क्यान्सर रोगमा उपचारको लागि प्रयोग गरिने औषधीलाई 'किमोथेरापी' भनिन्छ। जसरी ब्याक्टेरियाको उपचारमा प्रयोग गर्ने औषधीलाई एन्टिबायोटिक दिइन्छ, त्यसरी नै क्यान्सर रोग लागेका सबै बिरामालई किमोथेरापी दिनुपर्छ। तर सुरूआती चरणमा क्यान्सर लागेका बिरामीलाई किमोथेरापी नचाहिन सक्छ। अहिले क्यान्सरबाहेक किड्नीको रोग, बाथको रोगमा प्रयोग हुँदै आएको छ।
क्यान्सर रोग लागेपछि डिएनएमा परिवर्तन आएर शरीरको कोषिकाले काम गर्न बिर्सिन्छन्। जसले गर्दा कोषिकाहरू अनियन्त्रित भएर विभाजन सुरू हुन्छ। यो विभाजनलाई किमोथेरापीले कम गर्छ।
किमोथेरापीले विभिन्न असर पार्छ भनिन्छ तर त्यस्तो होइन। बरू किमोथेरापीले क्यान्सरको उपचारमा सहयोग गर्छ भन्नु उचित हुन्छ। हरेक औषधीका केही न केही साइड इफेक्ट हुन्छ। त्यस्तै किमोथेरापीको पनि हुन्छ। कपाल झर्ने, कब्जियत हुने, उल्टी आउने, पातलो दिसा आउने, कमजोरी हुने हुन्छ। तर अहिले यस्ता समस्या कम हुने उपचार समेत आइसकेको छ। किमोथेरापी धेरै सुरक्षित भइसकेको छ। बिहान आउने र औषधी गरेर साँझ फर्किन मिल्छ। किमोथेरापीले विभाजन हुने कोषिकालाई मार्ने भएकाले दैनिक बन्ने कोषिकालाई समेत मार्छ। कोषिकाहरू मर्ने भएकाले विभिन्न खालका समस्या आउने गर्छ।
किमोथेरापीको मुख्य उद्देश्य भनेकै क्यान्सर निको पार्ने, घटाउने हो। यति गर्न नसके बढ्न नदिने हो। तर अहिले किमोथेरापीको विकल्पमा अन्य औषधी र थेरापी आएका छन्।
क्यान्सरको स्टेज र प्रवृत्तिका आधारमा किमो दिइन्छ। रोगको प्रकृतिका आधारमा कति वटा किमो र कति समयसम्म दिने भन्ने निर्धारण हुन्छ। नेपालमा किमोथेरापी मात्र नभएर विश्वस्तरको उपचार समेत हुन्छ। क्यान्सरको झण्डै ९९ प्रतिशत उपचार नेपालमै हुन्छ। केही उपचारमात्र नेपालमा गर्न गाह्रो छ।
(क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नर्भिक अस्पतालमा कार्यरत छन्।)