१० दिनअघि इजरायलबाट घरमा भिडिओ कल गर्दा राजेश स्वर्णकारले मंगलबार साँझसम्ममा एक लाख रुपैयाँ घरमा पठाइदिने भनेका थिए।
त्यही क्रममा आफू वरिपरि रहेका ठूल्ठूला बंकरहरू पनि देखाएका थिए।
मोबाइलको क्यामेरा घुमाइ-घुमाइ इजरायलको दृश्य देखाउँदा सुनसरीको बराहक्षेत्र-११ स्थित पट्वारी टोल (यो टोल पोखरेल टोलका नामले पनि परिचित छ।) मा रहेका परिवारका सदस्य छक्क परेका थिए।
‘त्यो बंकर चाहिँ किन बनाएको?’
कान्छो भाइ चन्दनको यस्तो प्रश्नको जवाफमा राजेशले भनेका थिए, ‘यो गाजा र इजरायलको सीमा क्षेत्र हो। लडाइँ भइहाल्यो वा आक्रमण भइहाल्यो भने यही बंकरमा लुक्ने हो। तर, अहिले त्यस्तो केही छैन।’
परिवारलाई राजेशले यसरी आश्वस्त तुल्याएको १० दिन पनि बितेको थिएन, गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि ‘सरप्राइज’ आक्रमण गर्यो।
सीमा क्षेत्रमा भएको यस्तो अप्रत्याशित आक्रमणका बेला राजेशले बंकरमा लुक्ने अवसर नै पाएनन्। हमासको आक्रमणमा परी सँगै गएका अरू नौ जना साथीसँगै राजेशको पनि ज्यान गयो।
जसै इजरायलमा परिवारको साहिँलो छोराको ज्यान गएको खबर फैलियो, पट्वारी टोलमा रहेको स्वर्णकार परिवारको खुसी खोसिएको छ। गाउँभरीकै सबैभन्दा पढालु परिवार मानिने यो घरका चार मध्ये दुई छोरा इन्जिनियरिङ पेशामा छन्। साहिँला राजेश कृषि विशेषज्ञ बन्ने लक्ष्य बोकेर इजरायल हान्निएका थिए। कान्छो चन्दन भारत आन्ध्र प्रदेशमा इन्जिनियरिङ नै पढिरहेका छन्।
‘लडाइँ भइहाल्यो भने लुक्ने ठाउँ यही हो भनेर दाइले देखाउनु भएको थियो’, अहिले बिदामा घर आएका चन्दनले सोमबार दिउँसो घरमा सेतोपाटीसँग भने, ‘तर, आफैले देखाएको बंकरमा लुक्ने ‘चान्स’ नै पाउनुभएनछ।’
‘पढ्दै-कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट २८ दिनअघि २३ वर्षीय राजेश इजरायल पुगेका थिए। कृषि विज्ञानमा स्नातक तहको पढाइ सिध्याएपछि विश्वविद्यालयकै अफरमा राजेश ११ महिनाका लागि इजरायल पुगेका थिए।
यद्यपि राजेशको इजरायल प्रस्थान परिवारको पूर्ण सहमतिको परिणाम थिएन। राजेशलाई इजरायल पठाउन परिवारका कोही तयार थिएनन्।
निजामति सेवामा पाँचौं तहमा कार्यरत बुबा राजकुमार हुन् वा इन्जिनियर दुई दाइहरू मुकेश र विनोद, सबैले इजरायल जानुभन्दा अष्ट्रेलिया वा अरू कुनै ‘राम्रो देश’ जान उनलाई सुझाएका थिए। तर, अझै आठ-नौ महिनासम्म अर्को केही काम नहुने, त्यतिन्जेल घर बस्नुभन्दा ११ महिना इजरायल बसेर फर्किने भनेर उनले जिद्दी कसेका थिए।
इजरायलको कृषि क्षेत्रबाट अनुभव बटुल्ने र केही कमाइ गरेर परिवारलाई पनि सघाउने ध्येयसहित त्यहाँ पुगेका राजेशको सपना हमासको गोलीसँगै त्यतै बिलाएको छ।
उनको भौतिक शरीर र सपनाको दूरदेशमा अन्त्य हुँदा सुनसरीको घरमा भने रुवाबासी र छटपटीको उत्कर्ष छ। आइतबार राति ८ बजेतिर मात्रै परिवारले इजरायलमा छोरो मारिएको आधिकारिक खबर पाएको थियो।
‘सरकारले सार्वजनिक गरेको सूचीमा हाम्रो भाइको नाम पनि थियो’, कुरा गर्दागर्दै भक्कानिएका मुकेशले सुनाए, ‘त्यसपछि केही सोच्न, बोल्न सकिएको छैन।’
मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोगले पीडित ५६ वर्षीय बुबा राजकुमारको ओठमुख सुकेको छ। छिनछिनमा पानी घुट्क्याउँदै सान्तवना दिन आउनेहरूसँग उनी कुराकानी गरिरहेका छन्। ५० वर्षीय आमा कैलाशदेवी भने खबर सुनेदेखि अर्धचेत अवस्थामा छिन्।
घरीघरी ब्यूँझेर डाँको छाडेर उनी रुँदा घर नजिकै गोठमा रहेका गाइवस्तु पनि कराइरहेका हुन्छन्। आफन्त र छिमेकीहरू परिवारका विह्वल सदस्यलाई सम्हाल्न खोज्दैछन्। एकछिन शान्त हुने स्वर्णकार निवास एकैछिनमा फेरि रुवाबासीको कोलाहलमा प्रवेश गर्छ।
जनप्रतिनिधिहरूदेखि जिल्लाका प्रशासकहरूसम्म परिवारलाई भेट्न आइरहेका थिए। मुकेशलाई यतिबेला सबैभन्दा ठूलो पछुतो नै भाइलाई इजरायल जान अनुमति दिएकोमा लागेको छ।
‘मेरो अन्तिम रिजल्ट आउन सात आठ महिना लागिहाल्छ, ११ महिना बित्न कति नै समय लाग्छ र त्यतिन्जेल अनुभव पनि हुन्छ, कमाइ पनि हुन्छ भनेर उसैले जिद्दी गर्यो’, मुकेशलाई थकथकी छ, ‘हामीले पनि कसैसँग नबुझी उसलाई जाने अनुमति दियौं। मुख्य गल्ती नै त्यही भयो।’
मुकेशको सबैभन्दा ठूलो गुनासो सुदूरपश्चिम विश्वविद्यालयसँग छ।
‘विश्वविद्यालयले सबैभन्दा डेन्जर जोनमा आफ्ना विद्यार्थी कसरी पठायो? कलेजले कसरी सम्झौता गर्यो? विश्वविद्यालयले यसमा ठूलो कमजोरी गरेको छ’, घरैमा आइपुगेकी सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग मुकेश भन्दैथिए, ‘अनि कलेजसँग बुझ्दै नबुझी जाने अनुमति दिनु पनि मेरो कमजोरी रह्यो।’
उनले कलेजमाथि पूर्ण विश्वास गरेको र नराम्रो ठाउँमा नलाने भन्ने लागेर आफूले जान अनुमति दिएको बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले परिवारका सदस्यलाई धैर्य गर्न सुझाव दिइन्। दाइ मुकेशलाई अब परिवारको ठूलो मान्छे बलियो मन पारेर सबैलाई सम्हाल्न लाग्नु भनेर सुझाव दिइन्।
बराहक्षेत्र नगरपालिकाका जागिरे मुकेश प्रजिअको कुरा सुन्ने बित्तिकै डाँको छाडेर रुन थाले।
गाउँमा दुई विघा खेतीयोग्य जमिन भएको स्वर्णकार परिवारका चारै जना छोरा पढाइमा मिहिनेती रहेको गाउँले बताउँछन्। त्यसमध्ये सबैभन्दा तेज चाहिँ राजेश नै भएको सबैको बुझाइ छ।
‘उसले विद्यालय तहको अन्तिम परीक्षा एसइई पनि विशिष्ट श्रेणीमा उत्तिर्ण गरेको थियो’, बुबा राजकुमारले भने, ‘इनरुवाको नवयुग स्कुलबाट उत्कृष्ट अंक ल्याएर एसइई गरेको थियो।’
त्यसपछि राजेश विराटनगरस्थित शिक्षादिप कलेजमा भर्ना भए। ११–१२ को पढाइ सिध्याएपछि उनी कृषि विज्ञान पढ्न सुदूरपश्चिम गएका थिए। पूर्ण छात्रवृत्तिमा पढिरहेका राजेशले केही समयअघि मात्रै आठौं सेमेष्टर सिध्याएका थिए।
आठौं सेमेष्टर सकिएको केही समय नबित्दै विश्वविद्यालयले इजरायलका लागि परीक्षा खुलाएको र त्यसमा सहभागी भएर परीक्षा दिए लगत्तै राजेशले घरमा पासपोर्टको कुरा गर्न थालेका थिए।
‘परीक्षामा पास नहुने कुरा उसको कल्पनामा थिएन, किनभने भाइ तेज विद्यार्थी थियो’, मुकेशले भने, ‘परीक्षा दिएर पासपोर्ट बनाउन घर आएको थियो। यहाँ बनेन। अनि काठमाडौंबाटै बनाउनुपर्यो।’
केही समयपछि परीक्षाको नतिजा आयो। उनी पास भए। त्यसपछि पैसा रेडी गरिदिन उनले परिवारलाई भन्न थाले।
‘हामीले त्यता नजा, बरू अन्तै ट्राई गर्नु भनेकै थियौं’, मुकेशले थपे, ‘तर, उसले हामीलाई कन्भिन्स गरायो। अनि अनुमति र अढाइ लाख जति पैसा दिएर उसलाई बिदा गर्यौं।’
कृषि विशेषज्ञ बन्ने लक्ष्य बोकेर इजरायल गएको छोरो ११ महिनापछि फर्कने आशमा रहेको परिवार महिना दिन नबित्दै शव कुर्ने अवस्थामा पुगेको छ। तर, बुबा राजकुमार अझै पनि छोराबारे कुनै सुखद् खबर आउला कि भन्ने आशामै छन्।
‘मलाई त अझै पनि त्यही अस्ति देखाएको बंकरमा कतै लुकेर बसेको छ कि जस्तो लागिरहेको छ’, राजकुमारले भने, ‘तर, सरकारले नै छोरो मारिएको भनेपछि पत्याउन करै लाग्छ। ज्यूँदै नभएपनि अब सरकारले मेरो छोराको लाश छिटै घर ल्याइदिए हुन्थ्यो भन्ने अनुरोध छ।’
सेतोपाटीसँग यति भनेपछि राजकुमार डाँको छाडिरहेकी विह्वल श्रीमतीलाई सम्हाल्न घरभित्र पसे।
आजभन्दा २८ दिन अघि मात्रै इजरायल पुगेका राजेश बेला–बेला घरमा सम्पर्क गर्थे। नेपालमै रहेका सहपाठीहरूसँग पनि नियमित सम्पर्कमै थिए। परिवारसँगको अन्तिम कुराकानी भने १० दिनअघिको त्यही भिडिओ कल थियो। जहाँ उनले मंगलबार बेलुकासम्ममा एक लाख रुपैयाँ पठाउने भनेका थिए। र, मोबाइलको क्यामेरा घुमाएर ती बंकरहरू देखाएका थिए, जहाँ लुक्ने अवसर नपाउँदा उनी सदाका लागि इजरायलमै अस्ताए।