केहि दिनअघि धरानका एक जना डेंगी संक्रमित उपचारका लागि काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल आएका थिए।
धरानका अस्पतालहरूमा संक्रमितको चाप र सहज बेड उपलब्ध नभएकाले उनी उपचारका लागि काठमाडौं आएका रहेछन्।
उनले धरानमा डेंगी आतंक रहेको उल्लेख गर्दै अहिले धेरै मानिसहरू संक्रमित भएको सुनाए। उनीसँगको कुराकानीले गत वर्ष काठमाडौंमा डेंगी महामारी हुँदा देखिएको भयावह अवस्थाको सम्झना आयो।
सन् २०१९ मा फैलिएको डेंगीको तुलनामा गत वर्ष फैलिएको डेंगी संक्रमण जटिल प्रकृतिको थियो। अस्पतालका आकस्मिक कक्ष अगाडि बिरामीहरू बेहोस हुन्थे भने कतिपय बिरामी घरमै बेहोस भएर परिवारले अस्पताल ल्याउथे।
सरकारी तथ्यांक अनुसार गत वर्ष ५३ हजार ९५१ जनामा डेंगी संक्रमण भएको थियो भने ६२ जनाको मृत्यु भएको थियो। तर काठमाडौंमा मात्र यो तथ्यांक भन्दा बढी मानिसमा डेंगी संक्रमण भएको थियो। किनभने डेंगी संक्रमण व्यापक फैलिरहँदा पछि मानिसहरूले यो संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएपनि परीक्षण गराउन छोडेका थिए। जसले गर्दा सबै संक्रमितको संख्या तथ्यांकमा आउन पाएन।
डेंगीको इतिहासलाई सरसर्ती नियाल्ने र विश्लेषण गर्ने हो भने वर्षेनी डेंगीले झन् झन् जटिल स्वरुप अपनाउँदै गइरहेको देखिन्छ।नेपालमा सन् २०१० मा डेंगी फैलिँदा पहिलोपटक काठमाडौं बाहिर नगएका व्यक्तिमा डेंगी संक्रमण देखिएको थियो। अर्थात् त्यो काठमाडौं बाहिर जाँदा संक्रमित भएको केस थिएन। पछि सम्बन्धित निकायले गरेको सर्भेमा पनि डेंगी फैलाउने एडिस जातको लामखुट्टे काठमाडौंमा व्यापक रहेको पुष्टि गर्यो। त्यसयता काठमाडौंमा वर्षेनी डेंगीको प्रकोप फैलिने गरेको छ।
खासगरि सन् २०१९ र गत वर्ष काठमाडौंमा डेंगीले ठूलो प्रकोपको रूप लियो। विभिन्न कारणहरूमध्ये डेंगीको सेरोटाइप परिवर्तनलाई 'जटिल डेंगी' देखिनुको एक प्रमुख कारक मान्ने गरिन्छ। सन् २०१९ मा विशेषत डेंगीको सेरोटाइप '२' देखिएकोमा गत वर्ष सेरोटाइप '१' धेरै जनामा देखिएको विभिन्न अनुसन्धान/परीक्षणहरूले देखाएको थियो।
दोस्रो पटक फरक सेरोटाइपले पुनः संक्रमित भएको अवस्थामा 'जटिल डेंगी' देखिन सक्ने वैज्ञानिक पुष्टि भइसकेको छ। तसर्थ गत वर्ष महामारीको सुरूवातमा नै हामीले डेंगी सेरोटाइपबारे थाहा पाउनुपर्थ्यो। तर महामारी सकिएपछि मात्र सेरोटाइपबारे जानकारी भयो।
हाल धरानमा पनि पहिले र अहिले सेरोटाइप परिवर्तन भए नभएको थाहा पाउन सके डेंगी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिन्थ्यो।
काठमाडौंमा देखिएको 'जटिल डेंगी' धरानमा पनि देखिएला?
सामान्यतय डेंगीले दुई-तीन वर्षको अन्तरालमा ठूलो प्रकोपको रूप लिने गरेको देखिन्छ। नेपालमा मात्र नभई विश्वमा नै यस्तो ट्रेन्ड देखिन्छ।
सन् २०१९ को डेंगी महामारी धरानबाट नै सुरू भएको थियो र त्यसले काठमाडौंलाई पनि ठूलो असर पारेको थियो। काठमाडौंमा गत वर्ष डेंगीले इतिहासकै सबैभन्दा ठूलो प्रकोपको रूप लियो।
धरानमा भने काठमाडौंमा देखिए जस्तो डेंगीको प्रकोप थिएन। सम्भवत महामारी अन्तरलको समयक्रममा धरानको लागि कठिन परिस्थिति योचोटी हुनसक्छ।
अर्को कुरा धरानमा देखिएको डेंगी सेरोटाइप परिवर्तन भएको हो भने गत वर्ष काठमाडौंमा जस्तै हजारौं मानिसमा जटिल डेंगी देखिने सम्भावन उच्च हुन्छ।
डेंगीबाट बच्न के-के कुरा ध्यान दिने?
डेंगी फैलाउने एडिस जातको लामखुट्टे विशेषत दिनमा सक्रिय हुने हुँदा संक्रमण फैलिने सम्भावना पनि त्यही बेला हुन्छ। दिनको समयमा सबै आ-आफ्नो काममा व्यस्त रहने हुँदा टोकेको धेरैलाई थाहा नहुन सक्छ। अथवा टोकी सकेपछि मात्र (चिलाउने हुँदा) थाहा हुने गर्छ। यसर्थ लामखुट्टेको लार्भा नष्ट गर्नु नै सबैभन्दा राम्रो हुन्छ।
लामखुट्टेको लार्भा नष्ट गर्न सबैभन्दा प्रभावकारी भूमिका स्थानीय सरकारको हुन्छ। किनभने लामुखुट्टेको लार्भा हुने ठाउँहरूको पहिचान गर्न पनि स्थानीय तहलाई नै सहज हुन्छ।
धरानमा पनि लार्भा नष्ट गर्ने काममा उदासीनता देखाए डेंगी संक्रमणले जटिल रूप नलेला भन्न सकिँदैन।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
(लेखकका अन्य लेख यहाँ पढ्न सकिन्छ।)