एक सातायता टीका बस्नेत कार्कीका लागि हातको मोबाइल फोन सबैभन्दा प्रिय वस्तु बनेको छ। हरदम उनको नजर त्यही फोनमै केन्द्रित भइरहन्छ।
‘उहाँ (पति) ले कतिबेला कल गर्नुहोला र ढुक्क भएर बस्नु जस्तो हुन्छ’, इलाम नगरपालिका-९ की कार्कीले भनिन्, ‘तर एक साता भयो, उहाँको नम्बरबाट कल आएको छैन। अरू नम्बरबाट कल आउँदा उहाँकै हो कि जस्तो लाग्छ।’
७ दिन अघिदेखि सम्पर्कविहीन बनेका उनका पति सेनबहादुर कार्की घरबाट काम गर्न भारतीय राज्य सिक्किम गएको असोज २५ मा दुई महिना पूरा हुँदैछ।
यसरी सम्पर्कविहीन बन्नेमा सेनबहादुर मात्रै छैनन्, टीकाकी बहिनी नरमाया, उनका पति कुमार बस्नेत र उनीहरूका ९ वर्षीया छोरी खुसी पनि सम्पर्कमा छैनन्। छिमेकी लाक्पा लामा पनि अहिलेसम्म बेपत्ता नै छन्।
असोज १६ गते राति ८ बजेसम्म परिवारका सदस्यसँग भिडिओ कलमा कुरा गरेका सेनबहादुर र अन्य आफन्त त्यसपछि सम्पर्कमा छैनन्।
दिनमा दुई-तीन पटकसम्म घरमा फोन गरिरहने, घरको हाल खबर बुझिरहने ४० वर्षीय पति, बहिनी, ज्वाइँ र छोरी एक सातासम्म सम्पर्कविहीन बनेपछि टीकासहितका परिवारजन चिन्तित छन्।
उनीहरूलाई चिन्तामा पार्ने कारक बनेको छ, असोज १६ कै राति सिक्किममा आएको भीषण बाढी र पहिरो।
टिष्टाको बाँध फुटेर सुरू भएको बाढीको कहरले सिक्किममा २२ जना सैनिकसहित १ सयभन्दा बढी बेपत्ता रहेको खबर सार्वजनिक भएको थियो। सामाजिक सञ्जालमा र टेलिभिजनका पर्दामा टिष्टा बाढीको डरलाग्दो भिडिओ बारम्बार सार्वजनिक भएका छन्। अझ केही समययता उनीहरू बाढीमै बेपत्ता बनेको भन्दै आइरहेका समाचारहरूले त टीका र परिवारको होसहवास उडाएको छ।
इलाम नगरपालिका-९ गोलाखर्कका यी पाँचै जना त्यही दिनदेखि सम्पर्कविहीन बनेकै कारण परिवारजनको चिन्ता बढेको हो। उनीहरू सबै जना सिक्किमको लाचेन थम्बु भन्ने ठाउँमा काम गरिरहेको टीकाले बताइन्।
‘दुई महिना हुनै आँटेको थियो, सिक्किमको लाचेनमा घर बनाउने काम गरिरहनु भएको थियो उहाँहरू’, पेशाले डकर्मी पतिबारे टीकाले भनिन्, ‘एउटा तीन तलाको घर बनाइसकेर अर्को सुरू भएको छ भन्नुहुन्थ्यो। त्यो दिन पनि राति आठ बजे कुरा गर्दा ज्यादै ठूलो पानी परिरहेको छ भन्नुहुन्थ्यो। त्यसपछि सम्पर्कमा आउनु भएको छैन।’
७ दिनदेखि पति र आफन्तहरूको खोजी गरिदिन टीका सबैतिर हारगुहार गरिरहेकी छन्। तर, अहिलेसम्म कुनै खबर आएको छैन। यही बेखबरले उनलाई बेचैन बनाएको छ। यही बेचैनीमा रहेकी टीका मोबाइल बज्नासाथ झसंग हुन्छिन्।
पति, बहिनी, ज्वाइँ र बहिनीको छोरी सम्पर्कविहीन बनेका बेला टीकालाई आशा लाग्ने कुरा भने छिमेकी हिमा लामाले गरिरहेकी छन्। उनीहरू जुन ठाउँमा बसेका थिए, त्यहाँ टिष्टा बाढीको जोखिम नहुने दाबी हिमाको छ। हिमाका पति लाक्पा पनि उनीहरू जस्तै सम्पर्कविहीन छन्।
‘उहाँहरूलाई सिक्किममा काम पाइन्छ, यताभन्दा राम्रो ज्याला पाइन्छ भनेर उता लैजाने लाक्पा नै हो’, टीकाले भनिन्, ‘लाक्पाको श्रीमती हिमा पनि धेरै वर्ष उतै बसेर फर्कनु भएको हो। उहाँले भने अनुसार त्यो ठाउँमा बाढी र पहिरोको डर छैन अरे। तर, त्यताको बाढीले बिजुली, टेलिफोनको लाइन बिग्रेर अहिलेसम्म सम्पर्क नगर्नुभएको हो कि जस्तो लाग्छ।’
१६ र १४ वर्षका दुई जना छोरासँग इलाम घरमा रहेकी टीकाका अनुसार दुई महिना अघि लाक्पाले सेनबहादुरलाई कामका लागि सिक्किम जान प्रस्ताव गरेका थिए। धेरै वर्षदेखि सिक्किममा जाँदै–आउँदै गर्ने अनुभवी छिमेकी लाक्पाको कुराले सेनबहादुर पनि लोभिए।
उनको साथ लागेर जान उनका साढुभाइ कुमार र साली नरमाया पनि तयार भए। हुर्किँदै गरेकी नौ वर्षकी छोरी खुसीलाई पनि साथै लिएर पाँचै जनाको टोली सिक्किम गएको थियो। उता पुगेपछि सेनबहादुरले आफ्नो मोबाइलमा लाक्पाले चलाउने भारतीय नम्बरको सीम हाले। त्यही सिमबाट घरमा फोन गर्ने उनी फेसबुकबाट घरमा भिडिओ कल गर्थे।
‘दसैं पनि आउँदैछ, उता काम गर्दा राम्रै हुन्छ भने गइहेरौं न त भनेर उहाँहरू पहिलोपटक त्यता जानुभएको हो’, टीकाले सुनाइन्, ‘हरेक दिन कम्तीमा दुई तीनपटक फोन आएकै हुन्थ्यो। अहिले एक हप्तादेखि एकपटक पनि फोन नआउँदा र बाढी पहिरोको वितण्डा सुन्दा मन पूरै आत्तिएको छ। छोराहरूको अवस्था उस्तै छ।’
एउटै गाउँका पाँच जना यतिका दिनसम्म बेपत्ता बन्दा गाउँमा चिन्ता बढेको इलाम-९ का वडाध्यक्ष गोपाल चौहानले बताए।
‘तर, उहाँहरू रहेबसेको ठाउँ बाढी पहिरोको जोखिममा नभएको कुरा सुनेका छौं’, चौहानले भने, ‘अरू बेला पनि राम्रो नेटवर्क नलाग्ने पहाडी क्षेत्रमा प्राविधिक गडबडीले सम्पर्क हुन नसकेको हो कि भन्ने हाम्रो अनुमान छ।’
यस्तै अनुमान आफूहरूले पनि गरेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
‘उहाँहरू जहाँ बसेर काम गरिरहनु भएको थियो, त्यो सुरक्षित ठाउँ हो भन्ने हामीले पनि सुनेका छौं’, प्रजिअ पोखरेलले भने, ‘त्यसैले उहाँहरू सुरक्षित हुनुहोला भन्ने हाम्रो कामना छ।’
जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सीमा सुरक्षा बललाई सम्पर्कविहीन नेपालीहरूको फोटो, नाम र फोन नम्बर दिएर खोजीका लागि अनुरोध गरेको पोखरेलले बताए।
‘उहाँहरूले हामी समन्वय गर्छौं भन्नुभएको छ’, उनले थपे, ‘हामी उहाँहरूको खबरको पर्खाइमा छौं।’