छोरी आरती साहका लागि न्याय माग्दै उनका आमा-बुवा १२० दिनदेखि माइतीघर धर्नारत छन्।
दिनभर सडकमा बस्ने उनीहरूले रात कटाउन त्रिपाललाई छानो बनाएका छन्। त्यही त्रिपालभित्र गत बुधबार उनीहरूमाथि आक्रमणको प्रयास भयो।
आरतीका बुबा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेम असार १ गतेदेखि माइतीघरमा धर्ना बस्दै आएका छन्।
बुधवार पनि दिनभर सडकमा बसेपछि साँझ सवारीको चलहपलहसँगै मानिसहरूको भीड कम हुँदै गएपछि उनीहरू त्रिपालभित्र ओत लाग्न पसेका थिए।
रात ढल्दै जाँदा विनोदप्रसाद र निर्मलालाई ब्यानरमा झुन्ड्याइएको छोरीको तस्बिरले निदाउन दिँदैन। त्यो रात पनि उनीहरू निदाएका थिएनन्। सडकको चहलपहल सुनसान बन्दै गए पनि उनीहरूको मनमा भने छोरीलाई न्याय दिन नसक्दाको तुफान चलिरहेको थियो।
राति साढे १० बजेतिर उनीहरू बसेको ठाउँमा नचिनेका चार जना मानिस आए र उनीहरूको त्रिपाल उचाल्न थाले। त्रिपाल वरिपरि कोही घुमिरहेको र आफूलाई घेरेकोबारे विनोदप्रसादले केहीबेर भेउ नै पाएनन्।
केहीबेर उनीहरू वरिपरि घुमिरहँदा बेला-बेला त्रिपाल उचालेको देखेपछि उनी आत्तिएर बाहिर निस्किए। उनी बाहिर निस्किँदै गर्दा उक्त समूहका एक जना छुरा देखाए चुप लाग्न संकेत गरे।
‘बाहिर निस्किएर हेर्दा उनीहरूले छुरा देखाएर डराउन खोजे, म चिच्याएँ,’ विनोदप्रसादले भने, ‘त्यसपछि वरपर बस्ने मानिस जम्मा हुँदै गर्दा उनीहरू भागे।’
उनीहरूको त्रिपालको वरिपरि अरू विभिन्न माग राखेर धर्ना बसेका मानिसहरू पनि छन्। उनीहरू पनि उठेर कराउन थालेपछि ती अपरिचित मानिसहरू भागेका थिए। भाग्ने क्रममा एक जनाको मोबाइल सडकमै झरेको थियो।
घटना भएको १०/१५ मिनेटमा प्रहरी आइपुगेको थियो। आफूहरूले भेटेको मोबाइल प्रहरीलाई बुझाएको विनोदप्रसादले बताए।
आफूहरू असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सिंहदरबारमा उनीहरू निवेदन दिन गएका थिए। प्रहरीले आफूहरूको उजुरी नलिएको उनीहरूको आरोप छ।
‘प्रहरीले उनीहरूको नामसहित निवदेन दिनु अनिमात्र लिन्छौं, नत्र लिदैनौं भनेर फर्काइदिए,’ उनले भने।
प्रहरी वृत्त सिंहदरबारले भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएको छ।
प्रहरी परिसर काठमाडौंका अधिकारीहरू पनि आरतीका बुवा-आमामाथि आक्रमण प्रयास भएकोबारे केही जानकारी नभएको बताउँछन्।
उक्त घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रतिनिधि सभाको बैठकमा आवाज उठाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले न्याय माग्न बसेका परिवार नै असुरक्षित हुनु परेको बताएका हुन्।
‘न्याय त पाएको छैनन्, आफू सुरक्षित भएको महशुस गर्न पाऊन। यस घटनामा सुनुवाइ होस्,’ सांसद झाले संसद बैठकमा भने।
सांसदहरूले बोले पनि यस घटनामा प्रहरी प्रशासन तथा सम्बन्धित निकायले न्यायको अनुभूति दिलाउन नसकेको विनोदप्रसादको भनाइ छ। किनकि उनीहरूले दिएको उजुरीको आधारमा पक्राउ परेका प्रतिवादी साधारण तारेखमा छुटिसकेका छन्।
‘हामी यहाँ न्याय माग्न बसिरहेका छौं, तर छोरीको हत्या आरोप लगाइएकाहरू छुटिसकेका छन्,’ उनले भने, ‘उनीहरूले नै पो आक्रमण गराएका हुन् कि भन्ने आशंका छ।’
उनका अनुसार आरतीको हत्या आरोप लगाइएका उनका श्रीमान् मोतीबाबु साह र ससुरा मदनमोहनलाई उच्च अदालत जनकपुरले साधारण तारेखमा छोडिदिइसकेको छ।
उनीहरूलाई असोज १८ गते उच्च अदालत जनकपुरले साधारण तारेखमा छोड्ने आदेश दिएको हो।
मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।
‘घटना हत्या नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको हो। फाइलहरू हेर्दा पनि आत्महत्याजस्तो देखियो,’ अधिकारीले भने।
आरती साहका परिवारले भने उनको हत्या नै भएको दाबी गर्दै धर्नालाई निरन्तरता दिइरहेका छन्।
धनुषाको नगराइन नगरपालिका-८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन्। उनीहरूले दुई छोरी र एक छोरालाई जन्म दिएका थिए।
परिवार ठिकठाक थियो। दुई वर्षअघि जेठी छोरी आरतीको बिहे पनि गरिदिए। राम्रो घरपरिवारमा बिहे भएको भन्दै विनोद र निर्मलादेवीको मन ढुक्क थियो। तर यो सन्तोक लामो समय टिकेन।
जेठ ७ गते साँझ अन्दाजी साढे ६ बजे विनोदप्रसादको मोबाइलमा आएको एक कल फोनले उनको जिन्दगी बदलिदियो। उक्त फोन आरतीका ससुरा मदनमोहन साहको थियो।
मदनमोहनले छोरीको स्वास्थ्य खराब भएर जनकपुरको काव्या अस्पतालमा लगेको र तत्काल आउनु परेको खबर सुनाए। खबर सुनेपछि विनोदप्रसादका परिवार नै अस्पताल पुगे।
‘अस्पताल पुग्दा छोरीलाई मृत घोषित गरिदिइसकेको थियो,’ उनले भने।
त्यसपश्चात उनीहरूले छोरीलाई एक पटक हेरे। उनको शरीरमा देखिएका निलडाम र सुन्निएका खुट्टाले आफैं झुन्डिएको होइन भन्ने लागेपछि कानुनी उपचार खोज्न थालेका हुन्।
उनीहरूले प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए।
जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविलाई उनीहरूले हत्या आरोप लगाउँदै उजुरी दिन गएका थिए। तर प्रहरीले उजुरी नै लिन नमानेपछि ससुरा र श्रीमानविरूद्ध मात्र उजुरी दिएका हुन्।
उनीहरूले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनविरूद्ध आत्महत्या दुरूत्साहन सँगै हत्या आरोपमा उजुरी दर्ता गराएका छन्।
उजुरी दर्ता भएसँगै जिल्ला अदालत धनुषाले जेठ ३२ गते पेसी तोकेको थियो। अदालतले माइती पक्षलाई पनि उपस्थित हुनुपर्ने भन्यो। अदालतमा निर्मलादेवी, विनोदप्रसाद, प्रेम र मनीषाको बयान लियो।
बयान लिइसकेपछि हस्ताक्षर गर्ने क्रममा भनेको भन्दा फरक कुरा लेखिएको थाहा भएपछि झडप भएको थियो। त्यतिबेला तत्कालिन जिल्ला प्रहरी एसपी र डिएसपीसहित अन्य प्रहरीले कुटपिट गरेको आरोप आरती साहको परिवारको छ।
‘प्रहरीले कान्छी छोरी मनीषामाथि कुटपिट गरेको थियो। त्यो कुरा पनि कसैले सुनेनन्,’ विनोदप्रसादले भक्कानिँदै भने, ‘अब न्याय माग्न कहाँ जाऔं।’
माइतीघर मण्डलमा आएर बसेको पनि चार महिना हुन लागिसक्यो। तर आफूहरूले न्याय पाएको महशुस गर्न पाइएको छैन। उल्टै ज्यान जोखिममा भएको उनीहरू बताउँछन्।
‘छोरीका लागि न्याय माग्दा मरिएछ भने मरियोस् तर न्याय नपाएसम्म कतै जादिनँ,’ निर्मलादेवीले भनिन्, ‘हामी पनि त्यही दिन मरिसक्यौं। जुन दिन हाम्री छोरी मरेकी थिई।’
उनी छोरीको कुरा गर्नासाथ आफूलाई सम्हाल्नै सक्दिनन्। दिनभर सडकको पेटीमा बसेर छोरीको तस्बिर हेर्दै आँसु झारेर दिन बिताउँछिन्। एक छाक खाएर भए पनि छोरीको लागि न्याय मागेरमात्र घर फर्किने अडानमा छिन्।