५१ वर्षका भीम कुँवर अहिले ठाउँ-ठाउँमा गएर लागुऔषधका फसेकाहरूलाई सल्लाह सुझाव दिन्छन्। लागुऔषध सेवन गर्दा हुने हानीबारे सुनाउँछन्। लागुऔषधको सेवन किन खराब हो र यो कुलतबाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने उदाहरण दिन उनले अरू कसैलाई खोज्नै पर्दैन। आफ्नै अनुभवले उनलाई धेरै कुरा सिकाएको छ।
१९ वर्षसम्म लगातार लागुऔषधको नसामा फसेका भीमले पछिल्ला २२ वर्षदेखि त्यस्ता नसालु पदार्थ छोएका छैनन्।
अहिले पनि उनलाई बेलाबेलामा तलतल लाग्छ तर उनी लागुऔषध नछुने अडानमा छन्।
लागुऔषध सेवन नगर्ने अडानमा उनी सजिलै भने पुगेका होइनन्। १९ वर्षसम्म नसामा झुम्मिँदा उनलाई जिन्दगीका मीठा पल, विश्वास, प्रेम र आफ्नो परिचयसमेत गुमाउनु परेकोमा उनलाई पछुतोले पोल्छ। फेरि त्यसरी नपछुताउनु परोस् भनेर उनी गल्ती नदोहोर्याउने अडानमा छन्।
लागुऔषध सेवन गर्दा क्षणिक भ्रमबाहेक अरू केही कुरा पाइँदैन, उल्टै सबैथोक गुमाइन्छ। त्यसैले उनी अहिले लागुऔषध सेवन गरेर आफ्नो स्वास्थ्य बिगारिरहेकाहरूलाई सुधार्ने काम गर्छन्।
‘नसाले भ्रम सिर्जना गरिदिन्छ र हुँदै नभएको संसारमा पुगेको महशुस गराउँछ,’ भीमले भने, ‘दिमाग शून्य हुने भएकाले क्षणिक मनोरञ्जन भएको भ्रम फैलिन्छ।’
भीमका अनुसार नसा सेवन गर्दा मानिसमा संवेदना हराउँछ, स्वाभाविक मानवीय गुणहरू निष्क्रिय हुन्छन्। त्यसले समय त आनन्दमा बितेजस्तो लाग्छ तर जिन्दगी बर्बाद भइरहेको हुन्छ।
आफूले भोगेको यही कुरा सुनाउँदै भीम अहिले लागुऔषधमा फसेका युवालाई आफूले जस्तो गल्ती नगर्न काउन्सिलिङ गर्छन्। १० वर्षदेखि उनी देशभरिका विभिन्न रिह्याब सेन्टरमा पुगिरहेका छन्।
उनी एक दशकदेखि बुढानिलकण्ठको वे अफ लिभिङ लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्रमा आएका युवालाई प्रोत्साहन दिने काम गर्दै आएका थिए। दुई/तीन वर्षअघि सोही केन्द्रमा कार्यक्रम संयोजकका रूपमा चौबीसै घन्टा खटिन्छन्।
उक्त संस्थामा उनी सुरूवातदेखि नै जोडिएका हुन्।
सन् २०१२ मा काठमाडौंको बुढानिलकण्ठमा खोलिएको पुनर्स्थापना केन्द्रमा अहिले ५२ जना छन्। १६/१७ देखि ७० वर्षसम्मका मानिसहरू आउने गरेको उनले बताए।
‘यहाँ आइपुगेका लागुऔषध एडिक्टहरूलाई आफ्नै कहानी सुनाउँछु,’ उनले भने, ‘सेवनकर्तादेखि कार्यक्रम संयोजकसम्मको अनुभव छ, त्यही सुनाउँछु।’
उनी काठमाडौं महानगरपालिका वडा नम्बर १७ मा जन्मिएका हुन्। बाल्यकालमै आमाबुवा गुमाएका उनी दिदी र हजुरबा-आमाको संरक्षणमा हुर्किए।
कक्षा ३ सम्म लैनचौरको सरस्वती बोर्डिङ स्कुलमा पढे। उनीसँगै काकाका छोराहरू पनि पढ्थे।
काकाका छोराहरू स्कुलको शौचालय पछाडि लुकेर चुरोट र सुर्ती सेवन गर्थे। त्यो देखेका भीम घरमा आएर लुकीलुकी हजुरबुवाका चुरोट सल्काएर सर्को तान्थे।
भाइले काठमाडौंमा राम्ररी पढ्दैन भन्ने ठानेर उनकी दिदीले भीमलाई भारतको नागाल्यान्ड पढ्न पठाइन्। भारत गएपछि एकातिर उनले जे मन लाग्यो त्यही गर्न पाए, अर्कातिर त्यहाँ लागुऔषध पनि सजिलै किन्न पाइन्थ्यो।
यसरी १३-१४ वर्षको उमेरमा उनी लागुऔषधका अम्मली भए।
‘भर्खर सुरू गरेको थिएँ, त्यहाँ रोकटोक गर्ने पनि कोही थिएनन्। त्यसैले भारतमा झनै सहज भयो,’ उनले विगत सम्झिए।
एसएलसी सक्दासम्म उनी लागुऔषधका दुर्व्यसनी भइसकेका थिए। एसएलसीपछि उनी काठमाडौं फर्किए तर लागुऔषध छोड्न सकेनन्।
लागुऔषध किन्नकै लागि उनी ठमेलका होटलमा काम गर्न थाले। होटलमा तलबसँगै टिप्स पनि राम्रो हुन्थ्यो। ५० रुपैयाँको क्वाटर ब्राउन सुगर पाइने बेलामा उनी दिनकै १२ सय रुपैयाँसम्म कमाउँथे।
लागुऔषध सेवन गर्नेहरूलाई असल व्यक्ति र पढ्ने मान्छेले मन पराउँदैनन्। व्यक्तित्व नै त्यस्तै हुन्छ। त्यसैले होटलमा काम गर्दा उनीसँग त्यस्तै साथी जोडिए।
‘सेवन गर्ने भएपछि त्यस्तै साथीसंगत भेट्न गाह्रो थिएन,’ उनले भने, ‘आफू जस्तो छ, साथी पनि त्यस्तै भेटिने रहेछन्।’
चुरोट- सुर्ती-गाँजा, रक्सी, ड्रग्स, ब्राउन सुगर, हेरोइनसम्म पुगेपछि उनले पैसा बचाउन इन्जेक्सन प्रयोग थाले।
लागुऔषध किन्नकै लागि घरको पैसा चोर्ने, गहना बेचिदिनेसम्म गरे।
एक दिन उनी नसामा झुम्मिएका बेला बेहोस भएर सडकमै ढले। त्यसपछि आफूलाई बाँच्न रहर लागेको उनको अनुभव छ। त्यही घटनाले उनको जिन्दगीको बाटो मोडियो।
होसमा आएपछि दाइ-दिदीलाई फोन गरेर उनले आफू सुध्रिन चाहेको बताए।
दाइ-दिदीले चोभारको एक रिह्याब सेन्टरमा लगिदिए। त्यहाँ उनले आफूलाई नसाबाट टाढा राख्ने प्रतिवद्धता व्यक्त गरे तर एकदिन नखाँदा उनको शरीर पुरै जलेको अनुभव हुन्थ्यो।
‘त्यो जलन सहन नसकेर धेरै दिनसम्म पानीमा डुबेर बसें। कहिले बाहिर चर्को घाम लागिरहँदा शरीर जाडोले कामिरहेको हुन्थ्यो। त्यस्तो बेला शरीरले नसा मागिरहेको हुन्थ्यो,’ उनले भने,‘त्यो सबै पार गरेरमात्रै नयाँ जुनी पाएको हुँ।’
लागुऔषध सेवनका कारण उनले समाजको तिरस्कार र अपहेलना पाए। उच्च शिक्षाबाट वञ्चित भए। उनले आफ्नो भविष्यमात्र गुमाएनन्, पुर्ख्यौली सम्पत्तिसमेत पाएनन्।
काठमाडौंमै घर भएको परिवारमा जन्मिएका उनी अहिले बुढानिलकण्ठमा कोठा भाडा लिएर बस्छन्।
१९ वर्षसम्म काम गरेर पैसा जोगाएको भए जग्गा किनेर आफ्नै घर बनाउन सक्थें होला भन्ने उनलाई अहिले लागिरहन्छ।
लागुऔषध सेवन गर्दा आफूले गुमाउनु परेका यस्ता तमाम कुरा सुनाएर उनी अरूलाई प्रेरणा दिन्छन्।
‘मैले जे गुमाउनुपर्यो। त्यस्तो अरू कसैले भोग्नु नपरोस् भनेर पनि यही काममा लागें,’ भीमले भने।
उनले लागुऔषध सेवन गर्न छोडेको २२ वर्ष भइसक्यो। तर अझै शारीरिक रूपमा सशक्त भएका छैन। बाँचुन्जेलसम्म सामान्य मानिसभन्दा फरक ढंगले बाच्नुपर्छ।
त्यसैले अहिलेका युवालाई लागुऔषध सेवन गर्न हुँदैन भनेर सिकाउन पाउँदा खुसी लाग्ने उनको भनाइ छ।
लागुपदार्थ सेवनबाट युवाहरूलाई मुक्त गर्नु पहिलाको भन्दा अहिले अझै धेरै जरूरी रहेको भीम बताउँछन्। अहिले लागुऔषधमा फस्ने युवा-युवतीको संख्या बर्सेनि बढिरहेको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार गएका ५ वर्षमा लागुऔषध सेवन तथा किनबेच गरेको आरोपमा २५ हजार ५४८ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी अचेल हरेक दिनजसो लागुऔषधका कारोबारी र सेवनकर्ता पक्राउ पर्ने गरेका छन्र
‘दिनहुँ लागुऔषध सेवन तथा किनबेच गर्ने व्यक्ति पक्राउ परिरहेका हुन्छन,’ उनले भने।
उनका अनुसार अहिले देशभर झन्डै डेढ लाख लागुऔषध सेवनकर्ता छन्। १६ देखि ४५ उमेर समूहका व्यक्तिहरू धेरै लागुऔषधको दुर्व्यसनमा फसेका छन्।
उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कानुनी कारबाही गरिन्छ। यसमा घटनाको प्रकृति हेरेर न्यूनतम एक महिना जन्मकैद र दुई हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।