बाल सुधार गृहमा बस्दै आइरहेका १८ वर्षभन्दा माथिका बालकहरूलाई छुट्टै राख्ने तयारी भइरहेको छ।
बालसुधार गृहमा राखिएका बालकहरूको स्वभाव हरेरे उनीहरूलाई छुट्टै राख्ने निर्णय गरिएको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले १८ वर्षभन्दा माथिका बालकहरूलाई उनीहरूको स्वभाव र चालचलन हेरेर छुट्टै राख्ने तयारी गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरेले बताइन्।
उनका अनुसार बाँके बैजनाथ गाउँपालिका-५ नौवस्तामा कारागारको भवन बनिरहेको छ। त्यही भवनको एउटा ब्लकमा बाल सुधार गृहका बस्दै आएका १८ वर्षमाथिका बालकलाई राख्ने तयारी भइरहेको छ।
'त्यहाँ ३ सय बालकहरू अट्ने अनुमान गरिएको छ,' प्रवक्ता घिमिरेले भनिन्।
बाल सुधार गृहमा बस्ने १८ वर्ष उमेर कटेका सबैलाई त्यहाँ राखिने होइन। किनकी त्यहाँ सबै अट्दैनन्। त्यसैले उनीहरूको व्यवहार चाल-चलन अवलोकन गरेरमात्र त्यहाँ पठाउने तयारी छ।
‘समूहमा मिलेर नबस्ने र झगडालु स्वभाव भएका १८ वर्षमाथिका बालकहरूलाई पहिलो चरणमा त्यहाँ पठाउँछौं,' उनले भनिन्, 'सुधार गृहसँग छलफल गरी छानेर पठाउँछौं।'
उक्त कारागार जति सक्यो छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको भए पनि कहिलेबाट सञ्चालन हुन्छ भन्न नसकिने उनी बताउँछिन्।
त्यसका लागि बाल सुधार गृहको प्रशासनिक कोठा, भान्सा र बालकहरू सुत्ने कोठाकोको व्यवस्थापन भइरहेको छ। साथै, नयाँ कर्मचारी माग गरी नियुक्ति गर्न लामो समय लाग्ने हुँदा सुधार गृहमा काम गरिरहेका व्यक्तिहरूलाई नै सुरूवा गरी सञ्चालनमा ल्याउन खोजिएको हो।
‘पछिल्ला केही घटनाले पनि त्यो ठाउँ छिट्टै सञ्चालनमा ल्याउन दबाब दिइरहेको छ,' प्रवक्ता घिमिरेले भनिन्,'घटनाअघि नै योजना बनिसकेकाले काम तीव्र गतिमा भइरहेको छ।'
१८ वर्षमाथिका बालबालिकालाई सुधार गृहबाट कारागार सरूवा गर्ने कानुनी व्यवस्था छैन। तत्काल कानुन संशोधन गर्ने तयारी पनि छैन। त्यसैले उनीहरूलाई छुट्टै राख्ने योजना बनिरहेको थियो।
सुधार गृहमा भएका विभिन्न घटनाबारे छानबिन गर्ने विभिन्न संघसंस्थाले पनि १८ वर्षभन्दा माथि उमेर समूहले कम उमेरकालाई दबाबमा राख्ने भएकाले झगडा हुने गरेको प्रतिवेदन सार्वजनिक गरेका छन्।
स्थलगत अध्ययनमा पनि त्यस्तै बुझिने घिमिरेको भनाइ छ।
पुरानोले नयाँ, बढी उमेरकाले कम उमेरकालाई हेप्ने, नियन्त्रणमा राख्ने, दबाब दिने लगायतको काम बाल सुधार गृहमा भएको पाइन्छ।
साथै साँघुरा कोठामा धेरै जना बस्नुपर्ने बाध्यताले पनि झै-झगडा सुरू हुन्छ। देशभरका सबै बाल सुधार गृहको हालत उस्तै छ।
अहिले देशभर ८ वटा बाल सुधार गृहमा १ हजार १७७ जना छन्। तीमध्ये ४३ बालिका छन्। जसमा ५० प्रतिशत भन्दा बढी बालबालिकाहरू १८ वर्ष उमेर पार गरिसकेका छन्।
देशभरका बालसुधार गृहको व्यवस्थापन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेफ) ले गर्दै आइरहेको छ।
सञ्चालित ८ वटा सुधार गृहमध्ये ४ वटा युसेफ र ४ वटा मन्त्रालयले व्यवस्थापन गर्छन्। जसमा भक्तपुर, कास्की, मोरङ र नेपालगन्जको व्यवस्थापन युसेफले गरिरहेको छ भने डोटी, भैरहवा, हेटौडा र वीरगन्जको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई छ।
बाँकेको नौवस्तामा बन्दै गरेको सुधार गृहको व्यवस्थापन मन्त्रालय आफैंले गर्ने प्रवक्ता घिमिरेले बताइन्। सुरक्षा र खाद्यान्नको व्यवस्थापन कारागार विभागले गर्नेछ।
६/७ महिनाअघि नै १८ वर्षमाथिका बालकहरूलाई छुट्टै राख्ने तयारी भइरहेको थियो। किनकी लामो समयदेखि बस्दै आएका बालकहरूले समूह बनाएर कम उमेर र नयाँ बालबालिकालाई नियन्त्रणमा लिने तथा कुटपिट गर्ने लगायतका घटनाबारे मन्त्रालय जानकार थियो।
'एक महिनायता बाल सुधार गृहमा एकपछि अर्को घटना भइरहेका छन्। घटनाको प्रकृति पनि उस्तै देखिन्छ,' घिमिरेले भनिन्।
बाल सुधार गृहमा सामान्य झै-झगडा भइरहने गरेको सूचना प्राय: आइरहेका हुन्थे। तर पछिल्लो समय झगडाले उग्र रूप लिन थालेका छन्।
भदौ ३ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ मा रहेको सबैभन्दा पुरानो बाल सुधार गृहमा बस्दै आएका एक बालकको मृत्यु भएपछि त्यहाँका बालकहरू तोडफोडमा उत्रिए।
३ गते बिहान अचेत अवस्थामा भेटिएका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेलाई अस्पतालले मृत घोषित गरिदिएको थियो। तर त्यसलाई परिवारले हत्या भएको भन्दै गृहअगाडि ४ गते प्रर्दशनी गर्ने गरे। त्यसपश्चात त्यहाँ बस्दै आएका बालकहरू तोडफोड गरेर भागेका थिए।
उनीहरू भागेर भक्तपुर र काठमाडौंका सडकमा छरिएर हिडे। त्यो दृश्यले सुधार गृहमा बालबालिका कसरी हुर्किरहेका छन् भन्ने प्रश्न खडा गर्यो।
उनीहरूको सेवा सुविधाबारे सम्बन्धित निकायको ध्यान तानियो। तर उनीहरूलाई कानुनी कारबाही गर्ने विषयमा केही बहस नभएकाले पर्सा र बाँकेमा पनि त्यस्तै घटना भएको प्रवक्ता घिमिरेको भनाइ छ।
भक्तपुरको घटना सेलाउन नपाउँदै भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा पनि झडप भयो। त्यहाँ पनि नयाँ र पुराना बालबालिका मिलेर बस्न नसकेर नै झगडा भएको वीरगन्ज बाल सुधार गृहका प्रमुख टीकाकृष्णले काफ्लेले बताए।
'भक्तपुरको झगडामा संलग्न रहेका १८ व्यक्ति आएका थिए, उनीहरू यहाँ बस्दै आएकासँग मिल्न नसकेर झगडा भएको थियो,' प्रमुख काफ्लेले भने।
भक्तपुरका बालकहरू त्यहाँ गएदेखि नै पुरानालाई नियन्त्रणमा लिन खोजिरहेका थिए। उनीहरूको अनुकूल वातावरण नबन्दा झगडा भएको उनको भनाइ छ।
त्यस्तै, असोज ६ गते बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भयो।
कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसीको झडपमा मृत्यु भएको हो। त्यसमा पनि १८ वर्ष उमेर पार गरिसकेका र लागुऔषध सेवन गर्दैं आएका व्यक्ति र दबाबमा बसेका व्यक्तिबीच नै झगडा भएको बाल सुधार गृहकी प्रमुख बिमला काउचा मगर बताउँछिन्।
'उक्त घटना नियन्त्रणमा लिन १२ घन्टा लागेको थियो, भौतिक क्षति पुगेको छ। तर ती बालकहरूलाई कारबाही गर्ने प्रावधान छैन,' उनले भनिन्, 'आपसी झगडाले एक जनाको अकालमै ज्यान गुम्यो।'