धरान उद्योग वाणिज्य संघमा भर्खरै स्थापना गरिएको प्रयोगशालामा बुधबार दिनभरीमा ४० जनाले डेंगी परीक्षणका लागि रगतको नमूना दिएका थिए।
रिपोर्ट आउँदा तीमध्ये ३८ जनामा ‘डेंगी पोजिटिभ’ देखियो। त्यही प्रयोगशालामा मंगलबार ३३ जनाले परीक्षण गराउँदा २९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो।
धरान सभागृहको प्रयोगशालामा बुधबार ६४ जनाले परीक्षण गराउँदा ४९ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही ल्याबमा मंगलबार ७४ जनाले परीक्षण गराउँदा ५९ जनामा पोजिटिभ देखिएको थियो।
सरकारी र निजी गरेर धेरैवटा प्रयोगशालामा परीक्षण भइरहेको डेंगी संक्रमण धरानमा भयावह बन्दै गएको प्रमाण यो तथ्यांकले दिन्छ।
स्वास्थ्यकर्मी हुन् वा उपमहानगरका स्वास्थ्य हेर्ने कर्मचारी सबैको स्वर एकै छ, ‘धरानमा डेंगी संक्रमण झनै बढ्दै गएको छ।’
जेठ तेस्रो सातादेखि यता बुधबार साँझसम्ममा धरानमा ११ हजार ८२ जनाले परीक्षण गराइसक्दा ७ हजार ६ सय ६६ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।
धरान उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भइसकेको धरानमा संक्रमण दर ७६ प्रतिशत रहेको छ।
‘उपमहानगरले स्थापना गरेको ल्याब होस् वा निजी प्रयोगशालाहरू, सबैतिर परीक्षण गराउनेको लर्को छ’, उनले भने ‘संक्रमण दर पनि उच्च देखिएको छ।’
२०७६ मा पनि यही बेला धरानमा डेंगी संक्रमणले यस्तै भयावह रूप लिएको थियो। त्यसबेला ४३०५ जना संक्रमित बनेका थिए। त्यसपछि पनि कोशी प्रदेशका अन्यत्रभन्दा धेरै डेंगी संक्रमित धरानमै भेटिने गरेका थिए।
यसपटक त्यसबेलाभन्दा धेरै संक्रमित बनिसकेको र नौ जनाले ज्यान गुमाइसकेको सहरमा संक्रमित थपिने क्रम जारी छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप उच्च छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगीका लागि डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याएको छ। जहाँ दिनहुँ भर्ना हुने बिरामीको चाप छ।
धरानमा हरेक वर्षजसो दोहोरिने डेंगीको ठूलो आकारको संक्रमणको मुख्य कारण यहाँको खानेपानी अभाव नै हो।
विज्ञहरूका अनुसार खानेपानी अभावको सकसले सताउने धरानका धेरै सर्वसाधारणले अधिकांश समय पानी सञ्चित गरेर राख्छन्। त्यसरी जम्मा गरेर राखिने पानी नै डेंगी फैलाउने मुख्य कारण बन्छ। त्यसबाहेक पहिल्यैदेखि सहरको सौन्दर्यका लागि जताततै गमलामा फूल रोपिएको छ। गमलामै जम्ने पानी पनि लामखुट्टे जन्माउन पर्याप्त हुन्छ। अझ पछिल्लो समयमा त मेयर हर्क साम्पाङको अगुवाइमा सहरका सडकको दायाँबायाँ गमलामै खुर्सानी रोप्ने, अन्य फलफूलका बिरूवा रोप्ने अभियान नै चलेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका उपप्राध्यापक डा. विजय खनालका अनुसार डेंगी किटजन्य सरूवा रोग हो।
पानी जमाएर लामो समय राखेपछि त्यहीँबाट यो रोग सार्ने लामखुट्टे फैलिन्छ।
डा. खनालका अनुसार धरानमा मुख्यतः दुई प्रजातिका लामखुट्टेले डेंगी फैलाइरहेका छन्।
‘अध्ययनहरूले अन्य प्रजातिले पनि सार्ने देखिएको छ’, उनले भने ‘तर, यहाँ एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टसले फैलाएको देखिएको छ।’
यी दुई प्रजातिका पोथी लामखुट्टेले संक्रमित मान्छेलाई टोकेर स्वस्थ व्यक्तिलाई टोकेपछि डेंगी सर्छ।
यी प्रजातिका लामखुट्टे बिहानको मिर्मिरे र गोधूली साँझमा बढी सक्रिय रहन्छन्। यी दुवै प्रजातिका पोथी लामखुट्टेलाई बच्चा जन्माउन चाहिने पोषण तत्व मानिसको रगतबाट प्राप्त हुन्छ। मानिसको रगतबाट विशेष प्रकारको प्रोटिन मिल्ने हुँदा त्यसैका लागि उसले टोक्ने डा. खनालले बताए।
‘यसले दिउँसो पनि टोक्छ’, उनले थपे, ‘एक जनाको मात्रै रगतबाट पोथी लामखुट्टेको आहारा पुग्दैन। त्यसैले एकै व्यक्तिलाई एकचोटिमा तीनचार पटकसम्म टोक्ने र तीन चार जनालाई लहरै टोक्ने गर्छ। यसले पनि परिवारका धेरै जनामा एकैपटक डेंगी सार्छ। अहिले धरानका परिवारका परिवार संक्रमित हुनुको कारण पनि यही हो।’
प्रि मनसुनदेखि पोस्ट मनसुनसम्मको अवधि डेंगी संक्रमणको मुख्य समय मानिन्छ। घर-घरमा पानी संकलन गरेर राख्ने, बढ्दो सहरीकरणले निम्त्याएको फोहोर, गाडीका टायरमा जम्ने पानी लगायतले धरानमा सधैं डेंगी फैलाउने गरेको डा. खनालको भनाइ छ।
‘यो लामखुट्टे उत्पादन भएको ठाउँबाट धेरै लामो दूरीसम्म उडेर जान सक्दैन’, उनले भने, ‘त्यसैले घरबाट दुई चार सय मिटर वरिपरि मात्रै सफा राख्ने, पानी जम्न नदिने मात्रै गर्दा पनि धेरै हदसम्म जोगिन सकिन्छ।’
यसबाहेक सकेसम्म पूरा बाहुला भएको कपडा लगाउने, घरका झ्याल ढोकामा जाली लगाउने, एसी, कुलर, गमलाहरूमा पानी फेरिरहने गर्दा पनि संक्रमणबाट जोगिन सकिने उनले बताए।
यसबाहेक लामखुट्टेको टोकाइबाट बच्न शरीरमा मल्हमहरू प्रयोग गर्ने, रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने उपाय पनि अपनाउन सकिने डा. खनालको भनाइ छ।
डेंगीको संक्रमणकाल चारदेखि १० दिनसम्मको हुने चिकित्सक बताउँछन्।
‘लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ मानिसलाई टोकेको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखिन थाल्छ’, डा खनालले थपे ‘जीउ दुख्ने, उच्च ज्वरो आउने, रिंगटा लाग्ने, जाडो हुने, टाउकोको पछिल्लो भाग दुख्ने, आँखाका गेडीहरू दुख्ने हुनसक्छ।’
ज्वरो आएका बेला जथाभावी औषधि सेवन गर्दा त्यसले जोखिम निम्त्याउने खतरा हुन्छ।
‘त्यसैले प्रि मनसुनदेखि पोष्ट मनसुनसम्मको अवधिमा ज्वरो आउँदा पारासिटामोल मात्रै खाने गर्नुपर्छ’, उनले भने, ‘अन्य औषधि खानैपरे चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै लिनुपर्छ।’
डेंगीले मानिसको रगतबाट प्लेटलेट्स कम गराउने, सेतो रक्तकोषिका कम गराउने हुनाले एसप्रिनजन्य औषधि खान नहुने उनको सुझाव छ।
‘जथाभावी औषधि खाँदा आन्तरिक र बाह्य रक्तस्रावको खतरा हुनसक्छ’, उनले भने, ‘त्यसले गाह्रो बनाउँदै लगेर बिरामीको मृत्यु पनि हुनसक्छ।’
धरानमा जेठको अन्तिम सातातिर डेंगी संक्रमण सुरू हुँदा ग्रामीण क्षेत्रतिर बढी संक्रमण थियो।
अहिले भने गाउँ र सहर सबैतिर फैलिएको उपमहानगरले जनाएको छ।
‘अहिलेसम्म ज्यान गुमाएका ९ जनामा सबै उमेर समूहका व्यक्ति छन्’, स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने, ‘१० देखि ९० वर्षसम्मका व्यक्तिको मृत्यु भएको छ। तीमध्ये एक जनाबाहेक सबै दीर्घरोगीहरू छन्।’