शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो।
प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको छ। यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका परेका छन्।
जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका छन् भने रूकुम पश्चिममा २८ अर्थात ५३ प्रतिशत बालबालिकाले भूकम्पबाट ज्यान गुमाउनु परेको छ।
शुक्रबार आएको भूकम्पमा किन यति धेरै बालबालिका परे? यसबारे हामीले सम्बन्धित जिल्ला, प्रहरी, विपद व्यवस्थापन, बाल परिषद्लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई सोध्यौं।
जाजरकोट जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बुढा भूकम्पमा धेरै बालबालिका पर्नुको पछाडि चाडपर्व मनाउन गाउँ फर्किनुलाई मान्छन्।
सामुदायिक विद्यालयहरूले दसैं–तिहारको बीचमा विद्यालय खोलेका छैनन्। त्यसले गर्दा धेरै बालबालिका गाउँमै थिए।
अर्को कारण अभिभावक तथा युवायुवती वैदेशिक रोजगारी, शिक्षा र मजदुरीका लागि विभिन्न ठाउँ पुगेका छन्। घरमा बुढापाका तथा बालबालिका रेखदेख गर्न एक दुईजना महिला मात्र बस्छन्। बाँकी मजदुरी र शिक्षाका लागि जिल्ला बाहिर वा विभिन्न सहर जान्छन्।
जाजरकोटका गाउँमै उच्च शिक्षाका विद्यालय छैनन्। गाउँमा निम्न माध्यमिक तहको अध्ययन गर्ने बालबालिका मात्र बस्छन्। त्यसैले विपदमा धेरै बालबालिका तथा वृद्धवृद्धाको ज्यान गएको हुनसक्ने उनको बुझाइ छ।
'युवायुवती तथा सक्षम व्यक्ति गाउँमै बस्दैनन्, त्यसैले धेरै बालबालिकाको मृत्यु भएको हुनसक्छ,' उनले भने।
जाजरकोटको मात्र नभई अहिले देशकै अवस्था त्यस्तै छ। उनी यसको जिम्मेवार देशको संरचना, विकासको अभाव, रोजगारीको अवसर, मूल्य वृद्धि र सीपयुक्त शिक्षा नभएकोलाई मान्छन्।
सोही जिल्लाका प्रशासक अधिकृत हरिश्चन्द्र शर्मा जाजरकोट अति नै दुर्गम क्षेत्र रहेको बताउँछन्। मानिस बसेका बस्तीमा पुग्न सदरमुकामबाट चार/पाँच घन्टा पैदल हिँड्नुपर्छ।
भूकम्पकाे धक्काबाट क्षति पुर्याएको जानकारी प्राप्त हुनसाथ राति नै प्रहरी र चिकित्सक टोली हिँडेका थिए। त्यहाँ पुग्दा बिहान भएको थियो। त्यसले गर्दा घरमा पुरिएका धेरै मानिसको मृत्यु भएको अधिकृत शर्माले बताए।
'धेरै बालबालिकाको घरले पुरिएर मृत्यु भएको छ। उद्धार गरेपछिका भने धेरै बाँचेका छन्,' उनले भने, 'भौगोलिक संरचना नै त्यस्तै छ। जहाँ पुग्न घन्टौं हिँड्नुपर्छ।'
उनी भौगोलिक संरचनासँगै सक्षम युवायुवती रोजगारी तथा मजदुरीका लागि बाहिरिएकाले धेरै बालबालिकाको मृत्यु भएको बताउँछन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायक उपरीक्षक (डिएसपी) सन्तोष रोक्काले रातिको समयमा भूकम्प गएकाले धेरै बालबालिकाले ज्यान गुमाउनु परेकाे बताए।
'मध्य निन्द्रामा परेकाले पनि उनीहरूले भाग्ने समय नै पाएनन्, कतिपयले भूकम्प आएको थाहा नपाएको पनि देखियो,' डिएसपी रोक्काले सेतोपाटीसँग भने।
भूकम्पमा परी घाइते भएका बालबालिकालाई समयमा उद्धार गर्न नसक्दा धेरैको मृत्यु भएको उनको अनुभव छ।
उनले थपे- 'कतिपय बालबालिका समयमा उपचार पाएको भए बाँच्थे कि भन्ने लागेको थियो।'
आपतकालीन समयमा प्रहरी, चिकित्सक टोली घटनास्थलमा पुग्न समय लाग्यो। जसले गर्दा धेरै जनालाई बचाउन नसकिएको उनको भनाइ छ।
रूकुम पश्चिममा पनि हालत उस्तै
रूकुम पश्चिमका जिल्ला प्रहरी निरीक्षक बिष्णु श्रेष्ठका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन्।
गाउँमा बयोवृद्ध र केटाकेटीमात्रै भएकाले पनि भूकम्पबाट ज्यान गुमाउनेको बालबालिका संख्या धेरै भएको हुनसक्ने उनले अनुमान गरे।
रूकुम पश्चिमतिर एक घर, एक जना अमेरिका जाने चलन नै चलेको छ। अवैध बाटो हुँदै वा प्रक्रिया पुर्याएर अमेरिका जानेमा रूकुम पश्चिम पहिलो नम्बरमा पर्ने श्रेष्ठले बताए।
अमेरिका जान नसक्नेहरू अन्य देश गएका छन्। त्यसले गर्दा गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र धेरै भेटिन्छन्। त्यही कारण शुक्रबारको भूकम्पमा धेरै बालबालिकाको ज्यान गएको हुनसक्ने उनको बुझाइ छ।
उनले भनेअनुसार रूकुम पश्चिम गाउँमा अझै सडक र यातायातको सुविधा पुगिसकेको छैन। भूकम्पले धेरै क्षति पुर्याएका ठाउँ पुग्न घन्टौं समय लाग्छ। उद्धार टोली समयमा नपुगेकाले पनि धेरै बालबालिको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक श्रेष्ठले बताए।
'भूकम्पमा पुरिएका बालबालिकालाई तत्काल उद्धार गर्न सकिएन, प्रहरी दुई/तीन घन्टापछि मात्र पुगेको थियो,' प्रहरी निरीक्षक श्रेष्ठले भने।
जिल्ला तथा स्थानीय तहमा जनशक्तिको अभाव, सडक अवरूद्ध र घन्टौं पैदल यात्रा गरेर घटनास्थलमा पुग्नुपर्ने बाध्यताले पनि धेरै बालबालिकालाई चाहेर पनि बचाउन नसकिएको उनको दु:खेसो छ।
त्यस्तै, रूकुम पश्चिमका सहायक जिल्ला प्रमुख प्रवेश बढुवाल पनि भौतिक संरचना, सूचना आदान-प्रदान, जनशक्ति अभाव र समयमा उद्धार हुन नसक्दा धेरै जनाले ज्यान गुमाउनु परेको दु:ख पोख्छन्।
'भूकम्पले कहाँ-कहाँ मानवीय क्षति पुगेको छ भन्ने थाहा पाउनै समय लाग्यो। त्यसैले तत्काल उद्धार सम्भव नै भएन,' उनले थपे।
उनका अनुसार जिल्लाले अझै प्रत्येकको घर-घरमा पुगेर तथ्यांक संकलन गरिसकेको छैन। किनकि जिल्लाका पदाधिकारीहरू उद्धार र राहतको काममा लागि परेका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का विपदमा धेरैजसो बालबालिका तथा बुढापाकाको ज्यान जाने गरेको बताउँछन्।
उनका अनुसार विपद बालबालिका तथा बयोवृद्ध छिटो भाग्न सक्दैनन्। कतिपय बालबालिका विपदमा के गर्ने, के नगर्ने भनेर अलमलमा पर्छन्। उनीहरूलाई अरूले निर्देशन दिनुपर्छ। तर विपद्को समयमा उनीहरूलाई निर्देशन दिने सम्भावना हुँदैन।
'शुक्रबारकाे भूकम्प मध्यरातमा गएको थियो। जसले गर्दा सुतिरहेको अवस्थाबाट उठेर भाग्न केही सेकेन्ड लाग्छ। त्यसबीचमा बाहिर निस्किन नसकेकाले धेरैको ज्यान गएको हुनसक्छ,' प्रवक्ता खड्काले भने, 'दिउँसोको समयमा आएको भए यति धेरै बालबालिकाको ज्यान जाने थिएन।'
रातको साढे ११ बजेतिर गाउँमा प्राय: मानिसहरू सुतिसकेका हुन्छन्। धेरै बालबालिकाहरू अभिभावकसँगै सुतेका हुँदैनन्। छुट्टै ओछ्यान वा कोठामा सुतेका बालबालिकाहरूलाई उठाउन नभ्याएको हुनसक्ने उनको अनुमान छ।
अर्को कारण जाजरकोट तथा रूकुमका गाउँहरू विकसित भइसकेका छैनन्। अझै रातको समयमा भूकम्प आउँदा बाहिर निस्कन सक्ने अवस्था नभएको पनि हुनसक्छ। त्यसैले धेरै बालबालिकाको ज्यान गएको हुनसक्ने प्राधिकरणको प्रवक्ता खड्का बताउँछन्।
त्यहाँ काठमाडौंको जस्तो सडक र घर छैनन्। यहाँ सामान्य केही घटना हुँदा हजारौं संख्यामा मानिसहरू जम्मा हुन्छन्। गाउँमा पातलो बस्ती झनै जागरूक युवा वर्ग वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले पनि गाउँ पातलिँदै गएको उनले बताए।
'यो पछिल्लो समयको डरलाग्दो सत्य हो, जे परे पनि तत्काल खटिनसक्ने युवा खाडीमा छन्,' उनले भने।
युवा गाउँमै भएका भए प्रहरी, उद्धार टोली पुग्ने अवधिमा धेरै पुरिएका व्यक्तिहरूको समयमै उद्धार हुने उनको धारण छ।
बाल अधिकारकर्मी इन्द्रराज भट्टराई विपदमा जहिले पनि कमजोर वर्ग नै जोखिममा पर्ने बताउँछन्। विपदमा धेरैजसो बालबालिका, बुढापाका, अशक्त व्यक्ति नै पर्ने उनले बताए।
साथै रूकुम तथा जाजरकोटको भौतिक संरचनाले पनि धेरैको ज्यान गएको हुनसक्ने उनी बताउँछन्।
उनका अनुसार विपदमा प्राय:ले आफूलाई बचाउन कोसिस गर्छन्। आफू बाहिर निस्किएपछि मात्र अभिभावकले बच्चाभित्र भएको कुरा याद गर्छन्। त्यस्तो अवस्थामा आफ्ना बालबालिकाहरूलाई बचाउन नसकेको हुनसक्ने बालअधिकारकर्मी भट्टराई बताउँछन्।
त्यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द आपतविपदमा अरूलाई बचाउने भन्नेबारे ध्यानै नहुने धारण राख्छन्।
विपदमा हरेक व्यक्तिले आफूलाई सुरक्षित गर्न खोज्छन्। सुतेका बालबालिकालाई बोलाउन तथा उठाउन नभ्याइएको हुनसक्ने उनी बताउँछन्।
'गाउँमा सहरमा जस्तो पक्की घर हुँदैनन्। भूकम्प प्रतिरोध अर्थात् सुरक्षित भवन नहुँदा पनि धेरैको मृत्यु भएको देखिन्छ,' उनले भने।
२०७२ सालको भूकम्पमा भन्दा यसपटक धेरै बालबालिका मृत्यु भएको देखिन्छ। यसअघिको भूकम्पमा यति धेरै बालबालिकाको मृत्यु नभएको उनको दाबी छ।
त्यतिबेला कति बालबालिकाको मृत्यु भएको थियो भन्ने उनले ठम्याउन सकेनन्।
२०७८ को जनगणना अनुसार १८ वर्षभन्दा कम उमेरका ९८ लाख ६९ हजार ५ सय ८३ जना बालबालिका छन्। कुल जनसंख्याको ३३ प्रतिशत बालबालिका छन्।
बालबालिकालाई विपदमा कसरी बच्ने के गर्ने? कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारेमा शिक्षा नै दिइँदैन। आपतविपदमा बालबालिकालाई के गर्नुपर्छ भन्नेबारे प्रभावकारी सूचना छैन। विद्यालय जानसक्ने बालबालिका पनि विपदमा अलमलिन्छन्। त्यसैले धेरै बालबालिको ज्यान गएको चन्दको भनाइ छ।
यी हुन् भूकम्पमा ज्यान गुमाएका ७४ बालबालिका
रूकुम पश्चिम र जाजरकोट गरी ७४ जना बालबालिकाको मृत्यु भएको छ। जाजरकोटमा मात्र ४६ जना बालबालिकाको मृत्यु भएको छ।
भेरी नगरपालिकामा भूकम्पमा परी १६ जना बालबालिकाको ज्यान गएको छ।
भेरी नगरपालिका वडा-१ मा ४ वर्षीय प्रबेश वली, ६ वर्षीय बिनायक परियार, ९ वर्षीय तिलक रावल, २ वर्षीय सुदाम रावत, ८ वर्षीय सुजन रावत, १३ वर्षीय मुनाल बिक, ८ वर्षीय बिष्णु बिकको ज्यान गएको हो।
त्यस्तै सोही वडामा ५ वर्षीय सम्झना परियार, १३ वर्षीया शर्मिला बिक, ९ वर्षीया अन्जली बिक, ११ वर्षीया निरूता सुनार, १२ वर्षीय रोसनी विक, ८ वर्षीया सन्तोकी कामी, ९ वर्षीया बिपना बिक हुन्।
भेरी नगरपालिका-२ मा १६ वर्षीया शुस्मा कार्की, वडा- १३ मा १५ वर्षीया सकला खड्काको भूकम्पमा परी ज्यान गएको हो।
त्यस्तै, नलगाड नगरपालिकामा भूकम्पमा परी २६ जना बालबालिकाले ज्यान गुमाएका छन्।
नलगाड नगरपालिका-१ का ५ वर्षीय बिनोद पुन, ३ वर्षीया सम्झना पुन, ४ वर्षीय बिशाल बिक, ४ वर्षीय सन्दिप बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीय बिमल बिक, १२ वर्षीय सुनिल बिक, ४ वर्षीय सुशान्त परियार, ८ वर्षीय बिनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन, १४ वर्षीय बिनिता पुनले ज्यान गुमाका हुन्।
वडा -२ मा ४ वर्षीया मनिषा नेपाली छिन्।
वडा-३ की ६ महिनाकी दीक्षा घर्ती, वडा-५ की ९ महिनाकी सुप्रिया खड्का, १२ वर्षीय सौगात शाही, ९ वर्षीय सुजन शाही, ७ वर्षीय सर्जन शाही छन्।
त्यस्तै, वडा -६ का १० वर्षीय गुञ्जन रावल,१४ महिनाका टाईजन रावल, १५ वर्षीय नवीन बुढा छन्। वडा-७ का १६ वर्षीया विष्णु परियार, ११ वर्षीय रेगम सिंह, १० वर्षीया बिपना तामाङ छिन्।
वडा ११ की २ वर्षीया प्रियंका बाँनियाँ हुन भने वडा-१२ को १४ वर्षीया मिना बिष्टको भूकम्पमा परी ज्यान गएको छ।
कुशे गाउँपालिकामा ४ जना बालबालिकाको ज्यान गएको छ।
कुशे गाउपालिका-७ की १ वर्षीय मानसिका पुन, ५ वर्षीया धना सिंह, १० वर्षीय जनक टमटा, ८ वर्षीय धर्मराज टमटाको ज्यान गएको प्रहरीको तथ्यांक छ।
त्यस्तै, रूकुम पश्चिममा २८ जना बालबालिकाको ज्यान गएको छ।
सानीभेरी गाउँपालिका वडा-१का ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाको रेजन वली, ४ वर्षीया सरस्वती विश्वकर्मा ज्यान गुमाउनु परेको हो।
वडा-२ की १२ वर्षीया मनिष परियार छिन्। वडा -४ का ८ वर्षीया निर्जल चन्द, ६ वर्षीय कृष्ण परियारको मृत्यु भएको हो।
आठविसकोट नगरपालिका १४ जना बालबालिकाको ज्यान गएको छ।
आठविसकोट नगरपालिका-११ का ५ वर्षीया दिया कामी, ९ वर्षीया रिया कामी, १८ महिनाकी एलिसा कामी, १३ वर्षीय सृजना कामीको ज्यान गएको हो।
वडा-१२ को १४ वर्षीय रमेश पुन, १३ वर्षीय डिलबहादुर केसी छन्।
त्यस्तै वडा- १४ मा ३ वर्षीय बासु बुढा, ५ वर्षीया भावना जैसी, १५ महिनाको दिवस जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, १३ वर्षीय बिराज मल्ल, १५ वर्षीया प्रेमा मल्ल, १० वर्षीया चन्द्रकला मल्लको ज्यान गएको हो।
सल्यान दर्मा गाउँपालिका-६ बस्ने ४ वर्षीय लेखनाथ मल्ल, ९ महिनाको आयुष शाही, १४ वर्षीया दीपक शाहीको मृत्यु भएको प्रहरीको तथ्यांक छ।
परिवर्तन गाउँपालिका ११ का ३ वर्षीय सम्झना बिक, वडा १३ को १० महिनाकी स्नाह बिक, १० महिनाको पृथ्वीनारायण बिक र वडा १४ को ६ वर्षीय भरोषा बिकको भूकम्पमा परि ज्यान ज्यान गएको छ।