहरू श्रीमान मरेपछि चाहेर पनि बाँच्न पाउँदैनथे। त्यो कहरको युग सकियो भन्ने मात्रै हो, समाजको मानसिकता त्यही कालमै छ। विधवालाई हेर्ने नजरमा कुनै फेरबदल छैन,’ उनले कटु अनुभव सुनाइन्।
पाइलैपिच्छे समाजले हेर्ने शंकाको नजरले उनको मन विदीर्ण तुल्याउँथ्यो। विधवाले अलिकति पाइला सारेर अघि बढ्न खोज्दा अनेकन आरोप सामना गर्नुपरेकाले उनले धेरैपटक आफ्नो भाग्यलाई धिक्कारेकी छन्। नारी देह दिएर पठाएको भन्दै उनले विधातालाई सराप्नुसम्म सरापेकी छन्।
‘एकाघरका देवर-जेठाजू, दाजुभाइसँग हिँड्न पनि दसफेर सोच्नुपर्ने! कसैले शंका गरिहाल्छ कि भनेर चनाखो हुनुपर्ने! मनमा संकोच मडारिने अवस्था हुँदो रहेछ,’ उनले विधवा जीवन व्यतीत गर्दाताकका अनुभव सुनाउँदै गइन्, ‘पाइला पाइलामा व्यवधान सहेर अघि बढ्नुपर्ने अवस्था अझै पनि छ, मैले ती कहर कसरी काटेँ हुँला, अहिले सम्झिँदा पनि मन कहालिन्छ।’
जीवनसाथी गुमाउँदाको आलो घाउ छातीमा छ। हरबखत श्रीमानको यादले लपेटिरहन्छ। राष्ट्रकवि माधव घिमिरेले 'गौरी' खण्डकाव्यमा लेखेझैं अचानक मन खुसी हुँदा पनि श्रीमान बिर्सिएँ कि क्या हो भनेर मन चिमोटिन्छ। एक्कासि मनमा बादल लाग्दा पनि डिलको आँसु डिलमै रोकेर हत्केलाले आँखा ओभाउनुपर्छ।
विद्रोहीले बन्दुकको मोहोराले श्रीमानको जीवन छिनालिदियो। राज्यले दिएको पीडा पनि त्योभन्दा कम नरहेको उनीहरूको बुझाइ छ। युद्धमा अघि लागेका सेना-प्रहरी गोली लागेर भकाभक ढलेपछि र युद्ध साम्य भएपछि त सरकारले फर्किएर पनि नहेरेको गुनासो सधैं गर्दै आएका छन्। समाजमा युद्धको आलो घाउ अझै रहेको कुरा राज्यले कहिल्यै नसोचेको उनको दुखेसो छ।
युद्धमा सेना-प्रहरी ढाल बने। रोजीरोटीका लागि जागिर खाएकाहरू अनाहक मारिए। उनीहरूको लासको बिस्कुन लाग्यो।
राज्यसत्ता जोगाइदिन लडाइँको मोहोरा बनेका सेना-प्रहरीलाई पनि राज्यले नहेरेको गुनासो उनले ठाउँठाउँमा लगेर सुनाइन् पनि। पत्रपत्रिकाको माध्यमबाट पीडा ओकलिन् पनि। सरकारले सुने पो!
‘अमर प्रहरीका परिवारले उचित राहत र पुनःभरण पाउन सकेनन्। उनीहरूको जीवनको अन्धकार चिर्न सरकारले भरथेग गर्नुपर्थ्यो। तर कहिल्यै सम्झिएन। त्यसको पीडा हामीले कहाँ मात्र पोखेनौं। सरकारले सुन्दै सुनेन?’ उनी गुनासो गर्छिन्।
श्रीमानको दुखान्तपछि तत्कालीन सरकारले राहत स्वरूप केही रकम नदिएको होइन, तर जिन्दगी ओताउने कि बिहान-बेलुकाको मुखमा माड लगाउने? झनै द्विविधा आइलाग्यो।
श्रीमानको निवृत्तीभरण (दिवंगत हुँदा पति ओम प्रहरी जवान थिए, तत्कालीन सरकारले एक पद बढुवा गरेर निवृत्तीभरण दिएको थियो), बनीबुतो गरेर उनले जीवनको दियो निभ्न दिइनन्।
‘सरकारले दिएको राहत-निवृत्तीभरण आदिले सन्तानको शिक्षा, दीक्षा, लालनपालन पूरा गर्न सकिँदैन। त्यसैले सशस्त्र संघर्षको दौरान मारिएका सुरक्षाकर्मी र तिनका परिवार कल्पनै गर्न नसकिने पीडामा छन्। कतिले आत्महत्याको बाटो रोजेका छन्। कतिपय डिप्रेसनको सिकार भएका छन्,’ उनले युद्धमा मारिएका सुरक्षाकर्मीका परिवारको अवस्था सुनाउँदै भनिन्, ‘सरकारले कहिल्यै उनीहरूको अवस्था बुझ्ने चेष्टा गरेन।’
१३ वर्षपछि जब छोरीले बाबु मारिएको थाहा पाइन्
अर्पणाले एक वर्षको अवोध अवस्थामै पिता गुमाइन्। उनले आफ्नो बुवाको अनुहारसमेत ठम्याउन पाइनन्। तर उनका ठूलो बुवा आनन्द कार्की (अम्बिकाका माइला जेठाजु) ले पितृवात्सल्यको बोट मर्न दिएनन्। अर्पणालाई बाबु नभएको सुइँको पनि नहोस् भनेर चनाखो भइरहे। र त, अभिभावकको छहारी दिइरहे।
अर्पणाले पनि बाबु नभएको महसुस नै गर्न पाइनन्। बुझ्ने भएदेखि ठूलो बुवालाई बुवा भन्न थालिन्। अम्बिकालाई पनि जेठाजुले जीवनको दुसाध्य बाटाहरूमा निकै भरथेग गरे। सहायता दिए। बलबुताले भ्याएसम्म संरक्षणको अनुभूति दिलाउन कुनै कसर बाँकी राखेनन्।
‘मेरो बुवाआमा चितवनमा भए पनि माइला जेठाजुले सर्लाहीमै आमाबुबा भएको अनुभूति दिलाउनुभयो। नातामा हामी जेठाजु-बुहारी भए पनि गाउँ, छरछिमेकाले हामीलाई बाबुछोरी भन्थे,’ उनले पुलकित हुँदै सुनाइन्।
असोजको पूवार्द्ध समय थियो। मौसममा पर्वको रङ चढेको थियो। १४ वर्षकी अर्पणा घरको आँगनमा कुचो लगाउँदै थिइन्। अभावमा हुर्किएकी छोरी अर्पणा घरको काम र पढाइ दुवैमा उत्तिकै मन लगाउँथिन्।
त्यस दिन गाउँको, नातामा हजुरआमा पर्ने पनि घरमा आएकी थिइन्।
‘अर्पणा त ठ्याक्कै बाबुकै स्वभावकी छ। निकै मिहिनेती पनि। अनुहार, चालढाल पनि बाबुकै जस्तो। बाबु बाँचेको भए, यस्ती लक्ष्मीजस्ती छोरी देखेर कति खुसी हुन्थ्यो होला...,’ ती आमैले यति के भनेकी थिइन्, अर्पणा छाँगाबाट खसेझैं भइन्।
बाबु नभएको कुरा उसलाई कसैले भनेकै थिएन। जब यथार्थ सामुन्ने आयो, उनका नौनाडी गले। बढार्दा बढार्दैको कुचो भुइँमै मिल्काएर उनी हातपाउ फालेर रून थालिन्।
‘अहिलेसम्म नभनेर किन लुकाएर राख्नु भएको? मेरो बाबा खै?’ भन्दै छाती पिटीपिटी रोइन्।
त्यस दिन घरमा आर्तनाद छायो। रूवाबासी मच्चियो। घरका कसैले पनि खाना खाएनन्।
त्यसपछिका दिनमा भने अर्पणा व्यवहारमा झन् पाको भइन्। आमालाई अझ बढ्ता माया गर्न थालिन्। आमाको सुखदुःखको झन् बढी अंशियार बनिन्।
अनि अन्माए आफैंले कन्यादान गरेका छोरीज्वाइँले
२० वर्षको उमेरमै जीवन यात्राबाट श्रीमान छुटेपछि अम्बिका एक्लो बनेकी थिइन्। समाजमा कसैले सहाराको हात बढाए। कसैले वचनवाण हाने। ती सबै सहँदै, व्यहोर्दै उनले जीवनलाई प्रदीप्त तुल्याउँदै आइन्।
श्रीमानको निधनपछि कर्मथलो सर्लाही कमै बसिन्। छोरी अर्पणाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी चितवन आएर हातपाखुरा खियाउन थालिन्। चितवन, भरतपुरको मालपोत चोकमा उनले पसल व्यवसाय गरिन्, जसले जीवन अघि बढाउन निकै भरथेग गर्यो। त्यस अतिरिक्त स्वअध्ययन र साहित्य साधनामा पनि उनी उत्तिकै दत्तचित्त रहिन्।
चितवनमै उनले दिवंगत पतिको नामबाट ओम कार्की स्मृति साहित्य प्रतिष्ठान खडा गरेकी थिइन्। त्यसैको माध्यमबाट उनले आफ्नो साहित्यिक चेतनामा पाइन् थपी नै रहिन्।
पतिसँगको साथ क्षणभंगुर बनेपछि छोरीको जिम्मेवारी नै उनका साथी बनेका थिए। छोरीप्रतिको कर्तव्यबोध, उनलाई उन्नत बाटो देखाउने सपनाको बाटो हिँडेकी अम्बिकालाई बाँकी कुरा सोच्ने फुर्सदसम्म थिएन।
यौवनावस्थामै विधवाको घुम्टो ओढेकी उनलाई घरपरिवारले त्यसबीच पनि बिहे गरेर जीवनको अर्को बाटो सुरू गर्न नसुझाएका होइनन्। तर छोरीप्रतिको कर्तव्यले उनकै सपनामा डोहोरिएकी अम्बिकाले दोस्रो बिहेबारे दिमागमा आउनै दिइनन्। कहिल्यै त्यो आवश्यकता महसुस गरिनन् पनि।
विधवा जीवनको २५ वर्षे यात्रामा उनले घर पढिन्। परिवार, नातागोता र आफन्तहरूको अनुहारसँग पनि चिनजान भयो। पैसा साथमा हुँदाका साथीसंगी र पैसा साथमा नहुँदाका साथी-संगातीको भेद थाहा पाइन्। समाजमा रहेका मानिसहरूको अनेक रूप र बान्कीसँग चिनापर्ची पाइसकेकाले उनी जो कसैलाई सहजै विश्वास पनि गर्न सक्दिनथिन्।
तर कसैले विवाहको प्रस्ताव गरिहाले ‘अहिले त्यसबारे केही सोचेको छैन, कथम् मेरो दिमागमा अब बिहे गर्नुपर्छ भन्ने आयो भने आफैं मान्छे खोज भनेर भन्नेछु’ भन्दै टार्थिन्।
२०७९ वैशाख २१ गते उनले छोरीको कन्यादान गरिन्। विज्ञान संकायमा माइक्रो-बायोलोजी लिएर स्नातक गरिरहेकी छोरीको राम्रो कुलघरानबाट कुरा आउँदा उनले उम्काउन चाहिनन्। नाता-कुटुम्बको पयो बाटिहालिन्।
छोरीलाई ज्वाइँको साथ लगाएर अन्माएपछि भने उनलाई एक्लोपनले डस्न थाल्यो। श्रीमानको यादले झन् बढी लखेट्न थाल्यो। बुढेसकालमा सहाराविहीन त हुने होइन भन्ने चिन्ताले भित्रैभित्रै डस्न थाल्यो। झन् आहत पो हुन थालिन् उनी।
एक्लोपनको सन्नाटाले अत्यास बढिरहेकै बखत आफन्तले पुनः विवाहको प्रस्ताव लिएर आए। बुटवल, मंगलापुरका कुञ्जरमणि ज्ञवाली तीन वर्षअघि कोभिड-१९ को कहरमा पत्नी गुमाएर बसेका रहेछन्।
अम्बिकाको माइती पक्षले तिनै ज्ञवालीसँग विवाहको प्रस्ताव लिएर आएका थिए।
२५ वर्षे जीवन भोगाइको पाठशालामा उनले मानिसका अनेक रूप र छटासँग परिचय पाएकी थिइन्। हत्तपत्ती सम्बन्ध गाँसिहाल्ने कुरामा सचेत हुने नै भइन्।
‘ठीक छ म विवाह गर्न राजी नै छु। कस्तो विचारको मानिस हो, उनले कस्ता मानिस खोजेका हुन्, यी पक्ष पनि त विचार गर्नुपर्छ’ भनेर जवाफ दिइन्।
आफन्तले सबै पक्ष विचार गरेरै प्रस्ताव अघि बढाएका थिए। अम्बिका र कुञ्जर अहिलेको चल्तीको माध्यम सामाजिक सञ्जाल फेसबुकमा जोडिए। कुराकानी बाक्लिँदै गयो। दुवैले एकअर्काको भावना गहिरोसँग बुझे।
दुवै सम्बन्धनको रिक्तता दोस्रो इनिङमार्फत् पूर्ति गर्न राजी भए।
‘सुरूमा हामी फेसबुमार्फत जोडियौं। त्यहाँ कुराकानी हुन थाल्यो। पछि हामीले सामूहिक रूपमा, उहाँका छोरीज्वाइँ र मेरा छोरीज्वाइँसमेत भएर भेटघाट गर्यौं। विवाहको छिनोफानो गर्ने जिम्मा उहाँहरूलाई नै दियौं — हामी एकअर्काका लागि सही छौं भन्नेमा पुगेका छौं, तिमीहरू के भन्छौ, तिमीहरूले हुन्छ अगाडि बढौं भन्छौ कि के भन्छौ, निर्णय देओ, हामी त्यसमा राजी छौं भनेपछि उनीहरूले हाम्रो इच्छालाई बिहेमा परिणत गरिदिए,’ अम्बिकाले विवाहको कुरा छिन्दाको क्षण सम्झिइन्।
समाजको मनले एकल महिलाको विवाह स्विकारिसकेको छैन। तर अम्बिका र कुञ्जरमणिको विवाहले एकल महिलाको विवाहप्रतिको दृष्टिकोण बदल्न भरपूर भूमिका खेलिरहेको छ।
२५ वर्षपछि सहयात्राको हात पाउँदा अम्बिका पुलकित छिन्। सिउँदोमा बिहेको दोस्रो सिन्दुर परेलगत्तै उनले सामाजिक सञ्जालमा खुसी बाँडिन् पनि।
अहिले सामाजिक सञ्जालमा उनको त्यो पोस्ट भाइरल भइरहेको छ। उनको पोस्ट साझा गर्नेले अम्बिका र कुञ्जरको दोस्रो इनिङलाई समाज परिवर्तनको कडीका रूपमा चित्रण गरेका छन्। सबैलाई सेयर गर्न उत्प्रेरित पनि गरिरहेका छन्।
त्योभन्दा पनि बढ्ता खुसी अम्बिकालाई आफ्ना छोरीज्वाइँप्रति लागेको छ। कन्यादान गरेर जीवनको मार्गमा साथसाथै हिँड्न बाटो देखाएका छोरीज्वाइँले आफैंलाई अन्माएर दोस्रो अध्याय सुरू गर्न अनुमति दिँदाको उनको खुसी शब्दमा समेट्न दुरूह छ।
तथापि उनले भनिन्, ‘जुन हातमाथि शंखबाट जलधारा झार्दै कन्यादान गरेको थिएँ, तिनै हातबाट अन्मिएर जीवनको अध्याय पूरा गर्न पाउँदा छोरीलाई असल शिक्षा दिएछुजस्तो आभास भएको छ।’