यही साउन १८ गते रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी घरभित्रै मृत फेला परिन्। शवको पोस्टमर्टम गर्दा उनको हत्या भएको खुल्यो।
हस्तकली एकल महिला थिइन्। उनको हत्या घरभित्रै भएको आशंकामा प्रहरीले हत्याराको खोजी सुरू गर्यो। केही सुराकका आधारमा प्रहरीले सल्लेकै २३ वर्षीया सिर्जना बुढालाई साउन २१ गते पक्राउ गर्यो। भोलिपल्ट हस्तकलीका आफन्तजनले सिर्जनाविरूद्ध किटानी जाहेरी दिए। जाहेरीका आधारमा प्रहरीले अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान थाल्यो। प्रहरीका अनुसार सिर्जनाले हत्या स्वीकार गरेर बयान दिएकी छन्।
सिर्जनाले प्रहरीलाई घटनाको विवरण खुलाएर बयान दिएकी छन्।
हस्तकली र सिर्जनाको गाउँ एउटै हो, पुरानै चिनजानका थिए। हस्तकली घरमा एक्लै थिइन्। सिर्जना १८ गते रात बस्ने गरी हस्तकलीको घर गइन्। मध्यरात हस्तकली निदाएको मौका छोपेर सिर्जनाले उनलाई लौरोले कञ्चटमा बेस्सरी हानिन्। छटपटाउन थालेपछि ढुंगाले कञ्चटमै हानिन्। मरेको पक्का भएपछि शरीरमा भएका सुनका गहना, नगद र मोबाइल लिएर सिर्जना बाहिर निस्किन्। घरको मूल ढोकामा ताल्चा लगाइदिइन्। यो त भयो यसपालिको घटना।
सिर्जना पक्राउ परेपछि हस्तकलीको हत्या प्रकरणमा मात्र होइन, पाँच वर्षअघि भएको अर्को एउटा घटनाको अनुसन्धान गर्न पनि प्रहरीलाई मद्दत पुगेको छ। तिनै सिर्जनाले २०७५ असार १० गते राति अर्की एक महिलाको हत्या गरेको खुलेको छ। बयानका क्रममा उनले आफैं पुरानो घटना सुनाइन्। पाँच वर्षअघि सल्लेकै ४६ वर्षीया आइती बुढा पनि घरभित्रै मृत फेला परेकी थिइन्। पोस्टमर्टम रिपोर्टले उनको पनि हत्या नै भएको खुलासा गरेको थियो। घटनास्थलको प्रकृतिले पनि हत्या नै देखाउँथ्यो।
उक्त घटना रहस्यमै थियो। कोही पनि पक्राउ परेको थिएन।
जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार सिर्जनाले पाँच वर्षअघि आफूले गरेको हत्याको घटना गुपचुप नै रहेपछि यसपालि पनि त्यस्तै हुने विश्वासमा गरगहनाका लागि हत्या गरेको भन्ने बयान दिएकी छन्।
बयानमा भनेअनुसार सिर्जनाले आइतीलाई राति सुतेको अवस्थामै काठको पिर्काले टाउकोमा हानेर उनको हत्या गरेकी थिइन्। पहिलो प्रहारबाट बेहोस भएकी आइतीलाई खाटमुनिबाट बञ्चरो निकालेर हानेकी थिइन्।
आइती मरेपछि उनका गरगहना बोकेर सिर्जना बाहिर निस्केकी थिइन्। अहिले जसरी नै बाहिरबाट ढोकामा ताल्चा लगाइदिएकी थिइन्।
डिएसपी भट्टराईका अनुसार सिर्जनाले गरगहनाकै लागि आफ्नो गाउँका ती दुई महिलाको हत्या गरेको खुलेको छ। दुबै घटनाको प्रकृति पनि उस्तै छ।
‘अहिलेको घटना र पाँच वर्षअघिको घटनाको प्रकृति उस्तै देखियो। आरोपितले पनि मैले नै हत्या गरेको हो भनिन्,’ डिएसपी भट्टराईले भने, ‘उनले घरमा एक्लै भएका महिलाहरूलाई छानेर गरगहना लुट्न हत्या गर्ने गरेको कुरा बयानमा खुल्यो। घरेलु हतियार प्रयोग गरेर मार्ने र शरीरमा भएको गरगहना लैजाने गर्दिरहिछन्।’
बयानले सिर्जना १८ वर्षको उमेरदेखि नै हत्याको अपराधिक गतिविधिमा संलग्न भएको देखाएको छ।
आइतीको हत्या गर्दा सिर्जना १८ वर्षकी थिइन्। प्रहरीका अनुसार उनले आफ्नै गाउँका र राम्ररी चिनेजानेका महिलाहरूलाई ताक्ने गरेको देखिन्छ। गरगहना भएकी र एक्ली महिलासँग नजिक हुने, राति बस्ने गरी जाने र निदाएको मौकामा हत्या गर्ने गरेको देखिन्छ।
‘आफू बस्न गएको घरकी महिला निदाएको मौका पारेर उनले आक्रमण गर्ने रहिछन्। गरगहना सुनचाँदी पसलमा बेचेर पैसा लिने गरेको देखिन्छ,’ डिएसपी भट्टराईले भने, ‘उनले घरमा एक्लै बस्ने महिलालाई आफ्नो निशानामा पारेको देखियो।’
घटनाको समय आइतीका श्रीमान रोजगारीको लागि विदेशमा थिए। सिर्जना पक्राउ परेपछि उनकै बयानले पाँच वर्षपहिलेको घटनाको अनुसन्धान पूरा गर्न प्रहरीलाई सहज भएको छ।
‘पहिलेको फाइल पनि अध्ययन गरिरहेकै थियौं। अहिलेको र पहिलेको घटना मिल्दोजुल्दो देखियो। दुई घटनास्थल दुई सय मिटर दूरीमा छन्,’ डिएसपी भट्टराईले भने, ‘हामीले दुबै घटनामा संलग्न व्यक्ति एकै हुनुपर्छ भनेर अनुमान गरेका थियौं। आखिर त्यस्तै देखियो।’
सिर्जनाको बयानका आधारमा प्रहरीले दुई जना सुनचाँदी व्यवसायीलाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुसिकोट बजारका राप्ती सुनचाँदी पसलका सञ्चालक शोभाकुमारी सोनी र नारायणी सुनचाँदी पसलका सञ्चालक कृष्णबहादुर विश्वकर्मा छन्।
प्रहरीले उनीहरूमाथि बिल नभएका गहना खरिद गरी प्रमाण नष्ट गरेको आरोप लगाएको छ।
दुबै व्यवसायीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए।
प्रहरीले सिजर्नामाथि कर्तव्य ज्यान, डाँका तथा आपराधिक गतिविधिसँग सम्बन्धित जाहेरीमाथि अदालतबाट दोस्रो पटक सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
यो पनि:
सुन लुट्न छिमेकी महिलाले नै गरेकी थिइन् हस्तकलीको हत्या