आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ।
चीनमा सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी उनको निधन भएको हो।
दुई महिनाअघि तेन्जेनले आरोहणमा विश्व रेकर्ड बनाएका थिए।
गत साउन ११ गते बिहान ११ बजेर ४५ मिनेटमा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको आरोहण गरेर संखुवासभा, ठाँगेका तेन्जेन लामा र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले ८ हजार मिटर अग्ला १४ हिमाल ९२ दिनमै चढेर विश्व कीर्तिमान बनाए।
त्यसअघि उक्त कीर्तिमान निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर सो रेकर्ड बनाएका थिए। तर तेन्जेनले पुर्जाको रेकर्ड ९२ दिनमै अर्थात् आधा समयमै तोडिदिए। उनको रेकर्डको विश्वभर चर्चा भयो।
नयाँ रेकर्ड बनाएर नेपाल फर्किएपछि तेन्जेन केही समय आराम गर्न चाहन्थे। तीन महिनामा चौध वटा हिमाल चढ्नु परेकाले उनको शरीरले आराम पाएको थिएन। त्यसैले परिवारका साथ केही समय थकान मेट्ने उनको योजना थियो।
तर यही बीचमा दुई जना अमेरिकी महिला पर्वातारोहीहरू एउटा कीर्तिमान बनाउने प्रस्ताव लिएर आए। उनीहरू चीनमा रहेको सिसापाङ्मा हिमाल चढेर विश्वका १४ अग्ला शिखर चढ्ने पहिलो अमेरिकी महिलाको कीर्तिमान बनाउन चाहन्थे। र कीर्तिमान चुम्नका लागि त्यहीँ एउटा सिसापाङ्मा मात्र बाँकी थियो। त्यसका लागि उनीहरूलाई नेपाली गाइडरहरूको सहायता चाहिएको थियो।
सोही क्रममा सेभेन समिटले उनै तेन्जेनलाई यो कामको लागि खटाइदियो। काममा इमान्दार कहलिएका तेन्जेन पनि कम्पनीले सुम्पिएको जिम्मेवारी सम्हाल्न तयार भए। अर्का गाइड भने निर्मल पुर्जाको कम्पनी एलिट एक्स्पेडिसनबाट मिङ्मार शेर्पा थिए।
‘सिसापाङ्मा जाने टोलीमा हाम्रा थुप्रै साथीहरू थिए। तर हामीलाई अरूभन्दा तेन्जेनमाथि धेरै भरोसा थियो। उसले नै यो काम गर्न सक्छ भन्ने भयो,’ सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भने।
तेन्जेन आफ्नो काममा इमान्दार र दक्ष भनेर चिनिन्थे। यसअघि नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाको कीर्तिमानी अभियानमा पनि कम्पनीले उनैलाई जिम्मा दिएको थियो।
तेन्जेन सिसापाङ्माका लागि असोज १४ गते नेपालबाट गएका थिए। असोज १७ गते दुई अमेरिकी पर्वातारोहीसहितको टोली सिसापाङ्मा शिखरतर्फ अगाडि बढेको थियो। गत शनिबार बिहानसम्मको समयमा आइपुग्दा चार जना टोली करिब ८ हजार मिटरको उचाइमा थिए र शिखर चुम्नका लागि केही घन्टामात्र बाँकी थियो। तर त्यहीबेला ठूलो हिमपहिरो खस्यो। निमेषभरमा चारै जना आरोही हिउँको भीषण बाढीमा हराए।
हिमपहिरो गएको थाहा पाएपछि बेस क्याम्पमा रहेका अन्य गाइडले तत्काल उद्धारको कामलाई अगाडि बढाए। खोजी कार्यको क्रममा अमेरिकी पर्वातारोही अन्ना गुटु र नेपाली पर्वातारोही मिङ्मार शेर्पाको शव भेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
तेन्जेनसहित अर्की अमेरिकी पर्वातारोही जिना मारीको स्थिति अज्ञात नै छ। तर अहिले उनीहरूको खोजीकार्य रोकिएको छ। झन्डै सात घन्टाको खोजीकार्यमा केही पत्ता नलागेपछि उद्धार टोली फर्किएको छ। हिमपहिरो ठूलो गएको र उचाइ पनि धेरै भएकाले खोजीकार्य गर्न निकै गाह्रो भएको उल्लेख गर्दै सेभेन समिटका अध्यक्ष मिङ्मा लामा भन्छन्, ‘झन्डै सात घन्टा खोजी कार्य भयो तर केही पत्ता लागेन। ठाउँ निकै अफ्ठ्यारो भएकाले अब खोज्न सम्भव छैन र उद्धार टोलीले पनि मृत्युको घोषणा गरिसक्यो।’
गएको जेठमा मात्र तेन्जेन र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले यही सिसापाङ्मा हिमालबाट सबैभन्दा छोटो समयमा १४ अग्ला हिमाल चढ्ने विश्व कीर्तिमानको आरम्भ गरेका थिए। सुरूमा सिसापाङ्मा चढेका उनीहरूले गत साउन ११ गते पाकिस्तानको केटू चढेर ९२ दिनमै सो रेकर्ड बनाएका थिए। उनै तेन्जेन अहिले सिसापाङ्मामा अस्ताएका छन्।
तेन्जेनको घटनाले अहिले कपनमा रहेको उनको परिवार र उनी आवद्ध रहेको सेभेन समिट कम्पनी शोकमा छ।
संखुवासभाको विकट मानिने ठाँगेमा जन्मेका ३४ वर्षीय तेन्जेनलाई सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले नै आरोहण क्षेत्रमा ल्याएका थिए।
‘यो मान्छेले गर्नसक्छ भनेर ल्याएका थियौं। र गरेर संसार देखायो पनि। आज उ मरेर गयो तर उसको नाम पृथ्वी रहुञ्जेल रहने छ। त्यसमै हामीले चित्त बुझाउनुपर्छ,’ मिङ्माले भने।
तेन्जेनको घटना सुनेर क्रिस्टिन पनि हिजै नेपाल आइपुगेकी छन्। तेन्जेनकै सहयोगमा क्रिस्टिनले सबैभन्दा छोटो समयमा विश्वका अग्ला १४ शिखर चढ्ने विश्व कीर्तिमान बनाएकी थिइन्। उनी अबका दिनमा तेन्जेनको परिवारलाई सहयोग गर्न चाहन्छिन्।
‘तेन्जेनले नै ज्यान दिएका कारण क्रिस्टिनले विश्व कीर्तिमान बनायो। त्यसैले पनि ऊ निकै दुःखी छ। घटना सुन्नेबित्तिकै उनी नर्वेबाट हिजै काठमाडौं आइपुगिसक्यो। अब मिलेर परिवारलाई हेर्ने भन्ने सल्लाह भएको छ,’ मिङ्माले भने।
तेन्जेनका श्रीमती र दुई जना छोराहरू छन्।
विगत ८ वर्षदेखि आरोहण क्षेत्रमा सक्रिय रहेका तेन्जेन त्यसअघि गाउँमै खेती-किसानी गर्थे। स्कुलमा पाइलासमेत नटेकेका उनको दैनिकी गाई-भैंसी चराउने र खेती किसानीमै बितिरहेको थियो।
एक दिन सेभेन समिटको टोली उनको गाउँमा पुग्यो। सेभेन सिमिटका अध्यक्ष मिङ्मा शेर्पालाई तेन्जेनले काम खोजिदिन आग्रह गरेपछि मिङ्माले उनलाई आरोहण क्षेत्रमा ल्याएका थिए।
तेन्जेनले आफ्नो आरोहणकालमा विश्वका सबै हिमाल चढे, कीर्तिमान बनाए तर उनले चाहेको एउटा कीर्तिमान भने पूरा हुन पाएन।
‘अबको लक्ष्य डबल १४ पिक गर्ने हो। त्यसको लागि अब जम्मा ६ वटा हिमाल बाँकी छ। १४ पिक गरेकोले अहिले शरीर थाकेको छ। केही समय आराम गरेर यसमा लागिहाल्छु,’ केही समयअघि सेतोपाटीसँग तेन्जेनले भनेका थिए।