विराटनगर महानगरले चालु आर्थिक वर्षको सुरूमै गोग्राहा कलेजलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गर्यो।
विराटनगर–५ स्थित गोग्राहा माविमा नाफामूलक उद्देश्यबाट सञ्चालन गरिएको कलेजलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने महानगरको निर्णयको विपक्षमा उभिइन् त्यही वडाकी बासिन्दा इन्दिरा चापागाइँ।
‘सँगैको गोग्राहा माविलाई सुधार्ने, राम्रो बनाउने काममा ध्यानै नदिने महानगर र मेयर नागेश कोइरालाले निजी कलेजलाई किन महानगरको पैसा दिएको ?’ इन्दिरा यही प्रश्न गर्दै महानगर परिसरमा एक्लै विरोध प्रदर्शनमा उत्रिइन्।
उनी गेटमा एक्लै नारा लगाइरहेको देख्दा मेयर कोइराला र अन्य जनप्रतिनिधि उनलाई छलेर पछाडिको गेटबाट कार्यालय छिर्थे। जेठदेखि साउन १५ सम्मै यो लुकामारी चलिरह्यो।
इन्दिरा थाकिनन्। टाउकोमा रातो फेटा, हातमा नेपालको राष्ट्रिय झण्डा र सामुदायिक विद्यालय सुधारको माग गरिएको कागजे ब्यानर बोकेर एक्लै नारा लगाइरहिन्।
उनी नारा मात्रै लाउँथिनन्, मेयरलाई परैबाट भए पनि प्रश्न गर्थिन्, ‘गोग्राहा स्कुललाई सहयोग गर्नुको साटो नाफा कमाउने कलेजलाई किन सहयोग गरेको?’
विराटनगरमा लामो समयदेखि जिम्मेवार व्यक्तिहरूलाई यस्तै ‘अराजक’ शैलीमा प्रश्न गर्दै आएकी उनलाई जवाफ कसैले दिँदैनन्।
‘मनोरोगी’, ‘अराजक’ जस्ता संज्ञा दिएर मेयरदेखि सांसदहरूसम्म उम्किँदै आएका छन्। लामो समयदेखि सामुदायिक विद्यालय सुधारको माग गरेर एक्लै अभियान चलाइरहेकी उनको भागमा भने सधैं वेवास्ता मात्रै पर्दै आएको छ। जिम्मेवारहरूले जतिसुकै वेवास्ता गरे पनि इन्दिरा आफ्नो अभियानमा डटिरहेकी छन्।
गर्मी होस् या जाडो, इन्दिरालाई यिनै सामग्रीसहित कहिले विराटनगर महानगरको परिसरमा भेटिन्थ्यो कि प्रदेश सभा परिसरमा। पछिल्लो आठ दिनयता उनी यी दुवै ठाउँमा गयल छिन्।
चर्को स्वरमा एक्लै नारा लगाइरहने उनी प्रहरी हिरासतमा पुगेको सोमबार आठौं दिन पूरा भएको छ। सोमबार मोरङ प्रहरीले फेरि आठ दिनका लागि दोस्रोपटकलाई म्याद थप गरेपछि उनको हिरासत यात्रा लम्बिने निश्चित भएको छ।
उनीमाथि अभद्र व्यवहारको मुद्दामा ‘अनुसन्धान’ जारी रहेको प्रहरीको भनाइ छ।
‘उहाँमाथि अभद्र व्यवहारको मुद्दा छ’, मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले भने, ‘हाम्रो काम (अनुसन्धान) सकिएपछि बुझाउँछौं।’
सामुदायिक विद्यालय सुधारको माग राखेर निरन्तर एक्लै प्रदर्शन गरिरहेकी इन्दिरालाई हिरासतसम्म पुर्याउने काम भने विराटनगर महानगरपालिकाले गरेको छ।
मेयर नागेश कोइरालालाई सधैं प्रश्न गर्दै आएकी उनलाई ‘अभद्र व्यवहार’ मा मुद्दा चलाइएको छ।
महानगर आफैंले जिल्ला प्रशासनमा उजुरी दिएर इन्दिरालाई पक्राउ गर्न लगाइएको हो।
यसबीचमा मेयरले एक जना अभियन्ता महिलालाई मुद्दा लगाएको भनेर धेरै आलोचना भएपछि मेयरले प्रहरीमार्फत् इन्दिरालाई खबर पनि पठाएका थिए ‘यदि माफी माग्ने हो भने मुद्दा फिर्ता लिइदिन्छु।’
माफी मागेको कागजमा हस्ताक्षर गरे तत्कालै छोडिदिने खबर सुनाउने प्रहरीलाई उनले उल्टै थर्काइन् ‘मैले के गल्ती गरेको छु र माफी माग्नलाई? बरू यहीँ हिरासतमा बस्छु। तर, माफी माग्दिनँ।’
मेयरसँग माफी नमाग्ने अडानकै कारण इन्दिरालाई प्रहरीले हिरासतमा राखेर ‘अनुसन्धान’ गरिरहेको छ।
कुनै ठूलै अपराधी फेला पारे जसरी ‘लामो अनुसन्धान’ गरिरहेको प्रहरीले मेयरको निर्देशनमा आफूलाई फसाएको आरोप इन्दिराले लगाउँदै आएकी छन्।
‘मैले उठाएको मुद्दा सम्बोधन गर्नुभन्दा थुन्न लगाउने काम मेयरबाट भएको छ’, उनले प्रहरीमा भनेकी छन्, ‘त्यसैले माफी मैले होइन, मेयर नागेश कोइरालाले माग्नुपर्छ।’
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाइँ महानगरपालिका कार्यालय अगाडि धर्नामा बस्दै आएकी थिइन्। तर, त्यो धर्ना क्रममा उनले उठाएका सवालले महानगरका मेयर नागेश कोइरालालाई ‘गालीगलौज गरेको’ आरोपसहित महानगरले उजुरी दिएको थियो।
गोग्राहा माविमा निजी क्षेत्र र स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराउनु सही नभएको, तत्कालै बजेट फिर्ता गरेर सामुदायिक विद्यालयबाट कलेज हटाउन उनको मुख्य माग छ। इन्दिरा ग्रोगाह माध्यमिक विद्यालयकी पूर्वअध्यक्ष पनि हुन्।
गोग्राहा स्कुलको संरचनामा पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर गोग्राहा कलेज सञ्चालित छ। सुरूमा कलेज विद्यालय मातहत नै रहेको थियो। पछिल्लो समय भने छुट्टै बनाइएको छ। कलेजले शिक्षा संकायतर्फ बिएडको कक्षा सञ्चालन गर्दै आएको छ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले भने इन्दिराले आफूलाई पटक पटक दुर्व्यवहार गरेको बताएका छन्।
‘मलाई गेटबाट छिर्नै नदिने, दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने काम निरन्तर हुँदै आयो’, कोइरालाले भनेका छन्, ‘उनको यही अभद्रताविरूद्ध महानगरले उजुरी गरेको हो।’
अहिले यो विषय प्रशासनको मातहतमा रहेको भन्दै आफूले यसबारे केही गर्न नमिल्ने उनको भनाइ छ।