पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि बञ्चित छ।
यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन्। तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको बिहार राज्यबाट घेरिएको छ।
सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुंगाबाट पार गर्नुपर्छ। यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हुँदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प छ।
सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधा समेत पर्याप्त छैन। त्यहाँको एक मात्र जनता दलित आधारभूत विद्यालयमा चार सयभन्दा बढी बालबालिका पढ्छन्। २०५९ सालमा स्थापना भएको यस विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ। विद्यालयमा सात शिक्षक र दुई कर्मचारी कार्यरत छन्।
स्कुलका प्रधानाध्यापक उदय रूचालका अनुसार चार शिक्षक मात्रै दरबन्दीमा छन्। अन्य तीन शिक्षकलाई गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ।
'विद्यालयमा भर्नादर उत्साहजनक भए पनि अन्तिम कक्षा ८ सम्म पुग्दा भने विद्यार्थी संख्या न्यून हुने गरेको छ,' उनले भने।
स्कुलमा कक्षा १ मा ९३ विद्यार्थी अध्ययनरत छन्। कक्षा ८ सम्म पुग्दा धेरैले पढाइ छोडिसकेका हुन्छन्। गत वर्षका वार्षिक परीक्षामा कक्षा ८ मा जम्मा ११ जना विद्यार्थी सहभागी थिए। कक्षा ८ उत्तीर्ण गरेका विद्यार्थीमध्ये केही नजिकैको भारतीय विद्यालयमा र केही नारायणी नदी पारि कुडियास्थित सामुदायिक विद्यालयमा भर्ना भएको प्रधानाध्यापक रूचालले बताए।
नारायणी नदीमा जोखिमपूर्ण डुंगाको यात्रा पार गर्नुपर्ने नभए भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन। पूर्वाधार र शिक्षक अभावका कारण पनि स्कुलमा माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्न कठिनाइ उनी बताउँछन्।
'आधारभूत तह पार गरेपछि थप अध्ययनका लागि कि त नारायणी नदी पार गरेर अर्को स्कुलमा जानुपर्यो कि त भारतीय स्कुलमा जानुपर्ने यहाँका बालबालिकाको बाध्यता हो,' सहायक प्रधानाध्यापक औरंगजेब खानले भने, 'जसको बाहिर व्यवस्था हुन्छ, नातेदार छन् उनीहरूले मात्रै पढाइलाई निरन्तरता दिन सकेका छन्।'
नारायणी नदीमा निर्माणाधीन पुल सञ्चालनमा नआउँदासम्म कक्षा १ देखि माथिल्लो कक्षामा जाँदा नै क्रमशः विद्यालय छाड्ने क्रम बढदै जाने गरेको उनी बताउँछन्।
'सबभन्दा बढी कक्षा ८ देखि माथि त पाँच प्रतिशत विद्यार्थी पनि आफ्नो पढाइलाई निरन्तरता दिन सक्दैनन्,' उनले भने।
बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन सुस्ताको भौगोलिकताका कारण आधारभूत तह उत्तीर्णपछि बाहिर गएर अध्ययन गर्न मुख्य समस्या रहेको स्थानीय सामाजिक कार्यकर्ता मुन्सिकुमार हरिजनले बताए।
'आर्थिक रूपमा जो सम्पन्न छन्, उनीहरूले मात्रै बाहिर गएर पनि पढाइलाई निरन्तरता दिन सक्छन्। कमजोर आर्थिक अवस्था भएकाले बीचमै पढाइ छाडेर बस्नुपर्ने बाध्यता छ,' उनले भने।
छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएकामा गुनासो गर्दै सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने उनको माग छ।
नारायणीमा झोलुंगे पुलको निर्माण सुरू गरेको वर्षौं हुँदासमेत निर्माण कम्पनीको ढिलाइका कारण पूरा भएको छैन। नदी वारपार गर्न जोखिमपूर्ण डुंगा प्रयोग गर्नुपर्छ। नदीमा पानीको सतह बढ्दा ढुंगा सञ्चालन पनि हुँदैन। माध्यमिक तहका लागि धेरै बालबालिका सीमापार बिहारको भेडिहारी वा लक्ष्मीपुर पुग्नुपर्ने बाध्यता छ।
भारतका विद्यालयमा पढ्न जाँदा जंगलको बाटो र सीमामा सुरक्षाकर्मीको कडा जाँचका कारण समस्या भएको अर्का स्थानीयवासी आदम खाँले बताए।
'धेरै अभिभावक पक्लिहवामा कोठा भाडा लिएर छोराछोरी पढाउन बाध्य छन्,' उनले भने।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय सिंगो पालिका नै विकासका भौगोलिक हिसाबले मात्र नभई हरेक क्षेत्रमा पिछडिएको बताउँछन्।
'अब पालिकाले नै विद्यालयमा थप शिक्षक तथा कर्मचारीको दरबन्दी व्यवस्था गरेर भएपनि स्तरोन्नति गर्ने सोचाइ बनाएका छौं,' उनले भने।
गाउँपालिकाको कुल ४१ हजार ३ सय ९६ जनसंख्यामध्ये सुस्ता गाउँमा करिब ३ सय घरधुरीमा ३३ सय मानिस बसोबास गर्छन्। यहाँको साक्षरताको अवस्था ६२.४९ भएको पालिकाको तथ्यांक छ।
यो पालिकामा प्राथमिक तहका ६, माध्यमिक तह पाँच, आधारभूत तह पाँच, निजी पाँच र मदरशा पाँच शिक्षण संस्था छन्।
(रासस)