काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीले दिएको थप घटनाको बयानलाई पुष्टि गर्न प्रहरीमाथि चुनौती थपिएको छ।
उनले दिएको बयान अनुसार घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार ७ दिनको म्याद थपिएको छ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं असोज १ गते पक्राउ गरी सार्वजनिक गरेको हो।
भदौ २९ गते राति तीनकुनेस्थित श्री दिव्य स:मिल तथा काष्ठ उद्योगमा दोलखा घर भएका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रासँगै नविन भनिने विशाल राईको हत्या भएको थियो।
उक्त घटना आफू एक्लैले गरेको प्रहरीसमक्ष भण्डारीले स्वीकार गरिसकेका छन्। घटनाको प्रकृति र उनले प्रहरीलाई दिएको बयान अनुसार ती चारै जनाको हत्या सञ्जयले गरेको पुष्टि भइसकेको छ।
तर सोही घटनाको बयान तथा सोधपुछको क्रममा आफूले यस्तै हत्या अरू ठाउँमा पनि गरेको बताएपछि अनुसन्धानमा चुनौती थपिएको परिसरका एक प्रहरी अधिकारीले जानकारी दिए।
सञ्जयले प्रहरीलाई दिएको बयान अनुसार उनले काठमाडौंको भत्केको पुल (कालोपुल), नक्साल, धुम्बराई, बोडेसँगै सिन्धुपाल्चोकमा विभिन्न ठाउँमा मानिसको हत्या गरेको बताएका छन्।
उनी बोल्न सक्दैनन्। त्यसैले उनको सांकेतिक र लिखत रूपमा बयान लिने काम भइरहेको छ।
उनले भनेका केही घटना मिल्दाजुल्दा भए पनि पुष्टि हुने प्रमाण नभेटिएकोले प्रहरीलाई सकस भइरहेको परिसरका एक प्रहरी अधिकारीले जानकारी दिए।
'उनले भनेको केही घटनाका प्रकृति मिल्दाजुल्दा छन्', अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, 'उनलै गरेका हुन् कि होइन भन्ने पुष्टि हुन बाँकी छ।'
उनको दाबी र तीनकुनेको घटना प्रकृति हेर्दा बताएका घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ।
किनकि कसैको हत्या गरेर त्यही घरमा डेढ घन्टासम्म सुतिरहने हिम्मत जो कोहीको नहुने प्रहरी बताउँछन्। त्यसैले यसअघि पनि उनले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।
भदौ २९ गते राति घटेको घटना हेर्दा उनी त्यो दिन बिहान सिन्धुपाल्चोकबाट खुकुरी बोकेर नै काठमाडौं आइपुगेको पाइएको छ। उनी कोटेश्वरमा झरेपछि पुन: बस चढेर चाबहिल पुगेका हुन्।
घटनाबारे सोधपुछ गरेका दोभासेका अनुसार उनी चाबहिल झरेर गणेशमन्दिर, हाँडीगाउँ हुँदै नक्साल हिँडेर पुगेका छन्। त्यहाँ पुगि साथीहरूसँग भेटघाट गरी साँझ पुन: हिँड्दै तीनकुने आइपुगेको बताएका छन्।
हिँड्दै आउँदा तीनकुनेको मिलमा नविन राईलाई देखेपछि त्यहाँ प्रवेश गरेको उनले बयानमा भनेका छन्।
नविन राईले असारको अन्तिम सातातिर सडकमा हिँडिरहँदा मोटरसाइकलले ठक्कर दिएर गाली गरेको र तीनकुनेमा उसलाई देखेर चिनेपछि आफू उक्त कारखानमा छिरेको सञ्जयले बताएका छन्। कारखानमा प्रवेश गरी एउटा कोठामा बसेको र नविन प्रवेश गर्नसाथ उनलाई एकमुक्का हानी एकछिन हानाहान भएपछि खुकुरी प्रहार गरेको उनले बयान दिएका छन्।
नविनको हत्या गरिसकेपछि फोनमा कुरा गर्दै पूर्णबहादुर त्यही कोठामा प्रवेश गरेसँगै आफूलाई बचाउन उनलाई पनि खुकुरी प्रहार गरेको बयान दिएका छन्।
पूर्णबहादुरको हत्या गरी शौचालयको नजिक छुपाउन खोज्दा उनकी श्रीमती अम्बिका आएकाले उनको पनि हत्या गरे। त्यस्तै उनलाई नजिककै धारामा पुर्याउँदै गर्दा पूर्णबहादुरकी आमा शुभद्रा छामछुम गर्दै भित्ताको सहारामा त्यही कोठामा प्रवेश गरेपछि उनलाई पनि खुकुरी प्रहार गरेको बयान दिएका छन्।
उनको भनाइ अनुसार बुढी मान्छेमाथि खुकुरी प्रहार गर्दा अनुहार र लुगामा रगत परेको थियो। शव कारखानाको एक कुनामा राखेर धारामा अनुहार र खुकुरी सफा गरी पहिले प्रवेश गरेकै कोठा गई डेढ घन्टा सुतेको उनले भनेका छन्।
'हत्या गरेर आरामले त्यही कोठामा सुतेको बताउँछन्,' दोभासे भन्छन्, 'त्यस्तो गर्न कमजोर मन भएकाले सक्दैनन्।'
डेढ घन्टा सुत्दा त्यहाँ कोही आएको जस्तो लागेपछि उक्त मानिस आफूभन्दा बलियो देखेर पछाडिबाट भागेको सञ्जयले बताएका छन्।
उनले भनेका कुरा र प्रहरीले संकलन गरेका प्रमाण मिल्दाजुल्दा छन्। तर परिसरका प्रहरी अधिकारीका अनुसार नविनले मोटरसाइकलले ठक्कर दिएको घटना भने सत्य हो कि होइन भनेर भन्न सक्ने अवस्था छैन।
किनकि उनी नक्सालदेखि हिँड्दै जाँदा थकाइ लागेर त्यहाँ प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ। बयान सुन्दा उनी हिँड्दै गर्दा थकाइ लागेको अवस्थामा जो कोहीको घरमा सजिलै प्रवेश गर्ने गरेको उनी बताउँछन्। उक्त घटनाभन्दा पहिला धेरैपटक अन्जान व्यक्तिको घरमा पसी रातभर बसेर बिहान हिँडेको घटना सुनाएका छन्।
त्यसैले उनी त्यो दिन पनि नक्सालदेखि हिँड्दै जाँदा त्यहाँ पसेको हुनसक्ने प्रहरीको आकलन छ। त्यहाँ पस्दा नविनले केही प्रश्न गर्दा आक्रोशमा आएर हत्या गरेको हुनसक्छ। किनकि प्रहरी अनुसन्धानमा उनले रिस शान्त पार्नका लागि हत्या गर्ने गरेको दाबी समेत गरेका छन्।
उनको बयान अनुवाद गरेका दोभासे भन्छन्- उनी एकपल्ट देखेका र सुनेका कुरा लामो समयसम्म स्मरण गर्न सक्ने क्षमताका छन्।
यसअघि गहनापोखरीस्थित भएको हत्या आरोपमा प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालय बोलाएको थियो। त्यो समयमा पनि बोल्न नसक्ने भन्दै उनलाई छाडिएको थियो। त्यसपश्चात यस किसिमका घटनामा उनको मनोबल बढेको देखिन्छ।
‘त्यसपश्चात नै आफूले विभिन्न ठाउँमा मानिसको हत्या गरी टुक्रा-टुक्रा पारेर कहिले खोलामा त कहिले माटोमुनि गाडेको बयान दिएका छन्’, उनको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने।त्यही घटना पुष्टि गर्न आफूहरू लागिपरेको ती प्रहरी अधिकारीले बताए।
अहिले पनि उनी केही दिनमा आफू छुट्ने कुरामा विश्वस्त छन्। आफू केही दिनमा छुट्ने र घर जाने भन्दै प्रहरीलाई तनाव दिने गरेको अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले जानकारी दिए।
उनले कक्षा १२ सम्म पढेका छन्।
सिन्धुपाल्चोकमा जन्मेका उनले सिन्धु बहिरा आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढेका छन्। त्यसपश्चात थप अध्ययन काठमाडौंको नक्सालस्थित गरेको केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयबाट गरेका हुन्। उनले त्यहाँ ०७५ सालमा एसइई दिएका विद्यालयको तथ्यांकमा छ।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीका अनुसार सञ्जयले २०७८ सालमा १२ पास गरेका हुन्।
'त्यसपश्चात उनी विद्यालयमा कहिल्यै आएका छैनन्,' प्रधानाध्यापक पराजुलीले भने।
उनी विद्यालयमा पढ्दा त्यति धेरै सक्रिय नहुने गरेको प्रधानाध्यापक पराजुली बताउँछन्।
'एक्कासि घटना बाहिर आउँदा मात्र थाहा भयो,' प्रधानाध्यापक पराजुलीले भने, 'विद्यालयमा उनको स्वभाव साधारण देखिन्थ्यो।'