१० दिन भयो, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवारको चुह्लो नबलेको।
२३ वर्षका छोरा विपिन जोशी इजरायलमा बेपत्ता भएपछि उनको चैन खण्डहर बनेको छ। चाडबाडको मुखमा बेपत्ता छोराको बाटो कुर्दाकुर्दै उनी बिरामी परिसकेका छन्।
महानन्दको जिन्दगीको लयमात्र होइन, सपना नै बिथोलिएको छ अहिले।
‘१० दिन भयो परिवारका कसैको पनि मुखमा गास परेको छैन। छोरा बेपत्ता भएको सुनेदेखि आमा पद्मा मुर्छा परिरहेकी छिन्,’ विपिनका पिता महानन्द जोशीले पीडा पोखे।
शुक्रबार बिहान युद्धग्रस्त इजरायलबाट २ सय ५३ जना नेपाली फर्किए। सरकारले नेपाल एयरलाइन्सको जहाज नै लगेर त्यहाँ रहेका विद्यार्थीलाई फर्कायो।
उनीहरूसँगै छोरा फर्किने आशा थियो महानन्दलाई। तर, सरकारले विपिन सम्पर्कमा नरहेको र खोजीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहारिरहेको सुनेपछि उनी खङ्ग्रङ्ग भएका छन्। चिन्ताले थप व्याकुल बनेका छन्।
‘१० जनालाई अनाहकमा गुमाइसकेका छौं। इजरायल–हमासको काटमारमा नेपाल कतै थिएन। तर, नेपाली नै निशानामा पर्नुपर्यो, हाम्रो छोरा सकुशल फर्कियोस् भनेर देवी–देवता भाकेर बसिराखेका छौं,’ महानन्दले भने।
अघिल्लो शनिबार बिहानैबाट इजरायलमा हमासले हमला गरेको समाचार सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भइसकेको थियो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि तथा विज्ञान संकाय, टीकापुरबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका उनको परिवारमा विपिन जोशीको चिन्ता हुने नै भयो।
शनिबार नै दाजु (ठूलो बुवाका छोरा) किशोरले विपिनसँग सम्पर्क गरेका रहेछन्।
‘शनिबार बिहान किशोरले कुरा गरेको रहेछ। विपिनले किशोरसँग खाना खाँदै छु पनि भनेको थियो रे!,’ उनले पीडा पोख्दै भने, ‘त्यसपछि हामीले कति प्रयास गर्यौं, कसै गरी सम्पर्क हुन सकेन।’
दिउँसो छोरा फर्किन्छ कि भनेर आश जाग्ने र रात परेपछि आज पनि फर्किएन भनेर अत्यास लाग्ने गरेको पीडा महानन्दले सुनाए।
बैतडीको रिम (हाल दोगडाकेदार गाउँपालिका–१) बाट दुई दशकअघि कञ्चनपुरको भीमदत्तनगर झरेका हुन् उनी। श्रीमती पद्मा र छोरी पुष्पा भीमदत्तनगरमै बस्छन्। ५० वर्षीय महानन्द बझाङमा पढाउँछन्। बझाङको बुंगल गाउँपालिकास्थित दहबगरमा रहेको महेन्द्र माविका राहत शिक्षक हुन्।
विपिनकी आमा पद्मा कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा रहेको उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्।
‘म राहत शिक्षक छु। छोराको चिन्ताले विद्यालयमा जान पनि सकेको छैन। आमाको अवस्था त झन् नाजुक छ। १४ वर्षकी बहिनी दाइ कहिले फर्किनुहुन्छ? सम्पर्कमा आएको समाचार पो आउँछ कि भनेर बाटो हेरिरहेकी छिन्,’ महानन्दले भने।
गत भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा विज्ञान संकायबाट ४९ जना विद्यार्थीसँगै गएका हुन् विपिन। एक महिनाको अन्तरालमा एक पटकमात्रै कुरा हुन पाएको महानन्दले सुनाए।
‘बझाङमा सुलभ इन्टनरनेट सुविधा नभएकाले छोरासँग नियमित कुरा हुन पाएको थिइन। एकपटक कुरा भएको थियो,’ उनले भने, ‘पढ्दै र काम पनि सिक्दैछौं। यहाँको केही पनि चिन्ता नलिनू, बरू आमा र बहिनीको ख्याल राख्नु भनेको थियो। राम्रो रहेछ भनेर म पनि खुसी भएको थिएँ।’
हमासले बंकरमा हुर्याएको ग्रिनेड छोरा विपिनले टिपेर फालेकाले साथीहरूको ज्यान जोगिएको महानन्दले पनि सुनेका रहेछन्। छोराको बहादुरीकै कारण सँगै गएका साथीको ज्यान जोगिएको सुनेपछि उनी अलिअलि खुसी पनि भए।
तर, अहिले छोराको केही टुंगो नलाग्दा उनले आफूलाई सम्हाल्न सकेका छैनन्। सरकारले तदारूकता देखाइदिए छोरा छिट्टै फर्कन्थे भन्ने उनलाई लागेको छ।
‘अन्तर्राष्ट्रिय समुदायलाई अनुनय गरेर भए पनि मेरो छोरा फिर्ता ल्याइदिए हुन्थ्यो! हाम्रो सरकारसँग यही कामना छ,’ उनले भने।
परराष्ट्र मन्त्री एनपी साउदले विपिनको खोजी प्रयास भइरहेको बताएका छन्।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले विपिनको खोजीको लागि इजरायल सरकारसँग निरन्तर कुरा भइरहेको बताए।
‘हमाससँग सम्पर्कमा रहेका देशका सरकारसँग पनि हामीले विपिनको खोजीका लागि आग्रह गरेका छौं,’ साउदले भने।
हमासको आक्रमणको बेला १७ जना नेपाली विद्यार्थीहरू सँगै थिए, किबुज अलुमिमको कृषि फार्ममा।
बिहानैदेखि गाजापट्टीबाट रकेटको वर्षा भइरहेको थियो। त्यो दिन केही समयको अन्तरालमै पाँच हजारभन्दा बढी रकेट इजरायलतर्फ दागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका थिए।
नेपाली विद्यार्थीहरूलाई त्यसको सुइँको नभएको विपिनसँगै रहेका वीरेन्द्र चौधरीले बताए।
‘ब्युँझदा त आकाशबाट मिसाइलहरू गइरहेको देख्यौं। नजिकै बंकर थियो। त्यहाँभित्र पसिहाल्यौं। त्यही सिकाइएको थियो,’ उनले भने।
१७ जना विद्यार्थी बंकरभित्र छिर्नासाथ बाहिर गोली चलेको आवाज सुनेको चौधरीले बताए।
‘आकाशमा मिसाइलहरू पड्किइरहेका छन्। जमिनमा गोलाबारी, बन्दुक पड्किएको आवाज आइरहेको छ,’ उनले युद्धको त्रासदी सुनाउँदै भने।
उनीहरूको रहेको बंकर सुरक्षित थिएन। ढोकासमेत नभएको बंकरमा उनीहरू एकै ठाउँमा गुँडुल्किएर बसेका थिए। ठीक त्यही बेला गणेशकुमार नेपालीले ढोकाबाट चिहाएर बाहिरतिर हेर्दै भिडिओ खिच्न थाले। हमासका लडाकुले गोली हानेर उनलाई त्यहीँ ढलाइदिए।
दिपेशराज विष्ट सुरो र सहयोगी थिए। गणेश ढलिसकेकाले अरू साथीहरूलाई बचाउन उनले दुबै हात उठाएर ठूलो–ठूलो स्वरमा ‘वि आर नेपाली.... विर आर नेपाली..’ भने।
ढोका नजिकै रहेका उनलाई पनि हमासले गोली हानेर ढालेपछि दुई वटा ग्रिनेड १५ जना विद्यार्थीहरू रहेको ठाउँतिर फ्याँकिदिए।
दुबै ग्रिनेड १५ जना भएतिरै आइपुगेको थिए। एउटालाई विपिन जोशीले बंकरभित्रै मानिसहरू नभएको कुनातिर फ्याँकिदिए।
एउटा ग्रिनेड त्यहीँ पड्कियो। ग्रिनेड पड्किएर कसैको पैताला गुम्यो। कसैको खुट्टा क्षतविक्षत भयो। चिच्याहट छायो। पाँच जना गम्भीर घाइते भए।
‘ग्रिनेड पड्किँदा म विपीनलगायत १० जना सकुशल नै थियौं। धनबहादुर चौधरी, विधान सेजुवाललगायत साथीहरू गम्भीर घाइते भएका थिए। रगतपच्छे भएका थिए,’ चौधरीले सुनाए।
त्यसको केही मिनेटपछि तीन जना इजरायली प्रहरी आएर घाइतेहरूलाई किचन भएको अर्को बंकरमा लगेको चौधरीले बताए।
‘विपिनसहित मलाई ती इजरायली प्रहरीले ५० मिटरको दूरीमा रहेको अर्को बंकरमा लगे,’ चौधरीले भने, ‘अर्को बंकरमा रहँदा विपिन चिन्तित थिए। हामी त यहाँ छौं। साथीहरू ल्याउन पाएको भए पनि हुन्थ्यो भन्दै थिए।’
५ जना घाइतेलाई छाडेर इजरायली प्रहरी हिँडेछन्। उनीहरूलाई हमासले लगे कि, आफैं तितरवितर भए त्यसको यकिन नभएको चौधरीले बताए।
‘प्रहरीले हामीलाई अलपत्र छाडेर हिँडे’ भन्दै घाइतेमध्ये केही साथीले फोन गर्न थालेको चौधरीले सुनाए। त्यसको केही क्षणपछि हमासका लडाकु बंकरभित्रै गोली बर्साउन थालेको चौधरीले बताए।
‘म छेउको कुनामा लुकिराखेको थिएँ। मसँगै विपिन पनि थिए। उनलाई हमास लडाकुले आफूतिर ताने। त्यसपछि गोली बर्साउन थाले। हामी एकै ठाउँमा थुप्रो लाग्यौं। कतिलाई गोलीले छेड्यो, कतिको प्राण उड्यो केही होस भएन। तीन–चार मिनेटपछि होस आउँदा विपिनलाई लगिसकेका रहेछन्। केही साथी चल्न चटपटाउन छाडिसकेका थिए,’ वीरेन्द्रले सुनाए।
ग्रिनेड लागेर घाइते भएका पाँच जनामध्ये धनबहादुर चौधरी र प्रवीण डाँगीमात्रै बाँचेको उनले बताए।
१७ जनामध्ये विपिन बेपत्ता छन्। हिमाञ्चल कट्टेल, विधान सेजुवाल र प्रवीण डाँगीको इजरायलमै उपचार भइरहेको छ। उनीहरू खतरामुक्त छन्। वीरेन्द्र चौधरी, धनबहादुर चौधरी, प्रमोद केसी नेपाल फर्किएका छन्। धनबहादुर चौधरीको शरीरभरि ग्रिनेडका छर्रा छन्।
‘हामी सकुशल फर्किए पनि पलपल तड्पिइरहेका छौं। १० जना साथी गुमायौं। ग्रिनेड फालेर हामीलाई बचाउने प्रिय साथी विपिन बेपत्ता छन्,’ वीरेन्द्रले भने।
आँखै अगाडि जीवनको याचना गरिरहेका साथीहरूको तड्पाइ, मृत्युवरण, घाइतेहरूको चिच्याहट देखेकाले जीवनभर त्यसको ट्रमा रहने उनले बताए।
‘आशिष चौधरीको घर यहीँ (टीकापुर) नजिकै छ। तर, उहाँको परिवारलाई समवेदना दिन जान सकिराखेको छैन। गएर के भन्नू! शोकाकुल परिवारलाई कसरी सम्झाइबुझाइ गर्नू!,’ उनले भने।