कैलाली टीकापुर नगरपालिका-१ की रचना चौधरी गत भदौ २६ गते इजरायल पुगेकी थिइन्।
सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकायबाट बिएस्सीएजी स्नातक सक्काएर ११ महिनाको कोर्स लिन उनी इजरायल पुगेकी हुन्।
‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएकी उनी इजरायलको सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरमा काम गरिरहेकी थिइन्। शनिबार बिहान हमास समूहको आक्रमणमा परिन्।
अध्ययनबाट आफ्ना सपना पूरा गर्न इजरायल पुगेकी रचनालाई एक्कासी जमिन भासिएजस्तै भयो।
‘बम बारूदको ठूलो आवाजसँगै प्रत्येक घरमा साइरन बज्यो,’ रचनाले भनिन्, ‘त्यहाँ एकाएक मानिस ढलेको दृश्यले आफू पनि मरे जस्तो लाग्यो।’
उनले थपिन्-कसैले बंकरमा प्रवेश गर्यौं भन्ने मात्र सुनिरहेको थिएँ। साइरन बज्दा बंकरमा लुक्नुपर्ने कुरा उनले इजरायल पुग्ने बित्तिकै थाहा पाएकी थिइन्।
त्यसैले नजिकैको बंकरमा आइतबार प्रवेश गरेकी रचना सोमबार बिहानसम्म त्यही छिन्।
त्यहाँ उनीमात्र छैनन्। उनीसँगै टिकापुर नगरपालिका-१ कै सुष्मा रेग्मी, लम्कीचुहा नगरपालिका-९ की आशा मिश्र, भरतपुर महानगरपालिका-१५ चितवनकी विपुशा अधिकारी पनि छन्।
उनीहरू पनि रचनासँगै एउटै टिममा इजरायल पुगेका हुन्। उनीहरू आफू भाग्यले बाँचिरहेको बताउँछन्।
उनीहरू बसेको बंकरमा चार जना नेपाली युवतीमात्र छन्। नजिकै इजरायल र थाइल्याण्डका नागरिकको घर छ। त्यहाँबाट उनीहरू बेला-बेलामा बंकरमा आइरहने भएकाले ढोका खुल्लै राख्नुपर्छ।
त्यसले गर्दा आफूहरू सुरक्षित नभएको सुष्मा बताउँछिन्। ‘बम बिस्फोट मात्रै भयो भने जोगिन्छौं होला तर आतंकवादी बंकरमा प्रवेश गरे बाँच्न सकिन्न,’ सुष्माले भनिन्, ‘आंतकवादी प्रवेश गर्ने हुन कि भन्ने डर छ।’
उनकाअनुसार उनीहरूलाई त्यहाँको ट्रेनिङ सेन्टरले सुरक्षित बस्नका लागि म्यासेज गरेको छ। ‘तपाईंहरू सुरक्षित भएर बस्नुहोला, अवस्था सामान्य भएपछि उद्धार गर्छौं,’ भनिएको छ। उनीहरू अहिले बंकरमा पनि बस्न नसक्ने र बाहिर पनि निस्किन नसक्ने अवस्थामा छन्।
‘दिनमा एक हजार पटकभन्दा बढी आक्रमण भइरहेको छ। साइरन बजेको बज्यै छ,’ उनले भनिन्, ‘दुई दिन बंकरमा बस्दा नेपालबाट ल्याएको खाने कुरा सकिन लागिसक्यो।’
नेपालबाट एक महिना अघि चिउरा, मकैलगायतका खाना लगेको उनीहरू बताउँछन्। ‘सुरक्षित स्थानमा बसेका छौं तर बाँच्छौं कि बाँच्दैनौं भन्ने पीर छ,’ बंकरमा रहेकी सुष्माले भनिन्।
इजरायलस्थित नेपाली दूतावासका अधिकारीसँगै अरू नेपालीहरू पनि उनीहरूलाई सम्पर्क गरिरहेका छन्। तर ट्रेनिङ सेन्टरले भने तत्काल अन्त सार्न जोखिम रहेको बताएको छ। ‘हामी डरले कतै जान सकेका छैनौं, आत्तिएका छौं। कतिखेर अन्त्य हुन्छ भन्ने पीर छ,’ उनले भनिन्।
पार्क तथा खुल्ला ठाउँदेखि प्रत्येक घरमा बंकर बनाइएको हुन्छ। बंकर लक गर्न पाइँदैन। त्यो इजरायलको नियम रहेको इजरायलमै बस्दै आएकी धरानकी सुनिता गुरुङ बताउँछिन्।
‘साइरन बज्नासाथ सडक, बाटोमा हिँड्दै गरेको मानिस बंकरमा प्रवेश गर्न पाउन भनेर लक गर्न नपाइने नियम बनाइएको हो,’ उनले भनिन्, ‘अहिले तत्काल आक्रमण भएको छैन। तर सामान्य पनि भएको छैन। त्यसैले जोखिममा रहेका नेपालीहरूलाई उद्धार गर्नका लागि पहल सम्बन्धित निकायमा पहल गरिरहेका छौं।’
एक महिना अघिमात्र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना, कृषि विश्वविद्यालयबाट ११९ जना र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना गरी २६५ जना विद्यार्थी इजरायल पुगेका थिए। तीमध्ये सुदुरपश्चिमबाट गएकाहरू १० जनाको मृत्यु भइसकेको छ।