ललितपुरको लुभुस्थित एउटा खाली जग्गामा चौबिसै घण्टा ग्यास बलिरहेको भिडिओ बेलाबेला चर्चामा आउने गर्छ।
निजी व्यक्तिको नाममा रहेको उक्त जग्गामा झन्डै ४० वर्ष बढी समयदेखि ग्यास बलिरहेको स्थानीयहरू बताउँछन्।
जग्गाधनी विदेशमा रहेपनि वरपरका मानिसहरू उक्त ग्यासमा खाना पकाउने, पानी तताउने गर्छन्। घाम अस्ताउन वित्तिकै मानिसहरू प्रेसर कुकर बोकेर खाना, दाल टेकाउन पुगिहाल्छन्।
नजिकै डेरामा बस्दै आएकी रेश्मा तामाङको यही ग्यासले पाँच वर्षदेखि खाना र दाल पकाउने काम थेगिदिएको छ।
यो ग्यासले गर्दा घरमा रहेको ग्यास निकै फारो रहेको सुनाउँदै रेश्माले भनिन्, 'तरकारी चाहिँ पकाउन आउँदिन तर खाना, दाल पकाउन र पानी तताउन आउँछु। मिलाएर बसाल्यो भने सात वटा सम्म कुकर अट्छ।'
यही ग्यासका कारण रेश्मालाई अन्त डेरा सरेर जान मन छैन। जाडो याममा पनि उनी यही ग्यासमा पानी तताएर बच्चाहरूलाई नुहाइदिन्छन्।
'जाडोको बेला रुघाखोकी लागिरहेको हुन्छ। त्यस्तो बेला यसमै पानी तताएर थर्मसमा राख्न पाइयो। यही सुविधाले गर्दा अन्त डेरा सरेर जाने सोच नै आउँदैन।'
दोलखाकी यसोदा नेपालीले पनि दुई वर्षदेखि यही ग्यासमा मकै पोलेर परिवारको गुजरा चलाउँदै आएकी छन्।
सुरूमा जमिनमा ग्यास बलेको देखेर उनी पनि अच्चममा परिन्। पछि वरपरका मानिसहरू खाना पकाउन, पानी तताउन आएको देखेर उनलाई पनि मकै पोलेर बेच्ने सोच आयो। अहिले उनी बिहान ११ बजे देखि बेलुकीको सात बजेसम्म मकै पोल्ने गर्छिन्।
'भाग्यमानी रैछौं। अरूले दाउरामा मकै पोल्नुहुन्छ, हामी ग्यासमा पोल्छौं,' यसोदाले प्रसन्न मुद्रामा भनिन्।
खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले यस्तो ग्यास बल्ने ठाउँ काठमाडौं उपत्यकामा धेरै ठाउँ रहेको बताइन्।
यसबारे जापानी कम्पनी जाइकाले सन् १९७८ मै अध्ययन गरेको उल्लेख गर्दै उनले भनिन्, 'त्यतिबेला अध्ययन गर्दा ३ सय मिलियन क्युबिक मिटर भन्दा बढी ग्यास रिजर्भ रहेको देखियो। र त्यसलाई पाइपलाइनमार्फत वितरण गर्न सकिन्छ भन्ने भयो। त्यो बेला प्रदर्शनीको लागि टेकु अस्पतालमा पाइपलाइनबाट वितरण पनि गरिएको थियो।'
जाइकाले त्यतिबेला अध्ययन गर्दा टेकुसहित उपत्यकाका विभिन्न १४ वटा ठाउँहरूमा यस्ता मिथेन ग्यास रहेको पाइएको थियो। जसमा त्रिपुरेश्वर, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप, टेकु दोभान, ह्युमत कालिमाटी, शंखमुल, कोटेश्वर तीनकुने, जडिबुटी, टिकाथली, बालकुमारी र इमाडोल क्षेत्र पर्छन्।
अहिले पनि यीमध्ये केहि ठाउँमा त्योबेला खनिएका इनारहरू सुरक्षित राखिएका छन्। यसरी भेटिएका ग्यासहरूलाई पाइपलाइनमार्फत वितरण गर्न सकिने देखिए पनि त्यसको सम्भाव्यता अध्ययन हुन सकेन। अहिले पनि यसबारे कुनै ठोस कदम अघि बढेको छैन।
प्रवक्ता झा भन्छिन्, 'अहिलेको अफ्ठ्यारो भनेकै यो ग्यासलाई कसरी प्रयोगमा ल्याउने भन्ने हो। कि त हामीले बाहिरबाट विज्ञ बोलाएर सोही अनुसारको रणनीतिमा जानुपर्ने हुन्छ। अर्को भनेको आर्थिक हिसाबले पनि यो प्रविधिबाट ग्यास वितरण गर्न नेपाल जस्तो देशका लागि चुनौतीपूर्ण छ।'
हेर्नुस् उनै प्रवक्ता झासँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः