अमेरिका बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका नेपाली मूलका अमेरिकन नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमले सयौं नेपालीलाई 'तल्लो बाटो' हुँदै अमेरिका पुर्याउने गरेको खुलेको छ।
हस्तले आफूले अवैध बाटो हुँदै सयौं नेपालीलाई अमेरिका पुर्याएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। साथै उनले अवैध बाटो हुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति भएको पनि दाबी गरेका छन्।
उनी सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेका हुन्। तर उनी पहिलोपल्ट अमेरिका पुगेका भने होइनन्।
उनी वि.स २०२८ सालमा तत्कालीन रूकुम जिल्ला स्यालापाखा गाविस -९ नाथीगाड र हाल सिस्ने गाउँपालिका-४ मा पुर्वी रूकुममा हस्त जन्मेका हुन्।
सकुशल जन्मेका हस्त चार वर्षको उमेरमा पोलियो भएपछि दुवै खुट्टा नचल्ने भएका थिए। शारीरिक रूपमा अपांग भएकाले उनी राष्ट्रिय अपांग महासंघमा जोडिएका थिए।
त्यतिबेला उनीसँग चिनजान भएका स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ भन्छन्, 'वि.स. २०५० सालमा भेट्दा हस्त अपांग महासंघका महासचिव थिए।'
उनी शारीरिक रूपमा अपांग भए पनि बौद्धिक रूपमा बलिया थिए।
त्यतिबेला उनी ह्विलचियर चढेर हिँड्ने गर्थे। तर पनि पटक-पटक लठ्ठीको सहारामा हिँड्नका लागि शरीरलाई जोड दिने गरेका थिए। यद्यपि त्यो सफल भने भएन।
शारीरिक रूपमा अपांग भए पनि उनी सक्रिय थिए। सन् १९९४ मा मेक्सिकोमा अपांगता भएका व्यक्तिहरूका लागि 'पारा ओलम्पिक' थियो। अपांगता भएका व्यक्तिहरूको खेलकुदलाई पारा भनिन्छ। त्यसमा उनले जाने अवसर पाएका थिए।
अध्यक्ष श्रेष्ठका अनुसार मेक्सिको गएर फर्किएपछि उनी विभिन्न देशमा जाँदा सहयोगी लिएर जाने र उतै छोड्ने गरेका थिए।
सन् १९९४ मा ओलम्पिकको लागि अमेरिका पुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोले पुष्टि गरेको छ। तर महासंघका अध्यक्ष देवीदत्त आचार्यले ३० वर्षअघिको कुनै पनि दस्ताबेज नभएकाले यो विषयमा केही भन्न नसक्ने बताए।
'उहाँ केन्द्रीय समितिमा भएको कुरा खुलेको छ। बाँकी केही जानकारी छैन,' उनले भने।
हस्तले प्रहरीलाई बयान दिए अनुसार सन् १९९४ मा पहिलोपल्ट पारा ओलम्पिकका लागि मेक्सिको पुगेको बताएका छन्। त्यतिबेला उनी मेक्सिको पुग्दा मान्छेहरू दिनभर टेक्सासमा काम गरेर साँझ मेक्सिको फर्किएको दृश्य देखेका रहेछन्।
त्यस्तो दृश्यले उनलाई मेक्सिकोसम्म पुगे त्यहाँबाट सजिलै अमेरिका पुग्न सकिने रहेछ भन्ने थाहा भयो। त्यसपश्चात त्यहाँबाट फर्किएको ९ वर्षमा सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका पुगेको मानव बेचबिखन ब्युरोलाई बताएका छन्।
त्यतिबेला उनीमात्र गएनन्। उनले श्रीमती र एक वर्षकी छोरी पनि लिएर गएका थिए। अहिले उनका दुई सन्तान र श्रीमती टेक्सासमै छन्। त्यसपश्चात हस्त नेपाल फर्किएका थिएनन्।
उनी अमेरिकामा नै बसेर विभिन्न एजेन्टहरूको सहायतामा अवैध रूपमा नेपालीलाई अमेरिका लैजाने र लाखौं रूपैयाँ ठगी गर्दै आइरहेको जानकारी प्रहरीलाई एकदशकअघि नै थाहा थियो। तर उनी अमेरिकामा भएकाले प्रहरीले नियन्त्रणमा लिन सकिरहेको थिएन। उनी विभिन्न सहर तथा देशमा लुक्दै बसेका थिए। त्यसैले प्रहरीलाई उचित समयको पर्खाइ थियो।
दुई महिनाअघि अर्थात् असार १८ र २० गते गरी पाँच वटा मुद्दा दर्ता भएको थियो। मानव बेचबिखन अनुसन्धान ब्युरोका एक प्रहरी अधिकारीका अनुसार हस्तविरूद्ध तीन र कमल तामाङविरूद्ध चार उजुरी परेको थियो।
हस्तविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरको उजुरी परेको थियो। हस्तले मानव बेचबिखनमा जालो नै खडा गरेका थिए।
अनुसन्धानको क्रममा अवैध बाटो हुँदै अमेरिका पुर्याउन नेपालमा मुख्य भूमिका खेल्ने कमल तामाङ थिए।
कमलले काठमाडौंमा एउटा फ्ल्याट नै भाडामा लिएका रहेछन्। विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई जम्मा गरी भिजिट भिसामा विभिन्न देश जाने व्यवस्था गरिदिनेदेखि राहदानी, हवाई टिकट, होटल बुकिङका काम गरिदिने गरेको पाइएको प्रहरीले जनाएको छ।
'यसरी अवैध बाटो हुँदै अमेरिका जानका लागि ३० देखि ९० लाख रूपैयाँसम्म तिर्ने गरेको पाइएको छ,' एक प्रहरी अधिकारीले भने, 'जोडी जाँदा ९० लाख रूपैयाँसम्म लिने गरेको खुलेको छ।'
अवैध बाटो हुँदै जाने नेपालीलाई विभिन्न देशमा पुर्याई बन्धक बनाउने र थप पैसा असुल्ने गरेको आरोप उनीहरूमाथि छ।
नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाउने काम कमलले गरिदिन्थे भने दुबई पुगेपछि हस्तका दुई एजेन्टले अर्को व्यक्तिसम्म पुर्याउने गरेको पाइएको छ।
दुबईमा एक भारतीय नागरिक र एक पाकिस्तानी नागरिकले हस्तको एजेन्टको रूपमा काम गर्ने गरेको अनुसन्धानमा खुलेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अवैध बाटो हुँदै जाने नेपालीलाई भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने गरेको पाइएको छ। यी रूट धेरै प्रयोग भएको देखिएका हुन्। अन्य रूट पनि प्रयोग गर्ने गरेको ब्युरोका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार, यसरी विभिन्न ठाउँमा बसेका एजेन्टबीच जिम्मेवारी बाँडफाँट गरी अवैध बाटोबाट अमेरिका छिराउने गरेको देखिन्छ।
यसरी जानेमा अधिकांश १६ देखि ५० वर्षसम्मका उमेर समूहका छन्। त्यसमा अधिकांश पुरूष हुन्। फाट्टफुट्ट मात्र महिला भेटिन्छन्।
अवैध बाटो हुँदै जाँदा ज्यान गुमाएका पीडितका परिवारलाई मोटो रकम दिने र सोही परिवारको अर्का व्यक्तिलाई त्यहीबाटो अमेरिका लैजाने विश्वास दिलाई प्रहरीकोमा आउन रोक लगाउने गरेको पाइएको डिएसपी विष्टले जानकारी दिए।
यसरी नै उनीहरूले धेरै नेपालीलाई ठगेका छन्। कतिपयको ज्यान गएको पनि होलान् तर प्रहरीसमक्ष जानकारी आएको छैन।
यी सब कुरा कमललाई नियन्त्रणमा लिई अनसन्धान गर्दै जाँदा थाहा भएको प्रहरीले जनाएको छ। कमललाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले साउन ७ गते काठमाडौं महानगरपालिका- ८ बाट पक्राउ गरेको हो। कमललाई नियन्त्रणमा लिएको केही दिनपछि मात्र हस्त गौतम पक्राउ परेका हुन्।
हस्तविरूद्ध मानव बेचबिखन तथा मानव तस्करी गरेको आरोप धेरै पहिलादेखि थियो। असारमा आएको उजुरीले प्रहरीलाई थप सक्रिय बनाएको थियो। त्यसैले उनको हरेक गतिविधिमा प्रहरी चनाखो भएर पछ्याइरहेको ब्युरोका एक प्रहरीले जानकारी दिए।
'दुई महिनादेखि हस्त प्रहरीको कडा निगरानीमा थिए,' ती प्रहरीले भने, 'लामो समयको प्रतीक्षापछि भदौ १९ गते उनी भारत आएको खबर पायौं।'
गोप्य सूचनाको आधारमा हस्त भारत नयाँ दिल्लीमा अवैध रूपमा अमेरिका पुर्याउन राखिएका व्यक्तिसँग छलफल गर्न आएको सूचना प्रहरीलाई प्राप्त भयो।
सूचना प्राप्त हुनासाथ ब्युरोको टोली १९ गते नै भारतको दिल्ली पुगेका थिए। उनलाई त्यहाँ पछ्याउने क्रममा नेपाल प्रवेश गर्दैगर्दा रूपन्देहीको वेलैया भन्ने ठाउँबाट भदौ २० गते पक्राउ गरिएको ब्युरोका डिएसपी विष्टले जानकारी दिए।
२० गते पक्राउ परेका हस्तलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले २२ गते सार्वजनिक गरेको थियो। पक्राउ गरी बयान लिने क्रममा उनले एजेन्टहरू परिचालन गरी अवैध रूपमा पठाउने गरेको र करोडौं रूपैयाँ असुल्ने गरेको स्वीकारसमेत गरेका छन्।
उनलाई निन्त्रणमा लिएर सार्वजनिक गरेपछि हस्तविरूद्ध काठमाडौंमा ३० र जिल्ला प्रहरी कार्यालय दाङमा ५ वटा जाहेरी परेको थियो।
प्रहरीका अनुसार उनले लिखित रूपमा दुई सयभन्दा बढी नेपालीलाई अवैध रूपमा अमेरिका पठाएको बताए पनि ५/७ सयलाई पुर्याएको देखिन्छ। साथै करोडौं रूपैयाँ ठगी गरेको आरोप पनि छ।
उनलाई सार्वजनिक गरेसँगै विभिन्न जिल्लाबाट जाहेरी दिन र आफू ठगिएको भन्दै आउने पीडितको संख्या बढ्दो छ। साथै अवैध बाटो हुँदै अमेरिका जान हिँडेका सयौं व्यक्तिहरू अहिले अलपत्र गरेको प्रहरीले जनाएको छ।
ती अलपत्र परेका कतिपय प्रहरीको सम्पर्कमा आएका छन् भने कतिपय आएका छैनन्। उनीहरूको उद्धारका लागि प्रहरी खटिरहेको छ।
'अलपत्र परेका सबै परिवार प्रहरीकोमा आएका छैनन्,' डिएसपी विष्टले भने, 'यस्ता घटनामा न्याय पाउने अनुभूति गराउन नसक्दा जाहेरीका लागि आउँदैनन्।'
किनकी यस्ता घटना मानव तस्करीमा मुद्दा दर्ता गराई कानुनी कारबाही अगाडि बढाउनुपर्ने हो। तर नेपालमा मानव तस्करीको कानुनी व्यवस्था छैन।
'दुई वर्ष अघि मानव तस्करीको कानुन बनाउन ड्राफ्ट पठाइएको थियो। प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगे पनि समयअवधि सकिएको भन्दै ६/७ महिनापछि फिर्ता आयो,' उनले भने, 'मानव तस्करको कानुन बनाउन माथिल्लो तहका व्यक्तिले चासो देखाएका छैनन्।'
कतिपय मानिसहरूले मानव बेचबिखन र मानव तस्करी एउटै भन्ने बुझिरहेको उनको भनाइ छ।
कुनै व्यक्तिलाई प्रलोभनमा पारेर जोखिम छ भन्ने थाहा हुँदा-हुँदै पनि सीमापारि लगिन्छ भने मानव तस्करी हो। यस्तो केसमा जुन देशमा जान लागेको हो त्यहाँ पुगेपछि यसको गतव्य सकिन्छ। यसमा शोषण हुँदैन। तर बाटोमा आउने हरेक समस्याको हकदार स्वयम् व्यक्ति हुन्छन्।
तर मानव बेचबिखनमा शोषण हुन्छ। यसका लागि देशबाहिर नै लैजानुपर्छ भन्ने हुँदैन। यसमा जोखिम छ भन्नेकुरा पहिला नै जानकार हुँदैन। यसको निश्चित ठाउँमा पुगेपछि अन्त्य हुन्छ भन्ने पनि हुँदैन।
'त्यसैले प्रलोभनमा पारेर अवैध बाटो हुँदै अमेरिका लैजानु मानव तस्करी हो,' उनले भने।
त्यसैले उनीहरूलाई मानव बेचबिखन, ओसारपसार तथा ठगीमा मुद्दा कानुनी कारबाही अगाडि बढाउनुपरेको उनले जानकारी दिए।
हस्त गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ।
सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए।
'चार वटा छुट्टाछुट्टै फाइलहरू छन्। प्रतिवादीहरू पनि फाइलअनुसार फरक छन्,’ उनले भने।
उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको छ। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा नाम जोडिएकी ज्योति कुँवर पनि प्रहरी हिरासतमा छिन्। भने प्रतिवादी बनाइएका थप दुई जना पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको भनाइ छ।
उनीहरूको समूहमा अन्य व्यक्ति पनि संलग्न रहेको जानकारी पाए पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।