त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर वियोगको वेदना खप्न नसकेका धेरै आँखा ओभाना थिएनन्।
अँगालोबाट छुट्दै गरेका प्रियजन र हत्केलाबाट छुट्टिएर गन्तव्यतिर बढ्दै गरेका पाइलाहरूको विदाइमा वेदनाको झरी बगेको थियो, शुक्रबारको मौसमजस्तै!
त्यसको ठिकमुनि विदेशबाट फर्किएका प्रियजन स्वागत गर्ने प्रतीक्षालयमा भने खुसियाली छाएको थियो। आफन्त पर्खेकाहरू आँखा चनाखो पार्दै हरेक यात्रुका अनुहार नियालिरहेका थिए। तिनको आँखामा पर्खाइको व्यग्रता र प्रियजनसँग मिलनको खुसी एकसाथ प्रकट भइरहेको थियो।
यही भीडमा थिए, धादिङ खनियाँबास-१ झार्लाङका विक्रम तामाङ।
सत्र वर्षदेखि आमाको बाटो हेरेर बसेका विक्रमलाई डेढ घन्टाको पर्खाइले मुटु फुट्लाझैं भइरहेको थियो।
बिहान विमानस्थल जान ललितपुरको इमाडोलस्थित कोठाबाट निस्किएर ट्याक्सी चढ्दा पनि उनका गोडा थरथराएका थिए।
'हामीले त लगभग माया मारिसकेका थियौं,' ट्याक्सी चढ्नुअघि उनले सेतोपाटीसँग भने, 'आमा त आउने हुनुभयो!'
बालखैमा छुटेकी आमाको धमिलो आकृति ठम्याउन उनी बिहान १० बज्न १० मिनेट बाँकी हुँदै विमानस्थल पुगे। आफन्तलाई स्वागत गर्न पंक्तिबद्ध भएर बसेकाहरूको भीडमा मिसिए।
उनी चार वर्षको हुँदा आमा विदेश गएको र उतै बेपत्ता भएको उनलाई थाहा छ। अनुहार भने याद छैन।
स्मृतिले कुनै तस्बिर कैद गरेको भए पो अनुहार ठम्याउनू!
दस बजेर ५९ मिनेट गयो। प्रतीक्षालयको डिस्प्ले बोर्डमा चाइना एयरको जहाज अवतरण भएको संकेत देखियो।
डिस्प्ले बोर्डको गाढा निलो अक्षरमा ल्यान्डेडको हरियो संकेत देखिनेबित्तिकै विक्रमको अनुहार धपक्क बल्यो।
आमाको स्वागत निम्ति उनले एक हातमा फूलको गुच्छा र अर्को हातमा खादा बोकेका थिए। उनी घरि फूलको गुच्छा र खादा सुम्सुम्याउँथे, घरि श्रीमतीको हात बेस्सरी समाउँथे।
उनकी श्रीमती स्मृति पनि हात कसिलो बनाएर श्रीमानलाई साथ दिँदै थिइन्।
विक्रम र स्मृतिको हातको गाँठो पारिवारिक मिलनको सूचक बनिरहेको बुझ्न कठिन थिएन।
जहाज अवतरण गरेको सन्देश सूचना पाटीमा आएपछि स्वागतार्थ उभिएकाहरूका आँखा आफन्तजनको खोजीमा एकोहोरिन थाले।
विक्रम प्रतीक्षालयभन्दा माथि भित्री स्वागत कक्षमा जान सिँढी उक्लिए। श्रीमती पछि लागिन्।
मोबाइलको घडीले सवा ११ बजाइसकेको थियो। आगन्तुक कक्षबाट बाहिरिने हरेक यात्रुको अनुहारमा उनी आँखा डुलाउँथे।
यात्रुको पंक्तिमा कोही महिला देखे भने झन् घोरिएर हेर्थे र मोबाइलको स्क्रिनमा आँखा पुर्याउँथे।
आमाले चीनबाट हालसालैको आफ्नो फोटो पठाइदिएकी थिइन्। विक्रमले त्यो फोटो मोबाइलको डिस्प्लेमा राखेका थिए।
'आमा पर्खिंदा-पर्खिंदै मैले त सबै यात्रुलाई आफ्नै आमा पो देख्न थालेँ!' उनले श्रीमतीसँग भने।
जतिखेर पनि हँसमुख स्मृति श्रीमानको कुराले केही गम्भीर देखिइन्।
उनी कहिल्यै नदेखेकी सासूलाई कसरी स्वागत गर्ने भनेर सोचमग्न थिइन्। हातमा फूलको गुच्छा थमाउने कि खुट्टामै ढोग्ने भनेर उनलाई दुबिधा भइरहेको थियो।
उनी श्रीमानको कुराले झसंग भइन्।
'तिमी जहिल्यै आत्तिन्छौ विशाल (उनी श्रीमानलाई विशाल भन्दिरहिछन्)। आमा आइहाल्नुहुन्छ नि,' उनी यति भनेर फेरि आफ्नो दुबिधामा फर्किइन्।
त्यति बेला बाहिर झरी थामिएर झलमल्ल घाम लागेको थियो। मौसमजस्तै विक्रमको मनोदशा घरिघरि बदलिइरहेको थियो। सायद उनले के गर्ने कसो गर्ने मेसो पाउन सकेका थिएनन्।
यात्रुका अनुहारमा जति आँखा डुलाए पनि उनले आफ्नो मोबाइलको डिस्प्लेमा राखेको तस्बिरसँग कसैको अनुहार मेल खाएन।
केही बेर उभिएपछि विक्रम कुर्सीमा टुसुक्क बसे। स्मृति पनि आडैमा बसिन्।
त्यसै क्रममा स्वागत कक्षको भित्री कुनाबाट एक जना महिला यात्रु बाहिर आइन्।
ती महिलाले सेतो टि-सर्ट र कालो सुरूवाल लगाएकी थिइन्। दायाँ हातमा 'नेपाल' लेखिएको कागजको झोला झुन्ड्याएकी थिइन्।
हलुका चप्पल लगाएकी उनको हुलिया छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीले भनेअनुसार विक्रमकी आमासँग मिल्दो थियो।
यसबीच आमा पर्खिरहँदा विक्रमको मथिङ्गलमा अनेक चित्र सलबलाएका थिए। आमाको आकृतिका अनेक छटा कुँदिएका थिए। आँखामा आमाका अनेक रूप र बान्कीहरू देखापरेका थिए।
कल्पना र सपनामा आएका कुनै रूप र बान्कीसँग आमा मेल खाएकी थिइनन्!
उताबाट आइरहकी महिलाले पनि बालखमै छाडेर गएको छोराको अनुहार ठम्याउन सकिनन्। बुहारी त झन् चिन्ने कुरै भएन!
तर यहाँ अचम्म के भयो भने, बुहारीले नै सबभन्दा पहिला सासू चिनिन्!
स्टिलको बारमा अडेस लागेकी स्मृतिले हात हल्लाइन्।
ती महिलाले पनि हात हल्लाउँदै जवाफ फर्काइन्।
उनै थिइन्, सानुमाया तामाङ — विक्रमकी आमा।
सानुमायाको मुहारमा विदेशबाट फर्किएका अरू यात्रुको झैं न जून फक्रिएको थियो, न उनले ट्रलीभरि सामान ल्याएकी थिइन्।
छोराछोरीका आँखाबाट १७ वर्ष अलप भएकी उनको अनुहार रूग्ण देखिन्थ्यो। कपाल फुलेका थिए। रूँदारूँदा आँखा थाकेका थिए।
धनदौलतका नाममा हातमा एउटा कागजे झोला थियो; जसमा एक थान कपडा, स्वदेश फर्किन दूतावासले बनाइदिएको कागजात र केही थान फोटाबाहेक अरू केही थिएन।
ती फोटाभरि आँसुका लेघ्रा हुँदा हुन्!
मुटुमा विरहको धुन उठ्दा उनी तिनै फोटा हेरेर नियास्रो दूर गर्थिन्, सायद!
आफन्त, नातागोता र विरहको ओखतिमूलो बनेका तिनै फोटाले चिनाइदिएको थियो, छोरा-बुहारी।
स्वागत कक्षबाट बाहिर निस्किएपछि एकछिन त विक्रमलाई सपना हो कि विपना छुट्याउन सकस भयो।
'साँच्चै आमा आउनुभएको हो त?' उनले स्मृतिलाई सोध्न खोजेका थिए।
स्मृति अघि नै सासूको अँगालोमा पुगिसकेकी थिइन्।
उनले धेरै बेर सासूलाई अँगालोमा बेरिरहिन्।
सानुमायाले पनि बुहारीलाई झन् कसिलो गरी अंकमाल गरिन्।
सत्र वर्षपछि फर्कंदा विमानस्थल मात्र होइन, सिंगो काठमाडौंले जुनी फेरेझैं अनौठो लागिरहेको थियो, सानुमायालाई।
नौला-नौला मानिस वरिपरि थिए। सबैले आफैंलाई हेरिरहेझैं उनलाई लाग्यो।
ग्लानि र पश्चाताप मिसिएर आँखा भदौरे झरी बिर्साउने बनेका थिए।
हुर्किएर लक्काजवान भइसकेको र बुहारीसहितको छोरो देख्दा उनलाई डाँको छाडेर रून पनि धक लाग्यो।
उनी निहुरिएको निहुर्यै गरिन्।
बोलूँ, वाक्य फुट्दैन! रोऊँ, घाँटी अँठ्याएझैं भएको छ! बसूँ, खुट्टा थर्रर कामिरहेको छ!
उनलाई धेरै बेर अन्यमनस्क भावले छोपिरह्यो!
'आमा पानी खानुहुन्छ?' स्मृतिले यति भनेपछि बल्ल उनले सहज महसुस गरिन्।
छोरा-बुहारी दुवैलाई एकसाथ अँगालो हालेर रून थालिन्।
सानुमायालाई नियतिले छोप्दा उनी २६ वर्षकी थिइन्। आफ्नो जिन्दगीबाट आमा अलप हुँदा विक्रम चार वर्षका थिए।
आँखाले छोरा भेटे पनि मस्तिष्क पत्याउन तयार नभएझैं देखिन्थ्यो। धेरै बेर रोएपछि सानुमायाको अनुहार केही उघ्रियो। उनले विक्रमलाई गहिरो गरी हेरिन्। अनुहार ओल्टाइपल्टाइ गरिन्।
विक्रमको दाहिने गालामा घाउको खत थियो।
त्यो देखेर झिरले मुटु खोपेझैं झसंग भइन् सानुमाया!
सानुमायाको जिन्दगीमा दु:खको पहाड खसेको २०६० दशकको सुरूबाट हो, जब मलेसिया गएका उनका श्रीमान कहिल्यै फर्केर आएनन्। उतै मरे कि मारिए, कसैले भेउ पनि पाएनन्।
'कोही मारिए भन्छन्, कोही मरे भन्छन्,' खनियाँबास गाउँपालिका-१ का वडाध्यक्ष सोनाम तामाङले भने, 'विदेशको ठाउँ, हामी कसरी जानौं!'
विक्रमले थाहा पाएअनुसार उनका बुवा र आमाको तानी विवाह भएको हो।
'हाम्रो भेगतिर यस्तो विवाह चल्दो रहेछ,' विक्रमले भने, 'बुवालाई मन परेछ, तानेरै विवाह गरेको भनेर हजुरबुवा पछिसम्म भन्नुहुन्थ्यो।'
श्रीमान मलेसियामै बेपत्ता भएपछि सानुमाया बिथोलिइन्। श्रीमान नभएको घर मात्र होइन, उनलाई गाउँ नै उराठ लाग्न थाल्यो। उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन्।
विदेश गएर धेरै पैसा कमाउने, त्यही पैसाले छोराछोरी पढाउने र काठमाडौंमा घर बनाएर सासू–ससुरा सँगै राख्ने उनको ध्येय थियो।
यसरी वैदेशिक रोजगारमा जाने तयारी गरिरहँदा उनी लागुपदार्थ ओसारपसार गर्नेहरूको चंगुलमा परेको बुहारी स्मृतिले बताइन्।
'उमेरमै श्रीमान् बितेपछि उहाँलाई गाउँमा बस्नै नसक्ने भएछ। उहाँको अवस्था थाहा पाएर लागुपदार्थ ओसारपसार गर्नेहरूले फसाउन सकिन्छ कि भनेर ललाइफकाइ गर्न थालेछन्,' स्मृतिले भनिन्, 'हामी सानै थियौं, विस्तृतमा थाहा पाउने कुरा भएन। गाउँका मानिसबाट यस्तै सुनेका हौं।'
उनका अनुसार लागुपदार्थ ओसारपसार गर्नेहरूले सानुमायालाई क्याप्सुलजस्तो पदार्थ निलेर चीन जाने योजना सुनाएका थिए। त्यसबापत् तीन-चार लाख रूपैयाँ कमाइ हुने आश्वासन दिएका थिए।
यो २०६३ सालको कुरा हो। सानुमायाले चार वर्षका विक्रमलाई काठमाडौंको मन्डिखाटारस्थित छात्रावासमा छाडिन् भने दुई वर्षकी छोरीलाई पाटनको बालआश्रममा पुर्याइन्।
'त्यति बेला त आमाले मेरो बच्चा हो पनि भन्नुभएको रहेनछ!' विक्रमले आँसु झारूँलाझैं गरेर भने, 'सानीमा हुँ भनेर छाडेको छात्रावासका मानिसहरूले सुनाउँथे।'
यसरी छोराछोरीलाई अलग अलग छाडेर सानुमायाले सपनाको उडान भरिन्।
पेटभरि क्याप्सुल निलेर २०६३ कात्तिक ९ गते उनी त्रिभुवन विमानस्थलबाट चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु उडिन्।
त्रिभुवन विमानस्थलमा त कसैले चाल पाएनन्, छेन्दुमा भने उनी जाँचकीका आँखामा परिहालिन्।
विमानस्थलको एक्स-रे मेसिनले सानुमायाको पेटमा कैफियत देखाएपछि उनी पक्राउ परिन्।
अस्पताल लगेर परीक्षण गर्दा पेटभरि प्रतिबन्धित लागुऔषध रहेको पत्ता लाग्यो। शल्यक्रिया गरेर सबै क्याप्सुल निकालियो।
उनी एक महिनासम्म अस्पतालको शय्यामा परिन्। त्यसपछि उनलाई आजीवन कारावास सजाय सुनाइयो।
पेटबाटै लागुपदार्थका क्याप्सुल निकालेपछि धन कमाउने लालसाको यात्रा जेलतिर नसोझिने कुरै थिएन!
पैसा कमाउने बाटो अचानक जेलमा पुगेर टुंगिएपछि कस्तो अनुभव भयो भनेर हामीले सानुमायालाई सोधेका थियौं। नेपाली भाषा बुझ्ने तर फर्रर बोल्न नजान्ने गरी विस्मृतिमा पुगिसकेकी उनले जवाफ फर्काउन सकिनन्। आँखाबाट बर्रर आँसु झारेर उत्तर दिएझैं गरिन्।
उनले सहारा खोजेझैं छोराको हात बेस्सरी अँठ्याइन्। बुहारीलाई तामाङ भाषामा केही भनिन्।
'जेलमा त मलाई राम्रो व्यवहार पो गरे!' बुहारी स्मृतिले आमाको भनाइ उद्धृत गर्दै हामीलाई सुनाइन्।
स्मृतिले अनुवाद गर्दै सुनाएअनुसार सुधारगृहजस्तो थियो रे जेल! त्यहाँ तीन-चार सय महिला बन्दी थिए। जेलका अधिकारी र सुरक्षाकर्मी पनि साथीजस्ता थिए। कारावासमै चिनियाँ भाषा सिक्ने प्रबन्ध पनि गरिएको रहेछ।
स्कुलको अनुहार नदेखे पनि अरूले भनेको छिटो सिक्ने खुबी थियो, सानुमायाको। त्यो खुबीले चीनमा पनि काम गर्यो। उनले चिनियाँ भाषा छिट्टै सिकिन् र कम समयमै मुखले फर्काउन सक्ने भइन्।
चिनियाँ भाषामा त निपुण हुँदै गइन्, तर मन घरिघरि नेपालतिरै दौडिरहन्थ्यो।
दिवंगत श्रीमान र छोराछोरीको सम्झनाले चसक्कचसक्क मुटु घोचिरहन्थ्यो।
'जेलमा असल चालचलन देखायो भने छिट्टै नेपाल फर्काइदिन्छन् होला भन्ने सोचेर उनीहरूको नजरमा राम्रो बनेँ,' बुहारीको सहायताले सानुमायाले भनिन्।
उनी पटके अपराधी थिइनन्। परिबन्धमा परेकी हुन् भन्ने उनकै चालचलनले पुष्टि गर्दै गएपछि उनको सजाय कटौती हुने भयो।
त्यो कुरा थाहा पाएपछि छोराछोरी र सासू-ससुराको सम्पर्कमा कसरी पुग्ने भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो।
'एकदिन नेपाल फर्किन्छु र छोराछोरीलाई भेट्छु भनेर म ढुक्क नै थिएँ,' उनले भनिन्।
यसबीच उनले पाटनको अनाथाश्रममा छाडेकी छोरीलाई जर्मनको एक चिकित्सक परिवारले 'एडप्ट' गरिसकेको थियो। छोरीले जर्मनबाट एक–दुईपटक सानुमायासँग कुरा गरेकी पनि थिइन्। तर खोइ किन हो, पछि आमा-छोरीको संवाद टुट्दै गयो।
'बालखैमा छाडेको भएर होला, ठूली भएपछि बहिनीले आमासँग कुरा गर्न मन गरिनन्,' विक्रमले भने, 'एक-दुई पटक त उनैले आमासँग कुरा गराइदिएकी थिइन्।'
उता विक्रमलाई पनि आमाले छाडेर गएपछि छात्रावास जीवन जेलसरह लागेको थियो। अरूका आमाबुवा बारम्बार भेट्न आइरहन्थे। खानेकुरा र लुगाफाटो ल्याइदिन्थे। आफूलाई भने कोही भेट्न नआउँदा उनी नियास्रो मान्थे।
'अरूका आमाबुवा लिन आउँदा म दौडँदै गेटमा गएर बस्थेँ। पाले दाइले बाहिर निस्कन दिनुहुन्थेन। साथीहरू आमाबुवासँगै गएको टुलुटुलु हेरिरहन्थेँ,' उनले सुक्सुकाउँदै सुनाए, 'कर्ममा यस्तै लेखिएको रहेछ!'
विक्रमले काठमाडौंको छात्रावासमा बसेर कलंकीको हिमालय एकेडेमीमा पाँच कक्षासम्म पढे।
उनलाई आमाबुवा दुवैको अनुहार याद थिएन। आफू जन्मिएको थातथलो थाहा थिएन। उनी निरूपाय भएर आमाबुवाको अनुहार कल्पना गर्न थाल्थे। मथिङ्गलमा अनेकानेक चित्र कुँदिन्थे।
'पछि मैले गाउँ पत्ता लगाएँ। हिँडेरै त्यहाँ पुगेँ। गाउँमा त हजुरआमा, हजुरबुवा पो हुनुहुँदो रहेछ!' उनले चकित पर्दै सुनाए, 'म परिवारको एक्लो नाति रहेछु। हाम्रो घर-खेतबारी पनि रहेछ।'
त्यसपछि उनी पढाइ बिट मारेर झार्लाङ पुगे, जिन्दगीको नयाँ अध्याय लेख्न।
चार वर्ष आफ्नै पाखा-फगटामा पसिना बगाए। भकारी उकासे। घरको आयस्ता बढाए।
आमाबुवा नहुँदाको अँध्यारो हजुरबुवा-हजुरआमाको उज्यालो सानिध्यले चिर्दै गयो।
गाउँमै उनको भेट स्मृतिसँग भयो।
'सुरूमा हजुरबुवाले कुरा चलाउनुभएको हो। त्यसपछि आफैंलाई पो मन पर्यो,' उनी स्मृतितिर हेरेर पुलकित देखिए।
स्मृति विक्रमको नाताबाट त्यति टाढाकी होइनन्। विक्रमको नियति र आमासँगको वियोगबारे उनी जानकार थिइन्।
'त्यही भएर पनि विक्रम मलाई असाध्यै मन पर्यो!' उनले भनिन्, 'दुःखमा हुर्किए पनि विक्रम शान्त छ। पिरोलिइरहन्छ।'
मातृत्व वियोगले खिनौटे बन्दै गएको विक्रमको जीवनले स्मृतिको साथ पाएपछि नयाँ लय समात्यो। चार वर्षअघि छोराको जन्म भएपछि त विक्रम दुःखको गर्तबाट उकासिएजस्ता भए।
उनी दुई वर्षअघि पत्नी स्मृतिसहित ललितपुर आए।
तामाको मूर्तिमा सुनको बान्की मिसाइरहेका उनको जीवनमा क्रमशः घाम लाग्दै गयो। भविष्यले उज्यालो बाटो समात्न थाल्यो।
गत माघमा उनले अझ खुसीको कुरा सुने, आमा भदौमा जेलबाट रिहा हुँदै छिन्।
त्यस दिनदेखि उनलाई निद्रा पर्न छाड्यो। कहिले भदौ आउला र आमा भेट्न पाउँला भनेर मन खुसीले बुर्कुसी मार्न थाल्यो।
यो खुसीको खबर दौडँदै गएर हजुरबुवालाई सुनाउन मन थियो। तर चार वर्षअघि नै हजुबुवाको निधन भइसकेको थियो।
उनले हजुरआमालाई गएर खबर सुनाए। हजुरआमा खुसीले धेरै बेर रोइरहिन्। बल्लबल्ल आँसु थामेर भनिन्, 'यहाँ ल्याएर छाड्दे है!'
अत्तोपत्तो नभएकी आमा फर्किएर आउँदै छिन् भनेर बाटो पर्खिएको सात महिना उनका लागि एक शताब्दीभन्दा लामा भए।
बिहीबार सानुमाया चीनको छेन्दुस्थित जेलबाट रिहा भइन्। रिहालगत्तै छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीको सहयोगमा उनले छोरासँग भिडिओ संवाद गर्न खोजिन्।
अफसोस!
उनीहरूबीच कुनै कुराकानी भएन। केवल हेराहेर भयो।
'आमा त हाम्रो भाषा बोल्नै नसक्ने हुनुभएछ!' विक्रमले विस्मात मान्दै सुनाए, 'जेलमा बस्दाबस्दा आमाले नेपाली बोल्नै बिर्सनुभएछ! चाइनिज पो हुनुभएछ!'
शुक्रबार पनि उनले छोरा-बुहारीसँग खुलेर संवाद गर्न सकिनन्। केही नेपाली र केही तामाङ भाषा मिसाएर बह बिसाउन खोजिन्।
जेलबाट एकसरो लुगाफाटोमा नेपाल फर्किएकी सानुमायासँग साथमा २०-२५ थान फोटा रहेछन्।
टेबलमा छरपस्ट फिँजारिएकामध्ये एउटा धमिलो फोटोमा इसारा गर्दै सानुमायाले छोराको चिउँडो समातिन् र भन्न खोजिन्, 'यो तँ र यो बहिनी … स्यानो हुँदाको?'
यो सुनेर विक्रम भक्कानिए।
बेलाबेला छोराको आँसु पुछिरहेकी सानुमायाले पनि आफूलाई सम्हाल्न सकिनन्। आमा-छोराको मिलन आर्तनादमा बदलियो।
यसको साक्षी बनिरहेकी बुहारी आफैं अघि सरेर आमा-छोराको पुनर्योगलाई करूणार्द्ध बनिरहन दिइनन्।
'आमा! अब गाउँ जानुहुन्छ कि हामीसँग बस्नुहुन्छ!' उनले सोधिन्।
'गाउँ जान्छु!' रूँदारूँदै अचानक हाँसेकी सानुमायाले यति मात्रै भन्न सकिन्।
ओठले धेरै थोक भन्न नसके पनि आँखाले चाहिँ भनिरहेको हुँदो हो — जहाँबाट बाटो बिराएको थिएँ, फर्किएर त्यहीँ पुग्न पनि त गाउँ जानै पर्यो!
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी, भिडिओ: सुसन चौधरी/सेतोपाटी