डोल्पामा मंगलबार एक जनाको शव फेला परेको छ।
उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको छ।
शव त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।
मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिएका थिए।
लगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए।
डिएसपीको टोलीले भेटिएको शव सदरमुकाम ल्याउँदैछ।
‘उहाँको बुवा ब्यारेकमा हुनुहुन्छ। शव पण्डितको हो कि होइन भनेर बुवाले पहिचान गरेपछि मात्रै एकिन हुन्छ,’ डिएसपी बुढाथोकीले सेतोपाटीसँग भने।
नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए।
उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए।
‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ। वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ।’
सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ। उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन्।
चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन-चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ।
त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए। लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए।
गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।
प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो। उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए। गाडीमा चढेका बेला उनको दुई-तीन पटक फोन आएको थियो। सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन्।
उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो। सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पुर्याइदेऊ’ भनेका थिए। तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ।
‘उहाँको मोबाइल ७ः१५ बजेसम्म एक्टिभ देखिएको थियो। त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने।