युद्धको भुंग्रोबाट उम्किएर आएपछिको हर्षाश्रु शुक्रबार उज्यालो नहुँदै त्रिभुवन विमानस्थलमा देखियो।
बम, बारूदको मुस्लो, गोलीका पर्रा, ग्रिनेडका छर्राहरू छिचोलेर प्रियजनको अँगालामा आइपुगेकाहरूको अभूतपूर्व खुसीको संगमस्थल बनेको थियो, विमानस्थल।
त्यही भीडमा थिए कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाबाट इजरायल पुगेका खगेन्द्र चौलागाईं।
युद्धको भुंग्रो छिचोलेर माृतभूमि टेक्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्थे। नजिकै प्रियजन र आफूसँग बाँचेर फर्किएका सहपाठी देख्दा पुलकित हुने नै भए। फुरूङ्ग पर्ने नै भए।
उनको आँखामा उत्तिकै विषाद पनि छचल्किएको छ– १० जना साथी/सहपाठी उतै गुमाएर फर्कनुपर्यो!
युद्धसँग साइनोसम्बन्ध नै नहुँदा पनि साथीहरू आक्रमणको शिकार हुनुपर्दा र युद्धको लप्कामा पर्नुपर्दा मनमा अपूरणीय चोट परेको छ।
भारी मन लिएर विमानस्थलबाट बाहिरिँदै गर्दा उनको अनुहारमा युद्धको बाक्लै सन्त्रास थियो।
उनले भोगेको त्रासदी शब्दमा समेट्न दुरूह छ। पलपल मरेर बाँच्नु परेको, कतिखेर मृत्यु टुप्लुक्क आउने हो र कुप्लुक्क निल्ने हो भनेर त्रासैत्रासमा सास अड्काएर बाँचेको क्षण बताउँदै थिए उनी।
इजरायली सेना र प्यालेस्टाइनको विद्रोही समूह 'हमास'को बारम्बार रकेट प्रहारबाट युद्धको भुंग्रो बनेको गाजाबाट तीन किलोमिटरमात्रै टाढा थिए उनी।
उनी रहेको फार्ममा दुई वटा घर थिए। जहाँ ८ जना नेपाली र १२ जना थाइल्याण्डका नागरिक थिए। झन्डै तीन सय बिघाको फार्म थियो।
शनिबारको दिन कसरी इजरायलको सीमा भत्काए? गोला, बारूद र अत्याधुनिक हाततियारसहित हमासका आक्रमणकारीहरू कसरी छिरे? उनीहरूले भेउ पाएनन्।
उनीहरू जहाँ बस्थे, आक्रमणकारीहरू त्यही बाटो भएर हिँडेका थिए। दैवसंयोग नै भन्नुपर्छ, ती आक्रमणकारीहरूले उनीहरूलाई आक्रमण गरेनन्।
‘हामी नै छेऊ भएर गएका आक्रमणकारीहरूले मानिसहरूको सघन बसोबास रहेको मौसाफ भन्ने सहरमा आक्रमण गरे,’ उनले लामो सास लिँदै भने, ‘त्यही भएर हामी बाँचियो।’
इजरायली भूमि सधैंको त्रासदीको भूमि हो। हमासले कतिबेला आक्रमण गर्छन् कुनै टुंगो हुँदैन। हमासले प्रहार गरेको रकेट आकाशमै निस्तेज हुने प्रविधि नभएको पनि होइन। त्यसले सधैँ काम गर्छ भन्ने पनि हुँदैन।
त्यही भएर ठाउँ-ठाउँमा बंकर बनाइएको हुन्छ। आकाशमा साइरन बज्नेबित्तिकै बंकरभित्र लुक्न जानु त्यहाँ सामान्य हो। उनीहरू बसेको ठाउँभरि आक्रमणकारी छ्याप्छ्याप्ती भएपछि उनीहरू बंकरभित्र लुक्न गए।
‘हाम्रो बंकर घरभित्रै थियो। बंकर घरभित्रै भएकाले चाउचाउ बिस्कुट आदि लिएर गएका थियौं। त्यही चाउचाउ बिस्कुट खाएर बस्यौं,’ उनले सुनाए।
यो पहिलो दिनको कुरा थियो।
दोस्रो दिन झनै कहालीलाग्दो थियो। कसैले बंकरको ढोका ढकढक गर्यो। उनीहरूले भाषा बुझेनन्। भित्र रहेकाहरूले सास रोक्न थाले। कसैले भगवानको नाम जप्न थाले। त्यहाँ एक प्रकारको निस्तब्धता छायो।
‘भित्र बसेकाहरू आठै जनाले अब मरियो भन्ने ठान्यौं। उनीहरूले निरन्तर ढोका ढकढक गरिरहे। हामी सबै पल्टिएर बसेका थियौं। उनीहरू बारम्बार बंकरको ढोका खोल्न खोज्थे। बलियोसँग लगाएकाले खोल्न असमर्थ हुन्थे। कतिबेला खोल्ने हुन् र हामीमाथि गोली बर्साउने हुन् भन्ने त्रासले हामी सास पनि कसैले नसुन्ने गरी फेर्थ्यौं,’ उनले सुनाउँदै गए।
आक्रमणकारीहरूले झन्डै पाँच घन्टा ढोका ढकढक गरेको उनले बताए।
ढोका नखुलेपछि उनीहरू कतिबेला गए खगेन्द्रहरूले चाल पाउने कुरा भएन। त्यही रात आइडिएफ (इजरायल डिफेन्स फोर्स)ले उनीहरूको उद्धार गर्यो।
मिसाइल पड्किइरहने आकाशमुनि कहालीलाग्दा पलहरू बिताएका कालीकोटका नवीन बम ठकुरीलाई यति छ्ट्टिै नेपाल फर्कुंला भन्ने लागेको थिएन।
एकातिर परिवार, प्रियजनको सम्झना, अर्कोतिर युद्धको भुंग्रो, कतिबेला मृत्युको पोल्टामा परिने हो कुनै ठेगान छैन। शनिबारदेखि बिहीबारसम्मको कहालीलाग्दा ६ दिन बिताएका उनी सकुशल स्वदेश फर्कन पाउँदा पुलकित देखिए।
उनी बसेको ठाउँ लेबनानको सीमा क्षेत्र हो। हमासको आक्रमणपछि इरान प्रायोजिल हिजबुल्लाह (एक सिया इस्लामिक लडाकु समूह) ले पनि आक्रमण गर्न सक्ने डर थियो।
‘हाम्रो क्षेत्रमा बमबारीचाहिँ भएन। आकाशमा साइरन बजेपिच्छे मुटुमा ढ्यांग्रो बज्थ्यो। गाजापट्टिमा भएको आक्रमणले हामीमा बेचैनी बढेको थियो। नेपाल देख्न पाइन्छ कि पाइँदैन भन्ने लागेको थियो। परिवारसँग भेट्न पाइयो,’ उनले खुसी हुँदै सुनाए।
सङ्घारमा आइरहेको दसैं पर्वका बेला कालको मुखबाट बचेर आउन पाउँदा अत्यन्तै खुसी देखिए उनी।
त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायबाट इजरायल पुगेकी स्वस्तिमा शर्माले पनि युद्धको लप्काबाट फर्किनुपर्ला भनेर सोचेकी थिइनन्।
उनी उत्तरी इजरायलमा बस्थिन्, जहाँ युद्धको असर कम्ता पर्थ्यो। तर सानो देशमा जुनसुकै बेला जे पनि हुन सक्ने जोखिम देखेपछि मनले नमानेर फर्किएको उनले बताइन्।
'हामी उत्तरमा बस्थ्यौं, घटना भएको दक्षिणतिर हो। उत्तर पनि असुरक्षित छ भन्ने सुनेपछि कसरी बस्न सकिन्थ्यो,’ उनले भनिन्।
इजरायली र प्यालेस्टाइनीहरूलाई युद्ध नौलो कुरा भएन। युद्धमै हुर्किएका र युद्ध छल्दै बाँचेकाहरू युद्धमा अभ्यस्त हुन्छन् नै। नेपाली विद्यार्थीहरूका लागि त भयंकर दुस्वप्न हो।
युद्धग्रस्त दक्षिणी क्षेत्रका मानिसहरू गोली, बम र मिसाइल छल्न बंकरभित्र बसे पनि इजिप्टको सीमा क्षेत्र जोखिम घोषणा नगरेको नेपाली विद्यार्थीले बताए।
आकाशमा मिसाइल आएको साइरनहरू बजिरहेका छन्। त्यही कर्कश ध्वनी सुन्दै डर र त्रासले पिल्सिँदै फार्ममा काम गर्नुपरेको उनीहरूले बताए।
‘इजरायल पूरै देश यति सानो छ कि त्यहाँ युद्ध सुरू भएपछि कुनै पनि स्थान सुरक्षित छ भनेर भन्न सकिँदैन। जतिखेर साइरन बज्ने! साइरन सुन्नेबित्तिकै बंकरभित्र पसिहाल्नुपर्ने! फेरि फार्ममा आएर काम गर्नुपर्ने। त्यहाँचाहिँ काम नगरी सुखै थिएन,’ फर्किएका विद्यार्थीहरू सुनाउँदै थिए।
२ सय ५३ जना शुक्रबार बिहान आइपुगे। उनीहरूलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल पुगेका थिए। आफ्ना नागरिक उद्धार गर्न सरकार जहाज नै लिएर गएपछि र सकुशल स्वदेश ल्याएकामा उनीहरू पुलकित छन्। सरकारप्रति कृतज्ञ पनि छन्।
उत्तिकै दुःख पनि छ– १० जना साथी, सहपाठीहरूले अनाहकमा ज्यान गुमाए। महेन्द्रनगरका विपीन जोशीलाई हमासले बन्धक बनाएको छ।उनीहरूको परिवारलाई कसरी सान्त्वना दिने! के भनेर पीडाको मल्हमपट्टी गर्ने!
भिडिओः