दोस्रो विवाह गरेको २४ वर्षपछि जेठी पत्नीविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेको पूर्वजिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले फेरि जेठी पत्नीविरूद्ध गाली-बेइज्जतीको फिराद हालेका छन्।
अदालतमा विचाराधीन सम्बन्धविच्छेद मुद्दाबारे सेतोपाटीमा प्रकाशित समाचार फेसबुकमा सेयर गरेर ‘मानमर्दन गरेको’ भन्दै उनले लमजुङ जिल्ला अदालतमा गाली-बेइज्जतीको मुद्दा दर्ता गराएका हुन्।
अर्घाखाँचीका पूर्वजिल्ला न्यायाधीश रहेका भट्टराईले वारेसमार्फत् लमजुङ जिल्ला अदालतमा गाली-बेइज्जतीको अर्को मुद्दा हालेका हुन्।
पूर्वजिल्ला न्यायाधीश भट्टराईले गत असार २५ गते जेठी पत्नी मिठूविरूद्ध लमजुङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका थिए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेका श्रीकृष्ण भट्टराईले उनको नियुक्तिपछि ‘नैतिकता देखाउँदै’ जिल्ला न्यायाधीशबाट राजीनामा दिएपछि चर्चामा आएका थिए।
मिठूसँग २०४२ सालमा विवाह गरेका भट्टराईले २०५६ मंसिर २६ गते शारदा सिलवालसँग दोस्रो बिहे गरेर एक जना छोराको जन्मसमेत भएको थियो। दोस्रो बिहे गरेको २४ वर्षपछि जेठी पत्नीविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि सेतोपाटीले समाचार लेखेको थियो।
पढ्नुस्:
त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेर गाली बेइज्जती गरेको भन्दै उनी फेरि अदालत गएका हुन्।
‘मउपर मिति २०८०/०५/२९ अर्थात् १५ सेप्टेम्बर २०२३ मा सम्मानित अदालतमा लिखित गाली, बेइज्जती मुद्दा दायर गरेकी विपक्षीले मुद्दा दायर गरेको १० दिनपछि उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा मेरो चरित्रहत्या हुनेगरी निजको फेसबुक प्रोफाइल लिङ्कबाट सेतोपाटी अनलाइन मिडियामा गत २ साउन २०८० मा प्रकाशित सामाग्री पुनः शेयर गरेको पाइयो। जसमा सम्बन्धविच्छेद मुद्दाको फिरादमा लेखिएको विषयलाई मेरो बद्नाम र चरित्रहत्या हुनेगरी अतिशयोक्ति रूपमा प्रकाशित गरिएको छ भने विपक्षीको भनाइसमेत उद्धृत गरिएको छ। उक्त समाचारमा प्रयुक्त भएको भाषा र आसय हेर्दा वादीलाई फाइदा र मेरो इज्जत, प्रतिष्ठामा प्रत्यक्ष हानिनोक्सानी पुर्याउने बद्नियत प्रस्ट देखिन्छ,’ भट्टराईले जेठी पत्नीविरूद्ध दर्ता गरेको गाली बेइज्जती मुद्दाको फिरादमा भनिएको छ।
उनले फिराद पत्रमा जेठी पत्नी मिठूले आफ्नो मानमर्दन हुने सामग्री पटक-पटक सेयर गरेको, उनले फेसबुकको साथीको सूचीमा र सम्बन्ध नभएका न्यायपालिकासँग सम्बन्धित न्यायाधीश, वकील, न्यायपालिका कर्मचारी, पत्रकार, सरोकारवाला समेत फ्रेन्ड बनाई विद्युतीय माध्यमको दुरूपयोग गरेको बताएका छन्। त्यस्तै मिठूले समग्र न्यायपालिका वा अदालतप्रतिको जनआस्था गिराउने, न्यायकर्मी, न्यायाधीश वर्गमाथि नै सामूहिक रूपमा मानमर्दन गर्ने गरी लिखित गाली बेइज्जतीजन्य भाषा, शब्दावली नियतवस प्रयोग गरेको उनले बताएका छन्।
बुढेसकालमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर अदालतको बाटो देखाएका उनले जेठी पत्नी मिठूले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६(१)(क) आकर्षित हुनेगरी गाली बेइज्जतीको कसुर गरेको जिकिर गर्दै क्षतिपूर्ति समेतको माग दाबी गरेका छन्।
‘यो समग्र न्यायमूर्ति माथि नै प्रश्न चिन्ह उठ्न सक्ने सवाल हुनसक्छ,’ भनी ममाथि व्यक्तिगत रूपमा लाञ्छनामात्र नलगाई समग्र न्यायपालिका वा अदालतप्रतिको जनआस्था गिराउने वा न्यायकर्मी वा न्यायाधीशवर्ग माथि नै सामूहिक रूपमा मानमर्दन वा लिखित गाली बेइज्जतीजन्य भाषा वा शब्दावली नियतवस प्रयोग गरेकाले उक्त वाक्यांश वा शब्दावली वा हरफ वा समग्र अनुच्छेद नै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६(१)(क) बमोजिम लिखित गाली बेइज्जतीको परिभाषाअन्तर्गत पर्ने भएकोले उक्त फौजदारी कसूर गरेबापत प्रतिवादीलाई ऐ. दफा ३०७(१) को उपदफा (१) बमोजिम सजाय गरी ऐ. उपदफा (२) अनुसार क्षतिपूर्ति भराइपाऊँ,’ उनले फिरादमा भनेका छन्।
गत असारमा आफूविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा गर्दा गरेपछि मिठूले पनि साउनमा अंश, मानाचामल मुद्दा दर्ता गराएकी छन्। भट्टराईकी कान्छी पत्नी शारदाको भागमा बढी जायजेथा पारिएको भन्दै अंश भरपाई जालसाजीको मुद्दा पनि दर्ता गरेकी छन्।
सम्बन्ध विच्छेदको फिरादमा पूर्वजिल्ला न्यायाधीश भट्टराईले जेठी पत्नीलाई ‘चरित्रहीन’ चित्रण गर्न खोजेका थिए। मीठू आफूभन्दा १० वर्ष जेठो उमेरकी रहेको र बिहेपश्चात् कहिल्यै सम्बन्ध राम्रो नभएको बताएका थिए। गाउँघरतिरका मानिसहरूले जेठी पत्नीको चरित्रबारे प्रश्न उठाउँदा पनि आफू निरीह बन्नु परेको वृत्तान्त लेखेका छन्।
उनको फिराद पत्रको अंश यस्तो छ–
काठमाडौँ अध्ययन गर्दैको अवस्थामा बेसी सहरतिरको एकजना मानिससँग भेट भयो। उसले निज र विपक्षी (मिठू) सहपाठी भएको, आफू २०३५ सालको एसएलसी फेल भएपछि सेनामा भर्ती भएको बताए। निजले विपक्षीको चरित्र र विगतको बारेमा सुन्ने नसक्ने किसिमका जथाभावी कुरागरी मलाई होच्याउने र जिस्क्याउने गर्न थाले। जेजस्तो भएपनि आफ्नै स्वास्नीलाई चरित्रहीन भनी आफ्नै अगाडि कुरा काटेको सुन्ने सहास कुनै पनि लोग्नेमा हुँदैन। विपक्षीको विषयलाई लिएर निजसँग मेरो ठूलो वादविवाद भयो। निजले ‘जो चोर उसकै ठूलो स्वर’, ‘आफैँ अर्काले चाखेर गर्भवती बनाइ छोडेको केटी विवाह गर्ने उल्टो ठूलोकुरा गर्ने’ भनेपछि हाम्रो बीचमा हात हालाहाल भयो। शारीरिकरूपमा निज मभन्दा बलिष्ठ भएकोले मैले कुटाइ खानुपयो। वरिपरिका साथीहरूले छुट्या । मैले जेपायो त्यही कुरा गर्न पाइँदैन, मेरो स्वास्नी मसँग विवाह हुनुपूर्व अर्कासँग विवाह गरेको, गर्भपतन गराएको भए प्रमाणित गर भन्दा निजले ‘तेरो ससुराले होटल चलाउने, होटलमा आएका ग्राहकसमक्ष मासु, रक्सी बोकाइ विवाह गर्ने उमेर भएकी छोरी एकान्त कोठामा पठाइदिने, लाहुरे केटा आएमा निजले रक्सीको सुरमा समातेमा विवाह गर् भनी दबाब दिने, नमाने पुलिस लगाइ जबरजस्ती गर्ने गरेको कुरा बताए। यसैक्रममा एउटा इण्डिया आर्मीबाट छुट्टिमा आएको केटालाई जबरजस्ती भिडाएपछि निजले बाध्यतावस तैंले अहिले विवाह गरेको केटी विवाह गरी लगेको तर पछि भागी सम्पर्कमा नआएकोले पेटमा रहेको गर्भ पतन गराइ राखेको अवस्थामा तँलाई विवाह गरी भिडाइदिएका हुन्’ भनी बताएकोले म छाँगाबाट खसेजस्तो भएँ। त्यो कुराले म विक्षिप्त भएँ, ममा एक किसिमको पागलपन सवार भयो। गाउँ, समाजमा कसरी मुख देखाउने होला भन्ने अन्नमनस्क भएँ। एकमन त सरासर गएर म नाबालिगलाई ढाँटेर विवाह गर्ने विपक्षी, त्यसरी विवाह गराइदिने निजका बाबु लगायतलाई भौतिक आक्रमण गरौँजस्तो लाग्यो भने अर्कोमन आफैँ आत्महत्या गरौंजस्तो पनि लाग्यो। भौतिक आक्रमण गर्दापनि जेल जानुपर्ने र आत्महत्या गर्दापनि वृद्ध आमाबुबाको बिचल्ली हुने भनी साथीहरूले सम्झाए, निजहरूले बरू लमजुङ गएर यो कुराको यथार्थ पत्ता लगाइ दिनोफानो गर्ने सुझाए।
बूढेशकालमा यस्तो लाञ्छना सहनुपरेपछि आफूले पनि लम्जुङ जिल्ला अदालतमा गालीबेइजतीको मुद्दा दर्ता गरेको मिठूले बताइन्।
‘म अझै फेदीकुना नै छु। एक त बूढेशकालमा साहारा कोही छैनन्। अर्को चरित्रहीन भन्दै मुद्दा हालेपछि मैले समाजमा कसरी मुख देखाउने? लोग्नेले भनेपछि हो क्यारे भन्लान् भन्ने पीर भयो अनि मुद्दा दर्ता गरें,’ उनले सेतोपाटीसँग भनिन्।
जेठी पत्नी मिठूले हालेको गालीबेइजतीको मुद्दामा प्रयुक्त भाषाले अदालतकै मानमर्दन हुन गएको भट्टराईले आफ्नो फिरादमा उल्लेख गरेका छन्।
भट्टराईले मीठूसँग विवाह गर्दानै उमेरान्तरको ठूलो खाडल रहेको आफ्नो र जेठी पत्नीको पारिवारिक पृष्ठभूमि, शारीरिक र मानसिक सोच जस्ता धेरै असमानता र असमझदारी रहेको बताएका छन्।
‘निज र म व्यवाहरिक एवं पारिवारिक रूपमा छुट्टिई अलग–अलग बस्न थालेको करिब ८–९ वर्षपछि मेरो विवाह शारदा सिलवाल खत्रीसँग भयो। शारदाबाट मेरो १ छोराको जन्म भयो। वादीतर्फका दुवै छोरीहरूको पालनपोषण, पढाइ– लेखाइ, शिक्षादीक्षा जस्ता अभिभावकीय दायित्व मैले पूरा इज्जत आमदअनुसार उत्कृष्ट रूपमा पूरा गरिदिई शानदारसँग निजहरूको विवाहदानसमेत गरिदिई निजहरू आ–आफ्नो घर गरी खाएका छन्। यसैबीच समयान्तरमा मेरो बुबा–आमा र एकमात्र पुत्रको पनि असामयिक देहान्त भयो। मैले पितृ र पुत्रवियोगसमेत बेहोर्नुप¥यो। वादीसँग शारीरिक रूपमा पति–पत्नीको व्यवहार वा सम्बन्ध टुटेको वा निरन्तरता नपाएको तीसौँवर्ष व्यतीत भए पनि हालसम्म वादी नाताले प्राविधिक रूपमा मेरी पत्नी हुन्। विपक्षीसँग कानूनी रूपमा सम्बन्धविच्छेद हुन सकेको थिएन,’ उनले गाली बेइजतीको फिरादमा पनि लेखेका छन्।
न्यायमूर्तिको भूमिका रहिसकेका पतीबाट पनि चरम अन्याय सहनु परेको गुनासो गरिन्।
‘फेदीकुना आएर सोध्नुभयो भने पनि थाहा हुन्छ–मैले कति दुःखले दुई छोरी हुर्काएँ। बढाएँ। उमेरमा पनि उहाँले सुख दिनुभएन। बूढेशकालमा पनि अनेक लाञ्छना लगाउँदै मुद्दा हाल्नु भएको छ। न्याय दिने ठाउँमा बसिसकेका आफ्ना पतीबाटै अन्याय हुँदा साह्रै मन दुख्दो रहेछ,’ उनले भनिन्।