वन क्षेत्रमा काम गर्नेहरूले ११ महिनादेखि तलब नपाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
बुधबार बिहान काठमाडौंको माइतीघरमा सर्लाही र झापामा कार्यरत सरकारी कर्मचारीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले यसरी प्रदर्शन गरेको ९औं दिन हो।
सागरनाथ वन विकास परियोजनाको प्रशासन फाँटमा कार्यरत एवं आन्दोलनका संयोजक छत्र लामाका अनुसार कर्मचारीहरूले ११ महिनादेखि तलब पाएका छैनन्।
वन मन्त्री पटकपटक फेरिएपनि आफूहरूका बारेमा नसोचेको उनको गुनासो छ।
‘वन मन्त्री पटकपटक फेरिए। हाम्रा माग लिएर मौखिक-लिखित दुबै बुझाइसकेका छौं। तर पनि तलब पाएका छैनौं,’ उनले भने।
सागरनाथ वन विकास परियोजना र रतुवामाइ वृक्षारोपण आयोजना झापा दुबै कार्यालय प्रमुख बिहीन भएको पनि उनले बताए।
त्यस्तै उनीहरूले नेपालमै आएका काठको सदुपयोग नगरी विदेशबाट अर्बौं खर्च गरी काठ भित्र्याइरहेको हुँदा त्यसलाई रोक्नुपर्ने माग राखेका छन्।
उनीहरूले प्रदर्शन गर्नेक्रममा थाल ठटाएका थिए। भोको पेटले कति दिन काम गर्छ?, ११ महिनादेखिको तलब भत्ता उपलब्ध गराउ, सरकार तिम्रा कर्मचारीहरू भोका छन्, वन मन्त्रालयको उपेक्षा कहिलेसम्म?, अर्बौंको काठ कुहिँदैछ, सरकार विदेशी काठ भित्र्याउँदै छ, लगायत नारा बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: