काठमाडौं उपत्यकाका तीन वटा जेलमा अहिले ११ जना यस्ता कैदी छन् जसलाई जीवनभरी जेल बस्नुपर्ने सजाय मिलेको छ।
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा ७, डिल्लीबजार जेलमा एक र ललितपुरको नख्खु जेलमा ३ गरी ११ कैदीले जिल्ला अदालतबाट आजीवन कैदको सजाय पाएका हुन्।
सुन्धारा जेलमा कर्तव्य ज्यान र जबरजस्ती करणी गरी हत्या गरेका ७ अभियुक्त आजीवन अर्थात् बाँचुञ्जेल कैद सजाय कटाइरहेका छन्। तीमध्ये एक महिला छिन् जो गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरी हुन्। उनले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्ने ४५ वर्षीय बोहराको हत्या गरी टाउको, खुट्टा काटी फरक-फरक ठाउँमा फ्याँकेकी थिइन्।
उनलाई २०७७ साल फागुन १३ गते जिल्ला अदालत काठमाडौंले जीवित रहुन्जेल कैद हुने सजाय सुनाएको थियो। उनलाई क्रुर वा निर्ममतापूर्वक हत्या गरेको भन्दै मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद -५ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने सजाय तोकिएको हो।
त्यस्तै, प्रेमिकाको हत्या गरेका मोरङका दिनेश भट्टराई पनि जीवित रहेसम्म कैदको सजाय कटाइरहेका छन्।
उनले भदौ १ गते विराटनगर महानगरपालिका-१३ की २२ वर्षीया शिखा घिमिरेलाई विषादी खुवाई धारिलो हतियार प्रयोग गरेर विभत्स तरिकाले हत्या गरेका थिए। त्यसैले उनलाई जिल्ला अदालत मोरङले जीवित रहेसम्म कैद सजाय हुने फैसला सुनाएको हो।
यी दुईसहित क्रुर वा निर्ममतापूर्वक हत्या गरेका ७ जना जिल्ला अदालतको फैसला अनुसार बाँचुञ्जेल कारागारमै बस्नुपर्ने सुन्धारा कारागार प्रमुख ललितकुमार बस्नेतले जानकारी दिए।
अन्य कैदीबाट भन्दा आजीवन (जीवित रहेसम्म) कैद सजाय तोकिएका व्यक्तिबाट जेलभित्रै पनि जोखिम हुने उनको भनाइ छ। त्यसैले जीवित रहेसम्म कैद सजाय तोकिएका व्यक्तिलाई उनीहरू चालचलन तथा व्यवहार हेरेर कारागारको गोलघरमा राख्ने गरिएको उनी बताउँछन्।
सुन्धारा जेलको तीन वटा ब्लकमा ८ वटा गोलघर छ। साधारण कोठाभन्दा गोलघरमा सुरक्षा तथा कडा निगरानी राखिन्छ।
अहिले सञ्जय भण्डारीसहित अल्पसंख्यक समुदायका दुई कैदी र बिरामीको बहानामा भाग्न खोज्ने ३ गरी ८ जनालाई गोलघरमा राखिएको प्रमुख बस्नेतले जानकारी दिए।
'गोलघरमा राखिएका कैदीलाई आफन्तसँग भेटघाट, फोनमा कुराकानी र शौचालय आवतजावत गर्न समेत प्रहरी परिचाल गरिन्छ,' उनले भने।
गोलघरमा राखिएका कैदीले पाउने सेवा सुविधा भने अन्य सरह नै हुन्छ। कैदीलाई दैनिक ८० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध गराइन्छ। ललितपुरको नख्खु कारागारमा पनि ३ कैदीले जीवित रहेसम्म कैद सजाय कटाइरहेका छन्।
नख्खु कारागारमा जबरजस्ती करणी गरी हत्या गरेका दुई र कर्तव्य ज्यान मुद्दाका १ जना अपराधी छन्।
उनीहरूलाई अन्य कैदीसँगै राखिएको छ। त्यहाँ गोलघर नभएकाले सँगै राखिएको हो। आजीवन कैद सजाय काटिरहेका तीनै अभियुक्तको मानसिक अवस्था सामान्य देखिएकाले अरूसँगै राखिएको प्रमुख कल्पना घिमिरेले बताइन्।
'जीवित रहेसम्म कैद हुने कानुनी व्यवस्था पाँच वर्ष अघिदेखि लागू भएको हो, त्यसैले कम संख्यामा छन्,' उनले भनिन्।
त्यस्तै, डिल्लीबजार कारागारमा एक जनाले जीवित रहेसम्म कैद सजाय कटाइरहेका छन्।
बागलुङ गलकोट नगरपालिका-८ घर भएका ४६ वर्षीय पूर्णबहादुर सुनार हुन्। उनलाई गुल्मी चन्द्रकोटमा आमाछोरीको विभत्स हत्या गरेको भन्दै जिल्ला अदालत गुल्मीले २०७८ असार १ गते जीवित रहेसम्म कैद हुने सजाय सुनाएको हो।
उनले मोरङ कानेपोखरी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका ७ वर्षका जुम्ल्याहा छोरीको हत्या गरेका थिए।
सोही कारण उनलाई जिल्ला अदालत गुल्मीले जीवित रहेसम्म कैद सजाय सुनाएको थियो। उनी पाल्पा जेलमा थिए। २०८० जेठ ९ गतेदेखि डिल्लीबजार कारागारमा सजाय कटाइरहेको डिल्लीबजार कारागार प्रमुख रोमबहादुर महतले बताए।
उनको स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अन्य कैदीसँगै राखिएको छ। जीवित रहेसम्म कैद सजाय पाएका व्यक्तिले अन्य व्यक्तिलाई चोटपटक पुर्याउने भएकाले छुट्टै राख्ने गरिएको छ। तर पूर्णबहादुरको चालचलन सामान्य भएकाले सँगै राखिएको प्रमुख महतको भनाइ छ।
यसरी जीवित रहेसम्म कैद सजाय भोगिरहेका कैदीहरूलाई सम्बन्धित जिल्ला अदालतले अपराधी पुष्टि गरिसकेको छ। तर पनि कतिपय अभियुक्तले उच्च तथा सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन्।
जिल्ला अदालको फैसला उपल्ला अदालतले उल्ट्याउन पनि सक्छन्। सर्वोच्च अदालतले अन्तिम फैसला गरेपछि मात्र उनीहरूको कैद सजाय कति हो भनेर टुंगो लाग्छ।
२०७५ साउन ३० गतेअघि २० देखि २५ वर्षसम्मको कैद सजायलाई जन्मकैद भनिन्थ्यो। तर अहिले दुईथरी जन्म कैदको व्यवस्था कानुनले गरेको छ।
पहिलो जीवित रहेसम्म कैद सजाय जसलाई आजीवन कैद सजाय पनि भनिन्छ। दोस्रो २५ वर्षसम्म कैद सजाय, यस्तो कैद सजाय हत्या मुद्दाका दोषीलाई सुनाइन्छ।
'अहिले जीवित रहेसम्म कैद सजाय तोकिएका अभियुक्त बाँचुञ्जेल कारागारमै बस्नुपर्छ,' उनले भने, 'बाँचुञ्जेल कारागार सजाय क्रुर तथा निर्ममतापूर्वक हत्या गरेका अभियुक्तलाई मात्र तोकिन्छ।'
उनले पछिल्लो समयको घटना सम्झाउँदै भने- भदौ ३० गते काठमाडौं तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई जीवित रहेसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ। असोज २६ गते सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। किनकि उनले श्री दिव्य स: मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको विभत्स हत्या गरेका थिए। यस्ता प्रकारका हत्या गर्ने अभियुक्त जीवित रहेसम्म कैद सजाय सुनाइन्छ। तर सञ्जयको मुद्दामा फैसला हुन बाँकी छ।
जीवित रहेसम्म कैद सजाय हुने कानुनी व्यवस्था पाँच वर्ष अघिदेखि मात्र सुरू भएको हो।
२०७५ सालमा लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद -५ को दफा ४१ अनुसार क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोटन गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको जीवित रहेसम्म कैद गर्ने कानुनी व्यवस्था छ।
त्यस्तै, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पर्दाथमा विष हाली ज्यान मारेको, कुनै पनि जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरे वा जबरजस्ती करणी गरी ज्यान मारे ती अभियुक्तलाई जीवित रहेसम्म कैद गर्ने कानुनी व्यवस्था छ।
बलात्कार र हत्याका घटना दिनहुँ बढिरहेकाले त्यसलाई रोक्न जीवित रहेसम्म कैद हुने सजाय हुने व्यवस्था गरिएको थियो तर घटना तथ्यांक उकालो लाग्दो छ। यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न सजायसँगै समुदायमा जनचेतना ल्याउनुपर्ने प्रवक्ता दाहालको भनाइ छ।
आजीवन कैद सजाय पाएकाले आगामी दिनमा छुट तथा माफी नपाउने प्रवक्ता दाहालको भनाइ छ। जीवित रहेसम्म कैद सजाय सुनाइएका क्रुर हत्याका दोषीलाई कानुनले माफी तथा कैद सजाय कम गराउन नमिल्ने व्यवस्था गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल बताउँछन्।
२०७५ भदौ १ गतेदेखि लागू हुनेगरी फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ दफा ३७ मा उल्लेख गरिएका जन्मकैद सजाय पाएका, जबरजस्ती करणी, भ्रष्टाचारसम्बन्धी, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी, अपहरण तथा शरीर बन्धकसम्बन्धी, यातना वा क्रुर निर्मम अमानवीय कसूरमा सजाय पाएकालाई माफी तथा सजाय कम गर्न नपाउने कानुनी व्यवस्था छ। ज्यान मार्ने उद्योग, लागूऔषध, चोरी, लगायका मुद्दामा आएका कैदी ५० प्रतिशत सजाय कटाएर राम्रो चालचलन भयो भने निस्किन सक्छन्। तर जघन्य अपराध गरेका अपराधी र जीवित रहेसम्म कैद सजाय तोकिएका कैदी छुट्दैनन्।