गत साउन २ गते साँझ ५ बजे काठमाडौं विमानस्थलबाट झन्डै सय किलो सुन बरामद भएपछि नेपालको विमानस्थलबाट त्यतिका मात्रामा सुन कसरी भित्र्याउन सकियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्यो।
लगत्तै एमालेको युवा संगठनले सुन प्रकरणमा सरकार र विशेषगरी गृहमन्त्रीकै संलग्नता छ भनेर मसाल जुलुस पनि निकाल्यो। साउन ८ गते कम्बोडियाबाट फर्किँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि युवा संघकै पदचाप पछ्याउँदै यो प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
गोदामहरूमा धमाधम छापा मारिँदै गर्दा र संलग्नताको आशंकामा केही नेपाली र केही चिनियाँ नागरिक पक्राउ परिरहँदासम्म पनि सुन प्रकरणको सुई कतातिर घुम्छ यकिन थिएन। संसदभित्र र बाहिर पनि सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो तरिकाले यो विषयलाई प्रस्तुत गर्ने क्रम चलिरहेको थियो।
आइतबार भने यो प्रकरणको अहिलेसम्मकै माथिल्लो तहमा रहेका भनिएका दावा छिरिङ पक्राउ परेपछि राजनीतिक संलग्नताका आशंकाहरू एकाएक बढेर आए।
विशेषगरी दावा छिरिङकी नेपाली श्रीमती भनिएकी रोल्पाकी अमला रोका मगर मार्फत दावाले माओवादीमा उपमहासचिव वर्षमान पुन 'अनन्त' सँग विस्तार गरेको सम्बन्ध र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको परिवारैसँगको घनिष्टताले राजनीतिक आडमै सुन तस्करीको जालो फैलिइरहेको त छैन भन्ने आशंकामा थप बल पुग्यो।
आइतबार समातिएका दावा छिरिङ, उनकी श्रीमती भनिएकी अमला रोका मगर, माओवादीका उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगर सँगै बसेर खाना खाएको तस्बिर दावा पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो। उता पूर्वउपराष्ट्रपतिको परिवारैसँग अमला र दावाका पारिवारिक तस्बिरहरू सामाजिक सञ्जालमा आइरहे।
लगत्तै आइतबार साँझ वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर अमला र दावासँग आठ वर्षअघि भेटेको, त्यसपछि कहिल्यै पनि भेट नभएको र यो प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिए। आइतबार साँझै सामाजिक सञ्जालमा पनि उनले यही कुरा लेखे।
'जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ,' पुनले फेसबुकमा लेखे, 'सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्छु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्छु।'
सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि पुनले यही स्पष्टीकरण दिँदै छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरू नेता पनि तयार हुनुपर्ने बताए।
त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन उनले माग गरे।
'अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ, त्यो बनाएर यो प्रकरणको छानबिन हुनैपर्छ,' पुनले भने, 'हामी नेताहरू, हाम्रा आफन्तहरू वा ज-जसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।'
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परिवारका कुनै पनि सदस्यले अहिलेसम्म केही बोलेका छैनन्। अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनका छोरा दीपेश पुनले भने अमला रोल्पा थवाङकै भएकाले उनीसँग भावनात्मक नाता हुनुबाहेक अरू विषय आफूहरूसँग सम्बन्धित नरहेको बताएका छन्।
'रोल्पाका जनतासँग हाम्रो आत्मीय सम्बन्ध हुन्छ। थवाङकै भएपछि झन् भावनात्मक सम्बन्ध हुने नै भयो। त्यसैले अमला रोकाको होटलमा रोल्पाका नागरिक आउँदा जाने र हामीहरू पनि पुग्ने गरिन्थ्यो। त्यही बेला खिचेका फोटाहरू अहिले सार्वजनिक भएका हुन्,' दीपेश पुनले सेतोपाटीसँग भने, 'हामी पनि संलग्न हुन्थ्यौं भने त उनीहरूलाई भगाउँथ्यौं होला नि!'
उनले सरकारले गर्ने जुनसुकै अनुसन्धानमा आफूहरूको सहयोग रहने बताए।
यता एमालेले सय किलो सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताइरहेको छ।
यी भए अहिलेसम्म सतहमा आएका कुरा, आशंका र दलहरूका गतिविधि।
यी शंका, आशंका र आरोप-प्रत्यारोपबीच यो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले छानबिन अघि बढाइरहेको छ। नब्बे दिनको समय पाएर छानबिन थालेको राजस्व टोलीको अनुसन्धान कहाँसम्म पुगेको छ त?
छानबिनमा संलग्न स्रोतले सेतोपाटीसँग भन्यो, 'दावा छिरिङको निजी सम्पर्क जो कसैसँग हुन सक्छ। तर हाम्रा लागि मुख्य विषय उनले सुन तस्करीबाट प्राप्त फाइदा कसैसँग बाँडफाँट गरेका छन् वा उच्च तहका राजनीतिक व्यक्तिहरूलाई अरू खालका सम्बन्ध मार्फत काम लिएका छन् भन्ने कुरा अब उनीमाथि गरिने अनुसन्धानले थप पुष्टि गर्ला।'
राजस्वको टोलीले आइतबार दावाले सञ्चालन गरिरहेको ठमेलस्थित 'होटल भियना' मा छापा मार्दा महत्त्वपूर्ण प्रमाण भेटेको थियो।
'हामीले महत्त्वपूर्ण प्रमाण भेट्टाएका छौं,' स्रोतले भन्यो।
कस्तो प्रमाण?
'साउन २ गते काठमाडौंमा सुन पक्राउ परेपछि उनले हङकङबाट ल्याउन लागेको थप सय किलो सुनको कन्साइन्मेन्ट रद्द गरेका थिए,' स्रोतले भन्यो, 'उनको मोबाइल रिकभर गर्दा त्यो प्रमाण भेटिएको छ। यो प्रकरणमा दावाको संलग्नताको सबभन्दा महत्त्वपूर्ण प्रमाण हो त्यो।'
दावासँग बयान लिने काम सुरू भइनसकेकाले उनको अध्याय अब कसरी अघि बढ्छ र उनले राजनीतिक वा अरू कुनै व्यक्तिको संलग्नताबारे के भन्छन्, त्यो भविष्यको कुरा हो। तर राजस्वको टोलीले उनको होटलमा छापा मार्नु अघिसम्म पनि दावामा जुन आत्मविश्वास थियो, त्यो भने अचम्मको भएको स्रोतले बतायो।
'हामी छापा मार्न जाने बेलासम्म पनि मलाई कसैले केही गर्न सक्दैन भन्ने आत्मविश्वास दावा छिरिङमा थियो,' स्रोतले भन्यो, 'हामी उनको होटलमा छिर्नु भनेको चानेचुने जोखिम होइन।'
अब, यो प्रकरणमा सुन कसरी पक्राउ पर्यो र अहिलेसम्म के-के प्रगति भएको छ, एकपटक त्यतातिर जाऔं।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कसैले 'सय किलो सुन भन्सार पास गरेर गन्तव्यतिर जाँदैछ' भनेर मेसेज गर्यो। लगत्तै राजस्वको टोली सक्रिय भयो र साउन २ गते साँझ पाँच बजेतिर ब्रेक-सु बोकेको ट्याक्सी नियन्त्रणमा लिएर त्यस दिन यत्तिकै राखियो। भोलिपल्ट जाँच गर्दा त्यसमा सुन भएको पत्ता लागेपछि महानिर्देशक ढुंगानाले प्रधानमन्त्री प्रचण्डलाई खबर गरे।
'प्रधानमन्त्रीज्यूले कारबाहीका लागि अघि बढ्नुस् भनेपछि हामीले अनुसन्धान थाल्यौं,' अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, 'हामीले प्राथामिक रूपमा गर्नुपर्ने दुइटा कुरा थिए। एउटा भेटिएको सुन सुरक्षित राख्ने, अर्को संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउने।'
तत्काल पक्राउ गर्नुपर्ने दुई किसिमका मान्छे थिए — भन्सार पास गराउने कर्मचारी र बाहिरका संलग्न मान्छेहरू।
बाहिरका मान्छेहरू पक्राउ गर्दा सुरूको बिन्दुमा तिनै भरियाहरू पक्राउ परे। ट्याक्सी चालक, भन्सारबाट सामान छुटाउने र लिनेहरू गरी पाँच जनालाई त्यसै दिन पक्राउ गरियो।
त्यसपछि बल्ल राजस्व अनुसन्धान विभागले यो खबर सार्वजनिक गरेको हो।
यसअघि साउन १० गते नरेश भनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो। त्यसैगरी विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई पनि पक्राउ गरेको छ।
भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई विभागले पक्राउ गरेको छ। उनीहरूको लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि राजस्वले पक्राउ गरेको हो।
त्यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।
उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ। आइतबार मात्रै विभागले उच्च अदालत पाटनबाट उनीहरूलाई १५ दिन हिरासतमा राख्न अनुमति लिएको छ।
दावा छिरिङलाई विभागले पक्राउ गरे पनि उनकी श्रीमती भनिएकी अमला रोका मगर अहिले फरार छिन्। ठमेलको भियना होटल अमलाकै नाममा छ।
अनुसन्धानको टोली यो प्रकरणमा मुख्य नाइके चिनियाँ नै हुन् भन्ने प्रारम्भिक निष्कर्षमा पुगेको छ तर मुख्य नाइकेहरूलाई अहिलेसम्म फेला पार्न सकेको छैन। भाग्दै गरेका एक जना चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउ गरिसकेपछि उनले दिएको सूचना, रेकी, सिसिटिभी फुटेज र अनुसन्धानका आधारमा अनुसन्धानको आँखा चिनियाँ नागरिकतिर सोझिएको छ।
अहिलेसम्म ती चिनियाँ नागरिकले प्रयोग गरिरहेका बालुवाटार, सोह्रखुट्टे र लाजिम्पाटका तीनवटा गोदाम, टोखाको एउटा कारखानामा छापा मारिसकिएको छ। टोखाको कारखानामा चिनियाँहरू कार्यालय नै सञ्चालन गरेर बसिरहेको र तीन वर्षदेखि त्यहाँ विभिन्न रूपमा ल्याइएका सुन पगाल्ने र आकार दिन काम हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै टोलीले अहिलेसम्म चिनियाँ तस्करहरू बस्नका लागि प्रयोग गरेको धुम्बाराही, चप्पल कारखाना र धापासीमा एक/एकवटा र लाजिम्पाटमा दुइटा गरी पाँचवटा घरमा छापा मारेको छ। तर ती घरमा उनीहरू र अनुसन्धानलाई सघाउ पुग्ने सामग्री भने भेटिएन।
'यही प्रयोजनका लागि उनीहरूले खोजेका घरहरू फेला पार्यौं तर त्यहाँ केही भेटिएन,' छानबिनमा संलग्न सुरक्षा स्रोत भन्छ, 'उनीहरूले प्रयोग गरेका कुनै पनि घरका घरबेटी नेपालमा बस्दैनन्। धापासीको घरका घरबेटी बेलायत, लाजिम्पाटका अमेरिका, टोखाको कारखानाका क्यानडा र सोह्रखुट्टेको गोदामका ब्रिटिस लाहुरे रहेछन्।'
चिनियाँहरूलाई बस्नका लागि घर खोजिदिने व्यवस्था भने भारतीय नागरिक थाप्तेन छिरिङले गर्दा रहेछन्। थाप्देन यो प्रकरणमा पक्राउ परिसकेका छन्।
मूलतः थाप्तेन छिरिङ तिब्बतीयन हुन्। उनका श्रीमती र छोरी तिब्बतमै छन्। सन् १९९४ मा भारतमा गएर उनले भारतको नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ। नागरिकता पाएपछि आफ्ना आपराधिक गतिविधिका लागि उनले नेपाललाई रोजेको देखिन्छ। थाप्तेन खाग तस्करीमा दोषी ठहर भएपछि २०७० सालदेखि २०७५ सालसम्म नेपालगन्जको जेलमा थिए।
'यी आपराधिक पृष्ठभूमिको मान्छे हुन्, हिन्दी राम्रोसँग बोल्छन्,' अनुसन्धानमा संलग्न ती अधिकारीले भने।
थाप्तेनकै बयानका आधारमा राजस्व अनुसन्धान टोली गिरोहहरू बस्ने घरसम्म पुगेको हो।
अर्को महत्त्वपूर्ण 'कनेक्सन' को सूत्र हुन् टासी नामका चिनियाँ नागरिक। उनीसितकै बयानका आधारमा अनुसन्धान टिमलाई दावा छिरिङसम्म पुग्ने बाटो खुलेको थियो।
'चिनियाँ नागरिक लीनसँगको कनेक्सन अर्का चिनियाँ नागरिक टासीसँग देखियो। टासीबाट दावा छिरिङसम्म पुग्ने सूत्र भेटियो। त्यसबाट हामीले होटल भियनामा अपरेसन गर्यौं र दावा छिरिङसम्म पुग्यौं,' स्रोतले भन्यो।
स्रोतका अनुसार सुन तीनवटा तह पार गरेर गोदामसम्म पुग्थ्यो। पहिलो तहमा पक्राउ परेका हर्क राई र टासी नामका चिनियाँ नागरिक हुन्। यिनीहरूको काम विमानस्थलबाट बाहिरिएको सुन लिएर कारखानासम्म पुर्याउने हो। भोजपुरका हर्क राई उनै हुन् जसले सुनको कारोबार गर्ने रेडी ट्रेड कम्पनी खोल्ने योजना बनाएका थिए।
हर्क आठ वर्ष कोरिया बसेर २०६१ सालमा नेपाल आएका हुन्। त्यसपछि उनले यहाँ यस्तै खालको धन्दा गरिरहेको अनुसन्धान टोलीले फेला पारेको छ। हर्ककै योजनामा रेडी ट्रेड खुले पनि त्यसका मालिकका रूपमा दोलखाका दिलीप भुजेलको नाम देखिन्छ। राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार कम्पनी खोल्न दिलीपको नागरिकता प्रयोग हुनुबाहेक अर्को संलग्नता छैन।
टासी र हर्क राई पहिलो तहका ठूला मान्छे हुन्। दोस्रो तह सुरू हुन्छ लीन जेछियाङबाट।
उनको काम गोदाममा आएको सुन लिने हो। यो काममा उनीसहित पाँचजना चिनियाँ नागरिक संलग्न रहेको अनुमान अनुसन्धान टोलीको छ। सुन पगाल्ने, आकार दिने र पठाउने कामको सुरूआत दावा छिरिङबाट हुन्छ जुन तेस्रो तहको पहिलो कडी भएको मानिएको छ। दावा पक्राउ परिसकेपछि राजनीतिक हलचल सुरू भइसकेको छ।
'निलेर ल्याएको पाँच तोला सुन त स्क्यान गरेर निकाल्छन् भने त्यति ठूलो परिमाणको सुन कसरी पत्ता लागेन र भन्सारबाट छुट्यो?' स्रोत भन्छ, 'हामी यो प्रकरणमा निष्कर्षको धेरै नजिक छौं।'
सुन प्रकरणमा प्रयोग भएका कारखाना, घर, गोदाम र मानिसहरू किन सुरक्षा निकायका कार्यालय र 'भिआइपी' हरूको निवास वरिपरि छन्, त्यो प्रश्नको पनि जवाफ खोजिरहेको स्रोतले बतायो।
सुन पगाल्न किन समय लाग्यो?
राजस्व अनुसन्धान विभागले साउन २ गते काठमाडौं विमानस्थलको भन्सार विभागबाट जाँचपास भएर छुटेको ब्रेक-सुभित्र सुन बरामद गरेको थियो।
क्याथे प्यासिफिक एयरवेजबाट आएको उक्त सामानमा अन्दाजी ८० देखि १०० किलो सुन राखेको अनुमान छ। उक्त सुन जोख्न विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ। तर अहिलेसम्म जोखिएको छैन। त्यसैले खासमा त्यो दिन ब्रेक-सु भित्र राखेर कति सुन ल्याइएको थियो भन्ने यकिन छैन।
किन अहिलेसम्म सुनको परिमाण यकिन नगरिएको त?
यसका दुइटा कारण छन्।
पहिलो, राष्ट्र बैंकको क्षमता।
दोस्रो, प्रमाण जुटाइरहनुपर्ने बाध्यता।
'राष्ट्र बैंकले दैनिक १५ देखि २० किलो मात्र सुन गाल्छ। अर्को, अदालतमा आवश्यक पर्यो भने सबुत नै पेस गर्नुपर्ने हुन्छ। सुन कस्तो अवस्थामा थियो त भन्ने हुन्छ,' स्रोतले भन्यो, 'अहिले सुन मात्रै गालेर त भएन। त्यसैले पनि हामीले ढिलो गरिरहेका छौं।'