हामीले खाएको खानेकुरा खाद्यनली हुँदै आमाशयमा पुग्छ। आमाशयमा एसिड उत्पादन भइरहेको हुन्छ। खानासँग भित्र गएका ब्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम त्यही एसिडले गर्छ।
एसिडले तन्तुलाई जलाउने र बचाउने सक्ने क्षमता पनि राख्छ।
शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ, त्यो काममा कुनै पनि किसिमले कमी आयो भने साधारणतया ग्यास्ट्रिक हुन्छ।
कसै कसैलाई पेनकिलर बढी खाएमा पनि ग्यास्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्यास्ट्रिकले सताउँछ।
धेरै थुक्नु पनि ग्यास्ट्रिकका लागि हानिकारक हुन्छ। थुक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यदि मुखमा थुक नहुँदो हो त केही मिनेटमा मुख कुहिन्थ्यो।
थुकमा ब्याक्टेरिया मार्ने तत्व हुन्छ। जतापायो त्यतै थुक्नु सभ्यताको हिसाबले हानिकारक हो। अर्कोतिर थुक निल्दा ग्यास्ट्रिकलाई फाइदा हुन्छ।
ग्यास्ट्रिक हुनेले मुखमा थुक आउँछ भन्छन्। त्यो शरीरलाई चाहिएर थुक आउन लागेको हो। त्यो निल्न जरूरी छ। खकार आयो भने त्यो अलग कुरा हो। त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ।
खुट्टा दुखे पनि, झमझम गरे पनि ग्यास्ट्रिक भयो भन्ने गरिन्छ। त्यो गलत हो। माथिल्लो पेटमा असजिलो भयो भने ग्यास्ट्रिक हुन्छ। तर सबै अवस्थामा ग्यास्ट्रिक हुन्छ भन्ने होइन। पित्तथैलीमा पत्थरी हुँदा पनि माथिल्लो पेट दुख्न सक्छ। माथिल्लो पेटको सबै असहजतालाई ग्यास्ट्रिक भन्न मिल्दैन।
आफैंले ग्यास्ट्रिक भयो भनेर जथाभाबी औषधि खानुभन्दा चिकित्सकको परामर्श लिएर मात्र उपचार गर्नुपर्छ। कुनै पनि दुखाइ भयो भनेर जथाभाबि औषधि खानु हुँदैन। पारासिटामोल बाहेक आफैंले किनेर केही औषधि खान मिल्दैन।
जुनसुकै दुखाइमा पनि पारासिटामोल खान सकिन्छ। यसले कुनै असर गर्दैन। तर अरू औषधि खाएमा त्यसले थप जटिलता निम्त्याउन सक्छ।
स्वास्थ्य परीक्षण नगरी आफैंले अनुमानको आधारमा ग्यास्ट्रिक भएको भनेर औषधि सेवन गर्नुहुँदैन।
अर्को कुरा ग्यास्ट्रिक भएकाले आफूखुसी खाना बार्छन्। यो पनि गलत हो। हामीले खाने सबै खाना खान हुन्छ।
दाल, भात, तरकारी, दूध, माछा, मासु लगायत खान मिल्छ। जिरा, धनियाँ, बेसार लगायत मसला पनि खान हुन्छ। जाँड, रक्सी, चुरोट, सूर्ति, जंक फुडबाहेक सबैखाले खाना खान हुन्छ।
इन्टरमिटेन्ट फास्टिङ स्वास्थ्यका लागि फाइदाजनक छ। यसले ग्यास्ट्रिक बढाउने भन्ने हुँदैन।
भोको पेट बसेमा ग्यास्ट्रिक हुन्छ भन्ने सत्य होइन। भोको पेट बस्दा एसिड पनि कम निस्किन्छ भन्ने हो। अहिले किटो-डाइटको प्रचलन पनि छ। किटो-डाइटको प्रयोग गरेकाले चिल्लो धेरै खान्छन्। यसले मुटुको समस्या बढाउन सक्ने देखिन्छ। किटोभन्दा इन्टरमिटेन्ट फास्टिङ राम्रो हो।
(वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. अजित खनालसँग वीर अस्पताल, अल्का असपताल जावलाखेल र ग्रिनसिटी अस्पताल सामाखुसीमा कार्यरत छन्।)