टिबी (क्षयरोग) रोग भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर टिबीको किटाणुले असर गर्नु हो। क्षयरोग खुट्टाको बुढी औंलादेखि कपालसम्म जहाँ पनि हुन सक्छ। जहाँ क्षयरोग लागेको छ त्यही अनुसारको उपचार हुन्छ। खोकी लाग्यो, ज्वरो आयो, सास फेर्न गाह्रो भयो, तौल घट्यो तर सबै रिपोर्ट सामान्य छ भने टिबी भएको हो भनेर औषधी दिइन्छ।
पहिलाभन्दा यो चलन अहिले कम हुँदै गएको छ। तर यस्तो गर्नु राम्रो होइन। पूर्ण रूपमा परीक्षण नगरिकन यसै औषधी खान हुँदैन। किनकि यसको औषधी भनेको एन्टिबायोटिक हो। जुन हजार एमजीको हुन्छ भने ६ महिनादेखि ३६ महिनासम्म खानुपर्ने हुन सक्छ। त्यसैले यसले गलत असर पार्न सक्छ।
क्षयरोगको औषधी शरीरको तौलको आधारमा दिइन्छ। नेपालमा धेरैलाई छातीको टिबी हुन्छ भनिन्छ तर जुन ठाउँको पनि हुन सक्छ। टिबीको औषधीको आफ्नै साइड इफेक्ट हुन्छ। जण्डिस हुने, बान्ता आउने, कानको समस्या, पेटको समस्या आउने लगायत हुन सक्छ। त्यसैले बिरामी नजिकको चिकित्सकको परामर्शमा बसेको हुनुपर्छ।
ज्वरो आएको छ, खाना रुचेको छैन, तौल घटिरहेको छ, खाना खाँदा जिउ लाग्दैन, खोक्दा रगत आउँछ, चाँडै थकाइ लाग्छ भने त्यस्तो बेलामा छातीको एक्सरे गर्नुपर्छ। खकारको समेत परीक्षण गरेर टिबी पत्ता लगाउन सकिन्छ।
खकारमा टिबीको किटाणु देखिएन तर छातीमा दाग देखियो भने फोक्सोभित्रको पानी झिकेर या बायस्पी गर्नुपर्छ। त्यसको रिपोर्टपछि मात्रै औषधी दिइन्छ।
पहिलो पटक टिबी भएकाले भन्दा दोस्रो पटक टिबी भएकाहरूले फरक खालको औषधी खानुपर्छ। यसको औषधी सजिलै फार्मेसीमा पाइँदैन। टिबीको औषधीको दुरूपयोग भएकाले सरकारी तहबाट मात्रै यसको औषधी दिन थालिएको हो।
बिरामी लामो समयदेखि दुब्लाउँदै गयो, बेलुका खोकी लाग्ने, ज्वरो आउने भयो भने टिबीको परीक्षण गर्नुपर्छ। छातीका अन्य समस्या पूर्ण रूपमा निको हुँदैन। तर टिबीको पूर्ण औषधी खाएमा रोग पनि पूर्ण रूपमा निको हुन्छ। जस्तो छातीको टिबी भएको छ भने ६ महिना औषधी खाए पुग्छ। हड्डीको टिबी भएको छ भने १८ देखि २४ महिना औषधी खानुपर्छ। टाउकोको कारणले टिबी भएको रहेछ भने १२ महिनादेखि १८ महिनासम्म अथवा आवश्यकताको आधारमा खानुपर्ने हुन्छ।
त्यस्तै, छालाको टिबी भएको छ भने ६ देखि ९ महिनासम्म खानुपर्ने हुन्छ। शरीरमा कुन ठाउँको टिबी भएको छ त्यसको आधारमा औषधी खाने हो। बिरामीले औषधी खाइन्जेल बिरामीले खाना खाने थाल, थुक्ने ठाउँ अलग्गै हुनुपर्छ। अरूसँग धेरै नजिक हुन भएन। सबैभन्दा धेरै छिटो सर्ने भनेको छातीको टिबी हो।
अरू टिबीमा पनि दुई महिना सकेसम्म बिरामीले अरूसँग नजिक नबसेको राम्रो हो।
टिबीको किटाणु सबैको शरीरमा हुन्छ। हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो हुँदासम्म टिबीको किटाणु सक्रिय हुँदैन। त्यसैले सरसफाइ, व्यायाममा ध्यान दिनुपर्छ भने खानपिनमा समेत ख्याल गर्नुपर्छ। जसले गर्दा टिबीबाट जोगिन सहयोग पुग्छ।
(छाती रोग विशेषज्ञ डा. सुरजकुमार गुप्ता नर्भिक अस्पतालमा कार्यरत छन्।)