पैसा कमाउन कालापहाड गएका ५५ वर्षीय हिरे कामी तिहार नजिकिएपछि शुक्रबार बेलुकी घर फर्किएका थिए।
घर पुगेपछि छरछिमेकलाई भेटे। परिवारबीच सुखदु:खका गफ गरेर उनीहरू सुत्न गए। मध्यराति आएको भूकम्पमा हिरे र उनका परिवारका तीन जनाको मृत्यु भयो।
उनीसहित श्रीमती र दुई छोराको भूकम्पले घर भत्किँदा मृत्यु भएको हो। भूकम्पमा परेर ६ वर्षकी छोरी घाइते छिन्। उनको दल्लीमा उपचार भइरहेको छ।
नलगाड नगरपालिका वडा नम्बर ३ चिउरी गाउँमा रहेका हिरेको परिवार गाउँकै गरिब हुन्। दलित बस्ती रहेको चिउरी गाउँमा अधिकांश परिवारको आयस्तर न्यून छ। उनीहरूको रोजीरोटी चल्ने भनेको भारतको रोजगारीले हो।
भारत गएकामध्ये कतिपय दसैंको बेला घर आएका थिए। कतिपय दसैंपछि आएका थिए। कोही आउने तरखरमै छन्। शुक्रबार राति गएको भुइँचालोले गाउँलाई शोकमा डुबाएको छ। चिउरी गाउँका १३ जनाको मृत्यु भएको छ।
भूकम्पका कारण चिउरीका सात वटा घरमा मानवीय क्षति भएको छ।
एउटा घरका चार जना, एउटा घरका ३ जना र एउटा घरका २ जनाको मृत्यु भएको छ। अरू चार वटा घरमा एक/एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ५ बालबालिका, चार जना महिला र चार जना पुरूष छन्। उनीहरूको आइतबार सामूहिक अन्त्येष्टि गरिएको छ।
‘यति धेरै मानवीय क्षति भएको विपद हाम्रोमा पहिलो पटक आएको हो, लामबद्ध पारेर दर्जनौं शव राख्नुपर्दा गाउँलेको मन गह्रौँ भएको छ,’ स्थानीय युवा हात्तीराम महरले भने, ‘घटना भएदेखि गाउँमा रूवाबासी चलेको छ।’
चिउरी गाउँमा एक सय ८६ घरधुरी छन्। तीमध्ये थुप्रै घर तहसनहस भएका छन्। बाँकी घर पनि सबै बस्न नमिल्ने गरी चर्किएको छ।
‘भूकम्पले कुनै घरलाई सग्लो राखेको छैन,’ नलगाड वडा नम्बर २ का दत्तबहादुर सुनारले भने, ‘मर्नेहरूका घर पनि बाँकी रहेनन्, किरियापुत्रीहरू अब बारीमा बस्नुपर्ने भएको छ।’
राज्यले अस्थायी बसोबासको व्यवस्था नगरेसम्म आफूहरू जोखिममा रहेको चिउरीका दलबहादुर महरले बताए। दु:ख परेका बेला गाउँलेहरूसँग शोक बाँड्ने बाहेकको सहयोग गर्ने अवस्था नरहेको उनले बताए।
‘किरियापुत्री एकसरो लुगासँग हिउँदको जाडोमा बाहिर बस्नुपर्ने अवस्था छ, चिसोले फेरि अर्को समस्या ल्याउने जोखिम छ,’ उनले भने, ‘किरियापुत्रीलाई राख्ने घर छैन।’
नलगाड वडा नम्बर १ का अध्यक्ष धर्मेन्द्र महरले गाउँलेहरूलाई न्यानो बसोबासको लागि व्यवस्थापन गर्न तयारी भइरहेको बताए।
चिउरी गाउँमा यसअघि पनि विभिन्न समय विपदजन्य घटना भएका थिए। तर मानवीय क्षति भने भएको थिएन।
०५२ मा भूकम्प आएको थियो भने ०६८ मा वर्षाले जमिन गलेर चिरा परेको थियो। त्यो बेला घर पनि चर्किएका थिए।
यसअघि ०५२ मा भूकम्पले घरहरू चर्किएपछि सरकारले काठ र पाँच हजार रूपैयाँ राहतको व्यवस्था गरिदिएपछि पुनःनिर्माण गरिएको स्थानीय दलबहादुर सुनारले बताए। ०६८ को वर्षाले जमिन चिरा परेपछि बस्ती नै सार्ने योजना बनेको थियो। तर स्थानीयले सर्न मानेनन्।
‘यहाँको बस्ती जोखिममा छ भनेर पहिले नै सार्न खोजिएको थियो, भुरचौर भन्ने ठाउँमा जग्गा पनि तयार गरिएको थियो,’ उनले भने, ‘यहाँका मानिसले त्यहाँ खानेपानी छैन भनेर जान मानेनन्।’
सबै तस्बिर: दीपकजंग शाही/सेतोपाटी