गोरखा प्रहरीले गत असारमा बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल रहेको पुष्टि भएको छ।
खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो।
भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुंगा परीक्षण गरेका थिए।
गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट पारदर्शी ढुंगा प्रहरीले बरामद गरेको थियो।
डेढ महिनादेखि प्रहरी कार्यालयमै रहेको ढुंगाको मंगलबार र बुधबार खानी विभागबाट परीक्षण गरिएको थियो।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विभागका भूगर्भविदहरूले परीक्षण गरी उक्त ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको रिपोर्ट दिएको सेतोपाटीलाई बताए।
‘भूगर्भविदहरूले उक्त पत्थर क्वार्ज क्रिष्टल भएको पुष्टि गर्नुभएको छ। बहुमूल्य क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमै बुझाइदिन उहाँहरूको अनुरोध छ,’ भुसालले भने।
भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभाग बुझाउनुपर्ने बताएका छन्।
उक्त ऐनको दफा २५ मा ‘अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ।
शाही परिवारले उक्त पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको बताएका छन्। बाजे-बराजुले कहाँबाट यो ल्याएका हुन् भन्नेसमेत उक्त परिवारलाई यकिन छैन।
शाही परिवारले पारदर्शी ढुंगालाई कुलदेउताका रूपमा र विभिन्न तिथिहरूमा पुज्ने गर्दै आएका थिए। प्रहरीले बरामद गरिसकेपछि पनि चन्द्रमानकी श्रीमती राममायाले पटक-पटक प्रहरी कार्यालयमै पुगेर ढुंगाको पूजा गर्दै आएकी थिइन्।
खानी तथा भूगर्भ विभागले ऐनका दफा उल्लेख गरेर क्वार्ज क्रिष्टल काठमाडौं पठाउन भने पनि यो कहाँ राख्ने विवाद जारी छ।
शाही परिवारले देउताका रूपमा पुज्दै आएको र यो विषय धार्मिक आस्थासँग पनि जोडिएकोले सरोकारवाला पक्षहरूसँग छलफलपछि मात्रै निर्णयमा पुग्ने प्रजिअ भुसाल बताउँछन्।
‘खानी तथा भूगर्भ विभागबाट क्वार्ज क्रिष्टल काठमाडौं पठाइदिन आग्रहसहित रिपोर्ट दिनुभएको छ, विभागकै संग्रहालय राख्न उहाँहरूको जोड छ,’ भुसालले भने, ‘स्थानीय सरकार, बासिन्दा, दर्जन सामाजिक संघसंस्था र नागरिक समाज पत्थर गोरखाबाहिर लैजान नहुने अडानमा छन्।’
क्वार्ज क्रिष्टल काठमाडौं लगेर विभागको संग्रहालयमा राख्दा स्थानीयले चित्त दुखाउन सक्ने उनले बताए।
‘म्युजियममै राख्ने भए गोरखाकै म्युजियममा राख्न पाउनुपर्छ भन्ने गोरखा नगरपालिकाको पनि भनाइ छ,’ उनले भने, ‘धार्मिक आस्थासँग पनि जोडिएको विषय छ, स्थानीयको पनि चित्त दुखाउनु भएन।’
क्वार्ज क्रिष्टल शाही परिवारलाई फिर्ता गर्न नमिल्ने हो भने गोरखा संग्रहालय वा गोरखा दरबार/कालिका मन्दिरमा राखिनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन्।
‘अब यो शाही परिवारलाई फिर्ता हुँदैन, सरकारी नाममा आइसक्यो,’ प्रजिअ भुसालले भने, ‘शाही परिवारलाई राहत दिने वा नदिने के गर्ने खानी तथा भूगर्भले नै निर्णय गर्ला।’
गोरखा नगरपालिकाले क्वार्ज क्रिष्टल गोरखामै राख्न गृह मन्त्रालय, खानी तथा भूगर्भ विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेको छ।
‘यो गोरखाबाहिर लैजान हुन्न, गोरखा संग्रहालयमै राख्न हामी गृह मन्त्रालयलगायत निकायमा पत्राचार गर्दैछौं, नगरपालिका पनि सरकार हो,’ मेयर कृष्णबहादुर राना मगरले सेतोपाटीसँग भने, ‘हामी आवश्यक प्रक्रिया पूरा गर्नतर्फ लागेका छौं।’
स्थानीयहरूले भने संग्रहालयमा नभई गोरखा दरबारमै राख्न माग गरेको उनले बताएका छन्।
‘संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी राख्न खोजिएको हो। तर पूजा गर्दै आएको हुनाले संग्रहालयमा राख्दा पुज्न मिल्दैन, गोरखा दरबारमा राखौं, पूजा गर्न मिल्छ भन्ने स्थानीय बासिन्दाको माग छ, के गर्ने हामी छलफलबाटै निर्णयमा पुग्छौं,’ उनले भने।
केही दिनअघि गोरखा प्रहरी कार्यालय पुगेर पारदर्शी ढुंगा हेरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसलाई कहाँ राख्ने सरकारले विवेकपूर्ण निर्णय लिने बताएका थिए।
खानी तथा भूगर्भ विभागबाट खटिएका भूगर्भविदहरूले पारदर्शी ढुंगाको तौल लिई प्राविधिक पक्षबारे परीक्षण गरेका थिए। यो क्वार्ज क्रिष्टल ५२ किलो ३ सय ३० ग्राम तौलको छ। क्वार्ज क्रिष्टल गहना बनाउन र विद्युतीय उपकरण बनाउन प्रयोग हुने गरेको छ।
यसरी बाहिरिएको थियो यो घटना
घरमा पुज्दै आएको 'देउता' (पारदर्शी ढुंगा) को फोटो एकदिन चन्द्रमान र राममायाका छोरा सुरेशले मोबाइलमा खिचेका थिए।
उनले जिज्ञासासहित सामाजिक सञ्जालमा पोस्ट गरे, साथी-भाइहरूलाई देखाए। फोटोमा पारदर्शी ढुंगा हेरेकाहरू शाहीकै घरमा पुगेर हेर्न खोज्दा भिडभाड हुन थाल्यो।
लाखौंमा किनबेच हुन लागेको सूचनापछि घरधनीकै सुरक्षाका लागि भन्दै प्रहरीले पारदर्शी ढुंगा बरामद गरी प्रहरी कार्यालयमा राखेको थियो।
शाही परिवारलाई नै फिर्ता गर्नुपर्ने मागपछि गोरखा प्रशासनले खानी तथा भूगर्भ विभागको टोली झिकाएर परीक्षण गर्दै पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो।
पुस्तौंदेखि पुज्दै आएको 'देउता' प्रहरीले लगेपछि राममायाले अन्न नखाई फलफूल खाने गरेकी थिइन्। आफूहरूको देउता प्रशासनले फिर्ता दिनुपर्ने माग उनको थियो। साउने संक्रान्ति र विभिन्न तिथिमा प्रहरी कार्यालय पुगेर उनले पूजा गर्दै आएकी थिइन्। अब संग्रहालयमा राखिएमा उनले पूजा गर्न पाउने छैनन्।