बुंगमती महाउत्सव
एउटा जात्रा भए पो ‘उत्सव’ भन्नु, दसैं त बुंगमतीका लागि ‘महाउत्सव’ नै हो।
हुन पनि एकथोक हुन्छ र!
मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।
भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकुशेमा अल्झाउँदै उनलाई दोलखा हुत्याइदिन्छन्।
कुनै समय बुंगमतीमा हमला गरी हयंग्रिभ भैरवको मूर्ति चोरेर लगेका पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको क्षमापूजा यही बेला हुन्छ। काठमाडौं उपत्यकाका एक प्राचीन व्यापारी ‘सिंह सार्थवाह’ आफ्नो सेतो वायुपंखी घोडा चढेर यही बेला बुंगमती परिक्रमा गर्न आउँछन्।
अनि यही बेला नगरको तीन दिशामा रहेका ‘बोङ्गा’ अर्थात् कुवामा पूजा हुन्छ। यही बोङ्गाबाट बुंगमती नाउँ मात्र रहेन, यसले काठमाडौं उपत्यका र यहाँका आदिवासी नेवारहरूको इतिहासलाई किराँतकालसँग पनि जोड्छ।
यी त केही झलक मात्र हुन्। बुंगमतीको दसैं यस्ता अनेकौं उत्सवले जात्रामय हुन्छ।
जेरीजस्तै जेलिएका यी जात्राको आफ्नै इतिहास छ, आफ्नै कथा, आफ्नै किम्बदन्ती। आज म तपाईंहरूलाई पाटनको जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने प्राचीन नगर बुंगमतीको महाउत्सव यात्रामा लैजाँदैछु।
यात्रामा हाम्रा गाइड छन्, अनिल तुलाधर। बुंगमतीका ३२ वर्षीय अनिल आर्किटेक्ट हुन्। सभ्यता र संस्कृति संरक्षणमा जुझारू छन्। बुंगमतीमा कुनै पनि जात्रा हुँदा उनी फेसबुक भिडिओ लाइभ गर्छन्, ब्लग लेख्छन् र फोटो सेयर गर्छन्।
हामी उनैलाई पछ्याउँदै जात्रा हेर्न जाऊँ है त!
कथा–किम्बदन्ती पनि सुनौंला बीच्चबीच्चमा। किम्बदन्तीको चास्नीमा घुलेपछि न जात्रा स्वादिलो हुने हो!
बुंगमती महाउत्सव दसैंको फूलपातीबाट सुरू भएर एकादशीसम्म चल्छ। धेरैलाई थाहा नहोला, गोरखाबाट काठमाडौंको हनुमानढोका दरबारमा मात्र फूलपाती ल्याइँदैन, त्यसको एक भाग बुंगमती पनि ल्याइन्छ।
अनिलले यो कुरा सुनाउँदा म छक्क परेको थिएँ, ‘बुंगमतीमा फूलपाती! किन रहेछ हँ?’
‘यो चलन पृथ्वीनारायण शाहको काठमाडौं प्रवेशपछि सुरू भएको हो,’ उनले विस्तार लगाए, पृथ्वीनारायणले काठमाडौं उपत्यका जितेपछि आफूसँगै आएका क्षत्रीहरूको एउटा समूहलाई बुंगमती बस्तीभन्दा माथिको चउरमा बसालेका थिए। त्यो चउर बुंगमतीका आराध्य हयंग्रिभ भैरवको गुठीको जग्गा थियो। त्यसलाई पहिले चोनीख्यः भनिन्थ्यो। चोनीख्यःबाटै चुन्नीखेल नाउँ रहेको भनाइ छ।
पृथ्वीनारायणले यसरी उपत्यकाको एउटा किनारमा आफ्ना विश्वासपात्र क्षत्रीहरूलाई बसाल्नुको कारण सुरक्षा सतर्कता हुन सक्छ। मल्ल राजाहरू युद्धमा पराजित भए पनि गोर्खाली शासकलाई काठमाडौंका जनताबाट विद्रोहको खतरा थियो। कतिपय ठाउँमा विद्रोह भएका उदाहरण छन्। जनता उर्लिए भने पृथ्वीनारायणलाई गोर्खाली शासन टिकाउन गाह्रो पर्थ्यो। त्यही जोखिम भाँपेर उनले हातहतियार चलाउन सिपालु समुदायलाई वरिपरि बसालेर उपत्यका घेरा हालेका हुन सक्छन्। ताकि, विद्रोह भइहाल्यो भने झिरिप्प पार्न सकियोस्।
एउटा त्यस्तो बस्ती त चुन्नीखेल भइहाल्यो, अरू कहाँ होलान् हँ!
यसबारे पछि कुनै बेला खोज्दै गरौंला, अहिलेलाई बुंगमतीमै रमाइलो गरौं।
हामी अहिले ढोकापिनेमा छौं। यहाँ फूलपाती ल्याउने टोलीको स्वागत गर्ने तयारी हुँदैछ। दुई जना किशोर र दुई जना किशोरी नाच्दै अघि बढ्छन्। किशोरले रातो मुकुन्डोमा अनुहार ढाकेका छन्। कम्मरभन्दा मुनि रातो कछाड छ, कम्मरमा बुट्टेदार कालो पेटी र कम्मरमाथि रातै पटुका। किशोरीहरू हाकुपटासीमा सजिएका छन्। सबैको पाउमा घंघला छ।
यी चार जनाको पछिपछि धा: बाजा बजाउने समूहको लश्कर हिँड्दैछ। धा:को धमधम र घंघलाको छमछम आधा घन्टा अनवरत चल्छ। यो प्रस्तुतिलाई ‘नाङ्चा प्याखँ’ भनिन्छ।
‘नाङ्चा प्याखँ भनेको लुगा नलगाई देखाइने नाच हो। नाच देखाउने टोलीलाई रातो मच्छिन्द्रनाथले पठाएको जनविश्वास छ,’ अनिलले योसँग जोडिएको किम्बदन्ती विस्तार लगाए।
जब भारतको आसामबाट ल्याइएको रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःलाई बुंगमतीमा प्रतिस्थापन गरियो, तब काठमाडौं उपत्यकामा मुसलधारे वर्षा सुरू भयो। कृषकहरू बाह्र वर्षको अनिकाल अन्त्य गर्न हिलाम्मे खेतमा छुपुछुपु धान रोप्न थाले। मिहिनेती किसानलाई मनोरञ्जन दिन रातो मच्छिन्द्रनाथ ज्यापू र ज्यापुनीको भेष धारण गरी खेतमा नाच्न आए।
यो क्रम लामो समय चल्यो।
हरेकचोटि बुंगमतीका किसान खेतीपातीमा व्यस्त हुँदा रातो मच्छिन्द्रनाथ मनोरञ्जन दिन आउँथे। स्थानीय किसानलाई भने यसरी नाच्न आउनेहरू रातो मच्छिन्द्रनाथका प्रतिरूप हुन् भन्ने थाहा थिएन। उनीहरूले गाउँकै कुनै ज्यापू–ज्यापुनी होलान् भन्ठानेका थिए।
जसै भेद खुल्यो, रातो मच्छिन्द्रनाथ नाच्न आउन छाडे, अनिलले भने, ‘त्यसैको सम्झनास्वरूप फूलपाती भित्र्याउने दिन यो नाच देखाउन थालियो।’
फूलपाती मात्र होइन, बुंगमती र गोरखाको अर्को सम्बन्ध पनि छ। दसैं बेला मनाइने ‘मनकामना जात्रा’ यही सम्बन्धसँग जोडिन्छ।
तपाईंहरू सोध्नुहोला, मनकामना त गोरखामा पो छ, होइन र?
गोरखाको मनकामना हामी धेरैलाई थाहा छ। तपाईंहरूले कयौंचोटि दर्शन गरिसक्नुभयो होला। पहिले पहिले खुइँखुइँ हिँडेर जानुभयो होला, अचेल सुइँय केबुलकार चढेर। तर, धेरैलाई यो थाहा नहोला, गोरखाका तिनै मनकामना देवी नवमी, दशमी र एकादशीमा बुंगमती बस्न आउँछिन्।
‘यी तीन दिन उपत्यकाका मान्छे पहिले–पहिले मनकामना दर्शन गर्न गोरखा जाँदैन थिए,’ अनिलले भने, ‘किन जानू, मनकामना माता नै दैलोमा आएपछि!’
तपाईंहरू पनि नवमी, दशमी र एकादशीको दिन मनकामना दर्शन गर्न बुंगमती आउनू है। मनकामना यतै हुन्छिन्।
गोरखा नै गइहाल्नुभयो भने पनि थकथकी मान्नु पर्दैन, ईश्वर त कणकणमा छन्!
बुंगमती र मनकामनासँग दुइटा किम्बदन्ती जोडिएका छन् —
पहिलो किम्बदन्तीअनुसार, मनकामना देवी आफ्ना श्रीमानसँग रातो मच्छिन्द्रनाथ जात्रा हेर्न बुंगमती आएकी थिइन्। उनीहरू दुवै स्थानीय ज्यापू र ज्यापुनीको भेषमा थिए। जात्राको भीडमा कसैले उनीहरूलाई चिनेनन्।
बुंगमतीका एक तान्त्रिकको नजर उनीहरूमाथि पर्यो। खासमा मनकामना दम्पती देउताहरूले बोल्ने भाषामा कुराकानी गर्दै थिए। सिद्ध तान्त्रिकले दैविक भाषा सजिलै खुट्टयाइहाले। उनलाई लाग्यो, यी दम्पती साधारण मनुष्य होइनन्, कुनै देवदेवी हुन्।
तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट मनकामना र उनका श्रीमानलाई वशमा लिए।
कब्जामा परेपछि मनकामनाले परिचय खोलिन्। त्यसपछि त झन् तान्त्रिकले छाड्नै मानेनन्। भने, ‘साक्षात् मनकामना देवी हाम्रो आँगनमा आएपछि अब कहाँ जान दिन्छौं! हामी यहीँ मन्दिर बनाएर तपाईंहरूलाई प्रतिस्थापन गर्छौं।’
मनकामनाले जवाफ दिइछन्, ‘हे तान्त्रिक, हामी तिम्रो भक्तिबाट प्रसन्न छौं। तर, गोरखाको मन्दिर छाडेर हामी सधैंका लागि यहाँ बस्न आउन मिल्दैन।’
तान्त्रिक मान्दै मानेनन्।
हार खाएर मनकामनाले भनिन्, ‘तिमी यस्तै कर गर्छौ भने हामी वर्षको तीन दिन यहाँ आएर बस्छौं, तर अहिले हामीलाई जान देऊ।’
त्यसयता हरेक दसैंमा मनकामना देवी आफ्ना श्रीमानसँग बुंगमती आउँछिन् भन्ने स्थानीय विश्वास छ।
दोस्रो किम्बदन्ती अलि फरक छ।
बुंगमतीमा मनकामनालाई ‘कुन्दे अजिमा’ र उनका श्रीमानलाई ‘नन्दे आजु’ भनिन्छ। अजिमा भनेको नेवार भाषामा ‘हजुरआमा’ हो। यिनी काठमाडौंको नेवार समुदायले प्राचीन कालदेखि मान्दै आएकी देवी हुन्। मनकामनालाई पनि बुंगमतीका स्थानीय आफ्ना आराध्य ‘अजिमा’ नै मान्छन्।
यी अजिमा कुनै कारणले श्रीमानसँग रिसाएर घर छाडेर हिँडिछन्। हिँड्दा हिँड्दै अहिले गोरखामा जहाँ मनकामना मन्दिर छ, त्यही ठाउँ पुगेपछि उनी थकाइले चूर भएर बास बसिछन्।
यता अजिमा घर छाडेर हिँडेपछि बुंगमतीका ‘रक्षक’ मानिने हयंग्रिभ भैरव खोज्न निस्केका थिए, जसरी रामायणमा हनुमान सीतालाई खोज्न निस्कन्छन्।
हयंग्रिभ भैरवले गोरखाको त्यो डाँडोमा अजिमालाई भेटेछन् र सम्झाइबुझाइ आफूसँगै लिएर आएछन्।
अजिमा बास बसेको ठाउँ भएकाले कुमभन्दा मुनिको भाग त्यहाँ प्रतिस्थापन गरेर मनकामना मन्दिर स्थापना गरिएको र कुमभन्दा माथिको भाग बुंगमतीमै फर्काइएको विश्वास गरिन्छ।
हयंग्रिभ भैरवले बल्लतल्ल फर्काएर ल्याएको भए पनि अजिमाको रिस कति कडा रहेछ भने, उनी त्यसयता वर्षको तीन दिन मात्र बुंगमतीमा बस्छिन्। बाँकी समय गोरखाकै मन्दिर जान्छिन्।
दसैं बेला बुंगमतीमा हुने उत्सव यिनै कुन्दे अजिमा वा मनकामना देवीको जात्रा हो, जो आफ्नो बाचाअनुसार तीन दिन यहाँ बास बस्न आउँछन्। हयंग्रिभ भैरवले सम्झाइबुझाइ फर्काएकाले जात्रामा उनलाई पनि अजिमा सँगसँगै राखेर पूजा गरिन्छ।
यसलाई अलि फरक दृष्टिले हेर्ने हो भने हामी फरक कथा बुन्न सक्छौं।
भन्नुको मतलब, हामी यो जात्राको मूलपात्र कुन्दे अजिमा वा मनकामना हुन् भन्ने ठान्छौं। तर, के बुंगमतीका बासिन्दाले आफ्नो पुर्खाको दर्जा दिएर पुज्ने हयंग्रिभ भैरव नै मूल नायक हुन सक्दैनन् र?
कसरी?
म भन्छु नि कसरी!
जसरी काठमाडौं, इन्द्रचोकको आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, जसरी टेकुका पचली भैरवलाई फर्पिङका किराँती राजा वा दोस्रो किराँती राजा पेलं (पलम्बर) को प्रतिरूप मानिन्छ, त्यसरी नै हयंग्रिभ भैरव पनि बुंगमतीका किराँती राजा हुन सक्दैनन् र!
कतै उनी गोपाल वंशावलीअनुसार सातौं किराँती राजा हुंति त होइनन्? वा, आठौं राजा हुर्रमा? वा, वंशावलीमै नसमेटिएका राजा हयंग्रिभ नै हुन के बेर!
उनलाई हामीले किराँती राजा मानेर हेर्यौं भने दोस्रो किम्बदन्तीको वर्णनमा कुनै ऐतिहासिक तथ्य लुकेको हुनसक्छ।
जस्तो– बुंगमतीका किराँती राजा हयंग्रिभ आफ्नो राज्य विस्तार गर्दै पश्चिम गोरखातिर लाग्दा त्यहाँका कुनै रानीको सुन्दरतामा मोहित भएर हरण गरेका हुन् कि!
रामायणदेखि प्राचीन इतिहासहरूमा समेत शक्तिशाली राजाहरूले अन्य देशकी रानी–महारानी हरण गर्नु ठूलो कुरा होइन।
त्यसो हो भने, खासमा यो जात्रा भनेको राजा हयंग्रिभले आफूले हरण गरेर ल्याएका रानी र उनका श्रीमान कुशल छन् भनेर लोकलाई प्रदर्शन गरेका हुन सक्छन्। र, त्यसैको सम्झनामा आजपर्यन्त जात्रा चल्दै आएको हुन सक्छ।
जात्रा क्रममा मनकामना देवीलाई एक रात हयंग्रिभ भैरवको कोठामा लगेर राख्ने चलनले पनि त्यसैतर्फ केही न केही संकेत गर्दैन र!
कारण जेसुकै होस्, बुंगमती महाउत्सवको सबभन्दा महत्वपूर्ण उत्सव भने यही हो।
जस्तो काठमाडौंको निम्ति येँया पुन्ही अर्थात् इन्द्रजात्रा, जस्तो पाटनको निम्ति रातो मच्छिन्द्रनाथ र भक्तपुरको निम्ति बिस्काः, बुंगमतीमा मनकामना जात्रा त्यस्तै महत्वपूर्ण छ। स्थानीयहरू यसलाई ‘नन्दे–कुन्दे’ जात्रा पनि भन्छन्।
बुंगमतीको मच्छिन्द्रबहालस्थित मनकामना मन्दिर वर्षभरिमा यही तीन दिन मात्र खुल्ने अनिल बताउँछन्। अरू बेला दिनको दुईचोटि आरती र पूजाआजा भने गर्नुपर्छ। पुजारी परिवारबाट अभिषेक लिएका व्यक्तिबाहेक अरू मन्दिरभित्र छिर्न पाउँदैनन्।
अब हामी अनिल गाइडलाई पछ्याउँदै मनकामना जात्रा हेर्न जाउँ है त!
तर एकछिन धैर्य गर्नुस्, मनकामना जात्रा सुरू हुनुभन्दा अगाडि यहाँ अरू थुप्रै उत्सव हुन्छन्। ती उत्सव नसकी मनकामना देवीलाई मन्दिर बाहिर निकालिँदैन।
नवमी — यो दिन सबभन्दा पहिला बुंगमतीको मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको खड्गलाई करिब दुई किलोमिटर दक्षिणमा रहेको ख्वयँचा भन्ने गाउँमा लगिन्छ। यो बोसिं समुदायको बस्ती हो। उनीहरू मच्छिन्द्रनाथको रथ बनाउन नागबोसिं जातको रूख (सौर) कहाँ छ भनी खोज्ने र बन्दोबस्त गर्ने काम गर्छन्।
जसै खड्गजात्रा ख्वयँचा पुग्छ, स्थानीयहरू रातो झन्डा फहराउँछन्।
रातो झन्डा फहराउनु भनेको खड्गजात्रा ख्वयँचा पुगेको संकेत हो। यही संकेतका आधारमा अलि पर फर्सीडोलको कुमारी चउरमा नागपूजा सुरू हुन्छ। यी दुवै उत्सव फरक–फरक ठाउँमा एकै समय गर्ने चलन छ।
त्यो रात रातो मच्छिन्द्रनाथको खड्ग बुंगमती फिर्ता ल्याइँदैन, ख्वयँचामै राखिन्छ। मच्छिन्द्रनाथका पुजारीले फूल–प्रसाद भने लिएर आउँछन्।
फूल–प्रसाद बुंगमती ल्याउनेबित्तिकै ‘मुकुन्द पूजा’ सुरू हुन्छ। यो पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको नाममा गरिने पूजा हो।
प्रश्न उठ्छ, सोह्रौं शताब्दीमा पाल्पा, बुटवल, भैरहवादेखि पूर्वी तराईको टिष्टा नदी र पूर्वी पहाडको इलामसम्म साम्राज्य फैलाउन सफल सेन वंशीय राजाको पूजा बुंगमतीमा किन?
यसको पछाडि एउटा ऐतिहासिक कथा जोडिएको छ।
इतिहासकार बाबुराम आचार्यले मुकुन्द सेनको शासनकाल विक्रम सम्बत् १५९७ देखि १६३२ सम्म भनेका छन्। यसबीच काठमाडौं उपत्यकामा राजा यक्ष मल्लको मृत्युपछि राजनीतिक अस्थिरता उत्पन्न भएको थियो। मल्ल शासन विभाजित र कमजोर थियो। त्यही मौका छोपेर मुकुन्द सेनले पटक–पटक उपत्यकामा आक्रमण गरे। उनले यहाँ आफ्नो विजय पताका फहराउन नसके पनि ठूलो विध्वंस मच्चाएको इतिहास छ।
त्यसै क्रममा एकचोटि मुकुन्द सेनले बुंगमतीमाथि पनि धावा बोले। घरहरूमा आगो झोसे। कयौं संरचना तहसनहस पारिदिए, लुटपाट मच्चाए। हयंग्रिभ भैरवको भव्य मूर्ति भने उनलाई एकदमै मनपरेछ। उनले त्यो मूर्ति उखेलेर पाल्पा लगे र आफ्नो दरबारमा प्रतिस्थापन गराए।
पाल्पाको डाँडामा अहिले पनि भैरवनाथको मन्दिर छ। त्यहाँको मूर्तिलाई बुंगमतीको हयंग्रिभ भैरवकै प्रतिरूप मानिन्छ।
प्रतिरूप कि वास्तविक? बुंगमतीबाट उखेलेर लगेको भनेपछि यताको मूर्ति पो प्रतिरूप हुनुपर्यो? होइन र!
यहाँनिर कथाले नाटकीय मोड लिन्छ।
मुकुन्द सेनले हयंग्रिभ भैरवको मूर्ति पाल्पामा प्रतिस्थापन गरेपछि उनको जीवनमा शनिको दशा सुरू हुन्छ। उनलाई हररात सपनामा ऐँठन हुन थाल्छ। उनको अविजित सेनाले युद्धभूमिमा लगातार पराजयको स्वाद चाख्छ। राजपुरोहितहरूको सल्लाहमा उनी आफ्नो ग्रहदशा शान्त पार्न पूजापाठ गराउँछन्। होम लगाउँछन्, ब्रत बस्छन्।
अनेक उपाय लगाउँदा पनि केही जोड नचलेपछि उनलाई राजपुरोहितहरूले भनेछन्, ‘महाराज, जबदेखि तपाईंले हयंग्रिभ भैरवको मूर्ति बुंगमतीबाट उखेलेर ल्याउनुभयो, तबदेखि सेन साम्राज्यको शक्ति धर्मराउन थालेको छ। कतै हयंग्रिभको शक्तिले नै सेनवंशको शक्ति क्षीण हुँदै गएको त होइन?’
राजपुरोहितहरूको यस्तो अड्कलमा मुकुन्द सेनको पनि मन अल्झियो। उनले सोधेछन्, ‘त्यसो भए के गर्ने त?’
राजपुरोहितहरूले सुझाएछन्, ‘महाराज, हयंग्रिभ भैरवलाई हजुरले जहाँबाट ल्याउनुभयो, त्यहीँ लगेर स–सम्मान प्रतिस्थापन गराऔं। हामी पाल्पामा त्यसैको प्रतिरूप स्थापना गरौंला।’
मुकुन्द सेनलाई उपाय चित्त बुझेछ।
उनले त्यसपछि हयंग्रिभ भैरवलाई बुंगमतीमै फिर्ता ल्याए र क्षमापूजासहित प्रतिस्थापन गराए। त्यस क्रममा एक सय आठ राँगा, एक सय आठ बोका, एक सय आठ हाँस, एक सय आठ भेडाको बलि दिइएको भनाइ छ।
मुकुन्द सेनको यो कथा कति तथ्य हो, कति कथ्य थाहा छैन। बुंगमतीवासीहरूले भने मुकुन्द सेनको क्षमापूजालाई आजसम्म निरन्तरता दिँदै आएका छन्। यो पूजा सरकारी खर्चमै हुँदै आएको छ। त्यही भएर ‘सरकारी पूजा’ पनि भनिन्छ।
होइन, मनकामना जात्रा अझै सुरू हुने बेला भएन? कि अनिलले हामीलाई मूल जात्रामा नलगी अन्तअन्तै भुलाएर राखे!
मैले उनलाई यही भनेर झक्झकाएँ।
‘नआत्तिनुस् न, मूलजात्रा अब सुरू हुनै लाग्यो,’ उनले भने, ‘मुकुन्द पूजा सकिनेबित्तिकै नवमीकै रात सबभन्दा पहिला कुन्दे अजिमा (मनकामना) र उनको पछिपछि नन्दे आजुलाई मन्दिरबाहिर निकालिन्छ। त्यसपछि मनकामना जात्रा सुरू हुन्छ।’
पहिलो दिन यो जात्रा मच्छिन्द्रबहालभित्र मात्र चल्छ। मनकामना र नन्दे आजुलाई बहालको दक्षिण ढोकाबाट बाहिर निकाल्नुहुन्न।
किन हुन्न भन्ने तपाईंलाई लाग्यो होला।
‘यो दिन बहालको दक्षिण ढोकामा भीमसेन बाटो छेकेर बसेका हुन्छन्,’ अनिलले भने, ‘यसको पछाडि छुट्टै किम्बदन्ती छ।’
यता बहालभित्र मनकामना जात्रा चल्दै गर्दा हामी यो किम्बदन्ती सुनिहालौं। जात्रामा चास्नीको रस घोलिहालौं।
हयंग्रिभ भैरव र भीमसेन कुनै बेला मित थिए। एकदिन भैरवले आफ्नो मितलाई पाहुना बोलाएछन्। उनले मितलाई भोजन खुवाउन राँगाको मासुको थोरै भाग छुट्टयाएर राखेछन्। आफू भने मन्दिर पछाडिको चोकमा सिंगै राँगो ढालेर खान थालेछन्।
यो थाहा पाएर भीमसेन रिसले चूर भए।
नवमीको दिन हयंग्रिभ भैरवलाई मच्छिन्द्रबहालबाट बाहिर जान नदिन उनी दक्षिण ढोका रहेको ठाउँमा टाङ फैलाएर बसे। आउने–जानेलाई भन्थे, ‘म कसैलाई पनि यो बाटो हिँड्न दिन्न। हिँड्ने भए मेरो टाङमुनिबाट जाओ।’
भीमसेनको यस्तो रवैयाले हयंग्रिभ भैरवलाई मात्र होइन, मच्छिन्द्रबहालमा बस्ने अरू सबै देवी–देउतालाई अप्ठ्यारो पर्यो। रातो मच्छिन्द्रनाथलाई अप्ठ्यारो पर्यो। मनकामनालाई अप्ठ्यारो पर्यो। सबैले भीमसेनलाई फकाइफुलाइ गरे। सम्झाए। तर, उनी टसमस भएनन्। उल्टै आफ्नो शक्तिको घमण्डले निहुँ खोजेर बसे।
दस हजार हात्तीको बल भएका भीमसेनलाई परास्त गर्ने सामर्थ्य त्यहाँ कसैसँग थिएन। बलशाली भैरवसँग पनि थिएन।
आखिरमा हयंग्रिभ भैरवले भीमसेनको तगारो हटाउन हनुमानसँग सहयोग मागे।
महाभारतमा पनि भीमसेनलाई शक्तिको मात चढेपछि ठेगानमा ल्याउन हनुमान प्रकट भएको कथा छ। बीच जंगलमा लम्पसार पल्टेका हनुमानलाई बाटो छाड्न आदेश दिँदै भीमसेन भन्छन्, ‘मेरो बाटो छाड् वानर।’
हनुमान जवाफ दिन्छन्, ‘म साह्रै असक्त छु वीर पुरूष, तिमी आफैं मेरो पुच्छर हटाएर अघि बढ।’
भीमसेन सुरूमा एक हातले हनुमानको पुच्छर हटाउन खोज्छन्। सक्दैनन्।
दुवै हातको बल लगाउँछन्। तै पनि सक्दैनन्।
आफ्नो पूरै ज्यानको बल लगाउँदा पनि उनको केही जोड चल्दैन। उनी असिनपसिन हुन्छन्, तर पुच्छर डेग हल्लिन्न।
त्यसपछि बल्ल भीमसेनलाई वास्तविकता बोध हुन्छ। हनुमानको अगाडि शक्तिको घमण्ड देखाएकोमा उनी लाजले पानी–पानी हुन्छन्। कसैलाई पनि निर्धो र दुर्बल ठानेर हेप्नुहुन्न भन्ने पाठ पनि सिक्छन्।
महाभारतको यस्तै प्रसंग बुंगमतीमा दोहोरिन्छ। यहाँ पनि भीमसेनको ‘घमण्ड’ तोड्न हयंग्रिभ भैरवले गुहारेपछि हनुमान प्रकट हुन्छन्। उनी भीमसेनलाई बाँसको अंकुशेमा अल्झाएर बुंगमतीको दक्षिण ढोकाबाट हुत्याइदिन्छन्। यसरी हुत्याउँदा भीमसेन दोलखा पुगेको कथन छ।
स्थानीयहरू यो कथालाई दोलखा भीमसेनस्थानको उत्पत्तिसँग जोड्छन्। यसले दोलखा र बुंगमतीबीच कुनै पुरानो सम्बन्ध थियो भन्ने संकेत गर्छ। बुंगमतीकै मान्छे व्यापार सिलसिलामा दोलखा बसाइँ सरेका हुन सक्छन्। र, आफूसँगै भीमसेनको मूर्ति पनि लगेका हुन सक्छन्।
भीमसेन, अर्थात् भीन्द्यःलाई काठमाडौंको नेवार समुदाय व्यापार वा समृद्धिको देउता मान्छन्। व्यापार निम्ति बसाइँ सरेकाहरूले समृद्धिको देउतालाई सँगसँगै लैजानु अस्वाभाविक होइन। समृद्धिको देउतालाई नै लखेटेर पठाएकाले बुंगमतीमा व्यापार, व्यवसाय फाप्दैन भन्ने कथन पनि छ।
‘पहिलेको कुरा त म भन्न सक्दिनँ, अहिले चाहिँ बुंगमतीमा व्यापार, व्यवसाय फाप्छ है,’ अनिलले भने, ‘बुंगमतीको काष्ठकला प्रसिद्ध छ। यहाँ घर–घरमा काठको मूर्ति बनाउने काम हुन्छ। पछिल्लो समय होम–स्टे पनि फस्टाएको छ।’
यी दुई नगरबीच केही न केही ऐतिहासिक सम्बन्ध छ भन्ने रातो मच्छिन्द्रनाथ जात्राले पनि देखाउँछ।
दोलखा एक मात्र यस्तो ठाउँ हो, जहाँ बुंगमतीको जस्तै रातो मच्छिन्द्रनाथ जात्रा हुन्छ। त्यहाँ पनि बुंगद्यःलाई रथमा राखेर यात्रा गराइन्छ। अझ त्यहाँको रथ हेर्ने हो भने बस्तीको खुड्किला उकाल्न विशेष खालको पांग्रा बनाइएको देखिन्छ।
‘हामी मनकामना जात्रा हेर्न आएको, तपाईं फेरि अन्तअन्तै लाग्नुभयो,’ मैले अनिललाई मूल विषयमा तानेँ।
उनले सम्झाए, ‘यी किम्बदन्तीहरू मैले यसै सुनाएको होइन। हयंग्रिभ भैरव, भीमसेन र हनुमानको कथा मनकामना जात्रासँगै जोडिन्छन्।’
उनको कुरा सुनेर जात्रा हेर्ने उत्सुकता झनै बढ्यो। यति धेरै कथा एउटै जात्रामा कसरी जोडिन्छन् होला है!
यसका लागि हामी फेरि नवमीकै रात फर्कौं, जब मनकामना र उनका श्रीमान नन्दे आजुलाई मन्दिरबाहिर निकालेर मच्छिन्द्रबहाल घुमाइँदैछ। बहालको दक्षिण ढोकामा भीमसेन टाङ फैलाएर बसेकाले कोही आउजाउ गर्न पाएका छैनन्। मनकामना र नन्दे आजुलाई छुट्टाछुट्टै खटमा बसालेर मच्छिन्द्रबहालको तीन चक्कर लगाइन्छ।
त्यसपछि मनकामना देवीलाई हयंग्रिभ भैरवको मन्दिरभित्र लगिन्छ। नन्दे आजु बाहिरै रहन्छन्। त्यो रात मनकामना देवीले हयंग्रिभ भैरवसँगै बिताउँछिन्। भैरवसँग शक्ति साटासाट गर्न यसो गरिएको हो भन्ने भनाइ छ। कतिपयले मनकामना देवी रिसाएर घर छाडेर हिँड्दा हयंग्रिभ भैरवले नै फिर्ता ल्याएकाले यो चलन चलेको बताउँछन्।
अर्को कारण पनि हुनसक्छ, जसका बारेमा मैले माथि चर्चा गरिसकेँ। बिर्सनु त भएको छैन नि!
बिर्सनुभएको भए एकचोटि माथि खर्रर ‘स्क्रोल’ गरेर पढेर आइहाल्नू, हामी चाहिँ दशमीको दिनतिर लागौं।
दशमी — यो दिन मनकामना र हयंग्रिभ भैरवको दिनभरि पूजा हुन्छ। त्यसै रात हयंग्रिभ भैरवलाई नौवटा विभिन्न तत्व मिसाइएको ‘महाधूप’ बालिन्छ। महाधूपको धुवाँ बुंगमतीको हावामा रिङमिगाउन थाल्छ। यसलाई बाटो थुनेर बसेका भीमसेनसँग लड्न हनुमान डाक्ने तान्त्रिक विधिका रूपमा लिइन्छ।
महाधूपको बासनाले हनुमान प्रकट भएनन् भने इन्द्रायणी बाजा बजाउने चलन छ। यी दुई विधिले पनि हनुमान आएनन् भने रातो मच्छिन्द्रनाथका पुजारी आफ्नो तन्त्रविद्याबाट हनुमानलाई खोज्न बुंगमती नगर चहार्न थाल्छन्।
‘हनुमान चाहिँ कसरी प्रकट हुन्छन् त?’ मैले अनिललाई सोधेँ।
तपाईंलाई पनि लाग्यो होला, कतै रामायणमा जस्तो ‘जयश्री राम’ भन्दै आकाशबाट फुर्रर उडेर आउने त होइन!
‘हनुमान प्रकट हुने भनेको बुंगमतीको कुनै स्थानीय व्यक्तिलाई हनुमानको आत्मा चढ्ने हो,’ अनिलले वर्णन गरे, ‘यहाँको ज्यापू समुदाय वा कोताटोलका शाक्य र तुलाधर समुदायको कुनै व्यक्तिमा हनुमानको आत्मा चढ्छ। जसलाई आत्मा चढ्छ, उसैलाई हनुमानको अवतारका रूपमा लिइन्छ। कहिलेकाहीँ त एकभन्दा बढी व्यक्तिमा एकैचोटि आत्मा चढ्छ। त्यस्तो बेला उनीहरूबीच नै प्रतिस्पर्धा हुन्छ। जसले जित्यो उसैले बाँसको अंकुशे लगाएर भीमसेनलाई दोलखातिर हुत्याइदिन्छन्।’
अब तपाईंहरू सोध्नुहोला, हनुमानले भीमसेनलाई हुत्याउँछन् चाहिँ कसरी?
कुइनाले ठेलेर हुत्याउने हुन् कि पछाडिबाट धक्का दिएर? कि ट्याप्प टिपेर फुत्त मिल्काउने हुन्?
जात्रा हेरेपछि तपाईंहरूले थाहा पाउनुहुन्छ, यसको छुट्टै विधि हुन्छ।
मच्छिन्द्रबहालका चौधवटा ठाउँमा चौधवटा मण्डप छन्। चौधवटा भुवनको प्रतीक मानिने ती मण्डपमा दशमीको रात पालैपालो बाँसको लिंगो गाडिन्छ। हनुमानको आत्मा चढेको मान्छे उफ्रिँदै आएर बाँसमाथि चढ्छन् र झुल्न थाल्छन्।
बाँसको लिंगोलाई एकपछि अर्को चौधवटै मण्डपमा सार्दै लगिन्छ। हनुमान पालैपालो त्यसमा चढ्छन्। जब दक्षिण ढोकानिर रहेको मण्डपमा बाँस गाडिन्छ र त्यसमा हनुमान चढ्छन्, तब बाँसको टुप्पो भुइँतिर ढल्किनासाथ बाटो छेकेर बसेका भीमसेन दोलखातिर हुत्तिएको मानिन्छ।
भीमसेन हुत्तिएको तपाईंहरू आफ्नो आँखाले त देख्न सक्नुहुन्न, तर कानले सुन्न सक्नुहुन्छ।
त्यो बेला जात्रालुहरूको एकदमै ठूलो होहल्ला हुन्छ। धमधम र छ्याइँछ्याइँ बाजाले बुंगमती थर्किन्छ। यही बाजाको ताल सुनेर तपाईं थाहा पाउनुहुन्छ, बुंगमतीका भीमसेन अब दोलखा पुगिसके, दक्षिण ढोका खुलिसक्यो।
त्यसलगत्तै तपाईं देख्नुहुन्छ, मनकामना दम्पती आ–आफ्नो खटमा बसेर बुंगमती नगर परिक्रमामा निस्कँदै छन्।
चौधवटा मण्डपमा बाँसको लिंगो गाड्नु र त्यसमा हनुमान चढ्नुका दुई कारण छन्, अनिलले भने, ‘एक त, चौधवटै भुवनका देवगण जात्रामा आएका छन् कि छैनन् हेर्न र अर्को, दोलखा पुगेका भीमसेन फेरि फर्केर आए कि भनेर निगरानी राख्न।’
हनुमान आफैं बाँसको लिंगोमा चढेर चनाखो हुँदै निगरानी गरेपछि भीमसेनको के साहस, फर्केर बुंगमती आउनलाई!
उनी आउँदैनन् पनि। उता दोलखातिरै बस्छन्।
यता हनुमान भने ‘तगः चिभा’ भन्ने चैत्यअगाडिको मण्डपमा पुग्छन् र बाँस समातेर बस्छन्। उनले त्यति बेलासम्म त्यो बाँस समातिरहन्छन्, जबसम्म बुंगमती यात्रामा निस्केका मनकामना दम्पती मच्छिन्द्रबहाल फर्किंदैनन्।
पहिलो दिनको नगर परिक्रमा पूर्ण भएपछि हनुमानको मृत्यु संस्कार सुरू हुन्छ।
‘हनुमानको पनि मृत्यु?’
‘जन्मेपछि सबैले मर्नैपर्छ। हनुमान पनि अमर छैनन्।’
मृत्यु संस्कारको निम्ति हनुमान हयंग्रिभ भैरव अगाडिको मण्डपमा आइपुग्छन्। इन्द्रायणी बाजा बजाइन थाल्छ। त्यसपछि हनुमान एकछिनलाई बाँसको लिंगोमाथि चढ्छन्।
जसै उनी तल झर्छन्, उनको मृत्यु भएको मानिन्छ।
त्यसपछि जात्रालुहरूले हनुमानको आत्मा चढेका व्यक्तिलाई सेतो कपडाले छोपेर मच्छिन्द्रबहालको पश्चिमपट्टि रहेको एउटा घरमा लैजान्छन्। घरको छिँढीमा गुर्जु र मृत हनुमानलाई मात्र राखेर बाहिरबाट ढोका बन्द गरिन्छ, अनिलले भने, ‘गुर्जुले तान्त्रिक विधिबाट हनुमानको आत्मा बसेका व्यक्तिलाई पुनः जीवित गराउँछन्।’
यति बेलासम्म रात निकै छिप्पिसकेको हुन्छ। तपाईंहरूलाई झुपुझुपु निद्राले छोप्न सक्छ, तर जात्रा अझै बाँकी छ है!
एकादशी — मनकामना जात्रा र बुंगमती महाउत्सवको अन्तिम दिन।
यो दिन मनकामना दम्पतीको खटलाई निश्चित बाटो हुँदै बुंगमतीका घर–घर घुमाइन्छ। हामी पनि अनिलसँगै खटयात्रा पछ्याउँदै घर–घर जाऊँ है त!
खटलाई एकचोटि पनि भुइँमा बिसाउनुहुन्न, अनिल भन्दैछन्, ‘टोलका सबै मान्छे सक्रिय भएर पालैपालो खट बोक्न आउँछन्। एक समय त खट बोक्ने मान्छे नै अभाव हुन थालेको थियो, अचेल जात्रा चलाउन युवाहरू जुर्मुराएका छन्।’
घर–घर पुगेर दर्शन दिएपछि मनकामना अजिमा र नन्दे आजु मच्छिन्द्रबहाल फर्किन्छन् र आफ्नो गृहप्रवेश गर्छन्।
एकादशीको रात अजिमा र आजुलाई गृहप्रवेश गराएपछि जात्रा सकिन्छ।
बुंगमतीको मनकामना जात्रा कहिलेबाट सुरू भयो भन्नेमा फरक–फरक धारणा पाइन्छ। कोही रातो मच्छिन्द्रनाथ आएकै बेलाबाट सुरू भएको मान्छन्। केही गुर्जुहरू भने वंशावली उद्धृत गर्दै नेपाल सम्बत् ३७९ बाट जात्रा चलेको बताउँछन्।
यसबीच मनकामना जात्रा चल्दै गर्दा एउटा रोचक प्रस्तुतिले बुंगमतीलाई मनोरञ्जन दिइरहेको हुन्छ।
जसरी काठमाडौंमा इन्द्रजात्रा बेला ‘पुलुकिसी’ भनिने सेतो हात्ती नगरका विभिन्न ठाउँ घुम्दै हिँड्छ, त्यसरी नै बुंगमतीमा सेतो वायुपंखी घोडामा सवार व्यक्ति नाच देखाउँदै नगरका विभिन्न ठाउँ पुग्छ। यो प्रस्तुति नवमीको रातदेखि एकादशीसम्मै चल्छ।
सेतो घोडामा सवार ती व्यक्ति हुन्, सिंह सार्थवाह। उनी काठमाडौं उपत्यकाका एक प्राचीन व्यापारी हुन्।
सिंह सार्थवाहसँग केही किम्बदन्ती र केही इतिहास जोडिएका छन्।
सबभन्दा पहिला किम्बदन्ती सुनाउँछु है!
सिंह सार्थवाह प्राचीन काठमाडौंको ‘थं’ भन्ने उत्तरी बस्तीका एकदमै मिहिनेती र धनी व्यापारी थिए। रातो मच्छिन्द्रनाथप्रति उनको अगाध आस्था थियो। काठमाडौंका नेवार व्यापारी प्राचीन कालदेखि नै व्यापार गर्न तिब्बत र भारत जान्थे। यसरी देश छाडेर जाँदा लामो समय उतै बस्नुपर्थ्यो।
एकचोटि सिंह सार्थवाह व्यापारीहरूको ठूलो समूहका साथमा तिब्बत गएका थिए। कसै–कसैले उनी श्रीलंका गएका थिए पनि भन्छन्। उनीहरू जब तिब्बत वा श्रीलंका पुगे, स्वर्गकी अप्सराजस्ता सुन्दरी कन्याहरू स्वागत गर्न उपस्थित भए।
यात्राले थाकेका व्यापारीलाई ती सुन्दरी कन्याले सरासर स्नानगृह लगे। मनतातो पानी र दूधले स्नान गराए। हिँड्दा हिँड्दा लखतरान गोडा मिचिदिए। जीउमा तेल घसिदिए। त्यसपछि आफूसँगै शयनकक्षमा लगे र आलिंगनमा बेरेर आराम गराए।
उनीहरूलाई ती कन्या को हुन् थाहा थिएन। उनीहरू त स्त्रीसुख पाएर निहाल थिए।
यसरी आफ्नो देश–दुनियाँ र यात्राको उद्देश्य नै भुलेर क्रीडामा लिप्त रहेका बेला सिंह सार्थवाहलाई रातो मच्छिन्द्रनाथले सपनामा दर्शन दिएछन्। भनेछन्, ‘हे सिंह सार्थवाह, तिमीले जिन्दगीभरि मेरो अनन्य भक्ति गर्यौ। म तिमीलाई यसरी बाटो बिराएर अलमलिएको हेर्न सक्दिनँ। जुन कन्याको मोहमा परेर तिमी आफ्नो कर्तव्यबाट टाढिँदै गएका छौ, खासमा ती कन्या होइनन्, भेष बदलेर आएका दानव हुन्। तिमीहरूलाई आफ्नो मायाजालमा पारेर रगत पिउन र आलो मासु चपाउन व्यग्र छन्।’
‘ओहो! हजुरले मेरो आँखा खोलिदिनुभयो प्रभु,’ सिंह सार्थवाहले सपनामा हात जोड्दै भनेछन्, ‘अब यिनीहरूको मायाबाट मुक्ति पाउने बाटो पनि देखाइदिनू।’
‘हे सार्थवाह, भोलि चन्द्रमा अस्ताउनुभन्दा अगाडि नै तिमीहरू यो ठाउँ छाडेर भाग्नू। म सेतो वायुपंखी घोडाको रूप लिएर तिमीहरूलाई मद्दत गर्न आउँछु। तिमीहरू त्यही घोडामा सवार हुनु र हावाको वेगमा उड्नू,’ रातो मच्छिन्द्रनाथले सम्झाए।
उनले अगाडि भने, ‘यी दैत्यहरू बाटो छेक्न आउनेछन्। पछाडिबाट तिमीहरूको नाउँ लिँदै आफ्नो झूटो माया देखाउनेछन्। तिमीहरूले फेरि तिनको मायाको भ्रममा फस्नुहुन्न। जति बोलाए पनि फर्केर हेर्दै नहेर्नू। खुरूखुरू आफ्नो बाटो लाग्नू। जसले पछाडि फर्केर हेर्ला, उनीहरू त्यही ठाउँ दानवको काबूमा पर्नेछन् र रगत छादेर मर्नेछन्। जो आफ्नो मन काबूमा राख्न सफल हुन्छ, ऊ गन्तव्य पुग्छ। वायुपंखी घोडाले उसलाई घरसम्मै छाड्नेछ।’
सिंह सार्थवाह सपनाबाट झसंग ब्युँझे। उनको ज्यान पसिनामा लुछुप्पै भिजेको थियो। घाँटी तिर्खाले प्याकप्याक थियो। उनले एक अंखरा पानी पिए। दियोको धिपधिपे रोशनी वरिपरि रातो मच्छिन्द्रनाथको आभा जगजगमाइरहेको उनलाई आभाष भयो।
उनले ओछ्यानमा आफूसँगै सुतेकी ‘दैत्य’ कन्यालाई हेरे। उनी मस्त निद्रामा थिइन्।
सुटुक्क उठेर झ्यालनिर गए। गाडा निलो आकाशमा सेतो चन्द्रमाले रात शितल बनाउँदै थियो। बादलको एक टुक्रा पनि थिएन। केही ताराहरू टिलपिलाएका थिए, क्यानभासमा बुट्टा भरेजस्तो।
सार्थवाहले तुरून्तै झोला खाँदखुँद पारे। अरू कोठामा उसैगरी ‘दैत्य’ कन्यासँग मस्त सुतिरहेका मित्र व्यापारीहरूलाई पालैपालो जगाए। रातो मच्छिन्द्रनाथले सपनामा दर्शन दिएर ती कन्याको भेद खोलेको कुरा सबैलाई सुनाए। कतिले पत्याए, कतिले पत्याएनन्। जसले पत्याए ती सिंह सार्थवाहको पछि लागेर आँगनमा निस्के।
चन्द्रमा अस्त हुनासाथ सेता वायुपंखी घोडाहरू देखापरे। उनीहरू वायुपंखी घोडामा सवार भएर वायुसँग बात् मार्न थाले।
रातो मच्छिन्द्रनाथले भनेझैं दैत्य कन्याहरू बाटो छेक्न आए। पछाडिबाट नाउँ पुकारे। सिंह सार्थवाहले सम्झाउँदा सम्झाउँदै पनि अरू सबै साथीहरूले फर्किएर हेरे। उनीहरूको त्यही क्षण रगत छादेर मृत्यु भयो।
सिंह सार्थवाह मात्र सकुशल काठमाडौं उपत्यका फर्के।
एक जना दैत्य कन्या भने एकदमै ज्याद्री परिछन्। सार्थवाहलाई पछ्याउँदै तिब्बत वा श्रीलंकादेखि काठमाडौंसम्मै आइछन्। उनको रहस्य थाहा पाइसकेका सार्थवाहले कसैगरी उनलाई फर्केर हेरेनन्।
हार खाएर ती कन्या काठमाडौंका जनतालाई नै आफ्नो वशमा पारेर रगत पिउने प्रपञ्चमा लागिन्।
यो थाहा पाएपछि सार्थवाहले दैत्य कन्याको मायाबाट काठमाडौंका जनतालाई मुक्ति दिन रातो मच्छिन्द्रनाथको प्रार्थना गरे। मच्छिन्द्रनाथ उत्पत्ति भएर उनलाई आफ्नो खड्ग दिए र त्यही खड्गले दैत्य कन्याको संहार गर्न सुझाए।
सिंह सार्थवाह र दैत्यबीच भीषण युद्ध भयो। आखिरमा रातो मच्छिन्द्रनाथको खड्गको चोटसामु दैत्य कन्या धेरै बेर टिक्न सकिनन्।
खड्गको चोटले रक्ताम्मे दैत्य कन्याले सार्थवाहसामु घुँडा टेकेर आफ्नो जीवनदान मागिन्।
उदार र दयालु स्वभावका सार्थवाहको मन पग्लियो। असहाय भएर हात जोडिरहेकी दैत्य कन्याको वध गर्न उनले खड्ग उठाउन सकेनन्।
‘काठमाडौंका कुनै पनि जनताको जीउधनलाई हात नलगाउने हो भने म तिम्रो प्राण लिन्नँ,’ सार्थवाहले भने।
दैत्य कन्याले बाचा गरिन्।
यसको बदलामा सार्थवाहले पनि उनलाई कहिल्यै भोको नराख्ने बाचा गरे।
‘यसरी काठमाडौंलाई दैत्यको प्रकोपबाट मुक्ति दिने सिंह सार्थवाहलाई बुंगमतीमा हरेक वर्ष सम्झना गरिन्छ,’ मेरा बुंगमती गाइड अनिलले भने।
तिनै सिंह सार्थवाहले अवलोकितेश्वरका नाममा आफ्नो गाउँ ‘थं’ को एउटा बही (बहाल) मा चैत्य निर्माण गराए भन्ने भनाइ छ। त्यही ‘थंबही’ लाई अचेल हामी ‘ठमेल’ भन्छौं।
सिंह सार्थवाहलाई उनको उदार हृदयका कारण काठमाडौंमा ‘चंकद्यः’ वा ‘गरूण आजु’ का रूपमा पनि पूजा गरिन्छ। ठमेलको विक्रमशील महाविहारमा रातो मच्छिन्द्रनाथजस्तै रातो मुहार भएका सिंह सार्थवाहको धातुको मूर्ति छ। उनलाई स्थानीय प्रधान समुदायले आफ्नै पुर्खा मान्छन् र नित्यपूजा गर्छन्। फागुन पूर्णिमाको भोलिपल्ट उनको मूर्ति बहालमा सार्वजनिक प्रदर्शन गरेर राखिन्छ। यसै दिन ठमेलबाट हनुमानढोकासम्म सिंह सार्थवाहको खटजात्रा हुन्छ।
त्यही बहालको एक छेउमा दैत्य कन्याको प्रतिरूप ‘जातिका’ अजिमाको मूर्ति छ। उनलाई अहिले पनि हरेक दिन चौलानी पानी चढाउने गरिन्छ।
सिंह सार्थवाहले कुनै दिन पनि भोको राख्दिनँ भनी गरेको बाचा यहाँका स्थानीयले आजसम्म टुट्न दिएका छैनन्।
यो त भयो किम्बदन्ती, सार्थवाहकै बारेमा केही लिच्छविकालीन अभिलेख पाइएका छन्, जसले हामीलाई सार्थवाह भनेका को हुन् भनेर बुझ्न मद्दत गर्छ।
इतिहासकार धनवज्र बज्राचार्यको किताब ‘लिच्छविकालीन अभिलेख’ अनुसार देउपाटनका दुइटा र टेबहालको एउटा मानदेवकालीन अभिलेखमा सार्थवाहबारे उल्लेख पाइन्छ।
देउपाटनको अभिलेख विक्रम सम्बत् ५३४ को हो। यो लिच्छवि राजा मानदेव पालाका प्रसिद्ध ‘सार्थवाह’ रत्नसंघको अभिलेख हो। लिच्छविकालमा व्यापारीहरूको समूहलाई ‘सार्थ’ र नाइकेलाई ‘सार्थवाह’ भनिन्थ्यो, धनवज्र लेख्छन्, ‘त्यस बेला बाटोघाटोको कठिनाइले एक–दुई व्यापारीले एक देशबाट अर्को देशमा गई व्यापार गर्न सम्भव थिएन। व्यापारीहरूको समूह मिलेर यो काम गर्थे। ‘सार्थ’ शब्द यस्तै एक देशबाट अर्को देशमा गई व्यापार गर्ने बनियाँहरूलाई बुझाउने शब्द हो।’
धनवज्रका अनुसार, यो अभिलेखमा रत्नसंघ सार्थवाहले लिच्छवि राजा मानदेवप्रति ठूलो भक्ति देखाएका छन्। उनको शासन व्यवस्थाको प्रशंसा गरेका छन्। यसबाट राजा मानदेवले यस्ता व्यापारीलाई प्रशस्त सुविधा दिएको संकेत पाइन्छ।
देउपाटनकै विक्रम सम्बत् ५३७ को अर्को अभिलेखमा उनै रत्नसंघ सार्थवाहले आफ्ना नातेदार प्रभुसंघका नाममा ‘प्रभुकेशर’ महादेव स्थापना गरी अभिलेख कुँद्न लगाएको पाइन्छ। यस आधारमा धनवज्रले रत्नसंघ सार्थवाह ‘धार्मिक प्रकृतिको’ र ‘शैव धर्मप्रति श्रद्धा भएको’ व्याख्या गरेका छन्।
त्यस्तै, टेबहालमा पाइएको विक्रम सबत् ५३७ कै अभिलेखमा अर्का सार्थवाह गुहमित्रबारे उल्लेख छ। यो अभिलेखमा पनि उनले राजा मानदेवले राम्ररी शासन चलाएको भन्दै गुणगान गाएको इतिहासकार धनवज्रले व्याख्या गरेका छन्।
यी तीनवटा लिच्छविकालीन अभिलेखबाट हामी के बुझ्न सक्छौं भने, ‘सार्थवाह’ भनेका प्राचीन नेपालका व्यापारी नाइके थिए। र, बुंगमतीमा सेतो वायुपंखी घोडा चढेर नाच देखाउने जुन सिंह सार्थवाहबारे हामीले माथि चर्चा गर्यौं, उनको वास्तविक नाम सिंह रहेछ।
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। लिच्छविकालीन अभिलेखमा पाइएका विवरण र सिंह सार्थवाहबारे प्रचलित किम्बदन्ती दाँज्दा धेरै कुरा सही होलान् जस्तो लाग्छ। दैत्य कन्याको संहार गरेको घटनालाई सिंह सार्थवाहको महानता देखाउन रचिएको कथ्य मान्न सकिन्छ। तर, उनले विदेश यात्रा क्रममा कुनै अनिष्ट आउँदा आफ्नो समूहलाई सकुशल फर्काएर ‘सार्थवाह’ को सफल भूमिका निर्वाह गरेको हुनसक्छ।
ठमेलमा अवलोकितेश्वर चैत्य बनाएको वर्णन पनि सही हुनसक्छ। आखिर रत्नसंघ सार्थवाहले पनि त देउपाटनमा प्रभुकेशर महादेव स्थापना गरेर अभिलेख लेखाएका थिए।
यी सबै कथ्य र तथ्य केलाउँदा बुंगमतीमा सिंह सार्थवाहको नाच अहिलेसम्म निरन्तर चल्नुले उनी प्राचीन कालमा यस क्षेत्रका प्रसिद्ध व्यापारी थिए भन्ने बुझाउँछ। उनले आफ्नो व्यापारिक लाभबाट बुंगमतीमा सामाजिक कल्याणका थुप्रै काम गरेका हुँदा हुन्!
२०७२ को भुइँचालोमा ढलेको रातो मच्छिन्द्रनाथको मन्दिर नै उनैले बनाइदिएका पो हुन् कि! के बेर!
बुंगमती महाउत्सव सकियो त?
छैन नि! अब एउटा उत्सव बाँकी छ, जुन मैझारो हो।
एकादशीकै रात मनकामना जात्रा र अरू सबै उत्सव सकिएपछि स्थानीय सुवाल ज्यापू समुदायका सदस्य बुंगमतीका तीन दिशा पूर्व, पश्चिम र दक्षिणमा रहेका बोङ्गा अर्थात् कुवामा जान्छन्। जात्राभरि बलि दिँदा हातहतियार र कपडामा जुन रगत लागेको हुन्छ, त्यो रगत ती कुवामा गएर पखाल्ने चलन छ।
रातको अन्धकारमा सुवालहरू आ–आफ्नो घरबाट निस्केर कुवातर्फ बढ्दा इन्द्रायणी बाजा बजाइन्छ। यो बाजा बज्नु भनेको बुंगमतीका अरू सबै बासिन्दालाई घरबाहिर ननिस्कनू भन्ने संकेत हो, अनिलले भने, ‘सुवालहरू कुवामा गएको दृश्य अरू कसैले हेर्न हुँदैन भन्ने मान्यता छ। यो बेला बुंगमतीमा लकडाउनजस्तै हुन्छ।’
उनीहरू कुवामा पुगेपछि आफ्नो कपडामा लागेको रगतका टाटा सफा गर्छन्। जात्रामा मार हान्न प्रयोग भएका हातहतियार पखाल्छन्।
त्यसपछि बल्ल बुंगमती महाउत्सव समापन हुन्छ।
बुंगमतीका यी बोङ्गाहरूको सांस्कृतिक मात्र होइन, ऐतिहासिक महत्व पनि छ। यिनै बोङ्गाबाट बुंगमती नाउँ रहेको हो। काठमाडौंका नेवारहरू अहिले पनि बुंगमतीलाई ‘बुंग’ भन्छन् र यसै आधारमा रातो मच्छिन्द्रनाथलाई ‘बुंगद्यः’ अर्थात् बुंगमतीका देउता भनिन्छ।
बुंगमतीमा रहेको लिच्छवि शासक अंशुवर्माको शिलापत्रबाट यसको ऐतिहासिक पक्ष खुल्छ।
पहिले यो शिलापत्र मच्छिन्द्रबहालमै थियो। अचेल बुंगमती बसपार्कमा सबैले देख्ने गरी सुरक्षित राखिएको छ। तपाईंले बुंगमती बसपार्क पुगेर जसलाई सोध्नुभए पनि देखाइदिन्छन्।
इतिहासकार धनवज्र बज्राचार्यका अनुसार, यो शिलापत्रमा बुंगमतीलाई ‘बूगायूमी’ भनिएको छ। यहाँ ‘बूगा’ भन्ने शब्दको अर्थ बुंगमतीका तिनै बोङ्गा अर्थात् पानीका कुवा हुन सक्छ। लिच्छविकालीन ‘बूगा’ नै अपभ्रंश हुँदै ‘बोङ्गा’ भएको हो भन्ने स्थानीय अनिल तुलाधरको भनाइ छ।
उनी यसको अर्को अर्थ पनि लगाउँछन्।
‘नेवार भाषामा ‘बुँ’ भनेको खेत र ‘गा’ भनेको खाल्डो हो। यसको अर्थ खेतमा रहेको खाल्डो भन्ने बुझिन्छ, जसबाट पानी निस्कन्छ,’ उनले भने, ‘यहाँ प्राकृतिक मुहानहरू फुटेर थुप्रै कुवा बनेका छन्। तीमध्ये प्रायः कुवाको सांस्कृतिक महत्व छ। रातो मच्छिन्द्रनाथलाई स्नान गराउन यिनै कुवाको पानी चाहिन्छ।’
अब प्रश्न उठ्छ, ‘बूगायूमी’ मा प्रयोग भएको ‘यूमी’ को अर्थ के त?
सम्पदाविद् सुदर्शनराज तिवारीले आफ्नो किताब ‘द ब्रिक एन्ड द बुल’ मा यसको व्याख्या गरेका छन्। उनका अनुसार, ‘यूमी’ भनेका किराँतकालीन देवी हुन्, जसलाई आज पनि पूर्वी नेपालका किराँतहरूले ‘येमा’ भनेर पुज्छन्।
‘किराँतहरूले साहसी पुरूष योद्धाका रूपमा ‘थेवा सामाङ’ र धर्ती माताका रूपमा ‘युमा सामाङ’ को पूजा गर्छन्,’ तिवारी लेख्छन्, ‘किराँती संस्कृतिमा झाँक्री चलाउने रित छ। पुरूष झाँक्रीलाई ‘येबा’ र महिला झाँक्रीलाई ‘येमा’ भनिन्छ।’
उनी अगाडि लेख्छन्, ‘पूर्वी नेपालका किराँतहरूले पुज्ने विभिन्न प्रकारका येमा देवीमध्ये एकलाई पानीको स्रोतका रूपमा लिइन्छ, जसले आफ्नो बूढीऔंलाले जमिन प्वाल पारेर मुहान फुटाएको विश्वास गरिन्छ। यही गुण बुंगमतीको रातो मच्छिन्द्रनाथमा पनि छ।’
यति मात्र होइन, रातो मच्छिन्द्रनाथलाई अहिले पनि बहुलिंगी देउताका रूपमा लिइन्छ। त्यही भएर पुरूष र महिला दुवैको कर्मकाण्ड गर्नुपर्छ। यसले किराँतकालीन देवीको सम्झना गराउँछ।
कतै किराँतकालमा देवीका रूपमा पुजिने ‘यूमी’ वा ‘येमा’ यिनै त होइनन्!
किराँतकालका ‘यूमी’ नै बौद्ध धर्मको प्रभावले ‘लोकेश्वर’ र हिन्दुकरण भएपछि ‘मच्छिन्द्रनाथ’ बनेका हुन् कि!
के बेर!
आखिर रातो मच्छिन्द्रनाथलाई आज पनि हामीले ‘वर्षाका देउता’ अर्थात् ‘पानीका देउता’ त मानेकै छौं। हयंग्रिभ भैरव आफैं पनि बुंगमतीका किराँती राजा हुनसक्ने सम्भावना छँदैछ।
जे होस्, बुंगमती महाउत्सव जुन बोङ्गामा पुगेर समापन हुन्छ, त्यसले हामीलाई यो नगरको आदिम इतिहासमा फर्काउँछ। काठमाडौं उपत्यका र यहाँका आदिवासी नेवारहरूको प्राचीन किराँत इतिहाससँग साइनो गाँस्न झक्झकाउँछ।
यो साइनो राम्ररी पर्गेल्न पनि हामीले दसैंमा हुने बुंगमती महाउत्सवमा सरिक भएर एक–एक घटनाको साक्षी बन्नुपर्छ।
यसपालि नछुटाउनुस् है त!
जात्राबारे जान्नुपरे अनिल तुलाधर त हाजिर छँदैछन्। छुट्टिने बेला उनले भनेकै छन्, ‘जसरी पनि आउनुस् है, जात्रामै भेटौंला।’